वी. पी. कोइरालाले शंकर होटल काठमाण्डौंमा– वागमती अञ्चल, कार्यकर्ता सम्मेलनमा, १७ चैत्र २०३७ मा दिनु भएको भाषण
Print Friendly and PDF

सबभन्दा पहिले त तपाईहरुसंग भेटघाट गर्न पाउँदा मलाई बडो खुसी लागेको छ र बडो उत्साह पनि भएको छ । हामीहरुले धेरै दिनदेखि पूर्व मेचीदेखि यात्रा प्रारम्भ गरेर प्रायः महाकाली सम्म पुग्यौं र आज यो अन्तिम भन्नु प¥यो । काठमाडौंमा यस्तै भेला गर्छौ, बागमती अञ्चलको । यस भ्रमणमा धेरै साथीहरु— नयाँ नयाँ र पुराना साथीहरुसित पनि भेट भयो । उनीहरुको विचार पनि हामीले थाहा पायौं । यसबाट हामीहरु जति छौं, मसँग आएका साथीहरु समेत, सबैलाई बडो उत्साह र प्रेरणा प्राप्त भएको छ । मलाई लाग्दछ, तपाईहरुलाई पनि बडो उत्साह भयो होला । जिल्ला–जिल्लामा काम गर्ने साथीहरु, गाउँमा बसेर काम गर्ने साथीहरुलाई एउटा ठूलो अवसर हो यो । हामीहरु त केवल आफ्ना जिल्लामा मात्र सीमित रहनेछौं, हाम्रा सहयोगीहरु त धेरै फैलिएका रहेछन्, एउटा बृहत समाजका सदस्य रहेछौ भन्ने अनुभब हाम्रा साथीहरुलाई भयो होला । त्यसले पनि उत्साह र प्रेरणा प्राप्त भयो होला भन्ने मलाई लाग्दछ । हामीहरुले हरेक जिल्लाका साथीहरुबाट धेरै कुरहरु सुन्यौ— जिल्लाका समस्याहरु सुन्यौ, अहिले भर्खरै म भन्दा पहिले साथीहरुले बोल्नु भयो, दुर्गम क्षेत्रबाट आएका साथीहरुले भन्नु भयो— त्यहाँका समस्या, किसानका समस्या, सुकुम्बासीका समस्या, मजदुरका समस्याहरु सबैका बारेमा हामीहरुले सुन्यौ ।

अहिले जो परिस्थिति उत्पन्न भएको छ संविधानको तेस्रो संम्शोधनले, त्यसका बारेमा पनि के कसो गर्नु पर्ने हो, तपाईहरुले भन्नु भयो । र बडो इमान्दारीपूर्वक जनताका वीच उभिएर, तपाईहरुलाई के अनुभव भएको छ त्यसको आधारमा आ–आफ्नो मन्तब्य यहाँ दिनु भयो । मेरो कुरा गर्नु हुन्छ भने म त केन्द्रमा बस्दछु । गाउँ–घरमा बस्दिनँ । केवल तपाईहरुका विचारहरु र अलिकति आफ्ना अनुभवको आधारमा म विष्लेषण गर्दछु र त्यसपछि निर्णय दिने गरेका छौ । यसपालि भने, बीस वर्ष पछि यो सम्मिलित रुपबाट हजारौ साथीहरुका बीच छलफल गरेर हामीलाई एउटा ठूलो निर्णय लिने आधार प्राप्त भएको छ । तपाईहरु जिल्लामा बस्नु हुन्छ, कति त विकट जिल्लामा जहाँ प्रशासनको सबभन्दा ठूलो दबाव रहन्छ; गाउँ घरमा बस्नु हुन्छ, एक्लो भएर बस्नु हुन्छ— त्यहाँ अहिलेका ब्यवस्थावादीहरुको दबाव, थिचोमिचो, दमन सबै तपाईहरुले सहनु पर्दछ । त्यसो त यस दमनबाट, कोही पनि मुक्त छैनन् तैपनि केन्द्रमा बस्ने भन्दा ठूलो दमन तपाईहरु माथि छ । त्यसो हुनाले हामीहरुले कुनै निर्णय लिनुभन्दा पहिले यो सम्झनु पर्दछ कि कुन जिल्लामा बस्ने साथीहरुको के समस्या छ ? कसरी यो दमनको उनीहरुले मुकाविला गर्न सक्लान् ?

नेपालको राजनीतिमा हामी प्रायः ३५ वर्षदेखि काम गरिरहेका छौ र त्यस बखतको अवस्था र अहिलेको अवस्थामा ठूलो अन्तर छ । अहिले बीस वर्ष यताको दमनबाट खारिएका साथीहरु छन् । तीनीहरुले आफ्ना गोडामा उभिएर बीस वर्ष सम्म भोगेको अनुभव छ । पहिले त्यो अनुभव थिएन । पहिलेका साथीहरुलाई २००७ सालमा क्रान्ति गरेको त्यसपछि चुनाव भएको र त्यो चुनाव जितेको अनुभव छ । त्यसपछि यो बीस वर्षको अवधिमा दमन के हुन्छ, एउटा व्यवस्था जनताको काँधमा लादियो भने कस्तो अवस्था हुन्छ भन्ने, कार्यकर्ताको हैसियतले यो अनुभव हाम्रा साथीहरुलाई भएको छ । र त्यही अनुभवको आधारमा उनीहरु कार्य गरिराखेका छन् । त्यसो हुनाले पहिलेको अवस्थाभन्दा अहिलेका साथीहरुको जुन अनुभव छ, त्यो ज्यादा चोखो र ज्यादा भर पर्दो छ । जुन–जुन साथीहरुले जस्तो–जस्तो मन्तव्य दिए । यहाँ विरोधी मन्तव्य दिए तापनि त्यो इमान्दारीपूर्वक आएको मन्तव्य हो भन्ने हामीलाई लागेको छ । अहिलेको परिस्थितिमा हामीहरुले यथास्थितिमा पनि भाग लिनु पर्दछ भन्ने आवाज पनि आयो । त्यो पनि अनुभवको आधारमा, आफ्नो बुद्धिको आधारमा उनीहरुले भने होलान् । त्यस्तै अरु साथीहरुले भने— हामीहरुले कुनै पनि हालतमा यस व्यवस्थासँग कुनै किसिमको सम्बन्ध राख्न हुदैन र पूर्ण वहिष्कारको नीति अपनाउनु पर्दछ । अरु कतिले चाहि त्यसमा केही शर्त राखेर हामीले सहभागी हुनु पर्दछ भने । यद्यपि यी परस्पर विरोधी विचारहरु परे । तर यी सबै विचारहरुको आधार साथीहरुको आफ्नो अनुभव, बुद्धि र आफ्नो विवेक नै हो भन्ने हामीहरुलाई लाग्दछ । त्यसो हुनाले विचारको मेल नभए तापनि आफ्नो अनुभवप्रति इमान्दारीको झल्को हामीहरुले पायौं । यसले पनि बडो ठूलो मद्दत हुन्छ, हामीहरुलाई, आफ्नो निर्णय लिनमा ।

अहिलेको संविधानको सम्बन्धमा साथीहरुमा केही भ्रम छ जस्तो मलाई लाग्छ । चुनावमा भाग लिन हुन्न, कुनै हालतमा पनि अहिलेको व्यवस्थासँग कुनै किसिमको सम्बन्ध हाम्रो रहनु हुन्न भन्ने केही साथीहरुको भनाई छ । त्यसलाई काट्ने साथीहरुले भने— होइन, अहिलेको परिस्थितिमा हामीहरुलाई केही अधिकार प्राप्त भएको छ त्यो प्रयोग गर्नु पर्दछ । दुइटैले नबुझेको जस्तो लागेकोले म अहिलेको संविधानको बारेमा केही कुरा भन्न चाहन्छु । जहाँसम्म संविधानको प्रश्न छ, त्यसका बारेमा कसैले पनि भनेको छैन कि यो प्रजातान्त्रिक संविधान हो । त्यसो हुनाले हाम्रो लागि यो संविधान स्वीकार गर्ने वा नगर्ने भन्ने प्रश्न नै छैन । यो हाम्रो निम्ति काम लाग्ने संविधान होइन । यो पूर्ण प्रजातान्त्रिक छैन । त्यसो हुनाले संविधानलाई दुई स्तरमा हामीहरुले हेर्नु पर्दछ । यो संंविधानमा जनसअभागिताको पनि उल्लेख छ र त्यसको अवसर पनि दिएको छ, २१ वर्ष पुगेकाले भोट दिन पाउँछन्, जनताले भोट दिन पाउँछन् । यस हदसम्म यो प्राजातान्त्रिक छ । भोट दिन पाउनु ठूलो अधिकारको कुरा हो । तर त्यो भन्दा माथि जाने कोशिश गर्ने बित्तिकै छेकवार प्रारम्भ हुन्छ । पहिलो छेकवार त, जो उमेदवार हुन्छ, त्यसले ६ ओटा वर्गीय सङ्गठनमध्येको सदस्य हुनुपर्छ ।

म अमेरिकाको अस्पतालमा थिएँ, जुनबेला महाराजधिराजबाट संविधानको घोषणा भयो । त्यसपछि मलाई त्यहाँका नेपालीहरुले संविधानको सम्शोधन ल्याएर दिए । त्यसमा ६ वटा वर्गीय सङ्गठन मध्ये एकको सदस्य अनिवार्य गरिदिएकोले मलाई के लागेको थियो भने, त्यसबाट राजाले संसदलाई आफ्नो हातमा नियन्त्रण गर्ने अप्रत्यक्ष नियन्त्रक शक्ति लिएको होला । त्यहाँ कसैले गडबडी ग¥यो भने प्रत्यक्ष राजा त्यहाँ संलग्न नभएर अथवा स्वीच दवाएर बत्ती निभाउने काम गर्न राजाले आफ्नो हातमा हतियार राखेको होला । सकैले केही गडबडी गरेको खण्डमा यतापट्टि वर्गीय सङ्गठनको सदस्यताबाट त्यसलाई बरखास्त गरिदियो भने स्वतः राष्ट्रिय पञ्चायतको सदस्यताबाट पनि बर्खास्त हुने । मानिलिनोस् ८४ स्थान लिएर म प्रधान मन्त्री भएँरे, तर त्यहाँ अप्ठयारो परेमा २०१७ सालको जस्तो काण्ड नगरी वर्गीय सङ्गठनको स्वीच दवाइदियो भने मेरो प्रधान मन्त्री पद पनि संसदमा खतम हुने, त्यो उद्देश्य हुन सक्छ कि भन्ठानेको थिएँ । तर एक महिना पहिलेको अध्यादेशबाट त्यो पनि नभएको प्रमाणित भयो । बर्गीय सङ्गठनको सदस्य त केवल औपचारिक किसिमको मात्र रहेछ । त्यसको सदस्य बन्ने वित्तिकै पाँच वर्षको निमित्त सदस्य बनिरहने उल्लेख छ । राष्ट्रिय पञ्चायतको सदस्य भैसके पछि त्यसमा यसबाट कुनै प्रभाव पर्न सक्ने भएन । त्यसको उद्देश्य त राजाको हातमा हतियार राख्ने पनि होइन रहेछ । व्यवस्थामा रहेका र अरु पनि केही ठूला मानिसहरुले मलाई सम्झाए, अब त तपाईलाई बाधा रहेन । बर्गीय सङ्गठनको, सदस्य त एउटा औपचारिक कुरा मात्रै रह्रयो । त्यसको कुनै अर्थ रहेन । राजाको हतियारको रुपमा रहेको भए पनि यसको उपयोगिता हाम्रो पक्षमा नहोस् तर राजाको पक्षमा छ भन्ने थियौं । यो राजाको हातमा हतियार पनि भएन । त्यसो भए यसको के उद्देश्य हुन सक्छ भन्दा एउटै उद्देश्य एउटा असम्मान ।

यदि कुनै मानिस संसदको सदस्य हुन खोज्दछ भने पहिले नै असम्मानको एउटा कागज गरिकन उसले उमेदवार हुनु पर्छ । त्यो असम्मान बाहेक यसको कुनै अर्थ छैन । हामीहरु जस्ता मानिस, जसले दशौ वर्ष कुनै कागज नगरिकन जेल बस्यौ; यस्ता धेरै मानिसहरु छन् यसरी जेल बसेका तिनीहरुले कुनै कागज गरेर छुटेनन् तर कागज नगरिकन जेल बसेका मानिसहरुलाई अब कागज गर्नु पर्ने भयो उम्मेदवार बन्न । त्यसो हुनाले यो हामीलाई अपमान र नतमष्तक गराइकन असम्मान गर्ने उद्देश्य हो । तर जसको आफ्नो स्वाभिमान छैन या बाहिरबाट प्रभावित जो व्यक्ति होलान्, उनीहरुलाई त यसले प्रभाव पार्ने छैन । कति किनिएका व्यक्ति पनि होलान्, उनीहरुलाई स्वाभिमान भन्ने कुरा भएन । उनीहरु त जस्तो पनि कागज गरेर भित्र पस्ने भए । त्यसो हुनाले यो वर्गीय सङ्गठनको सदस्यताको अर्थ त्यति हुन्छ जसले राष्ट्रवादी, यथार्थमा देशभक्त र स्वाभिमानी जुन व्यक्तिहरु छन् तिनीहरुको बाटोलाई छेकिदिनु । जो स्वाभिमानी छैनन् र देशका प्रति बफादार छैनन् उनीहरुलाई चाहि उभिन र संसदमा जान छूट दिनु । त्यसकारण अहिलेको संविधान सबभन्दा घातक भएको छ ।

त्यसपछि अगाडि जाउँ— चुनिएर हामीहरु माथि पुग्यौ भने पनि ८४ सीट ल्याउनु प¥यो । ११२ मा ८४ सीट ल्याउन पनि असम्भव कुरा छ । जहाँसम्म संसद भित्र जाने कुरा छ, सरकारमा जाने कुरा छ, त्यो त संभव भएन । अहिलेको संविधानलाई विचार गर्दा चुनावमा भाग लिनै पर्दछ, हामीहरु चुनिएर संसदमा जानु पर्छ भन्ने जुन विचार यहाँ कतिपय साथीहरुले दिए । त्यसको विरुद्धमा यस्तो तर्क पनि प्रस्तुत भयो, कुर्सीका लोभले जान खोजेको । त्यसमा कुर्सी नै छैन । कुर्सी होला त अधिकार छैन । किनभने प्रधान मन्त्रीलाई पनि अधिकार छैन । ८४ सीट ल्याएर हामीहरुले जितेमा पनि त्यसमा अधिकार छैन । त्यसो हुनाले त्यो प्रधानमन्त्री नाममात्रको प्रधानमन्त्री हुन्छ । सम्पूर्ण अधिकार अरु ठाउँमा केन्द्रित भएको हुन्छ ।

२१ वर्ष पुगेका मानिसले भोट दिन पाउछन् भन्दा जनतासंग सम्पर्क स्थापित गर्ने मौका देखिन्छ । तर अधिकारको कुरा भने यसमा छैन । त्यसकारणले यसलाई हामीले अहिले दुई स्तरमा विचार गर्नु प¥या छ । जो पञ्चायतवादी छन्, तिनीहरुको निम्ति यो संविधान आखिरी हो । यो संविधान उनीहरुलाई पुग्ने ठाउँ हो; अब टुङ्गियो ।

यसले प्रजातान्त्रिक प्रकृयाको निम्ति अवसर प्रदान गरेको छ ? अथवा यात्रा प्रारम्भ गराउँछ, गराउँदैन ? प्रजातन्त्रको निम्तिको यात्रालाई सुगम गराउँछ, गराउँदैन ? सुगम गराउँछ भनेर चुनावमा भाग लिन हामी गयौं भने— के हामीहरुको चरित्र उही रहन्छ ? हामीहरुको अनुहार उही रहन्छ ? नेपाली कांग्रेस, जसको बीस वर्षको यत्रो दमन पछि पनि— एउटा आदर्श छ । कतिलाई लाग्यो होला— नेपाली काँग्रेस मरेर गयो, सिद्धिएर गयो, खत्तम भएर गयो तर यो त नमरेको, बीउ पो रहेछ; अलिकति पानी पर्ने बित्तिकै त्यो अंकुरित भएर निस्केर आइहाल्ने । यो त तपाईहरुले देखिहाल्नु भयो । यो के हो ? दमनका तमाम प्रयोग र हतियार, नेपाली काँग्रेसको विरुद्ध भयो, तै पनि यो मासिएर गएन । यो त अमर अमर रहेछ, कहिले पनि नमर्ने । कसरी कहाँबाठ यसले अमरत्व प्राप्त गरेको हो ? यो विचार हाम्रो मनमा आउँछ । यस सम्बन्धमा हामीले बुझ्नु पर्ने कुरा के छ भने यसको एउटा परम्परा छ; नेपाली काँग्रेसको परम्परा । त्यस परम्पराको दुइटा आधार छन् । एउटा यसको सैद्धान्तिक आधार र अर्को व्यावहारिक आधार । दुइटैलाई नेपाली काँग्रेसले छाडेको छैन । आदर्शलाई छाडेर व्यावहारिकताका कुरा मात्र ग¥यौ भने— व्याहारिकताको नाउँमा पञ्च होइन्छ । यदि आदर्शलाई मात्रै समातेर व्यावहारिकताको कुरा नगरौ भने कोरा नारा दिने उग्रबामपन्थी जस्ता हामीहरु पनि भएर जान्छौं । जहिलेदेखि नेपाली काँग्रेस बन्यो यसले व्यावहारिकता र आदर्श, दुइटैलाई सङ्ग–सँगै लिएर गएको छ ।

म जहाँ पनि भन्ने गर्दछु यो पञ्चायत भन्ने कुरा बीस वर्ष यता देखि मात्र आएको होइन । २००८ साल देखि नै पञ्च भन्ने कुरा प्रारम्भ भएको हो र यो परम्परा २००८ साल देखि नेपालमा स्थापित छ; २०१७ साल देखि मात्र पञ्च आएका होइनन् । पञ्च भनेको त्यो तत्व हो जसले व्यावहारिकताको नाउँमा आप्mनो आत्मालाई बेचेर जो सत्तामा छ, उसको अगाडि घुँडा टेक्दछ वा पञ्च भनेको त्यो तत्व हो, जुन तत्व आदर्शलाई बिर्सेर, व्यावहारिकताको नाउँमा राजनीति गर्दछ । हामीहरुकै बीचबाट हाम्रा सबभन्दा ठूला नेता मातृकाप्रसाद सबभन्दा पहिले ठूला पञ्च भएर हामीबाट फुटेर गए, २००८ सालतिर । उहाँ मेरो ठूलो दाजु उहाँ भन्नु हुन्थ्यो विश्वेश्वर, तैले नेपाल बुझेकै छैन । व्यावहारिक राजनीति गर्नु पर्छ । तर व्यावहारिक राजनीतिको नाउँमा आदर्श छोड्ने परम्परा २००८ साल देखि चल्यो जो अहिले पनि चलिरहेछ । आज २०३७ सालसम्म, २९ वर्षसम्म यो परम्परा कायम छ । र त्यस्तै कम्युनिष्टहरुको उग्रबादीहरुको परम्परा पनि । तपाईहरुलाई थाहा नै होला २००४ सालतिर जब नेपाली काँग्रेस बन्यो त्यस बखतमा बिराटनगरमा एउटा ठूलो मजदूर आन्दोलन भयो, पहिलो मजदूर आन्दोलन । जनताको तर्फबाट खुलारुपमा आमसभा नेपालको भूमिका पहिलो चोटि त्यसै बेला २००४ सालमा भयो, सन् १९४५ को मार्च महिनामा । त्यहाँ भाषण गर्न म काँग्रेसको तर्फबाट मजदूर आन्दोलनलाई समर्थन गर्न आएको थिएँ र कम्युनिष्टको तर्फबाट मनमोहन अधिकारी आएका थिए । एकै चोटि काँग्रेसको पनि जन्म हुन्छ र कम्युनिष्टको पनि । तर उनीहरुले व्यवहारलाई छाडेर केवल उग्रनाराको एउटा सैद्धान्तिक परम्परा कायम गरेकोले उनीहरुको अहिले कुनै अस्तित्व छैन । एकापट्टि पञ्चवादीहरु भ्रष्ट भएर कता पुगे, अर्कोतिर आदर्शवादीहरु पनि पथ भ्रष्ट भएर कहाँ पुगेका छन् । तर दुइटै कुरालाई समाबेश गरेर हिड्न सकेको हुनाले हामीहरु नेपाली काँग्रेसको यत्रो ठूलो अस्तित्व छ । सरकारमा एक चोटि १७ महिना मात्रै थियौ, केहि अधिकारका साथ । हाम्रो ठूलो नैतिकताले यतिका वर्षसम्म पनि हामीहरु विरोधीको रुपमा रह्रौ । हमेशा विरोधीमा रह्रौं र १७ महिनासम्म पनि जब म प्रधानमन्त्री थिएँ, म विरोधी नै जस्तो रहेछु । किनभने त्यसबखतमा सबभन्दा ठूलो मार प्रधान मन्त्रीलाई नै प¥यो । त्यो विरोध भएर नै होला । त्यसो हुनाले नेपाली काँग्रेसको इतिहासमा या भनौ राजनीतिमा जब नेपालको राजनीतिले नयाँ मोड लियो २००४ सालपछि या २००७ सालपछि तबदेखि नेपाली काँग्रेस बिरोधीको रुपमा आएको छ । तर बिरोधीको रुपमा आउँदा आउँदै पनि जहिले पनि राजनीतिको केन्द्रमा त्यो छ । अहिले पनि राजनीतिको केन्द्रबाट हामीहरु के भन्छौ हामीहरुले के निर्णय लिन्छौ सबै देशभित्र र विदेशमा पनि जान्न उत्सुक छन् । यसरी हामी राजनीतिक रङ्गमञ्चमा जहिले पनि उस्तै छौं; केन्द्रीय स्थानमा हामीहरु उभ्भिएका छौं, जस्तोसुकै दमन भए तापनि । यसको मुख्य कारण आदर्श र व्यवहारको ठूलो सामन्जस्यले हामीहरु त्यस स्थानमा छौ, जसलाई हामीहरुले छाड्नु हुँदैन ।

आदर्श र व्यवहारको बारेमा मैले एउटा उदाहरण भन्ने गरेको छु–लजङ्ग मा हामीहरु छौ रे या समुद्रमा हामीहरु छौ रे । अँध्यारो रात छ । केले अगाडि जाने ? कताबाट दिशा प्रदान गर्छ भन्दा ध्रुवतारा हेरेर भन्नु हुन्छ या कुनै तारा हेरेर भन्नु हुन्छ– यो त पूर्वपट्टिको तारा हो । त्यसै अनुशरण गरेर गयौं भने हामीहरु पूर्वतिर जान्छौ– त्यो भनेर तपाई गोडा कता राख्नु हुन्छ त्यो पनि तपाईले ध्यानमा राख्नु हुन्छ । तपाईले त्यो आदर्शको चमकिलो तारापट्टि पनि दृष्टि राख्नु हुन्छ । आदर्शलाई मात्र हेर्नु भयो भने खाडलमा पुग्या छ भन्ने थाहा हुँदैन । खोट केलाएर हेर्नु भयो भने आदर्शको ज्योतिले हामीलाई जङ्गलबाट बाहिर निकाल्छ । तर यदि हाम्रो गोडाले कहाँ खाल्डो छ, कहाँ नदी छ, कहाँ परखाल छ भन्ने विचार ग¥यो भने फड्केर, घुमेर र नाघेर जान्छ । कुनै अड्चन बाधा र भने फर्कन्छ । त्यस किसिमबाट, आजसम्म नेपाली काँग्रेसले, आदर्श र व्यवहारका बीच सामन्जस्य स्थापित गर्दै आएको छ; त्यसलाई हामीहरुले छाड्नै हुँदैन ।

अर्को कुरा, जो तपाईहरुले बुझ्नु परेको छ– चार वर्ष पहिले हामीहरुले देशभित्र जाने तय ग¥यौं । हामीहरुमाथि अनेक मुद्दा र फाँसीको सजाएँ हुने अवस्था हुँदाहुँदै, त्यसबखत हामीहरु निर्णय लिन्छौ, भित्र जान्छौ त्यो पनि लुकेर जाने होइन, खुला रुपमा भित्र जान्छौ– मेलमिलापको आधार लिएर । हामीहरुलाई जेलमा राखेर कारवाही थाल्दा पनि त्यस कारवाहीलाई रोकिकन हामीहरुलाई छाडिन्छ । पहिलेदखि भैरहेको प्रजातान्त्रिक प्रगतिमा बाधा पार्ने षड्यन्त्र पनि कामयाब हुन सक्तैन । अहिले हामी यहाँ यतिका कार्यकर्ता उपस्थित भएका छौ, हामीहरुले यत्रो मिटिङ्ग ग¥यौं । कडा शब्दहरु पनि विरोधीहरुलाई प्रयोग ग¥यौ । तैपनि विरोधीहरु त्यसलाई सहेर बसेका छन् । त्यसको एउटै मात्र कारण छ, त्यो हो– हाम्रो मेलमिलापको आधार । मेलमिलापको सम्बन्धमा कसैलाई भान होला यो त केवल एउटा नारा हो, एउटा रणनीति हो भन्ने । रण नीति पनि हो तर रणनीति मात्र पनि होइन । यसले दुइटा कुरालाई लिएर गएको छ– राष्ट्रियता र प्रजातन्त्र । यो कुरा हामीले बुझ्न आवश्यक छ ।

भरखरै एक दुई जना तरुण साथीहरुले, राजाका सम्बन्धमा मसँग प्रश्न गरे । राजाको बारेमा नबुझेर भने जस्तो मलाई लाग्दछ । देशको समस्या जटिल छ । हाम्रो मुलुक बडो कमजोर आधारमा अडेको छ । पृथ्वीनारायण शाहले त्यस बखतको अबस्थामा एउटा देश बनाए । तर उनले यसलाई राष्ट्रियताको बलियो आधार भने दिन सकेनन् । २००७ सालसम्म यसको आधार बनेन । यसै बखतमा हामीले अर्को जिम्मेवारी पनि लिनु प¥या छ– प्रजातन्त्रको जिम्मेवारी । प्रजातन्त्र नभए राष्ट्रियता पनि रहन सक्दैन । जबसम्म भोका–नाङ्गा जनता रहन्छन् तबसम्म यो जिम्मेदारी रहिरहन्छ । हाम्रो अहिलेको सबभन्दा ठूलो समस्या गरीबीको छ, आर्थिक समस्याको छ । तसर्थ प्रजातन्त्र र राष्ट्रियता दुबै जोडिएर जुम्लाहा जस्तै छन् जसलाई हामीले एकै पटक स्थापना गर्नु परेको छ ।

राष्ट्रियताको विकासद्धारा देशलाई जोगाउनु प¥या छ । राष्ट्रमाथि कत्रो खतरा आइपरेको छ भन्ने कुरा सबैले बुझ्नु परेको छ । अन्तरराष्ट्रिय षड्यन्त्र र हाम्रै मुलुकभित्र भैरहेको षड्यन्त्रबाट देशलाई जोगाउनु छ । राष्ट्र रहेन भने प्रजातन्त्रको कुरा पनि निरर्थक हुन्छ र यस देशको उन्नतिको कुरा पनि निरर्थक भएर जान्छ । प्रजातन्त्र जो हाम्रो परम्परा र हाम्रो आदर्श रहेको छ त्यसमा थपिएको छ– राष्ट्रियताको प्रश्न । राष्ट्रियता र प्रजातन्त्रलाई साथसाथै लिएर जाने प्रश्न उठ्दा, राजाको ठाउँको सम्बन्धमा तपाईहरुलाई, तरुणहरुलाई म भन्न चाहन्छु– जुनसुकै इतिहास हे¥यौं भने इतिहासको क्रममा, प्रत्येक मुलुकमा, राजाको एउटा बडो महत्वपूर्ण योगदान रहेको छ– राष्ट्र निर्माणमा । इङ्गलैण्डको इतिहास लिनोस्, फ्रान्सको इतिहास लिनोस् चाहे रुसको । द्धितीय विश्वयुद्धताका रुसको सबभन्दा ठूलो राष्ट्रब्यापी सङ्कटको अवस्थामा, जब स्टालीनलाई जर्मन आर्मीका विरुद्ध, सबभन्दा ठूलो खतराको मुकाबिला गर्नु प¥यो, त्यस बखत उनले राष्ट्रनिर्माण गर्ने राजाहरु, जो दमनकारी, अन्यायी र अत्याचारी मानिएका थिए– इमान द्धितिय, पिटर्स दी ग्रेट तिनीहरुको तस्बीर देखाएर यिनीहरुले बनाएको राष्ट्र हामीहरुले बचाउन परेको छ भन्नु परेको थियो ।

मेरो भनाईको तात्पर्य के हो भने– राष्ट्रनिर्माण गरिसकेपछि हुन पर्ने प्रजातन्त्रको लडाई । तर राष्ट्र निर्माण नभैकनै हामीहरुले प्रजातन्त्रको लडाई पनि लड्नु परेको छ । त्यसैले हामीमाथि दोहोरो जिम्मेदारी आइपरेको छ । जहाँसम्म राष्ट्र निर्माणको प्रश्न छ– राजाको पनि योगदान हुन सक्तछ । राजालाई पनि राष्ट्रका माया हुन्छ । किनभने राजा हुनको लागि एउटा देश चाहियो । बिना देशको राजा हुँदैन । धेरैले त विवेबहीन भएर बुद्धि विगारेर आफ्नो स्वार्थएको विपरित काम गरेका छन् । त्यसकारण, हामीले आफ्नो आदर्शका लागि नेपाल जोगाउनु छ भने राजाले पनि.......

यदि नेपाल राष्ट्र बनिसकेको भए, राष्ट्रियताको अरु अङ्गहरु, संस्थाहरु, संसद शासन प्रणाली, शासन व्यवस्था, न्यायपालिका, कार्यपालिका आदि चलेको भए र राष्ट्रलाई एक ठाउँमा राख्न सक्ने भएको भए त्यस बखत राजाको जिम्मेवारी, राजाको भूमिका पनि कम हुने थियो । तर नेपालमा केही पनि भएन । यहाँ त राष्ट्रको जिम्मेदारी केवल एउटा राजामाथि परेको जस्तो छ । हामीहरुको पार्टीलाई यदि बीस वर्षसम्म चल्न दिएको भए, संसद बीस वर्षसम्म भएको भए, न्यायपालिका, कार्यपालिका स्वतन्त्रतापूर्वकचल्दै गएको भए उत्थान कार्य भइरहेको भए– राजाको भूमिका पनि कम्ति हुँदै गए तापनि देशलाई कुनै खतरा हुने थिएन । अहिले त्यो अवस्था छैन । त्यसो हुनाले हामी आदर्शवादीहरुको पनि जिम्मेवारी हुन्छ, हामी राजाको सहयोगी बनौ–देशको रक्षाको निम्ति, देशको स्वतन्त्रताको निम्ति ।

राजासँग हाम्रो दुई किसिमको सम्बन्ध छ । जहाँ राष्ट्रियताको प्रश्न आउँछ, त्यहां राजाको आफ्नो स्वार्थ र हाम्रो आदर्श एक ठाउँमा उभिया छ । जहाँ प्रजातन्त्रको प्रश्न आउँछ, त्यहाँ हाम्रो आफ्नै धारणा छ । जहाँ देश बनाउने प्रश्न छ, त्यहाँ हामी एक हुन सक्तछौं । त्यसो हुनाले मेलमिलापकै आधारमा राष्ट्रलाई जोगाउनु छ र प्रजातन्त्र पनि ल्याउनु छ । यस्तो स्थिति छ र यत्रो कुरा छ भने किन सकारात्मक पाईला चालिदैन ? साथीहरु मलाई यो सोध्छन् । अब यो विश्लेषण, समस्याको विश्लेषण सही हो भने देखि, एउटा मानिसले यो कुरा मान्दिनँ भन्ने बित्तिकै हाम्रो यो बिश्लेषण नै सही रहनेछ भन्न त भएन नि । यदि समस्याको यो विश्लेषण सही छ भने कसैले सही छैन भन्ने बित्तिकै हामीले पनि हाम्रो बिश्लेषण सही रहेनछ भन्ने होइन ।

अर्को हामीले बुझ्नु पर्ने कुरा– यो बीस वर्षमा यहाँ एउटा नयाँ वर्ग स्थापित भयो । कुनै पनि हालतमा, कुनै पनि अर्थमा त्यो राष्ट्रिय वर्ग होइन, न त्यो शामन्ती वर्ग हो । पहिले राणाहरु त शामन्ती वर्ग थिए । शामन्ती वर्ग भनेको जो कृषिको आधारमा किसानको शोषण गरेर धनोपार्जन गर्दछन् । भूपतिहरु ठूलठूला बिर्तावालहरु, जमिन्दारहरु, जसले ठूलठूला जमीनहरु राखे, किसानलाई हलो जोत्न लगाए, त्यसको अधिकांश भाग आफूले लिए । किसानहरुलाई नमरुन् भनेर केवल खान मात्र दिन्थे र ती शामन्तीहरुलाई पनि यो भूमिको मोह थियो । जमीनमा वर्षा भएन भने काठमाण्डूमा बसेर दागको खेती गर्ने या कैलाली–कन्चनपुरको खेती गर्ने ? वर्षा नभए अब त्यसबाट अन्न हुँदैन, यसपालि त सुन चाँदीको खरीद वा छोरीको विवाह गर्न पाइने भएन भन्ने उनीहरुलाई ठूलो चिन्ता फिक्री लाग्थ्यो । किनभने यहाँ राम्रो वर्षा होस्, राम्रो उपजनी होस् भन्ने ती शोषकहरुलाई ती राष्ट्रिय शोषकहरुलाई पनि हुन्थ्यो । पूँजीपति व्यवस्था पालिएको भए पनि पूँजीको विस्तारको निम्ति– व्यापार बढ्नु प¥यो, उद्योग धन्दा चल्नु प¥यो, बजार हुनु प¥यो, बजारमा खरीद विक्रीको बृद्धि हुन प¥यो– अनि उनीहरुको पूँजी बढ्दै जान्छ । ब्यापारीहरु छन् तर खरीद गर्ने मानिस नै छैनन् भने त्यो व्यापार कहाँ छ ? त्यसैले यहाँ किसानहरुसँग पैसा हुनु प¥यो जसले ज्यादासे ज्यादा माल खरिद गर्न सकुन् । उद्योगधन्दा कलकारखानाहरु बढुन जसले गर्दा ज्यादासे ज्यादा मुनाफा कमाउन सकियोस् । त्यसरी यो राष्ट्रिय पूँजीपतिहरुद्धारा मजदूरहरुको जस्तोसुकै शोषण भए तापनि तिनीहरुको आधार राष्ट्रकै समृद्धि र विकासमा निर्भर गर्ने थियो । त्यस्तै जस्तोसुकै शोषक शामन्ती भए तापनि यहाँको उब्जनी यहाँकै विकासमा लाग्ने थियो साथै उनीहरुपनि समृद्ध भएर जान्थे ।

तर अहिले जुन वर्ग उपस्थित छ, अहिले जुन वर्ग बन्या छ त्यसलाई देशसँग कुनै किसिमको वास्ता छैन । सुखा भए तापनि उनीहरुको सम्पत्तिमा कुनै कमी हुँदैन । पानी पर्छ; पर्दैन; नहर लाग्छ लाग्दैन तिनीहरुलाई कुनै वास्ता छैन । वजार डुवेर जाओस् वा उद्योग धन्दाको विकास होस् नहोस् । उनीहरुलाई कुनै फरक पर्दैन । उनीहरुले त यहाँको सम्पदाहरुलाई नष्ट गरेर, जङ्गल खाएर बसेका छन् । यही तत्व अहिले शासनको केन्द्रमा छ । यो राष्ट्रिय तत्व होइन– अराष्ट्रिय तत्व हो । यिनीहरुले बीस वर्षसम्म, हामी राष्ट्रवादीहरुलाई राष्ट्रवादी तत्वहरुलाई– अ.त. भनेर संज्ञा दिए । यो वर्ग अहिले बडो धनाढ्य र सुसम्पन्न वर्ग भएको छ । यो वर्ग यहाँ प्रजातन्त्र आउने बित्तिकै अस्तित्वहीन भएर जान्छ । यो यौटा वर्ग र बाहिरबाट विदेशी प्रभावमा परेकाको अर्को, यी दुइटाको ठूलो गठबन्धन यहाँ भइरहेको छ– शोषण गर्न । यो वर्ग राजाभन्दा पृथक वर्ग हो ।

मलाई यता दुई तीनवटा कुरोको बडो घत लाग्दो अनुभव भएको छ । एउटा प्रधान मन्त्री सूर्य बहादुर थापा र राजा । राजा पछि सबभन्दा ठूलो शासनको स्थानमा बसेका प्रधान मन्त्री थापा । अहिले परराष्ट्र नीतिका सम्बन्धमा राजाद्धारा जति जति कुरा भनिया छ, जति जति अप्ठयारो कुरा राजाबाट बोलिएको छ– त्यसमा प्रधान मन्त्रीले सघाउ पु¥याएको छैन । राजाबाट रुसद्धारा, अफगानिस्तानमा गरेको हस्तक्षेपका सम्बन्धमा जहाँतही कटु आलोचना भएको छ । तपाईहरुले प्रधान मन्त्रीले बोल्या कहिले सुन्नु भएको छ ? त्यस्तै कम्पुचियाको सम्बन्धमा पनि छ । यसले कसलाई मर्का पर्ने हो ? राजाद्धारा मर्का पर्ने कुरा बोलिदै छ भने प्रधान मन्त्री बोल्दैनन् । यस प्रकार राजालाई सहयोग पु¥याउने काम प्रधान मन्त्रीले गरेका छैनन् । राजाबाट भनिन्छ– शान्ति क्षेत्र चाहिया छ । राजा आफ्नै दृष्टिबाट राष्ट्रको निम्ति केही बोल्दछन् आफ्नो दृष्टिकोण प्रस्तुत गर्दैछन् भने प्रधान मन्त्री के गर्दैछन् ? त्यसो भए उनी प्रधान मन्त्री कसरी भए भन्ने कुरा तपाईहरुलाई लाग्दो हो । प्रधान मन्त्री त राजाले नै नियुक्ति गरेको हो । त्यो कसरी भयो ? एउटा घत लाग्दो कुरो यहाँका विद्यार्थीहरुले पनि सुन्नु पर्ने छ । विद्यार्थी आन्दोलन चल्दछ– त्यसले गर्दा हामीलाई जनमत संग्रह प्राप्त भयो, यसो भयो, उसो भयो भनिन्छ र म त केवल समस्याको प्रकृतिलाई हेर्ने गर्दछु । म देख्दछु त्यसको सबभन्दा ठूलो प्राप्ति हो– सूर्य बहादुर थापा । त्यत्रो ठूलो आन्दोलनबाट त आन्दोलनकारी पो त स्थापित हुनु पर्ने; तर त्यहाँ तिनीहरु स्थापित भएनन् । स्थापित को हुन्छ भने सूर्य बहादुर थापा । थापाको निम्ति आन्दोलन गरे जस्तो पो प्रमाणित भयो । तर त्यो होइन । विद्यार्थीहरु मरे, अपाङ्ग भए, थुनिए, यातना पाए । त्यो सूर्य बहादुरलाई ल्याउन गरेको म भन्दिनँ । तर त्यस्तो प्रमाणित हुन गयो , आन्दोलन हुन्छ भुट्टोलाई लिएर । तपाईलाई थाहा छ ? हाम्रा मान्छे मारिदा आन्दोलन हुँदैन । त्यस भन्दा १५ दिन अगाडि यहीका देशभक्तहरु मारिए, झुण्डाइए, गोलिका शिकार भए यज्ञ बहादुर थापा, भीमनारायण श्रेष्ठ । तिनीहरुका बारेमा कही कही हुँदैन । आन्दोलन भुट्टोको कारणबाट प्रारम्भ हुन्छ र अन्त्य हुनछ, सूय बहादुर थापाको स्थापनामा । जुन विद्यार्थी नेताले त्यत्रो ठूलो आन्दोलन गरे तिनीहरुको मुखमा कालो पोतियो । विद्यार्थी आन्दोलन गर्न केन्द्रमा एक्शस कमिति गठन भएको थियो । तीन जनाको एउटा रुसवादी कम्युनिष्टको, एउटा युनियनको र अर्को ने.वि.सङ्घको । त्यसमध्ये युनियन र ने.वि. संघका प्रतिनिधिहरुलाई कालो मोसो लगाएर शहर घुमाइएको छ । त्यो कसले ग¥यो ? कुनै तत्वले ।

अर्को कुरा भनिन्छ, किसानले आन्दोलन गरे । किसानले आन्दोलन गरेको भए मालपोत कहाँ रोकियो ? कुन ठाउँमा किसान किसान भएर उभ्भिए ? कुन ठाउँमा मजदूर मजदूर भएर उभ्भिए ? कुन ठाउँमा मजदूरले हडताल गरे ? कहाँ यातायात रोकियो ? यातायात रोकियो भने पनि तिनीहरुले बाटो छेकेनन् । बस यातायात कर्मचारीले कही सहयोग गरेनन् । तर नाउँ चाहि दिया छ– ठूलो बडो ठूलो– किसान आन्दोलन, मजदूर आन्दोलन भनेर । मेरो दृष्टिमा यसको लक्ष्य अर्कै हुँदो हो तर प्राप्ति भने सूर्य बहादुर थापालाई भएको छ । यदि मेरोविश्लेषण सही हो भने जुन दिन सूर्य बहादुर थापा जानु पर्ने खण्ड आउँछ त्यस बखत यो भन्दा ठूलो आन्दोलन हुन्छ । त्यो भन्दा ठूलो किसान, मजदूर र विद्यार्थीको आन्दोलन फेरि हुन्छ । त्यसो हुनाले यो तत्व कुन तत्व हो ? अर्को कुरा, हालै महाराजाधिराजको सबभन्दा सम्माननीय अतिथि राजकीय भ्रमणमा आएका थिए– प्रिन्स चाल्र्स– व्रिटेनका उत्तराधिकारी । त्यस दिन काठमाण्डू सम्पूर्ण बन्द हुन्छ । त्यो कसले गरायो त ? त्यत्रो हडताल गराउने शक्ति कसको छ ? म विद्यार्थीहरुलाई सोध्दछु– के विद्यार्थीहरुले गराए ? म सोध्दछु– हामीहरुले गराएको ? कसले गरायो त ? राजाबाट भयो ? बोलाएर आफ्नो अतिथिको सम्मान राजाबाटै भयो ? कसले गरायो ? यो सब कुरा जबसम्म हामी बुझदैनौ, जबसम्म यी सब कुराको बिश्लेषण हामी दर्गैनौ– तबसम्म हामीहरु एउटा अब्यावहारिक मात्र होइन, केवल किताबी कुराहरु मात्रै, आदर्शका कुरा मात्र गर्न थाल्दछौ । त्यसकारण हामीहरुले विचार गर्नु परेको छ– जब हामी मेलमिलापको कुरा गर्दछौ– कुन परिस्थितिमा हामीहरुले मेलमिलापको नीति लिनु परेको थियो ? भारतमा वस्ताखेरि जुन कुरा हामीलाई लागेको थियो त्यो प्रमाणित हुँदै छ ।

एउटा ठूलो षड्यन्त्र, देशलाई समाप्त पार्ने षड्यन्त्र भैरहेको छ । अर्को उदाहरण म तपाईहरुलाई दिन चाहन्छु– यो उदाहरण अहिले उपयुक्त छ, छैन । धेरै ठाउँमा आन्दोलन भएका छन् । धेरै ठाउँमा सशस्त्र क्रान्ति भएका छन् र हुँदैछन् । कुन ठाउँको सशस्त्र क्रान्ति अमेरिकाको मद्दत या रुसको मद्दत नभै भएको छ ? जति पनि अहिले क्रान्तिका कुरा चलेका छन्– त्यसमा हतियार या त रुसले दिएको छ, आफ्नो समर्थकद्धारा या अमेरिकाले दिएको छ त्यसलाई थिच्न भनेर । तपाई सल्वाडोरलाई हेर्नुस् या इथियोपियालाई हेर्नुस् या अन्य ठाउँहरुमा हेर्नुस्, जहाँ पनि । अफगानिस्तानलाई हेर्नुस्– त्यहाँ त रुस आइसकेको छ । त्यसो हुनाले जब हामी सस्तो बम, गोली र बन्दुकका कुरा गर्दछौ त्यो कुन परिप्रेक्ष्यमा कुरा गरिरहेका छौ । त्यो पनि बुझ्नु पर्दछ । म तपाईहरुलाई अर्को कुरा भन्न चाहन्छु । अनतरराष्ट्रिय जगतमा हालै ठूलो घटना घटयो त्यसबाट हामीले सवक सिक्नु परेको छ । त्यो सवक हो– इरानको । इरानमा घटेको उथल पुथलका घटना क्रान्तिले इरानका शाहलाई हटायो । मसँग पनि शाहको कुरा भएको थियो– त्यस सम्बन्धमा मैले धेरै पटक भनि सकेको छु । फेरि दोहोराइरहनु आवश्यक छैन । शाह गए । तर शाहको ठाउँमा को आयो ? शाहभन्दा बढी, शाहन्शाह आयो । शाहको त देश थियो उनलाई त देशप्रति ममता थियो र त्यसको जिम्मेवारी पनि उनी लिन्थे । वर्तमान शासक– खुमैनी त जिम्मेवारी पनि लिदैनन् । प्रधान मन्त्री एउटालाई बनाइदिएको छ । आफूलाई बडो त्यागी तपस्वी भन्छन् । सबैले मेरो खटनमा हिड्नु पर्छ भन्छन् । उनलाई चुनावमा उभ्भिनु प¥या छैन । चुनावमा बानीसद्रलाई उभ्भिनु प¥या छ, रेगालाई उभ्भिनु प¥या छ । उनी दुइटैलाई लडाएर बसेका छन् । त्यसको परणाम के भैरहेको छ जति अत्याचार पहिले थियो त्योभन्दा सयगुना बेसी अत्याचार अहिले भैरहेको छ, इरानमा । त्यसो हुनाले त्यो पनि हामीले हेर्नु प¥या छ । त्यहाँ शाह गए भनेर ताली पिट्दा शाहको ठाउँमा को आयो भन्ने कुराको बिचार पनि हामीले गर्नु प¥या छ । एउटा लडाइ सङ्घर्ष पनि चलिरहेको छ त्यहाँ– अब यो कसको हातमा जाने ? अमेरिकाको हातमा जाने या रुसको हातमा ?

एउटा अर्को कुरा म भन्न चाहन्छु– नेपालमा त्यस किसिमको समस्या आयो भने– त्यत्रो ठूलो अशान्ति हाम्रो मुलुकले व्यहोर्न सक्दैन– लडाइको, सङ्घर्षको, न आर्थिक रुपले न सामरिक रुपले । त्यस्तो किसिमको आन्दोलन, त्यस्तो किसिमको अशान्ति, त्यस्तो किसिमको अस्थिरता यो देशले व्यहोर्न सक्दैन । यसको व्यहोर्ने क्रम सकियो भने बाहिरबाट कुनै शक्ति आएर हामीलाई थिची राख्छ । त्यसो हुनाले यसबारे पनि सवक सिक्नु प¥या छ । देश छाडेर कसरी भाग्नु पर्दो रहेछ भन्ने कुरा राजाले पनि सिक्नु परेको छ ।

यो कुरा मैले ठाउँमा भनिसकेको पनि छु । मैले राजासँग दर्शन भेट पाउँदा भनेको थिएँ देश बचाउने ठूलो जिम्मेवारी सरकारमा छ । सरकारको स्वार्थले गर्दा पनि देशलाई बचाउनु पर्छ । देश बाँचेन भने सरकार कहाँ जाने ? कुन ठाउँमा जाने ? मेरो त विराटनगरमा खेती छ केही लागेन भने खेत जोतेर बस्छु । कुनै अर्कोको नागरिक भएर अर्कालाई भोट दिन जान्न तर सरकारले के गर्ने ?

हालै पनि हामीले देखेका छौ । सिक्किममा चोग्याल हटे । के प्रजातन्त्र आयो त्यहाँ ? अस्ति विरतामोडको मिटिङ्गमा तीन जना सिक्किमका मानिस आएका थिए । चोग्याललाई हटाउनमा बडो ठूलो भूमिका थियो तिनीहरुको । सानो मुख लगाएर बसिरहेका थिए । मलाई भेटेर भने– हामीहरुले त जानेनौं । चोग्यालले एकातिर दमन गरिरहेका थिए भने, अर्कोतिर उनको कोशिस थियो युनाइटेड नेशन्सको सदस्य बन्नुँ । नेपालसँग सन्धिमा अलिकति बल गरौ, चीनसँग पनि अलि राम्रो सम्बन्ध गरौ र आफ्नो स्वार्थको निम्ति पनि देशलाई अलिकति बनाउँ । त्यहांको जनताले उनलाई फ्याँक्नु पर्छ भने । अनि चुनाव पछि उनलाई फ्याँके पनि । फ्याँकेर अनि भने, भारतका हामी भयौं; भारतको युनियनमा हामी गभ्भियौं । अब चोग्यालको ठाउँमा हिन्दुस्तान आएर हामी तिनीहरुको खटनमा छौं भन्दछन् । मैले त्यसलाई दाँजेको होइन । किनभने यहाँको स्थिति उस्तै छैन; हमेशादेखि स्वतन्त्र भएको हुनाले नेपालको अस्तित्व अर्कै प्रकारको छ । तर त्यस्ता किसिमका घटना चीनबाट नहोस् या भारतबाट नहोस् या नजानिदो किसिमबाट अमेरिकाको पोल्टोमा नजाउँ या रुसको पोल्टोमा नजाउँ । तर यो पनि समस्या हाम्रो अगाडि आइसकेको छ । यी सब कुरा हाम्रा कार्यकर्ता साथीहरुले बुझ्नु परेको छ ।

हामी कुनै नारा दिन्छौ भने त्यो कुरालाई पनि सोच्नु परेको छ कि त्यस्ता नाराको असर के पर्छ ? कतापट्टि हामीलाई त्यसले पु¥याउछ ? हामी प्रजातन्त्रवादीले अरु कुरा बिर्सी दियौं भने जुन माटोमा हामी उभ्भियाछौं त्यो माटो नै अर्काको जिम्मामा जाने सम्भावना छ; त्यो कुरा पनि हामीले विचार गर्नुपरेको छ ।

अहिले हामीले जो मिटिङ्ग ग¥यौ, भाषण दियौ कार्यकर्ताहरुको सामुन्ने– एउटा राजनैतिक चेतना यसले ल्याएको छ । एउटा प्राप्ति हामीहरुलाई भएको छ । यो कसरी भयो ? के आधारबाट भयो ? यो पनि हामीहरुले केलाउनु परेको छ । किन हामीहरुले यत्रो मिटिङ्गहरु गर्न सक्यौं ? किन पहिले गर्न सक्दैन थियौं ? विद्यार्थीकै आन्दोलनको कुरा गरौं । पहिले पनि हर वर्ष, दुई वर्षमा विद्यार्थी आन्दोलन हुन्थे । किन दुई वर्ष पहिलेको आन्दोलनले त्यत्रो उग्ररुप लियो ? यसमा एउटा कुरा मलाई लाग्दछ, मेलमिलापको कुराले जुन आधार तयार भएको छ त्यसमा जुनसुकै काम पनि राजनीतिक अर्थमा गर्दा त्यसको महत्व बढ्दै जान्छ । एउटा गोलीलाई हातले फ्याँक्दा न चरो मर्छ, न भँगेरो । तर त्यही गोलीलाई, तपाइले राइफलमा हालेर प्रयोग गर्नु भयो भने, त्यसले ठूलठूला शिकार हुन सक्दछ । पहिलेको विद्यार्थी आन्दोलन त्यही हातले गोली फ्याँकेको आन्दोलन थियो । त्यो गोली राइफलमा भरिएको थिएन । डेढ वर्ष पहिलेको विद्यार्थी आन्दोलनमा चाहि गोली राइफलमा भरिएको थिएन, त्यो केवल राइफल थियो ।

हामीहरु पहिले बोल्न सक्दैन थियौं । अहिले कुन आधारमा बोल्न थालेका छौ भन्दा पनि आधार एउटै हो– त्यो यहाँ सङ्घर्ष गर्ने तत्वहरुको निम्ति पनि, हामीहरुको निम्ति पनि, जो यतिका दिनदेखि सङ्गर्ष गरिरहेका छौ– हाम्रो हातमा पनि त्यही एउटै हतियार छ– मेलमिलापको हतियार– त्यो छाता हामीहरुले छोड्नु हुँदैन । नत्र वर्षा हामीमाथि नै र घाम पनि हामीहरुमाथि नै पर्ने छ । त्यसैले यो रक्षा गर्ने जुन छाता छ त्यसलाई हामीहरुले छोड्नु हुँदैन । मैले आफ्नो मेलमिलापको र राजाको भूमिकाको सम्बन्धमा र अहिले कुन समस्या उपस्थित भएको छ त्यसका बारेमा भनें ।

अब अहिले समसामयिक र तात्कालिन जो समस्या छ, त्यसका बारेमा एउटा सानो कुरा भन्नु परेको छ । यो अहिलेको संविधानका सम्बन्धमा मलाई धेरै आत्तिएर भन्दछन्– होइन, ९ गते त उम्मेदवारी दर्ता गर्ने दिन भै सक्यो त्यसमा तपाईहरुले भने कुनै निर्णय नै लिनु भएको छैन । हामीहरुले आफ्नो निर्णय, आफ्नो समयमा लिन्छौं । अर्काले समय हाम्रा निम्ति निर्धारित गर्दछ भने त्यो समयको अनुकूलता हामीले गर्नु नै पर्दछ भन्ने बाध्यता हामीलाई छैन । एउटा कुरा साथीहरुले राम्ररी बुझिदिनु प¥यो– हामीहरु उति कमजोर छैनौ । हामीहरु आर्काले देखाएको बाटोमा डोरिएर जानु पर्ने खण्ड छैन । हामीहरुले आफ्नो निर्णय आफ्नो समयमा लिउँला । यदि चुनाव यसै बीचमा हुन्छ भन्देखि त्यो हाम्रो निम्तिको चुनाव थिएन र हाम्रो निम्ति त्यसको कुनै अर्थ पनि हुदैन । हाम्रो निम्ति चुनाव हो भने त्यो चुनाव रोकिनु पर्छ र हाम्रो निम्ति पर्खिनु पर्छ । यसै सम्बन्धमा एउटा कुरा भनेर म अन्त्य गर्न चाहन्छु । हामीहरु कमजोर छैनौ र त्यति शक्तिशाली पनि छैनौ । मैले एउटा उदाहरण दिने गरेको छु– तासको कोटपिस तपाईहरु खेल्नु हुँदो हो । त्यसमा सबभन्दा मुख्य हुनछ एक्का; चारवटा एक्का एक्काले अरु सबैलाई मार्छ । बादशाहलाई पनि एक्काले मार्छ । तीनवटा एक्का हाम्रा विरोधी तत्वसँग छ, एउटा एक्का हाम्रो हातमा छ । मेरो अनुभव के छ भने तास खेल्दा राम्रो खेलाडीको हातमा एउटा एक्का भयो भने पनि तीनबटा एक्का भएकोलाई हराइदिन्छ; तीनबटा एक्का हातमा रहेकोरह्रौ हुन्छन् । त्यसकारण यो एउटा एक्का हामीले दुरुपयोग गर्नु भएन् । हामी यो व्यवस्थालाई मान्दैनो, यो संविधानलाई मान्दैनौं भनेका खण्डमा यो संविधानको मान्यता– राष्ट्रिय या अन्तराष्ट्रिय जगतमा निरर्थक हुनेछ । त्यसो हुनाले त्यो अधिकार सम्पन्नताको एक्का हाम्रो हातमा छ । हामीहरु अस्वीकार गर्न सक्दछौं त्यो अधिकार हामीले सुरक्षित राख्नु पर्छ । यत्रो लडाई पछि त्यो एक्का हाम्रो हातमा आएको छ । एउटा सिकारु खेलाडीले जस्तो गरेर मौका बेमौकामा त्यसलाई फाल्न थाल्यौं भने खेल हारिन्छ । त्यस्तो एउटा मात्रै एक्का भएको, तीनवटा एक्का भएको विरुद्धमा लड्ने खेलाडीको सबभन्दा ठूलो कुरा हुन्छ, बडो संयम र बिचार पु¥याइकन, ठीक मौकामा त्यो एक्काको प्रयोग गर्नु जता–ततै एक्काको प्रयोग गरेर त्यसलाई बरवाद गर्नु हुन्न ।

अब हाम्रो निर्णयका सम्बन्धमा त्यस्तै हाम्रो भेला हुन्छ, अब हामी बागमती अञ्चलको काठमाण्डूमा । त्यसपछि हामी निर्णय लिने छौं । मलाई एउटा बडो ठूलो गौरब भएको छ तपाईहरुसँग भेटेर, तपाईहरुको सहयोग देख्दा । यत्रा ठूलो जमातको सअभागी भएर मैले काम गर्ने अवसर पाएँ । तपाईहरुले मलाई र मेरा साथीहरुलाई यत्रो आदर र सम्मान दिनु भयो, त्यसको हामीलाई ठूलो गौरब भएको छ । यहाँ भेला भएका तपाईहरु सबै २० वर्षसम्म उग्र दमनमा अडेर बसेका, खरिएका र सुन जस्ता भएर आएका हुनुहुनछ । त्यस्ताको आदर सम्मान कम्ति मानिसले मात्र पाउँछन् । यो दुर्लभ कुरा हो, ठूलठूला मानिसको निम्ति पनि । दुर्लभ कुरा जो हामीले पाएका छौं । यसमा हामीलाई गौरव छ । यो गौरवको नेपाली काँग्रेसको इतिहास– तपाईको, हाम्रो साराको यो बेदनाको कष्टको त्याग र तपस्याको इतिहास; यसले हामीहरु सबैलाई गौरवान्वित गरेको छ । यो इतिहास बनाउनमा धेरै मानिस मरेका छन्, यो बीस वर्षको अवधिमा । शहीदका कुराहरु त हामी गर्छौ तर एउटा बडो ठूलो हामीले सोच्नु पर्ने कुरा छ, शहीद केवल हाम्रै पंक्तिबाट मात्र भए । हामी बाहेक न कम्युनिष्ट पंक्तिबाट न अन्य कुनै पंक्तिबाट । जति शहीदहरुको नाउँ अनउछ, हाम्रै पंक्तिबाट मात्र आउँछ । त्यसो हुनाले यस्तो गौरवमय इतिहास आम्रो साथमा छ । त्यसलाई हामीले विर्सनु हुन्न । त्यति भनेर म तपाईहरुसँग विदा लिन्छु । जय नेपाल ।

(साभारः वी. पी. कोइरालाका भाषणहरु, जयनेपाल प्रकाशन, २०३८) (पृ. ३३—५० सम्म)

Back