"राष्ट्रियताः नेपालको सन्दर्भमा", विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)
Print Friendly and PDF

'राजा अत्याचारी, निरङ्कुश र घोर जनविरोधी भए पनि राष्ट्रवादी त हो नि ।' २०१७ सालको काण्ड भइसकेपछि पनि एकजना सज्जनले मसँग यस्तो तर्क पेस गरे । म एकछिन स्तम्भित भएँ र उनको मुख हेर्न थालेँ । ती विद्वान् सज्जनको चिन्तनलाई २०१७ सालको काण्डले कुनै प्रभाव नपरेको देख्दा र जनताका मौलिक अधिकारको अपहरणलाई राष्ट्रवादको नमुना ठानेको देख्दा मैले एकछिन सोचेर भनेँ 'राष्ट्रियतासँग जनताको केही सम्बन्ध हुन्छ कि हुँदैन ? कि त्यो जनतासँग पूरै असम्बन्धित तत्व हो ? अब, मेरो प्रश्नको आशय नबुझेर छक्क भएर मतिर हेर्ने उनको पालो थियो । उनी र उनीजस्ता धेरै सदाशयी व्यक्तिहरुले पक्कै पनि राष्ट्रियताका सम्बन्धमा चिन्तन गरेर आफ्नो मस्तिष्कलाई थकाउन चाहेका छैनन् । उनीहरुका लागि राष्ट्रियता भनेको एउटा शुन्य नारा मात्र हो । मैले यहाँ दरबारबाट भत्ता पाउन्जेलसम्म राजालाई विष्णुको अवतार मानेर ठाउँ–कुठाउँ मौका–वेमौका स्तुति–गान गर्न नबिराउने र राजाको स्तुति–गान गर्ने व्यक्तिहरुको सन्दर्भ उठाएको होइन ।

मसँग प्रश्न गर्ने व्यक्ति राजाको स्तुति–गान गाउने खालको थिएनन् । उनी आफूलाई नेपालको राजनीतिमा स्वतन्त्र चिन्तन भएको व्यक्ति भन्न रुचाउँथे । ती विद्वान् सज्जन नेपालको राजनीतिले धारण गरेको उग्र रुपको परिप्रेक्ष्यमा स्वतन्त्र चिन्तन गर्ने सिद्धान्तले सदाशयी व्यक्तिहरुमा समेत कत्रो भ्रम उत्पन्न गर्न सक्छ भन्ने एउटा दृष्टान्त मात्र हुन् । मैले उनलाई सोधे के जनताका अधिकार खोसेर राष्ट्रियताको रक्षा हुन्छ त ? राजा महेन्द्रलाई ०१७ सालको ऐतिहासिक काण्ड घटाएबापत कृतज्ञताका साथ होस् या घृणाका साथ, इतिहासले पछि सम्झेला ? त्यो के कुनै अर्थमा पनि राष्ट्रिय अभियान थियो ? उनले त चाल्र्स प्रथमले जनताका प्रतिनिधिहरुको सभा 'संसद्' भङ्ग गरेकोजस्तो गरे । (चाल्र्स प्रथमले भङ्ग गरेको संसद्ले नेपालको ०१७ सालको संसद्ले नेपाली जनताको जति प्रतिनिधित्व गर्दथ्यो, त्यति प्रतिनिधित्व पनि गर्दैनथ्यो । तर, त्यस संसद्ले चाल्र्स प्रथम व्यक्तिको भन्दा बढी राष्ट्रिय प्रतिनिधित्व गथ्र्यो ।)

मैले विषय–प्रवेश गर्नेहेतुले ती सज्जनको चर्चा गरेँ । ती सज्जन मात्र कोरा नाराको सिकार बनेका रहनेछन् भन्ने प्रमाण मैले केही दिनपछि नै पाएँ । मैले विराटनगरको इलिट क्लबमा भाषण गरिसकेपछि देशभक्ति र राट्रियताका सम्बन्धमा मलाई एउटा प्रश्न सोधियो । मलाई सोधिएको प्रश्नको उत्तर दिने क्रममा मैले प्रश्नकर्तालाई सोधेँ 'राष्ट्र भनेको के हो ? नेपाल भनेको के हो ? देश भनेको के हो ? जनता होइन र ? जनताको अधिकार खोसेर देशको हितको रक्षा कसले, कसरी ग¥यो ?'

मैले भन्न खोजेको के हो भने देश वा राष्ट्र भनेको भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । तसर्थ, जनताको हित हुने कुरो नै देशहितको कुरो पनि हो । जनताको अधिकार देशको अधिकार हो । जनताको अधिकार हनन् गर्नु देशको अधिकार हनन् गर्नु हो । नेपालको भूगोलबाट यहाँ बस्ने एक करोड नेपाली जनता लोप भए भने मेरो अर्थमा नेपाल लोप हुन्छ । तर, त्यो भूगोल भने आफ्नो ठाउँमा जस्ताको त्यस्तै रहिरहनेछ । २०१७ साल पुस १ गतेका दिन देशवासीहरुले प्राप्त गरेको मौलिक अधिकार खोसियो, वाक् स्वतन्त्रता, सङ्गठन स्वतन्त्रतालगायतबाट जनता वञ्चित पारिए, जनप्रतिनिधिहरु थुनिए, संसद् विघटित गरियो, फेला परेका एउटै सांसदलाई पनि नछोडी बन्दी बनाइयो, संसद्का सभामुख थुनिए, जननिर्वाचित प्रधानमन्त्रीदेखि चाहे भूतपूर्व प्रधानमन्त्री हुन् वा साधारण कार्यकर्ता, राजनीतिमा लागेका कोही व्यक्ति पनि राजाको त्योदमन–चक्रबाट जोगिएनन् । त्यस दिनपछि पनि कसैले राजालाई राष्ट्रियताको समर्थक वा प्रतिक मान्छ भने नेपालको राजनीतिका सम्बन्धमा त्यो जस्तो ठूलो भ्रम अर्को कुनै हुनै सक्दैन । त्यस दिन राजाले स्पष्ट रुपमा आफूलाई जनताभन्दा पृथक तत्व मात्र होइन, विरोधी तत्वको रुपमा समेत प्रकट गरे ।

राष्ट्रियताका सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व जनता नै हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । समय–समयमा प्रकट हुने व्यापक समस्याहरुलाई सामूहिक रुपमा समाधान गर्नुपर्दा सहजै उत्पन्न हुने एकताको जनभावना नै राष्ट्रियता हो । राष्ट्रियताको यस परिभाषामा व्यापक समस्या, तिनको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता गरी तीन तत्व सामेल छन् । अर्को शब्दमा १. जनता, २.जनताको अगाडि उपस्थित समस्या, ३. त्यस समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र ४. त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्व हुन् । राष्ट्रियतालाई यसरी विचार गर्दा त्यसमा भूगोलको भूमिका गौण भएर जान्छ ।

हामीले राष्ट्रियताको सन्दर्भमा विचार गर्दा जनतामा सोच्ने बानी बसाल्नुपर्छ । त्यसो भयो भने मात्र राष्ट्रियतासम्बन्धी सत्यतथ्य बुझ्न सकिन्छ । राष्ट्रियतालाई जनताको सन्दर्भमा नसोची एउटा भूगोलको अर्थमा लिन थाल्यौँ भने राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि धूर्त तानाशाह वा राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि गर्ने र जनताको अधिकार अपहरण गर्ने हतियार बनाउन सक्छ । त्यही काम राजाले गर्न थालेका छन् । उनले आफ्नो हुकुमी शासनको तानाशाही व्यवस्थालाई टेवा पु¥याउनका लागि राष्ट्रियताको नारा प्रचारित गरिरहेका छन् । हामीले यस यथार्थलाई बुझ्नका निम्ति २००७ सालको प्रजातान्त्रिक आन्दोलनको दमनको सिलसिलामा राणाशासकले आफ्नो हुकुमी राज्य कायम राख्ने प्रयत्न गर्दै राष्ट्रियताको नारा प्रचार गरेको यथार्थलाई बिर्सनु हुँदैन । यहाँसम्म कि राणा शासकले वर्तमान राजा र उहाँका पितासम्मलाई पनि अराष्ट्रिय तत्व घोषित गरेर उहाँहरु सबैलाई राजच्यूत गर्ने काम गरेको थियो ।

भाषामा भन्नुहोस्, चाहे प्रचार–प्रणालीमा अहिलेको राजाबाट गरिएको राष्ट्रियताको प्रचार राणाहरुबाट गरिएकोे प्रचारको हुबहु नक्कल मात्र हो । दुवैले गरेको राष्ट्रियताको प्रचारको उद्देश्यः १. हुकुमी राज्यको स्थापना, २. प्रजातन्त्रको बढ्दो मागका विरुद्ध षड्यन्त्र गर्नु नै हो । परिवेशले त्यस समय राजा जनताको पक्षमा मिसिन आइपुगेका हुँदा त्यसबखत उनी तत्कालीन तानाशाहको नजरमा अराष्ट्रिय तत्व ठहरिए र राज्यच्यूत गरिए ।

आज तिनै राजा मोहनशमशेरको स्थानमा पुगेका छन् । र मोहनशमशेरकै हतियार प्रयोग गरेर प्रजातन्त्रका पक्षपाती जनतालाई दमन गर्दै राष्ट्रियताको प्रचार गर्दै छन् । राजा–पक्ष वा हुकुमी शासनको पक्ष र जनता पक्ष वा प्रजातान्त्रिक पक्ष मात्र नेपालको राजनीतिका दुई पक्ष हुन् । २००७ सालको श्री ३ मोहनशमशेर वा २०१७ सालको श्री ५ महेन्द्र, तानाशाह वा उनको पृष्ठपोषकको हतियार सैनिक दृष्टिबाट होस्, वा सैद्धान्तिक प्रचारात्मक दृष्टिबाट होस्, त्यो एकै किसिमको हुन्छ । पाठकहरुसँग म राणापक्षबाट २००७ सालमा गरिएको प्रचारबाजीलाई एकपटक फेरि पढेर आफ्नो स्मृतिलाई ताजा पार्न अनुरोध गर्दछु । त्यसबाट मैले भन्न खोजेको कुरा स्पष्ट हुन्छ र, त्यसको प्रभावकारिता पनि सिद्ध हुन्छ ।

राष्ट्रियताको इतिहास

राष्ट्रियताको सन्दर्भमा अध्ययन गर्दा नेपालको इतिहासमाथि दृष्टिपात गर्नु आवश्यक हुन्छ । इतिहासले यस सम्बन्धमा के भन्छ ? वर्तमान नेपालको गठन गोर्खाका राजा पृथ्वीनारायण शाहको विजय अभियानको सफल परिणाम हो । अठारौँ शताब्दीमा हिन्दुस्तानी भू–भागमा मुगल साम्राज्यको अत्न्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिको लाभ उठाउँदै अनेकौँ राजा–महाराजा, जागिरदार तथा साहसी सरदारहरु आ–आफ्नो क्षेत्रको विस्तार र नयाँनयाँ राज्यको गठनमा तँछाडमछाड गर्दै विजयको होडमा लागेका थिए ।

पृथ्वीनारायण शाह पनि त्यस्तै एउटा राजा हुन् । उनी आफ्ना छिमेकका राजा–रजौटाहरुभन्दा बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरु शत्रुपक्षभन्दा अधिक दक्ष र रणकौशल थिए । पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरु केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्व हो ।

त्यस समयमै ब्रिटिस साम्राज्यको जग पनि बस्न थालेको थियो । हिन्दुस्तानी उपमहाद्वीपको राजा–रजौटाहरुबीच राज्य विस्तारको होड चलिरहेको तत्कालीन राजनीतिक परिस्थितिबाट फाइदा उठाएर अङ्ग्रेजले ब्रिटिस साम्राज्यको स्थापना गर्न सफलता पाएका थिए । अङ्ग्रेजहरुले ब्रिटिस साम्राज्यको स्थापनाको प्रक्रियामा आफ्नो बेहत्तर स्वार्थको हितलाई ध्यानमा राखेर हिन्दुस्तानको आर्थिक दृष्टिले लोभलाग्दो अधिकांश भागलाई त आफ्नो कब्जामा पारे, बाँकी रहेका भागका सम्बन्धमा पनि स्थानीय शासकहरुसँग विभिन्न प्रकारको सन्धि गरे ।

नेपालसँग पनि सन् १८१६ मा सुगौली–सन्धि भएको थियो । ती सन्धिहरु कुन अर्थमा समेत असमान थिए भने ती सन्धिद्धारा देशी शासकलाई धेरथोर लाभ प्राप्त भएको भए पनि तद्नुरुप उनीहरुले टक्रयाउनुपर्ने सम्मान, शक्ति र तोपको सलामीको सङ्ख्या निर्धारित गरिएको थियो । यसरी अङ्ग्रेजले श्रेणीबद्ध ढङ्गले भारतीय भूगोलमा रहेका राज्यमा सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । उनीहरुले त्यस अवस्थामा नेपाललाई सबभन्दा ठूलो र सम्मानित स्थान दिएका थिए । अनि क्रमशः निजाम, कस्मिर, बडौदा आदिको स्थान आउँथ्यो ।

सुगौलीको सन्धिले गोरखा राज्यविस्तारको अभियान समाप्त पा¥यो । गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन । त्यस समयका शासकहरु न नेपाली राष्ट्रिय भावना प्रेरित थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही वा अफिसरहरु नै राष्ट्रवादी थिए । गोर्खाली राजाहरुले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरुको चरित्र राष्ट्रिय नेताको होइन, विजेताको थियो । तसर्थ, विजित देशहरुका राजा र प्रदेशहरुसँग कहिल्यै कोमल व्यवहार गरिएन । काठमाडौँका नेवार प्रजाहरुलाई अद्यापि त्यसको गुनासो छ ।

सुगौलीको सन्धिले राष्ट्रको निर्माण गरेन, नेपाल देशको भूगोल मात्र निर्धारित ग¥यो । हो, त्यस दिनदेखि भविष्यको बृहत्तर नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भने बन्यो । एउटा देशको गठन भयो । यस निर्धारित र निश्चित भूभागमा बस्ने यावत् जातिहरु, विभिन्न धर्मावलम्बीहरु र अनेक भाषाभाषीहरुको एउटा देश नेपालको उदय भयो । गोरखा शासक तथा तिनका अनुयायीहरुको विजय–अभियानको परिणामस्वरुप र साथसाथै अङ्ग्रेज विदेशी विजेताहरुको अभियानसँग जुध्न पुगेर बन्न गएको नेपाल देशको इतिहास सन् १८१६ को सुगौली–सन्धिबाट प्रारम्भ हुन्छ ।

त्यसपछि राष्ट्रियताको उदयका लागि सामग्री तयार भयो ।
१. एउटै राजाको मातहतमा देशभरि एक किसिमको शासन व्यवस्था कायम भयो,
२. देशभर व्याप्त शासन व्यवस्थाको सञ्चालनको भाषा–माध्यम नेपाली भाषा भयो ।

प्रशासकीय एकताको सन्दर्भमा नेपाली भाषाको उदयको इतिहासको अध्ययन हुनसक्ने हुनाले राष्ट्रियताको लागि तयार भएका प्रारम्भिक सामग्रीहरुको चर्चा गर्दा प्रशासकीय एकताअन्तर्गत नेपाली भाषाको व्यापक प्रयोगको चर्चा गर्न सकिन्छ । यसरी, दुई प्रकारका सामग्रीहरुको चर्चा गर्नुको सट्टा एउटै मूल सामग्रीको चर्चा गरे पनि पुग्छ । अर्थात्, सन् १८१६ मा नेपाली राष्ट्रियताको उदयका लागि गोर्खाली राजाहरुको विजय अभियानको एउटा अप्रत्यासित माध्यम फेला प¥यो । कुनै पनि विजेताले देशहरुमाथि विजय हासिल गरिसकेपछि आफ्नो लक्षण र गुण कायम राख्दै विजित देशहरु वा भू–भागहरुमाथि आफ्नो प्रशासन–यन्त्र कायम गर्नुपर्छ । शाह शासकहरुले पनि त्यही काम गरे । तिनीहरुले विजित नेपाली भू–भागमा आफ्नो प्रशासन कायम गरे, तर विजेताको आफ्नो लक्षण र गुण–दोषलाई कायमै राखे ।

२०० वर्षपछि आजसम्म पनि नेपालका राजाले विजेताको आफ्नो स्वरुप छाड्न सकेका छैनन् । र, जनता पक्षकाले प्रजाको अधिकारको चर्चा गर्दा वा अधिकारका लागि आवाज उठाउँदा वा राजा र प्रजाका प्रतिनिधिहरु एउटै थलोमा उभिनुपर्छ । भन्ने कुरा गर्दा उनीहरुले उल्टै राजाको दमनको सिकार हुनुपर्छ । कतिपय दरबारियाहरुले राजाले जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोग गर्दा राजाको साहसी कदम र राजमुकुटलाई दाउमा राखेको कुरा पनि गर्न सक्छन् । मानौँ, देश नेपालीहरुको नभएर राजाको पैतृक सम्पत्ति हो । राजमुकुट–राष्ट्रिय प्रतीक नभएर राजाको व्यक्तिगत शिरशोभा हो । यो बहुमूल्य भएकोले उनलाई हारजितको दाउमा राख्ने अधिकार प्राप्त छ ।

नेपालको राष्ट्रियताको इतिहासमा नेपाली भाषाको इतिहासलाई छाडेर सन् १८१६ पछिको काललाई मरुभूमियुग भने पनि हुन्छ । शासकवर्गको विजयको बाढी रोकिएपछि उनीहरुको शासन र राजनीति केवल दरबारिया षड्यन्त्रको दोस्रो नाम मात्र हुनपुगेको पाइन्छ । गोर्खालीहरुको विजय अभियानमा अप्रत्यासित रुपले एउटा ठूलो ऐतिहासिक कार्यका रुपमा नेपालको वर्तमान विस्तार गरेपछि गोरखा पल्टन र त्यसका नेतागण अरु कुनै ऐतिहासिक जिम्मेवारीको अभावमा दरबारको षड्यन्त्रको हतकण्डा वा हतियार बन्न पुगेको पाइन्छ । राष्ट्रिय भावनाको सिर्जना नभएकाले तिनीहरु राष्ट्रिय सेनामा परिणत हुन सकेनन् । राज्य विस्तारमा क्षेत्रीय विजयको मार्ग पनि अवरुद्ध भएपछि गोर्खा पल्टन केवल भरौटे पल्टन हुन पुग्यो, उनीहरु दरबारका षड्यन्त्रकारीहरुको स्वार्थसिद्धिमा प्रयोग भइदिने शक्तिको रुपमा अवतरण भए । आज पनि नेपालको पल्टन 'शाही पल्टन' मात्र भएर रहेको छ, राष्ट्रिय पल्टन हुन पाएको छैन । यसको विवेचना अर्को अवसरमा गर्नेछु ।

यस लेखमा शासक र उनका अनुयायीहरुले देशमा राष्ट्रियताको निर्माणका लागि आफ्नो सक्रियता देखाएनन् भन्ने मात्र मेरो उद्देश्य हो । उनीहरुबाट विभिन्न जाति र धर्मालम्बीहरुको ठूलो नेपाली जमातलाई राष्ट्रको रुपमा गठन गर्ने प्रयास भएन । प्रशासन पनि जमिन्दारी खालको केवल तिरो उठाउने व्यवस्था मात्र बनेर गयो । त्यसमा राष्ट्र निर्माणको भावनाले पटक्कै ठाउँ पाएन । पल्टन केवल गोर्खाली पल्टन बनेर रह्यो । विदेशीसँग मुकाबिला गर्नु नपरेको र जसको भर्तीको आधार सीमित भएकाले त्यसको दृष्टिकोण राष्ट्रिय हुन सकेन । सेना एउटा त्यस्तो तत्व हो, जसको माध्यमद्धारा विभिन्न जाति तथा भाषा–भाषीहरुलाई एउटै सङ्गठनमा आबद्ध गरेर राष्ट्रियताको चेतना दिन सकिन्छ, त्यो पनि भएन । योग्यताको आधारमा वा अरु कुनै निश्चित आधारमा गठन नभएकोले कर्मचारीतन्त्र पनि राष्ट्रिय हुन सकेन । शासकको खुसीमा कर्मचारीको योग्यता निर्भर रहने हुनाले तिनीहरुमा चाकरीको मनोवृत्तिले प्रोत्साहन पायो । झन वार्षिक पजनीको प्रणालीले गर्दा त त्यो मनोवृत्तिले चरम सीमा प्राप्त ग¥यो । तिनीहरु राजाको नोकर भए, राष्ट्रको सेवक भएनन् ।

नेपाली राष्ट्रियता

नेपालका शासकले नेपाली समाज र देशको हितको ध्यान राखेको भए सबैभन्दा पहिले उनको प्रयत्न नेपाली राष्ट्रियताको सृजना गर्नपट्टि लाग्ने थियो । जनताको सामूहिक प्रयासबाट नेपालको शासन व्यवस्थाको आधुनिकीकरण र नेपाली जनताको असहनीय दरिद्रताको निराकरण गर्न सकिन्थ्यो । शासनयन्त्रमा जनताको सक्रिय सहयोग तथा गरिबी मेटाउने प्रयत्नमा जनताको सामूहिक अभियान साथ–साथै हुन सकेको भए नेपाल यति पिछडिएको देश हुने थिएन । गरिबी मेटाउनका लागि प्रयुक्त र शासनयन्त्रमा सहयोगी भएको जनता ठूलो राष्ट्रिय शक्ति बन्ने थियो र नेपालको आधुनिकीकरणको बाटो सरल हुने थियो । शाह हुन् वा राणा, नेपालका कुनै राजाले पनि यस दिशापट्टि ध्यान दिएन । त्यसमा ध्यान गएको भए पनि राष्ट्रिय शक्तिको उदय नै आफ्नो निहित स्वार्थका लागि घातक हुने सम्झेर त्यसको विकासका सारा बाटो थुनेर राखे । हजारौँ सङ्ख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागिर खाएर ऋण तिर्ने कर लाउने तत्वले राष्ट्रियताको ढ्वाङ् पिटेको किञ्चित पनि सुहाउँदैन ।

मैले भन्न खोजेको के हो भने १८१६ सालपछि नेपाल देश त बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढाँचा खडा भयो तर त्यसमा आत्मा आउन सकेन । फ्रेम बनाइयो, तर तस्बिर राखिएन । भाँडो कुँदियो, तर त्यसभित्र आवश्यक तत्व रादिएन । उक्त ऐतिहासिक विश्लेषणको प्रकाशमा 'जहिलेसुकै नेपालको एकतन्त्रीय शासनव्यवस्थाको विरुद्ध आवाज उठ्यो, त्यो राष्ट्रियताको आवाज थियो' भन्न सकिन्छ । नेपालको ऐतिहासिक सन्दर्भमा एकतन्त्रीय शासन वा हुकुमी राज्य राष्ट्रियताको घातक हो । शासनयन्त्रमा प्रजा समावेश हुनु प्रजातन्त्रको मूलभूत सिद्धान्त हो । राष्ट्रियताको भावनाबाट प्रेरित नेपाली जनताले मात्र गरिबीको चुनौतिको सामूहिक रुपबाट मुकाबिला गर्न सक्छन् । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा पर्यायवाची शब्दजस्ता हुन पुगेका छन् ।

यस सन्दर्भमा राष्ट्रियताको विवेचना गर्दा २००७ सालको क्रान्तिको महत्व अत्यन्त ठूलो छ । सायद नेपाली इतिहासमै पहिलोपटक जनताबाट एउटा सामूहिक प्रयास गरियो । मेचीदेखि महाकालीसम्म तराई, पहाड र उपत्यकाका अनेक जाति, वर्ण र धर्मावलम्बीहरुले सामूहिक आवाज उठाए । एउटा सशक्त देशव्यापी भावना जागृत भयो र राष्ट्रियताको उदय भयो ।

राष्ट्रियताको विकासका सन्दर्भमा २००७ सालको क्रान्ति एउटा बलियो पाइलाको प्रथम चाल थियो भन्न सकिन्छ । त्यसभन्दा पहिले नेपाली जनताले देशव्यापी रुपमा एउटै भावनामा बाँधिएर कुनै कार्य सम्पादन गरेका थिए ? २००७ सालको क्रान्तिको यस महत्वलाई बिर्सनु हुँदैन । त्यस क्रान्तिले शासनव्यवस्थामा मात्र परिवर्तन ल्याएन, राष्ट्रियताको भावनाको उदय पनि ग¥यो । कोतपर्वले पनि शासनव्यवस्था त परिवर्तन गरेको थियो । २००७ सालपछि जनतालाई प्रजातान्त्रिक अधिकार प्राप्त भएकाले राष्ट्रियताले पनि विकसित हुने मौका प्राप्त ग¥यो । देशभरि राजनीतिक, सामाजिक पार्टीहरु स्थापित भए, जसमध्ये धेरैजसो देशव्यापी थिए । प्रत्येक पार्टीले आ–आफ्नो मञ्चबाट देशका कुना–कुनामा देशव्यापी रुपमा आफ्नो सामाजिक, आर्थिक वा राजनीतिक कार्यक्रमको घोषणा गरे । देशमा जनताको आवाज घन्किन थाल्यो ।

२००७ सालको प्रजातान्त्रिक क्रान्तिले राणाहरुको एकतन्त्रीय शासन मात्र समाप्त पारेन, नेपाल नेपाली जनताको हो भन्ने भावना पनि जागृत गरायो । र, त्यसले नेपाली भन्नाले धर्म, वर्ण र लिङ्गको विभेदरहित नेपाल राज्यभित्र बस्ने सम्पूर्ण नेपाली नागरिकलाई परिलक्षित गर्ने भावना सृजना ग¥यो । राष्ट्रियताको अभिवृद्धिमा २०१५ सालको आमचुनावले मद्दत ग¥यो । संसद् एउटा राष्ट्रियसभा थियो । राजाले राष्ट्रियताको बढ्दो गतिलाई आफ्नो सैनिक बल प्रयोगद्धारा २०१७ सालमा एकैचोटि रोके । उनी २००७ देखि २०१७ सालसम्म १० वर्षको राष्ट्रियताको उपलब्धिलाई समाप्त गरेर आफू पुनः विजेताको रुपमा प्रकट भए । 'मुकुट' २००७ सालमा एउटा राष्ट्रिय प्रतीकजस्तो भएको थियो । मुकुटधारीको आन्तरिक उद्देश्य जेसुकै भए पनि २०१७ सालमा त्यो मुकुट राष्ट्रिय प्रतिक नभएर एउटा विजेताको शिरशोभा हुन पुगेको छ ।

यस दृष्टिबाट २०१७ साल पुस १ गतेको काण्ड केवल घोर अप्रजातान्त्रिक मात्र होइन, घोर अराष्ट्रिय कदम पनि हो । जनताको मौलिक अधिकार हनन् गर्ने कदमलाई कुनै अर्थमा पनि राष्ट्रियताको कदम भन्न सकिँदैन ।

(स्रोतः तरुण अङ्क २, वाराणसी, १९७१)

Back