National Security
Print Friendly and PDF

  • "नेपाल किन बन्न सकेन ?" - डा. विपिन अधिकारी

    वरिष्ठ पत्रकार सुशील शर्माले सुरु गरेको 'नेपाल किन बन्न सकेन ?' वा के गर्दा नेपाल बन्ला त ? भन्ने बहसको एउटा पाटोलाई यो लेखमा छुने प्रयास गरिँदैछ । मूलतः कुनै पनि देश आफैं बन्दैन । देश बनाएरमात्र बन्ने हो । प्रत्येक देशको राजनीतिक सिमाना नेपालका पृथ्वीनारायण शाह, जर्मनीका अट्टो भान विस्मार्क वा इटालीका जोसेप गरिबाल्डीजस्ता सुरवीर तथा महत्त्वाकांक्षी व्यक्तिले कोरेका हुन्छन् । प्रत्येक सफल देशको राजनीतिक विकासमा स्पेनकी महारानी इसाबेला प्रथम तथा फर्डिनान्ड द्वितीय, अमेरिकाका जर्ज वासिङ्टन वा अब्राहम लिंकन, बेलायतकी महारानी भिक्टोरिया तथा विन्स्टन चर्चिल वा भारतका जवाहरलाल नेहरूजस्ता व्यक्तिहरूको योगदान हुन्छ । अर्थतन्त्रको विकासका लागि हरेक सफल देशमा चीनका देङ सिआओपिङ, सिंगापुरका ली क्वाङ यु तथा मलेसियाका महाथीर मोहम्मदजस्ता व्यक्तिहरूको लगानी हुन्छ । सफलतालाई दीर्घकालमा मानवीय मूल्यसहितको समृद्धितर्फ लैजाने हो भने त्यस्ता देशमा महात्मा गान्धी, मार्टिन लुथर, नेल्सन मन्डेलाजस्ता व्यक्तिहरूको मेहनत चाहिन्छ । नेपाल किन बन्न सकेन भने नेपाललाई दीर्घकालीन सोचअन्तर्गत बनाउने उद्देश्य, कटिबद्धता, जाँगर र अन्ततः चरित्र भएको त्यस प्रकारको नेतृत्व वा नेतृत्व समूह विदेशी षड्यन्त्रअन्तर्गत राजनीतिमा टिक्न दिइएन ।

    किन टिक्न दिइएन ? जिसस जन्मनु ६८ वर्षअघि इजिप्टको 'फेरोह' राजकुलमा जन्मिएकी रोमकी तत्कालीन विश्व सुन्दरी क्लिओपेट्रालाई उदाहरण बनाई नेपालको परिस्थितिसँग दाँज्न सकिन्छ । उनको सुन्दरता उनका लागिमात्र नभई त्यसबेलाका शिखर सभ्यता मानिएका सम्पूर्ण इजिप्ट, रोम र ग्रीसको पतनको कारण हुन पुग्यो । क्षमता, शासकीय महत्त्वाकांक्षा र सुन्दरता क्लिओपेट्राका रूपमा एकै ठाउँमा नगाँजिएको भए परिस्थिति के हुन्थ्यो होला ? भन्ने सम्बन्धमा इतिहासकार ब्लेज पास्कलको भनाइ थियो, 'क्लिओपेट्राको नाक अलिकति सानो भइदिएको भए (भविष्यको) संसारको सम्पूर्ण अनुहार अर्कै हुन्थ्यो कि ?' यदि नाकको आकार अलिकति सानो वा ठूलो भइदिएको भए हुन सक्छ, क्लिओपेट्राको रूप त्यति सुन्दर हुन्थेन जति उनी वास्तवमा थिइन् । उत्पात सुन्दरी नहुँदी हुन् त शक्तिको उन्माद भएका वा तत्कालीन राजनीतिमा आधिपत्य हुनेहरू क्लिओपेट्राप्रति आशक्त हुने थिएनन् । न त उनको साम्राज्यको महत्त्वाकांक्षा बाक्लिएर जाने थियो । जुलियस सिजर वा मार्क एन्टोनीजस्ता रोमन साम्राज्यका लडाकुहरूले उनलाई लिएर काटाकाट गर्नुपर्ने थिएन । न त उनका कारण इजिप्ट र ग्रीसबीचको लडाइँ चर्किने थियो । यो लडाइँका कारण इजिप्टसेली तथा रोमन सभ्यता सिध्याउने गरी जुन गृहयुद्ध भयो त्यो सम्भवतः टथ्र्यो होला । यसको प्रभाव स्वरूप संसारको सम्पूर्ण अनुहार अलग किसिमले विकास हुन्थ्यो कि ? read more...