"मेरो सम्झनामा बिपी कोइराला" - राम चन्द्र पौडेल (नयाँ पत्रिका, ६ श्रावण २०६९)
Print Friendly and PDF

जेलमा भएको पहिलो भेट-

०२६ सालमा म भद्रगोल जेलमा थिएँ । मसँगै मनमोहन अधिकारी, कमल कोइराला, शम्भुरामलगायत साथी थिए । भर्खरै सुन्दरीजल जेलबाट छुट्नुभएका बिपी कोइराला हामीलाई भेट्न जेलमा आउनुभयो । उहाँ त्यतिखेर एकदमै दुब्लो हुनुहुन्थ्यो, 'फु' गरे पनि ढल्नुहोलाजस्तो ।

मनमोहनले भन्नुभो, 'बिपी, तपाईं अब एकचोटि पूरा देश घुम्नोस् र जनतासँग प्रत्यक्ष अन्तक्रिर्या गर्नोस् ।' त्यो सुझाब मलाई पनि एकदमै मन पर्‍यो । मैले थपेँ, 'आन्दोलन उठाउन तपाईंको देश भ्रमण निकै सहायक हुन्छ ।'

'के छ हालखबर ?' बिपीले कमललाई सोध्नुभो । मातृकाप्रसाद कोइरालाका छोरा कमलले टाउको कन्याउँदै भन्नुभयो, 'अरू त ठीकै छ, तर, आमालाई...।' 'पैसाको कुरा हो ?' बिपीले सोध्नुभयो, 'अनावश्यक बढी खर्च गर्न त होइन नि ?' अनि, उहाँले मलाई र कमललाई ५०-५० रुपैयाँ हातमा थमाइदिनुभयो । ओहो ! ऊवेलाको ५० रुपैयाँको त कति महत्त्वको हुन्थ्यो कति ! त्यो पैसाले मैले तन्ना किनेँ, दोलाइ किनेँ, कमिज-सुरुवाल किनेँ । तर, कमलले चाहिँ सबै पैसा सायद रक्सी खाएर सके ।

भेट्नुभन्दा अगाडि बिपीका विषयमा मैले सुनेको मात्रै थिएँ । उहाँ यस्तो मान्छे, उस्तो मान्छे भनेर धेरैले प्रशंसा गर्थे । तनहुँ छँदा पनि उहाँका विषयमा धेरै सुनेको थिएँ । म पढ्नका लागि काठमाडौंमा बस्दा पनि तनहुँका कांग्रेस नेताहरू मेरो डेरामा आइरहन्थे । उनीहरू बिपीको धेरै प्रशंसा गर्थे । बिपीको व्यक्तित्व, शैली, स्वभावबारे प्राथमिक जानकारी मैले उनीहरूबाटै पाएको हुँ ।

०१७ सालमा वामपन्थीनिकट संस्कृत छात्र संघको सम्मेलनमा गण्डकीको प्रतिनिधिका रूपमा म काठमाडौं आएँ । त्यसमा कांग्रेसका कुनै मन्त्री सहभागी भएनन् । तर, सडकमा गाडीभित्र बसेर कतै गइरहेका बिपी कोइरालालाई भने मैले सडकमा देखेँ । उनलाई प्रत्यक्ष देखेको पहिलोपटक त्यहीँ थियो । त्यसको केही महिनापछि त राजा महेन्द्रले सैनिक 'कू' गरिहाले र बिपी गिरफ्तार भइहाले ।

म सत्ता र सुविधाका क्षणमा कांग्रेस थिइनँ, बरु प्रतिबद्ध कांग्रेसविरोधी थिएँ । राजा महेन्द्रले जब प्रजातन्त्रको अपहरण गरे, अनि कांग्रेस जब वनवास र जेलवासका लागि बाध्य भयो, तब मैले कांग्रेस के हो भन्ने चिनेँ, वामपन्थीका राजावादीसँगका सम्पर्क थाहा पाएँ र प्रजातान्त्रिक आन्दोलनमा समाहित भएँ । व्यक्तिगत रूपमा पनि भित्रैदेखि बिपीप्रति सहानुभूति र प्र्रेम त्यसपछि नै जाग्यो । पञ्चायती शासनविरुद्ध उहाँको संघर्ष र त्यागले गर्दा म उहाँको आदर्शप्रति आकषिर्त बनेँ ।

दोस्रो भेट वनारसको मेहमुरगन्जमा -

जेलबाट छुटेपछि बिपी विराटनगर पुग्नुभयो र भाषण नै गर्नुभयो : 'नौ महिनामा पनि नजन्मेको बच्चालाई अपरेसन गरेर भए पनि निकाल्नुपर्छ,' उहाँको त्यो अभिव्यक्तिलाई दरबारियाले क्रान्तिको अर्थमा बुझे र उहाँमाथि निगरानी बढाइयो । उहाँ फेरि गिरफ्तार हुनुहुन्छ भन्ने हल्ला फैलियो र बिपी पनि भारत निर्वासनमा जानुभयो । यो घटनाक्रम पूरा हुँदासम्म म जेलमै थिएँ ।

०२८ सालमा तत्कालीन भारतीय राजदूत राजबहादुरले हामीलाई भारत-भ्रमणको निम्तो दिए । सम्पर्क पनि बढ्छ र देशदर्शन पनि हुन्छ भनेर हामी तयार भयौँ । त्यो टोलीमा म, शेरबहादुर, शिवबहादुर खड्का, विपिन कोइरालालगायत १०/१२ जना थियौँ । त्यतिवेला हामीलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीसँग पनि भेट गराइयो । हाम्रा कार्यवाहक सभापति सुवर्णसमसेर उनलाई नै भेट्न निकै दिनदेखि दिल्लीमा पालो पर्खिरहेका रहेछन्, तर भेट्न पाएका रहेनछन् । हाम्रो भेटपछि उनी खुसी नै भए । हामीबीच कांग्रेसको आन्तरिक समस्याबारे पनि कुरा भए । त्यतिखेर सुवर्ण र बिपी अलग भइसकेका थिए । सुवर्ण संवाद, सम्झौता र सहकार्यबाट राजाको मन पगाल्न चाहन्थे भने बिपी संघर्षका बलबाट जनताको राज्य कायम गर्न चाहन्थे । हामीले सुवर्णलाई भन्यौँ, हामी तपाइर्ंलाई र बिपीलाई एकसाथ भेट्न चाहन्छौँ ।

सुवर्णले बिपीलाई कोलकातामा बोलाउने र सँगै भेट्ने प्रस्ताव राख्नुभयो । मैले पनि बिपीलाई चिठी लेखेँ । तर, त्यसो भएन । सायद राजासँगको संवाद र सम्बन्ध बिग्रेला भनेर सुवर्णले बोलाउनुभएन वा संघर्षको लाइन प्रभावित होला भनेर बिपी आउनुभएन । जेहोस्, दुवै नेतालाई एकसाथ भेट्ने हाम्रो इच्छा पूरा भएन ।

हाम्रो टोली वनारसको मेहमुरगन्ज गयो, जहाँ त्यतिखेर बिपी बस्नुहुन्थ्यो । बिपीको बहुआयामिक प्रतिभासँग साक्षात्कार मैले त्यतिवेलै गरेको हुँ । पहिलो भेटमा बिपी निकै दुब्लो हुनुहुन्थ्यो, तर यसपटक हृष्टपुष्ट, आकर्षक जिउडाल र रसिलो देखिनुभयो । मैले सोधेँ पनि, 'तपाईं त पूरै फेरिनुभएछ । चिल्लो, स्वस्थ र हृष्टपुष्ट हुनुभएछ ।' उहाँले हाँस्दै भन्नुभयो, 'यो सबै लाइनको फरक हो । म सक्रिय लाइनको मान्छे, सुवर्णजी प्यासिभ -निष्त्रिmय) लाइनको । उहाँसँग पैसा छ, डाक्टर छन्, तर कमजोर हुँदै जानुभएको छ । मसँग केही छैन तर लाइनकै कारण म क्यान्सरको दीर्घरोगी पनि चिल्लो-पिरो हुँदै गएको छु । सुवर्ण राजासँग मागेर, झुकेर, नुहेर प्रजातन्त्र लिन चाहन्छन्, म जनताको संघर्षको बलमा खोसेर लिन चाहन्छु ।'

मैले अत्यन्त सक्रिय नेता पाएँ, उहाँलाई । बिपीले थप्नुभयो, 'म अहिले नै थि्रनटथ्री राइफल बोकेर तिम्रो मिर्लुङको डाँडामा उक्लिन सक्छु ।' उहाँ त्यतिखेर सशस्त्र क्रान्तिको तयारीमा हुनुहुन्थ्यो ।

बिपी जति सरल हुनुहुन्थ्यो, त्यति नै सचेत व्यवहारवादी पनि हुनुुहुन्थ्यो । उहाँलाई केवल क्रान्तिको व्याख्या थाहा थिएन, बरु कुन ठाउँको धर्मशाला राम्रो र सस्तो छ, कुन ठाउँमा राम्रो र सस्तो दाल, तरकारी र चामल पाइन्छ भन्ने पनि थाहा थियो । टेलिग्राम डिक्टेट गर्दागर्दै राजनीति र समाजका जटिल बहसमा पनि भाग लिनुहुन्थ्यो ।

तेस्रो भेट सारनाथमा-

पछि बिपी सारनाथ सर्नुभयो । म उहाँलाई भेट्न गएँ । ओखलढुंगाकाण्ड असफल भइसकेको थियो । राम-लक्ष्मण, लीला र ठगी मारिइसकेका थिए । इन्दिरा गान्धीको जगजगी थियो र उनले बिपीलाई नेपाली सीमाबाट पचास माइल पर मात्र गतिविधि गर्न आदेश दिएकी थिइन् । बिपी मेलमिलापको नीति लिएर नेपाल र्फकने तयारीमा हुनुहुन्थ्यो । तर, मैले भनेँ, 'तपाईं नेपाल गएर के गर्नुहुन्छ ? १०/१२ वटा त मुद्दा मात्रै छन् । तपाईंलाई राजाले जेलमा सडाउँछन् या झुन्ड्याउँछन् ।' तर, उहाँले मान्नुभएन । भन्नुभयो, 'बाहिरबाट गर्ने क्रान्तिले पार लाग्दैन ।' मैले भने नेपाल नर्फकन जिद्धी नै गरेँ । धेरै आग्रह गरेँ । उहाँले भन्नुभयो, 'म यहाँ इन्दिरा गान्धीको बन्दी भएर बस्न सक्दिनँ ।'

त्यतिखेर सिक्किम भारतमा विलय भइसकेको थियो । पूर्वीपाकिस्तान बंगलादेशका रूपमा टुक्रिइसकेको थियो । दक्षिण एसियाको राजनीतिमा एकपछि अर्का नाटकीय परिवर्तन भइरहेका थिए । तैपनि मैले नेपाल नर्फकन आग्रह गर्दै सोधेँ, 'के नेपाल गएर राजासँग समर्पण गर्ने ? के हो त तपाईंको लाइन ?' उहाँले भन्नुभयो, 'न संघर्ष, न त सम्झौता । मेलमिलाप ।'

बिपीको प्रस्ताव किसुनजीले मान्नुभएन म सहमत भइनँ । त्यतिखेर मात्र होइन, अन्तिमसम्म म त्यो लाइनमा अन्तर्मनदेखि सहमत थिइनँ । तर, बिपी मेरो चित्त बुझाएर मात्रै नेपाल फकर्न दिने सोचमा हुनुहुन्थ्यो । त्यो क्रममा, तीन दिनसम्म हामीबीच चर्को बहस भयो । नेपाल गएपछि राजा सम्झौताका लागि बाध्य हुन्छन् भन्ने उहाँको बुझाइ थियो, तर मेरो बुझाइचाहिँ नेपाल गएपछि बिपी जेल पर्नुहुन्छ र निर्वासनमा हुँदाको प्रेरणा पनि बाँकी रहन्न भन्ने थियो । बिपीलाई सम्झाउन नसकेपछि अन्तमा मैले तीनवटा सर्त राखेँ । पहिलो, तपाईंले राजनीतिमा आफ्नै लाइन लिनुपर्छ । दोस्रो, तपाईंको त्यो लाइन अध्यक्षको हैसियतमा नै हुनुपर्छ, किनकि त्यतिखेरसम्म सुवर्ण कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । तेस्रो, तपाईं त जेल परिहाल्नुहुन्छ नै, त्यसैले कार्यवाहक अध्यक्ष किसुनजीलाई दिनुपर्छ ।

मेरा कुरा सुनेपछि उहाँ उत्साहित हुनुभयो र भन्नुभयो, 'हो, त्यसो भन न त । म मानिहाल्छु नि । ल त्यसो भए, जाऊ किसुनजीलाई बोलाऊ ।

उहाँलाई कार्यवाहक दिएर मात्रै म नेपाल र्फकन्छु ।'

बिपीको सन्देश लिएर म नेपाल आएँ ।

अनि, किसुनजीलाई भेटेर भनेँ, 'भारत जानुपर्‍यो, बिपीले यस्तो कुरा गर्न खोज्नुभएको छ ।' किसुनजी चाहिँ फेरि यता बटारिन थाले र भने, 'म विदेश जाँदै जान्न । बरु, ५० हजार मान्छे उठाएर नारायणहिटी घेर्छु ।'

यसपछि बिपी नेपाल फर्कनुभयो ।-

जब बिपी मान्नुभएन बिपी फर्कनुभयो र हामी सबैजना उहाँको स्वागतका लागि एयरपोर्ट गयौँ । तर, के स्वागत गर्न दिन्थे ? मण्डलेहरूले गोद्न थाले । अनि, बिपीलाई चाहिँ चोर बाटो भएर जेल पुर्‍याए छन् ।

बिपी फर्केको तीन वर्ष नपुग्दै पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसीमा झुन्ड्याइयो । त्यो घटनाले नेपालमा पनि धेरै ठूलो हलचल ल्याइदियो । मलगायत अरू केही साथी भने भुट्टोको हत्याको विरोध गर्ने तयारीमा थियौँ । किनकि, धेरै मान्छेमा आक्रोश देखेको थिएँ, मैले त्यतिवेला । त्यसैले त्यतिवेला आन्दोलन उठाउनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यतिवेला पनि मेरो बिपीसँग असहमति भयो । बिपी त्यतिवेला आन्दोलनको पक्षमा हुनुहुन्नथ्यो । त्यो आन्दोलनले राजासँग दूरी बढाउँछ र बन्दै गरेको संवादको वातावरण बिथोल्छ भन्ने उहाँलाई लागेको थियो ।

मैले बिपीलाई भनेँ, 'भुट्टोलाई झुन्ड्याइएको कुराको विरोध त गर्नैपर्छ ।' तर, उहाँले भन्नुभयो, 'उनलाई अदालतले फासीको सजाय दिँदा केही भनिएन, अब के भनेर विरोध गर्नु र ?' मैले ढिपी गरेपछि उहाँले भन्नुभयो, 'त्यसो भए दिउँसो कुरा गरौँ ।' म दिउँसो पनि गएँ । किसुनजी र गणेशमानजी पनि हुनुहुन्थ्यो । मेरो कुरा सुनेर उहाँहरूले बिपीलाई भन्नुभयो, 'निकाल्न दिउँ न त सानोतिनो जुलस ।'

बिपीले सर्त राख्नुभयो, 'त्यसो भए विश्वविद्यालय सकेका वा छाडेका होइन, पक्का विद्यार्थीलाई मात्र जुलुस गर्न दिऊँ । तिमीहरू नजाऊ ।' मैले 'हुन्छ' भनेँ । त्यहीअनुसार बलबहादुर राई, गोपाल पराजुलीलगायत साथीहरूले जुलुस निकाले । बलबहादुर केसीले जुलुसमै पिटाइ खाए र पक्राउ परे । गोपाल पराजुलीलाई प्रहरीले भोलिपल्ट मेरो डेराबाटै समातेर लगे ।

त्यसको भोलिपल्ट आइतबार थियो । आइतबार कलेजमा हडताल भयो । हडताल सफल भयो भन्दै हामी केही साथी उत्साहित हुँदै बिपीकहाँ पुग्यौँ । बिपी त रिसाइराख्नुभएको रहेछ । भन्नुभयो, 'तिमीहरू घोडा बन्दै छौ । लगाम समात्ने अर्कै छ ।' खासमा, ०३६ सालको त्यो विद्यार्थी आन्दोलन विदेशी तत्त्व या अन्य समूहबाट नै निर्देशित छ भन्ने उहाँको बुझाइ थियो । मैले भनेँ, 'आन्दोलन हाम्रै नियन्त्रणमा छ ।' बिपीले भन्नुभयो, 'त्यसो भए फिर्ता लेऊ ।'

भोलिपल्ट हामी अञ्चलाधीश कार्यालय गयौँ र गिरफ्तार विद्यार्थी नेताको रिहाइ र अवरुद्ध परीक्षा सञ्चालनको सर्त राख्यौँ । तर, उनले त्यति पनि मानेनन् । त्यसपछि आन्दोलन आँधीका रूपमा अघि बढ्यो र जे भयो, त्यो इतिहासका विद्यार्थीलाई थाहै छ ।

(प्रस्तुति: रमन पौडेल)

Back