"भूमिका", गणेश राज शर्मा (सम्पादक), राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)
Print Friendly and PDF

वीपी कोइरालाको 'फेरी सुन्दरीजल' जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरुसंगको एउटा भेटघाटको उपलक्ष्यमा मैले वीपीको नासोसरह मसंग रहिआएको यो अर्को सामग्री गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरे। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको छ।

वीपीका यी विचार र टिप्पणीहरु कुनै औपचारिक वा पूर्वतैयारीका साथ गरिएको सम्बोधन वा प्रवचन थिएन र, यो यसै रुपमा प्रकाशित हुनसक्ने लागेर सङ्कलन गरिएको पनि होइन। अन्तिम पटकको त्यस क्यान्सरले गर्दा, जहाँसुकै र जतिसुकै प्रयत्न गरे पनि, त्यसको महङ्गो र कप्टकर इलाजको आधारमा कम्तिमा दुई हप्ता र बढीमा छ महिनाको आयु मात्र लम्बिनसक्ने उहाँका चिकित्सकहरुको निदान थियो। दुःख खप्नसक्ने उहाँको मनोबल र चारित्रिक विशेषताको कठिन परीक्षा पुःन शुरु भएको त्यस क्षणका हामी प्रत्यक्षदर्शीहरुका थुप्रै सम्झनाहरु क्रमशः आफूसंगै लोप हुदै जाने छन्।

आफ्नो आसन्न मृत्युलाई स्वीकार गर्दा कुनै भय, विपाद वा नैराश्यको मनस्थिति प्रकट नगरी अझ बढी विकसित र साधनसम्पन्न विरानो मुलुकको अस्पतालमा जनसम्पर्कविहीन भई केही बढी बाँच्नुभन्दा आफू यहीँ रहने उहाँको दृढनिश्चय थियो। उहाँले आफूलाई प्राप्त त्यस न्यूनतम अवधिभित्र अधिकतम सम्पर्क र सम्वादका प्रयासहरु आफ्नो अन्तिमसम्म गर्दैरहनुभएको देखियो। आफूलाई भेट्न आउने राजनीतिक कार्यकर्ता, शुभेच्छु वा अरु जोसकै आगन्तुकहरुसंगको सामूहिक सम्पर्कको बखतमा कसैको प्रश्न वा अरु उत्तेजित पार्ने प्रसङ्गमा अभिव्यक्त भएका उहाँका यी स्वतःस्फूर्त विचार र टिप्पणीहरु थिए, जसलाई मैले उहाँसंगको नियमित सम्पर्कको क्रममा यथासक्य टेप गरी लिपिबद्ध गरिराखेको थिएँ। सम्पर्कको क्रममा उहाँको व्यक्तित्व र विचारहरुका प्रति मेरो बढ्दै गएको अभिरुचिले गर्दा उहाँको आत्म वृत्तान्तको रुपमा प्रकाशित सामग्रीहरु मैले उहाँसंग एकान्तमा र प्रस्तुत सामग्री उहाँको सामूहिक भेटघाटको अवसरमा हुने अभिव्यक्तिहरुलाई टेपद्धारा सङ्कलन गर्ने प्रयास गरेँ। तर अनुकूल परिस्थिति र आवश्यक अन्य सामग्रीहरुको अभावले गर्दा त्यो पूरा हुन नसक्ने देखिएकोले यी सामग्रीहरु क्रमशः यसै रुपमा प्रकाशित हुदैआएको छ।

वीपीले नेतृत्व दिइरहेको युगमा उहाँका विचार र भूमिकाहरु जति नेतृत्वदायी र प्रभावशाली देखिन्थे, विवादास्पद पनि कम रहेनन्। यसै सङ्कलनमा परेका अभिव्यक्तिहरुबाट नै पनि वीपी आफ्नो युगको तीब्र विवादमा रहिआएको व्यक्तित्व देखिनुहुन्छ। पछिसम्मको पुस्तको लागि उहाँको एतिहासिक महत्व र उपयोगितालाई परिचित गर्नसक्ने यस प्रकारका वैचारिक पामग्रीहरुको आवश्यकता पूरा गर्न कसैबाट पनि पर्याप्त प्रयास भएको लाग्दैन।

एउटा खास समय र सन्दर्भमा वीपीद्धारा व्यक्त भएका विचार र सम्पन्न गरिएका भूमिकाहरुको विवेचनात्मक अवधारणाहरु केही मूलभूत मूल्य र मान्यताहरुको निरन्तरतामा आत्मसात गर्न सहायक हुनसक्ला भन्ने अभिप्रायले नै यस प्रकारका प्रकाशनहरुमा मेरा प्रयत्नहरु भए। अन्यथा माल्यार्पनद्धारा सजाइएका उहाँका तस्विर र चिप्ला मूर्तिहरुबाट मात्र उहाँको विचार र आस्थाको उपयोग भावि पुस्ताहरुको लागि सम्भव हुने छैन भन्ने मेरो धारणा छ।

यी सङ्गलनहरुमध्येको पहिलो सामग्री जनमत संग्रहपछि, वीपीले आफ्नो बैन्ही बुनु जकि आफ्ना–पतिका साथ पाकिस्तानको कुटनीतिक नियोग मलिनामा रहेको बखत उहाँहरुको आतिथ्यमा छँदा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुसंगको संम्बादको अवसरमा व्यक्त गर्नुभएका विचारहरु हुन्, जो मलाई त्यस अवसरमा खिचिएका तस्बिरहरुको एलबमका साथ मेरो व्यवसायिक मित्र विश्वकान्त मैनालीले यससम्बन्धी संलग्नतालाई बुझेर उसै बखत मेरो जिम्मा लगाउनुभएको थियो। त्यो टेप र एलबम उहाँलाई आफ्नो भाई डा. भरत मैनालीबाट प्राप्त भएकोले ती दुवैका प्रति मेरो धन्यवादसहितको कृतज्ञता छदैछ। अरु सबै सामग्रीहरु प्रत्येक विहानी वीपीसंग केही समयको लागि पाउने गरेको सम्पर्कको अवसरमा मैले सङ्कलन गरेका टेपवार्ताहरु हुन्। यसमध्ये २ ओटा टेपवार्ता अघि नै प्रकाशमा आइसकेका छन्।

यस सङ्कलनको समापन उहाँको अन्तिम सन्देशद्धारा भएको छ, जो अत्यन्त असाधारण र भावुक परिस्थितिमा भएको थियो। एक दिनअघिको उहाँको शारीरिक लक्षणहरुलाई हेर्दा अत्यन्त उद्धिग्नताका साथ अर्को दिन अब उहाँको अत्यन्त संक्षिप्त नै भए पनि, मुलुकको लागि एउटा मार्गदर्शन हुने गरी कुनै मन्तव्य टेप गर्ने अठोटका साथ म उहाँको निवास पुगेँ तलैदेखि विभिन्न व्यक्तिहरुले भने, वीपीले तपाईलाई खोज्दै हुनुहुथ्यो। म हतारिँदै वीपीको कोठाभित्र पसेँ तर उहाँलाई बोल्नै नसक्ने अचेत अवस्थामा पाएँ। सबै उदास, टोल्हाएका र क्यै गर्न नसक्ने विवशतामा देखिए। म पनि त्यस्तै विवशताका साथ बाहिर आउँदा शैलेजा आचार्य भेटिनुभयो। मैले वीपीबाट मार्गदर्शन हुने प्रकारको अन्तिम सन्देश लिन चाहेको थिएँ, अब कहिल्यै नसक्ने भएँ भन्ने निराशा व्यक्त गर्दा उहाँले उत्साहित गर्दै,"होइन, हिँड्नुस, सानदाजुले बोल्नुहुन्छ" भन्दै मेरो अघि लाग्नुभयो। सुतिरहेको मानिसलाई, "सानदाजु, गणेशराजजी आउनु भएको छ, तपाईले बोल्नुपर्यो" भन्दै दुई–तीन पटक घच्घच्याएपछि, उहाँले आँखा खोल्नुभयो र अत्यन्त कमजोर स्वरमा भन्नुभयो, "के बोल्ने?"

अनि, मैले एउटा सन्दर्भ प्रस्तुत गर्दै भनेँ, "यस स्थितिमा, तपाईको सम्पूर्ण राजनीसतक भूमिकाको अनुभवको आधारमा सम्पूर्ण देशवासीहरुलाई पछिसम्म मार्गदर्शन हुने प्रकारको जति संक्षिप्तमा भए पनि, एउटा सन्देश दिनुपर्यो।"

सिरानबाट टाउको उठाउन पनि नसक्ने स्थितिमा बोल्न शुरु गर्नुभएपछि, बिस्तार–बिस्तारै उहाँ उठेर बस्नुमात्र भएन, आफ्नो स्वाभाविक शैलीमा बाल्न थाल्नुभएकै बखत, हङ्गकङ्गबाट केही दिनको लागि आएका ईन्जिनीयर नरेश कोईरालाको कोठामा प्रवेश गरी फोटो खिच्न शुरु गरे, जसमध्येको एउटा फोटो उहाँको आत्मवृत्तान्तको आवरण पृष्ठमा छापिएको छ। अदम्य आस्था र त्यसप्रतिको प्रतिबद्धताले गर्दा नै त्यस शारीरिक अशक्ततामाथि उहाँले केही समयको लागि भए पनि विजय हासिल गर्नुभएको त्यस भावुक दृश्यको अनुमानका साथ यहाँको यस अन्तिम सन्देशलाई हेरिएमा, त्यसको प्रभाव अर्कै हुनेछ।

आफ्नो घाँटीको बायाँतर्फ एउटा सानो केराउको दानाजस्तो नदुख्ने गिर्खालाई उहाँले हरेक दिन छामेर क्यान्सर नै हो कि भन्ने अनुमान केही दिनदेखि गरिरहनु भए पनि त्यसको कुनै विशाद वा अत्याहट उहाँको अनुहारमा देखिँदैनथ्यो। त्यसपछि, कसरी क्यान्सरको निदान भयो र वीपीले त्यस मृत्युदण्ड सरहको निदान जुन सहजता र मनोबलका साथ स्वीकार गर्नुभयो, त्यसको केही उल्लेख ती अघिका भूमिकाहरुमा मैले गरी नै सकेको छु।

नेपालको तात्कालीन राजनीतिक सङ्कटका प्रति आफूलाई प्राप्त अत्यन्त सीमित समयभित्र समाजलाई सतर्क र सचेत पार्नको लागि जति स्पष्ट र कठोर अभिव्यक्ति आवश्यक थियो, प्रयोग गर्न उहाँ तत्पर हुनुभएको देखिन्थ्यो। राजनीतिक सङ्कट जति घनिभूत हुँदै गयो, उहाँ त्यसको आरम्भ–विन्दु २०१७ साल पुष १ गतेको घटनालाई नै हो भन्ने निश्चयात्मक ठहरमा पुग्दै जानुभयो। उहाँको विश्लेषणमा आधारित निष्कर्ष थियो–त्यस घटनापछि प्रजातान्त्रिक शक्तिहरुमात्र होइन, राजा पनि कमजोर भए र सम्पूर्ण राष्ट्र नै कमजोर भयो। उहाँको निष्कर्षमा, राजा महेन्द्रको अदूरदर्शी कार्य थियो। राजाका प्रतिको अन्तिम बखतसम्मको त्यो अभिव्यक्ति वैयक्तिक द्धेष वा प्रतिशोधको थिएन भन्ने कुरा विभिन्न प्रसङ्गहरुमा व्यक्त भएका छन्। उहाँ कुनै राजावादीभन्दा बढी राजतन्त्रवादी देखिए पनि त्यो विश्वास उहाँको समग्र नेपाली समाज र यसको परिवेशमा आधारित रहेको कुरा बुझ्न गाह्रो छैन।

पुष १ गतेको घटना र त्यसका परिणामहरुबाट सबभन्दा बढी दण्डित र पीडित हुनुभएको वीपीका त्यस प्रतिको विवेचना र अवधारणाहरुको बढी महत्व रहिरहने छ। "त्यस घटनापछि प्रजातन्त्रमात्र समाप्त भएन, राजा पनि कमजोर भए र विदेशी शक्तिलाई अवसर दियो यहाँको राजनीतिमा सत्रिय भूमिका खेल्न" भन्ने उहाँको गम्भीर अध्ययन र अनुभवमा आधारित अन्तिम निष्कर्ष यहाँ अभिव्यक्त छ। यथार्थमा, त्यस घटनाको विदेशी सुत्रधार र केन्दविन्दलाई यति धारिलो र स्पष्टताका साथ अभिव्यक्त गर्नसक्ने चेतना र नैतिक सामथ्र्य यस देशको अरु कुनै राजनेतामा रहेको देखिएन।

यसै प्रसङ्गमा, त्यस घटनाका एउटा प्रमुख पात्र डा. तुलसी गिरीको सम्बन्धमा पनि, उहाँको त्यस बखतको भूमिकाका प्रति वीपीका आशङ्काहरु अत्यन्त स्पष्ट र आक्रामक तवरले व्यत्तल भएको छन्, यद्यपी त्यस पछिल्लो समयमा पनि वैयक्तिक द्धेष वा कटुता नरहेका प्रसङ्गहरु उहाँहरु दुवैबाट मैले सुनेको हुँ। वस्तुतः, २०१७ साल पुष १ गतेको विषयमा डा. गिरी जति जानकारी भएको अब अर्को कुनै व्यक्ति बाँकिरहेको देखिन्न। उहाँको संस्मरणहरु अलोकप्रिय रहे पनि कति हदसम्म कमजोर भएभन्ने वीपीको विश्लेषणको पुष्ट्याईंकोे लागि राजा महेन्द्र छँदै २०२८ सालमा कुनै कानुनी परामर्शको लागि डा. गिरी आउनुभएको बखत उहाँ प्रधानमन्त्री हुने हल्लाको बारेमा मैले जान्नखोज्दा उहाँले भन्नुभएका यी वाक्यहरु यस खास प्रसङ्गमा उल्लेख गर्न म बाध्य भएको छुः– "अब त्यसको कुनै अर्थ छैन। पुष १ गतेको घटनापछि जब म सरकारमा गएँ, मेरो अगाडी राजाको बकार खुल्दैनथ्यो, अब म गएँ भने राजाको अगाडि मेरो बकार खुल्ने छैन।" त्यसपछि पनि बारम्बार शक्तिको घाम–छायाँमा पर्नुभएको डा. गिरी पनि नेपाली राजनीतिको लागि अध्ययनकै विषय हुनुहुन्छ।

आज्ञाकारी सेना भएको राजा र लोकप्रियता रहेको वीपी कोइरालाको तुलनामा डा. गिरीजस्ता राजनीतिज्ञहरुको शक्तिको आधार र त्यसको केन्द्रविन्दु वीपीका ती विश्लेषणहरुमा स्पष्टताका साथ औँलाइए पनि त्यसप्रतिको पर्याप्त जानकारी र सजगता श्रृजना हुन नसकेकोले, परिवर्तित सन्दर्भमा त्यै प्रवृत्ति दोहरिँदै गएको नियति मुलुकले भोग्दैआएको देखिन्छ। यथार्थमा, २०१७ साल पुष १ गतेको घटनाको बास्तविकता थाहा नपाउने हो भने यस प्रकारका घटनाहरु बारम्बार दोहरिइरहने छन्, र, बारम्बार राजा, जनता र सम्पूर्ण राष्ट्र कमजोर हुँदै, पर्दापछाडिको कुनै खेलाडी छ भने, त्यसबाट मुलुक आत्रान्त भइरहने छ।

यस संग्रहमा प्रकाशित वीपीका विचारहरुको आधारमा राजा महेन्द्र र डा. तुलसी गिरीजस्ता व्यक्तिहरुका बीचको सम्बन्ध र अन्तरविरोधको सीमाङ्कन गर्न गाह्रो पर्ने छ। पुष १ गतेको बास्तविक लाभ उठाउने शक्ति या व्यक्ति कुन थियो? राजा नै थिए भने, त्यस घटना पछि राजा पनि कमजोर भए भन्ने निष्कर्ष कति तर्कसङ्गत होला? डा. गिरी जस्ता व्यक्तिहरु नै निर्णायक थिए भने तिनको शक्तिको केद्र कहाँ थियो । तिनका माध्यमहरुको थिए? तिनको उद्देश्य र योजना के थिए? यी दुवैका अतिरिक्त, के अन्य कुनै शक्ति वा व्यक्तिको भूमिका थिएन? यस सम्बन्धमा वीपीको जेल जर्नललगायतमा केही सङ्केत देखिए पनि,यसको तहसम्मको विश्लेषण गर्नसक्ने सूचना, सामग्री र अवसरहरु सम्भवतः वीपीलाई प्राप्तहुन सकेन र, त्यस विषयमा अरु कसैले गहिरो अध्ययन वा जानकारी प्रस्तुत गर्ने प्रयास गरेको पनि देखिँदैन। तथापि, ती अनुत्तरित वा अर्धउत्तरित प्रश्नहरुको तहसम्म पुग्नको लागि सहायक यस प्रकारका सामग्रीहरुको संरक्षणमात्र होइन, ती सर्वसुलभ हुनुपर्दछ भन्ने धारणामा नै, मैले वीपी कोइरालाका यी सामग्रीहरु सार्वजनिक जानकारीमा रहनको लागि प्रकाशमा ल्याउने प्रयास गरेको हुँ।

आफ्नो क्रियाशीलताको युगपछि पनि जनतामा प्रजातान्त्रिक आदर्शहरुको उन्नायक र प्रतीक रहिआउनुभएको वीपीलाई यस राट्रको विशिष्टता र सामथ्र्यको जति पहिचान रहेको यस सङ्कलनमा अभिव्यक्त भएको छ, त्यस तुलनाको राजनीतिक विश्लेषण सामान्य जनताको लागि अप्राप्य छ। अन्य अवसरहरुका अतिरिक्त, आफ्नो अन्तिम सन्देशको प्रारम्भमा नै उहाँले "हामीहरु बडो अप्ठ्यारो परिस्थितिमा छौँ, हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो स्थितिमा छ र त्यसलाई जोगाउनपरेको छ" भन्ने द्रवित स्वरमा व्यक्त गर्दै, उहाँले अन्त्य पनि त्यतिकै भावुक स्वर र शैलीमा गर्नु भएको छ–"मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यसकारणले नदेवस् कि मैले आफ्नो बुताबाट एक भ्रम श्रृजना गरेँ भनेर। मलाई श्रेय दिनु छ भने एउटै कुरामा देवस् कि मैले देशभित्र देशको सामथ्र्यलाई बुझेको रहेछु। र, देशको सामथ्र्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु। त्यो श्रेय मलाई देओस्, नकि मैले आफ््नो बुताबाट गरेँ भनेर। नेपालको सामथ्र्यलाई मैले बुझेँ, त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरा मेरो लागि सौभाग्य हुनेछ। झूठो कुरा दिएर केही अर्थ हुँदैन। मेरो केही देन छ भने यस देशको सामथ्र्यलाई बुझेर आफ्नो कुरा भनेको छु।"

यसअघि, उहाँले व्यक्त गर्नुभएका यी सम्भावनाहरु वर्तमान सन्दर्भमा भविष्यवाणी नै भएका छन्, यद्यपि ती उहाँको वस्तुगत विश्लेषणमा आधारित थिए–"ती विदेशीहरुले जस्तोसुकै हत्याकाण्डको लहर यहाँ ल्याउँछन्, ल्याउँछन्, ल्याउँछन्, तर हाम्रो देश रहन्छ, रहन्छ, रहन्छ। र, त्यसको यस मुलुकामा आधार छ। एउटा आधार हामीहरुभित्र, तराईवासी हुन् वा नेवार हुन् वा पर्वते हुन, एउटा कता–कता लुकेको राष्ट्रिय भावना छ। त्यसले गर्दा हामीहरु बाँचेका छौँ।" मुलुक अस्तित्वकै सङ्कटमा परेको बखत राष्ट्रिय भावनाको त्यो सामथ्र्य अभिव्यक्त गर्नसक्ने मुलुकका राजनीतिमा कति देखिए भन्ने कुरा अध्ययनको लागि सहायक हुनेछ, जसको लागि वीपी र उहाँजस्तो अन्य अनेकौँका सम्पूर्ण कुराहरु समर्पित थिए।

यस प्रकाशनको लागि अघिजस्तै जगदम्बा प्रकाशनको तर्फबाट श्री कमलमणि दीक्षितको प्रोत्साहन र सहयोग पाएकोमा पुनः आभार व्यक्त गर्ने अवसर पाएको छु। यस प्रकाशनको लागि प्रोत्साहित गर्ने अन्य सबैका प्रति पनि आभारी छु। त्यसै गरी यसको प्रकाशनमा दीपक अर्याल र कम्प्युटर टाइपसमेत डिजाइनको लागि अन्जन आलेलाई उहाँहरुको लगनशीलता र परिश्रमको लागि पनि धन्यवाद छ। यस प्रकाशनको कानुन बमोजिमको सम्पूर्ण सर्वाधिकार अघिसरह नै जगदम्बा प्रकाशनमा रहने छ र यसबाट प्राप्त लाभांश वीपी कोइरालाको स्मृति कायम राख्ने प्रकारका कुनै पनि उपयुक्त कामकारवाई र सेवाको लागि त्यस पुस्तकालयको आधिकारिक निकायबाट हुने गरी अधिकृत गरिएको छ। यस सङ्कलनसंग सम्बन्धित टेपहरु मदन पुरस्कार पुस्तकालयबाट यथासक्य सुरक्षित राख्ने गरी सुम्पेको छु।

(गणेशराज शर्मा, धोबीधारा, डिल्लीबजार,काठमाडौँ। २०६३ साल मंसिर १ गते।)

Back