"राष्ट्रिय मेलमिलापको सन्दर्भ मा" - गोविन्द राज जोशी
Print Friendly and PDF

बीपी कोइराला २०३३ पुस १६ गते निर्वासन परित्याग गरी नेपाल आउनुभएको दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय पर्वका रूपमा 'राष्ट्रिय मेलमिलाप' दिवस मनाउने गरेको छ । 'जात फालेको बाहुनले जनै लाउ"छ ' भन्ने उखानजस्तै भएको छ, यतिबेला मनाउने गरिएको मेलमिलाप दिवस ।

अहिले राष्ट्रिय मेलमिलापको मर्म र भावना हामीले छाडिसकेका छौं । २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिको प्रवद्र्धन बीपी कोइरालाले गरिरनु हु"दा नेपाल अत्यन्त कठिन परिस्थितिमा थियो । नेपाली कांग्रेसका मान्छेहरू आज मारिने हुन् कि भोलि मारिने हुन् भन्ने अवस्था रहेका बेलामा त्यत्रो 'शक्तिशाली ' नारा दिएर उहाँ नेपाल आउनुभयो । उहाँमा के दृढता थियो भने मलाई राजाले केही पनि गर्न सक्दैनन् । राष्ट्रिय मेलमिलाप नीतिमा त्यत्रो ठूलो तागत छ भन्ने उहाँको धारणा थियो । त्यतिबेलाको कानुन अनुसार उहाँ माथि फाँसीको सजाय हुने खालका आठवटा मुद्दा थिए । आठवटै ज्यानमुद्दालाई 'सामना' गरेर उहाँ नेपाल आउनुभयो । तर उहाँलाई राजाले केहीगर्न सकेनन् ।

बीपीको राष्ट्रिय मेलमिलाप नीतिका तीनवटा सिद्धान्त थिए । यसको पनि गलत व्याख्या भएको छ । बीपी कोइरालाले जीवनका अन्तिम क्षणमा आफ्नो किताबमा लेख्नुभएको छ– 'नेपाली कांग्रेसको इतिहास मैले लेख्न सकिन, म मरेपछि नेपाली कांग्रेसको इतिहास साँच्चिनै तोडमोड गरिनेछ । अहिले राष्ट्रिय मेलमिलाप नीतिका सन्दर्भमा त्यसरी नै गलत व्याख्या गरिएको छ । बीपीले आफूलाई जहिले पनि 'म जनता हुँ भन्नुहुन्थ्यो । 'म जनताको प्रतिनिधि हुँ, त्यसकारण जनतासँग राष्ट्रिय मेलमिलाप गर्न जाने शक्ति या व्यक्तिसँग दुईवटा गुण हुनुपर्छ, एउटा राष्ट्रवादी र अर्को प्रजातन्त्रवादी । जो प्रजातन्त्रवादी छैन, जो राष्ट्रवादी छैन, त्योसँग मेरो (बीपी) मेलमिलाप हुन सक्दैन, म भनेको जनता हुँ' भन्नुहुन्थ्यो । त्यसैले राजा पनि यदि राष्ट्रवादी छन्, प्रजातन्त्रवादी हुन चाहन्छन् भनेमात्रै राष्ट्रिय मेलमिलापको नीतिले बीपीसँग मेल हुनसक्थ्यो या अरू कुनै वामपन्थीहरू या कुनै पार्टीहरू जो प्रजातन्त्रवादी र राष्ट्रवादी दुवै छन् भने मात्रै बीपीसँग मेलमिलाप हुन सक्थ्यो । त्यही कारणले गर्दा उग्रवामपन्थी पार्टीहरूसँग उहाँको मेलमिलाप हुन सकेन । राजासँग पनि हुन सकेन ।

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिअनुसार बीपीसँग मेल हुन राजा राष्ट्रवादी र प्रजातन्त्रवादी हुनुपथ्र्यो । त्यतिबेलाका राजा राष्ट्रवादी भए पनि प्रजातन्त्रवादी हुन सकेनन्, त्यसैले बीपीसँग मेलमिलाप हुन सकेन । अहिले आएर गिरिजाबाबुजस्तो नेपालको ठूलो नेता जो, बीपी कोइरालाको भाइ पनि हुनुहुन्थ्यो , उहाँलाई राष्ट्रिय मेलमिलापको नीति भनेको जनतासँगको मेलमिलाप हो भन्न लगाइयो । कांग्रेस र जनताको मेलमिलाप भनेकै राष्ट्रिय मेलमिलाप हो भनेर व्याख्या गर्नुजस्तो दुर्भाग्य अरू के हुन्छ? बीपी आफूलाई जनता भन्नुहुन्थ्यो, कांग्रेस चाहिँ जनताभन्दा टाढा भयो, हामी जनतासँग मेलमिलाप गर्छौ भनेर गिरिजाबाबुले भन्नुभयो । उहाँले नबुझेर भन्नुभयो वा उहाँलाई भन्न लगाइयो, त्यो अर्को कुरा हो । गिरिजाबाबुको मुखबाट भन्न लगाइएको यो कुरा त राष्ट्रिय मेलमिलाप नीतिको ठीक विपरित हो नि ।

गिरिजाबाबुले नै राष्ट्रिय मेलमिलापको नीति छाड्नुभयो, किनभने उहाँले माओवादीजस्तो उग्रवामपन्थी पार्टीसँग सम्झौता गर्नुभयो, त्यसमा उहाँ फस्नुभएको थियो, माओवादीसँग मेलमिलाप गर्न उहाँले राष्ट्रिय मेलमिलापको नीतिलाई गलत व्याख्या गर्नुभयो र कांग्रेस भनेको जनता होइन, हामी जनतासँग मेलमिलाप गर्छौ भनियो । यसरी गिरिजाबाबुकै पालामा हामी चुक्यौं । माओवादीसँग मेलमिलाप गर्छौ भनियो । माओवादीसँग १२ बुँदे दिल्ली सम्झौता गर्दा राष्ट्रिय मेलमिलाप नीतिलाई हामीले पूर्णतः समाप्त पारिसकेका छौं । बीपीले टुंडिखेलमा गर्नुभएको अन्तिम भाषणमा म पनि उपस्थित थिए । उहाँले भन्नुभएको थियो –यदि तिमीहरूलाई कुनै कुराको निर्णय गर्न द्विविधा हुन्छ भने नेपालको एकमुठी माटो लिएर सोध, त्यसले जे जवाफ दिन्छ, त्यही गर । उहाँले भारतमा बसेर सशस्त्र क्रान्तिको घोषणा पनि गर्नुभयो । फेरि नेपाल किन आउनुभयो त ? नेपालको बारेमा निर्णय गर्दा नेपालमै बसेर गरियो भने नेपालको हितमा हुन्छ, बाहिरी मुलुकमा बसेर नेपालको बारेमा निर्णय ग¥यो भने बाहिरी मुलुककै हितमा हुन्छ भन्ने कुरा उहाँले आठ वर्षको भारत निर्वासनका क्रममा महसुस गर्नुभयो ।

गिरिजाबाबुले भारतमा गएर १२ वुँदे सहमति गर्नुभयो । सहमतिमा हस्ताक्षर गर्नेवेलामा उहाँले नेपालको माटो कहाँबाट पाउने? पाउनु भएन । त्यसका लागि उहाँलाई सही सल्लाह भएन । त्यो निर्णयको परिणामस्वरूप आज नेपालको प्रजातन्त्र कमजोर भएको छ, नेपालको राष्ट्रियता कमजोर भएको छ । नेपाली कांग्रेस कमजोर भएको छ । जनतासँगको मेलमिलाप राष्ट्रिय मेलमिलापको नीतिभित्र पर्न सकेन । राष्ट्रिय मेलमिलापको जो नीति र मर्म छ, त्यसलाई नेपाली कांग्रेसले छाडेको हुनाले एउटा आडम्बरका रूपमा बाहिर देखाउन र लाज ढाक्न नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउदछ । राष्ट्रिय मेलमिलापको नीति राजालाई लक्षित गरेर गरिएको हुदै होइन । त्यतिखेर बीपीले भन्नुभएको थियो – नेपालको राजनीतिमा प्रभाव पार्ने तीन शक्ति छन्, राजा, भारत र कांग्रेस । राजा र भारत मिले भने कांग्रेस सिद्धिन्छ, भारत र कांग्रेस मिल्यो भने राजा सिद्धिन्छन्, राजा र कांग्रेस मिल्यो भने भारतको भूमिका एकदम कमजोर हुन्छ । भारत त विदेशी शक्ति भयो, नेपालभित्रका शक्तिहरूबीच मेलमिलाप हुनुप¥यो भन्ने हो । राजा आफ्नो छोरालाई राजा बनाउनुपर्ने कारणले राष्ट्रवादी हुनसक्छ, तर प्रजातन्त्रवादी भएन भने पनि राजासँग मेलमिलाप हुनसक्छ भन्ने उहाँको सिद्धान्त होइन । यो गलत व्याख्या भएको छ ।

राजासँग मेलमिलाप हुन राजा प्रजातन्त्रवादी हुनुपर्छ । यदि राजा प्रजातन्त्रवादी भएन भने राजतन्त्र सकिन्छ भनेर बीपीले भन्नुभएको थियो । त्यसबेला म पनि सकिन्छ, म सकिएँ भने विराटनगरमा खेतीपाती गर्न जान्छु राजा जाने कहाँ ? उहाँले भन्नुभएको थियो । त्यसैले राजसंस्या बचाउन पनि राजा राष्ट्रवादी र प्रजातन्त्रवादी हुनैपर्छ र प्रजातन्त्र भयो भनेमात्रै नेपाली कांग्रेस बच्छ । अहिलेको स्थिति के भयो भने न राजा राष्ट्रवादी भए, न प्रजातन्त्रवादी भए । त्यसैले राजतन्त्र पनि सकियो । त्यसको परिणाम के भयो भने राष्ट्रिय मेलमिलापको नीति कांग्रेसले छाड्यो । कांग्रेस पनि जनतासँगको मेलमिलापका नाममा माओवादीलाई जनताको प्रतिनिधि मानेर समाप्तिको दिशातिर गयो । जनताको प्रतिनिधिभन्दा पृथक् शक्तिका ठाउँमा कांग्रेसले आफूलाई राख्यो । जबकि बीपी आफूलाई जनताको प्रतिनिधि भन्नुहुन्थ्यो, गिरिजाबाबुले माओवादीलाई जनताको प्रतिनिधि ठान्नुभयो । जसका कारण नेपाली कांग्रेसको यो हालत भएको हो । अहिले संसारमै राष्ट्रिय मेलमिलापको नीतिको विकल्प देखिएको छैन । बर्माकी नेतृ आङसाङ सुकीले पनि अहिले राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरेकी छन् ।

बीपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय मेलमिलापको नीति सानो मुलुक भएकाले नेपालमा महत्व बढ्न नसकेको हो । राष्ट्रिय मेलमिलापका दुईवटा सर्त संसारभरी नै छन् । एउटा राष्ट्रियता र अर्को प्रजातन्त्र । त्यसैले मात्र देश बचाउँछ । अहिलेको सन्दर्भमा पनि हामी दुईवटा कुरा, राष्ट्रियता र प्रजातन्त्र छाड्न सक्दैनौं । माओवादीसँग हाम्रो झगडा पनि त्यही हो । संविधान निर्माण गर्दा प्रजातान्त्रिक भावनालाई अंगिकार नगर्ने अडानमा माओवादी छ । त्यसैगरी, नेपाली कांग्रेसको अहिले प्राथमिकतामा राष्ट्रियता र प्रजातन्त्र परेको छैन । सत्ता नै कांग्रेसको प्राथमिकता भयो । प्रधानमन्त्री पद नै कांग्रेस नेताहरूको प्राथमिकता भयो । प्रधानमन्त्री पदका लागि हामी माओवादीसँग पनि मिल्न तयार छौं, एमालेसँग पनि मिल्न तयार छौं, तर राष्ट्रियता र प्रजातन्त्रका लागि होइन । माओवादीलाई हामीले लोकतन्त्र र राष्ट्रियताप्रति प्रतिबद्ध बनाउन सकेका छैनौं । साच्चै भन्ने हो भने लोकतन्त्र र राष्ट्रियताको परिभाषा नै अहिले कमजोर भएको छ । त्यसैले बीपीले भन्नुभएको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले पनि समसामयिक छ । राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक ठाउँमा नउभिने हो भने अहिले पनि नेपाल रहँदैन । नेपाल अहिले कमजोर भएको कारण त्यही हो ।

केही समययता नेपाल कसैको खेलौना भएको छ । राजनीति ज्यादै तरल भएको छ । राष्ट्रियता र लोकतन्त्रको जग कमजोर भएकैले नेपालको राजनीति ज्यादै तरल भएको हो । फेरि राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा उभिन सक्ने हो भने यो देशको सार्वभौमसत्तालाई हामी बलियो बनाउन सक्छौं । देशको सार्वभौम सत्ता बलियो हुन सकेन, लोकतन्त्र बलियो हुन सकेन भने बाँकी उपलब्धि आफै समाप्त हुन्छन् । दुर्भाग्यवश नेपाली कांग्रेसले समेत सत्तालाई प्राथमिकतामा राख्न थाल्यो सबै कुरा छाडेर भए पनि हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउने अभियानमा हामी छौं । अचम्मको कुरा के भने एक-एक महिनाका लागि प्रधानमन्त्री बनाउने विषयमा नेपाली कांग्रेससमेत सहमत हुनु भन्दा लाजमर्दो कुरा के हुन्छ? कांग्रेसका लागि त्यो भन्दा अपमानजनक कुरा के हुन्छ ? नेपाली कांग्रेसले ०६२-६३ को आन्दोलनसम्म नेपालको राजनीतिलाई डो¥यायो । नेपालको राजनीतिको अग्रपंक्तिमा बस्यो । त्यो पार्टीले आज एक महिने प्रधानमन्त्रीका लागि भिख माग्नु जतिको बेइज्जती र अपमानजनक कुरा अर्को के हुन्छ? आज हाम्रो त्यो अवस्था किन सिर्जना भयो ? किनभने राजनीतिक पार्टीको मुटु भनेको त्यसले अवलम्बन गर्ने नीति हो । नीति छाडेपछि मुटु सिद्धिन्छ, मुटु सिद्धिएको शरीरको के अर्थ रहन्छ र ?

अब दुई-दुई महिनाका लागि चक्रिय प्रणाली भनेर भनिएको छ । अहिले मुलुकको राजनीतिक गतिरोधमा कांगे्रस घाँडो भयो भन्न थालिएको छ । हामीले यसको 'प्रतिरक्षा' समेत गर्न सकिरहेका छनौं । ०६२-६३ को आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले ग¥यो । संविधानसभा निर्वाचनको सफल नेतृत्व पनि नेपाली कांग्रेसले ग¥यो । अन्तरिम संविधान पनि नेपाली कांग्रेसको नेतृत्वमा आयो । यत्रो कुराहरू कांग्रेसको नेतृत्वमा सम्पन्न हुने, आज कांग्रेसको नेतृत्व किन नहुने? हामीले एमाले र माओवादीलाई सोध्नुपर्छ । के साँच्चिनै कांग्रेसको नेतृत्व तिमीहरूलाई मन नपर्ने हो त ? तिमीहरू मान्दैनौ भने हामी पनि तिमीहरूसँग छैनौं भन्ने आँट हुनुप¥यो नि । किन कांग्रेसलाई मात्रै सहमति चाहियो ? एमाले र माओवादीलाई चाहिँ कांग्रेस स्वीकार्य नहुने र कांग्रेसलाई चाहिँ एमाले र माओवादी किन चाहियो ? त्यसकारण हामी सिद्धान्तमा छलफल गर्नुप¥यो । यदि माओवादी र एमालेलाई कांग्रेसको नेतृत्व स्वीकार्य छैन भने कांग्रेस पनि माओवादी र एमालेले गरेका सहमतिमा जाँदैन । अर्को कुरा, प्रजातान्त्रिक संविधान भनेको के हो ? राज्यको शासकीय स्वरूप प्रजातान्त्रिक हुनुपर्छ भन्ने आफ्नो दृष्टिकोणमा नेपाली कांग्रेसले सम्झौता गर्दैन । जस्तो, जनताले चुनेको प्रतिनिधि संस्था संसदको बहुमतले छानेको नेता प्रधानमन्त्री हुन्छ, यो कुरा एमाले र माओवादीले माने मान्छन् नमाने हामी सहमत हुन सक्दैनौं, जो गर्छौ गर भन्न सक्नुप¥र्यो । संवैधानिक राष्ट्रपतिको व्यवस्था हामी चाहन्छौं, स्वतन्त्र न्यायपालिका हामी चाहन्छौं, सन्तुलन र अवरोधको सिद्धान्त हामी चाहन्छौं, आधारभूत स्वतन्त्रताको सिद्धान्त हामी चाहन्छौं । त्यो कुरा मान्दैनौ भने हामी तिमीहरूसँग सहमति गर्दैनौं भन्ने आँट त नेपाली कांग्रेससँग हुनुप¥यो नि ।

त्यसैले अहिले नेपाली कांग्रेसको नेतृत्व एकदम कमजोर मानसिकताको छ । कमजोरभन्दा पनि दरिद्र र सत्तालोभी मानसिकता देखिएको छ । यस्तो नेतृत्वले न पार्टी हाक्न सक्छ, न देश हाक्न सक्छ गलत नीतिका कारण नेपालको राजनीतिमा हाम्रो हैसियत कमजोर भएको छ । सधैं मुलुकको अग्रिण भूमिका खेल्ने नेपाली कांग्रेस अहिले प्रयोग हुँदै आएको छ । नेपाली कांग्रेस प्रयोग हुँदा आफूलाई मात्र होइन राष्ट्रलाई पनि नोक्सान भएको छ । हामीले अहिले राष्ट्रिय मेलमिलापको नीतिलाई पूर्णतया छाडेका छौं । अहिलेको हाम्रो प्राथमिकता सत्ता भएको हुनाले हामीले जोसँग पनि सम्झौता गर्ने र जेमा पनि सम्झौता गर्ने पार्टीको रूपमा नेपाली जनताले कांग्रेसलाई बुझ्न थालेका छन् । नेपाली कांग्रेसले अवलम्बन गरेको यही गलत नीतिका कारण अहिले नेपालको राजनीतिमा हाम्रो हैसियत कमजोर भएको हो । सधैं मुलुकको राजनीतिमा अग्रणी भूमिका खेलेको नेपाली कांग्रेस अहिले अरूबाट प्रयोग हुँदै आएको छ । यसरी नेपाली कांग्रेस प्रयोगमात्र भइरहँदा आफूलाई मात्र होइन, राष्ट्रलाई पनि नोक्सान भएको छ । अहिले नेपालका राजनीतिक दलहरूमा अत्यन्त खतरनाक परिस्थिति सिर्जना हुँदैछ । नेपालको राजनीतिमा फेरि अतिवाद हाबी भयो भने, देशमा टकरावको स्थिति सिर्जना भयो भने त्यसले देशलाई राम्रो गर्दैन । अतिवाद होइन, अलिकति मध्यमार्गी नेतृत्व देशले खोजीरहेको छ । तीनवटै पार्टीभित्र अहिले अतिवादी नेतृत्व हाबी भएको छ ।

माओवादीभित्र मोहन वैद्य किरणको नीति अतिवाद हो । एमालेभित्र खड्ग ओलीको नीति अतिवाद हो, त्यसको माधव नेपालजीले नेतृत्व गरिरहनुभएको छ । नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेलको नीति अतिवादतिर केन्द्रित छ । बुझेर हो वा नबुझेर हो उहाँहरू अतिवादतिर लम्किनुभएको छ । किन लाग्नुभयो म भन्न सक्तिन । यसले टकरावको स्थिति सिर्जना गर्छ । त्यसैले यो अतिवादलाई छाडेर देशलाई मध्यमार्गतिर लग्नु पहिलो कर्तव्य हो । अतिवादको अन्त्य भएर मध्यमार्गीको हातमा नेतृत्व गयो भनेमात्र संविधान बन्ने सम्भावना रहन्छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सम्भावना रहन्छ । अहिले अतिवाद हाबी हुने खतरा देशमा बढ्दै गएको छ । त्यसबाट हामीले देशलाई बचाउनुपर्दछ । नेकपा माओवादीको पालुङटार बैठकले अतिवादलाई प्रश्रय दिएको छ । त्यो विस्तारित बैठकबाट बाबुरामजीहरूको भूमिका गौण भएको देखिएको छ । कम्युनिष्ट पार्टीमा अध्यक्षको प्रस्ताव पारित नभएको रेकर्ड छैन होला विश्वमा । त्यो बैठकमा प्रचण्डजीको प्रस्ताव पारित भएन । नेपालको कम्युनिष्ट इतिहासमै यसरी अध्यक्षको प्रस्ताव पहिलोपटक असफल भयो । मोहन वैद्यहरूको प्रस्ताव पारित भयो । माओवादी अतिवादतिर लम्कियो । नेकपा माओवादीलाई त्यो परिस्थितिमा हामीले पु¥याइदियौं ।

अहिले नेकपा माओवादीले लिएको नीति बाध्यताको उपज हो । माओवादीसँग यो भन्दा अर्को विकल्पै थिएन । नेकपा माओवादीको नेतृत्वमा सरकार बन्दै नबन्ने कुरा उनीहरूले बुझे । नेकपा माओवादीले भनेजस्तो संविधान बनाउन कांग्रेस र एमालेले नदिने भए । त्यो पनि उनीहरूले बुझे । लडाकुहरूको समायोजन हुन नेपाली सेनाले नदिने भयो । त्यो पनि उनीहरूले बुझे । विस्थापितहरूको घरजग्गा फिर्ता गर्न उनीहरूकै कार्यकर्ताले दिँदैनन् । अब नेकपा माओवादीसँग के विकल्प छ त ? उनीहरू चारैतिरबाट घेराबन्दीमा परे । त्यो उनीहरूको पनि कमजोरी हुनसक्छ । प्रचण्डजीले प्रधानमन्त्री हुँदा पनि केही गर्न सक्नुभएन । उहाँले ठूलो मौका गुमाउनुभयो । यसरी केही गर्न नसकेका कारण पनि माओवादी फसेको हुनसक्छ । अब नेकपा माओवादी बाध्यतावश त्यो परिस्थितिमा पुग्यो कि उससँग कठोरता सिवाय, उग्रवादसिवाय अरू कुनै बाटो भएन । जो नेपालका लागि हरदम खतरा छ । यसरी एकातिर हामी विदेशी हस्तक्षेप बढ्यो भन्दै छौं भने अर्कोतिर हामी नै देशमा उग्रवादलाई निम्त्याइरहेका छौं । त्यसैले यहाँ मध्यमार्गी मान्छे देशको नेता भयो भने माओवादीलाई फेरि त्यो उग्रवादबाट अलिकति तान्न सक्छ भन्ने मेरो अनुमान छ । त्यो बाटोमा जान अहिले कुनै पनि पार्टी तयारभएको देखिदैन । अहिले हामी टकरावतिर गइरहेका छौं । माओवादीले बाध्यात्मक अवस्थामा अतिवादको बाटो समातेको छ भने हामी पनि त्यही अतिवादलाई मलजल पुग्ने बाटोतिर हिँडिरहेका छौं । यद्यपि त्यसमा हाम्रो स्वार्थ भनेको सत्ता हो । क्षणिक सत्ताप्राप्तिका लागि हामी अतिवादी बाटोतिर गइरहेका छौं । त्यो सरासर गलत हो ।

यो समस्याबाट मुलुकलाई निकास सुशील कोइराला, पुष्पकमल दाहाल र झलनाथ खनालले मात्रै दिन सक्छन् । यी तीनजना व्यक्तिले एकअर्कालाई अष्ठ्यारो नपर्ने, एकअर्कोलई बुझ्ने र एकअर्कोलाई नजिक ल्याउने परिस्थिति निर्माण गर्ने हो भने निकास निस्कन सक्दछ । यदि उनीहरूले पनि आफूलाई मात्र हेरे भने, आफ्नो पार्टीलाई मात्र हेरे भने कसरी निकास निस्कन्छ र ? जनताले, कार्यकर्ताले मात्र निकास दिन खोजेर त निकास निस्कँदैन । तीनजना बसेर टकरावमा नजाऊँ, अलिकति तपाई छाड्नोस्, अलिकति म छाड्छु, हाम्रो स्वार्थभन्दा राष्ट्रिय स्वार्थ ठूलो हो, लोकतन्त्र ठूलो हो, नेपाली जनता ठूला हुन् भन्ने महसुस गरे भने यो देशले निकास पाउन सक्छ । त्यसका लागि सर्वप्रथम त सरकारप्रतिको मोह तीनवटै दलले छाड्नुप¥यो । अथवा तीनवटैका लागि आपत्ति नहुने व्यक्तिको नेतृत्वमा सरकार बनाउनुप¥यो । त्यसपछि सबै पार्टीलाई आपत्ति नहुने आचारसंहिता बनाउन सकिन्छ । यदि नेपालप्रति माया छ भने नक्कली कुरा किन गर्ने ? हामी बाध्य छौं भनेर अलग अलग बसे त भइहाल्यो नि । यदि हाम्रा नेताहरूको केही बाध्यता छ, कतै प्रतिबद्ध छन् भने चाहिँ सँगै बस्न सक्दैनन् । कुरा मिल्दैन । कुरा नमिलेसम्म जसलाई प्रधानमन्त्री बनाए पनि सहज निकास निस्कँदैन ।

देशको राजनैतिक परिस्थितिका बारे म एउटा कुरा यहाँ जोड्न चाहन्छु । अनमिनलाई पठाउने कि राख्ने भन्ने विवाद उठिरहेको छ । कांग्रेसले अनमिनलाई राख्नुपर्छ भन्ने, माओवादीले यो बुर्जुवाहरूको संस्था अनमिनलाई लखेट्नुपर्छ भनेर नारा जुलुस गर्नुपर्ने ठाउँमा किन उल्टो भएको छ ? किन माओवादी अनमिन राखौं भन्छ, किन कांग्रेस र एमाले अनमिन हटाऔं भन्छन् ? अनमिनको विश्वसनीयतामा आएको कमीले नै यस्तो भएको हो । यसमा अनमिन जस्तो अन्तर्राष्ट्रिय संस्थाको के कमजोरी भयो भनेर आत्ममूल्यांकन गर्नुपर्दछ । किन अनमिन जस्तो संस्थाले माओवादीबाहेक अरू कसैको विश्वास पाउन सकेन ? यसमा अरूलाई मात्र दोष दिएर पुग्दैन । विदेशीलाई मात्र दोष दिएर पनि हुँदैन । कांग्रेसलगायतका दलहरूले त अनमिनबाट संरक्षण भएको महसुस गर्न पाउनुपर्ने होइन र ? तर कांग्रेसलगायतका दलहरूले त अनमिनबाट असुरक्षा भएको महसुस गरिरहेको छ, किन ? माओवादीले अनमिनबाट सुरक्षा भएको महसुस गरेको छ किन ? अनमिनलाई त अमेरिकी प्रभाव भएको संस्था भन्छन् । जबकिअमेरिकालाई पटक्कै मन नपराउने माओवादीले अनमिनलाई चाहिँ किन मन परायो ? यस्तो उल्टो राजनीति नेपालमा भइरहेको छ । त्यसैले गर्दा नेपालको राजनीति त्यति सहज बाटोमा गएको छैन । धेरै अप्ठ्यारा कुराहरू अहिले आइरहेका छन् । सहमतिका सम्भावनाहरू कम देखिएका छन् ।

देश अत्यन्त संक्रमणको बाटोमा अघि बढेको छ । भाषणमा सबैको प्राथमिकता शान्ति र संविधान हो । तर नेपाली जनताले देशमा संविधान बन्ने सम्भावना कम देख्न थालेका छन् । शान्ति प्रक्रियाको निष्कर्षको पनि सम्भावना कम देख्न थालेका छन् । यो अवस्थामा देशलाई निकास दिनु प्रमुख तीन दलहरूको भूमिका रहन्छ । यो विषयमा यदि नेपालका राजनीतिक दलहरू जिम्मेवार भएनन् भने इतिहासको कठधरामा उभिनै पर्नेछ । त्यतिबेला जनताको साथमा दुःखसिवाय के नै रहने छ र ।

(लेखक नेपाली कांग्रेसका पूर्व सह-महामन्त्री तथा पूर्व गृहमन्त्री हुनुहुन्छ । लमजुङ्ग सम्पर्क समाज काठमाण्डौ को मुख पत्र वेग पत्रिकामा प्रकासित )

Back