वी. पी. कोइरालाले नेपालगन्जमा, ३ चैत्र २०३७ गते दिनु भएको भाषण
Print Friendly and PDF

नेपाल भनेको नेपालका ती गरीब जनता हुन् । जसको आङमा फाटेको मैलो लुगा छ । टाउकामा घेरो मात्र भएको टोपी छ । जो बिरामी परे औषधी–मूलो पाउँदैनन् । आफ्ना छोरा–छारीलाई शिक्षा–दीक्षाको प्रबन्ध गर्न शक्तैनन् । जसलाई विहान खाए, बेलुका के खाउँ र बेलुका खाए विहान के खाउँ भन्ने समस्या छ । तिनै गरीब किसानको देश हो नेपाल । ठूला–ठूला महलमा बस्ने र मोटरमा हिड्ने त यहाँ १० प्रतिशत पनि छैनन् । र तिनीहरु नेपाली होइनन् । जबसम्म सरकार यिनै गरीब किसानहरुको हातमा हुँदैन तबसम्म देशको पनि उन्नति हुँदैन र ती गरीब अझ गरीब नै भएर रहने छन् । र सयकडा १० धनीले सधै तपाईहरु– किसान मजदुर तथा सुकुमवासीलाई यसरी नै शोषण र दमन गरिनै रहनेछन् ।

नयाँ संविधानको घोषणा भयो । त्यसमा म यही कुरा खोजिरहेछु । संविधान भनेको– गरीब किसान मजदुरहरुको भलाइ गर्ने दस्तावेज हो । पञ्चायती शासनले गरीबहरुलाई सधै अस्वीकार ग¥यो, सधै तिरस्कृत दृष्टिले मात्र हे¥यो । गाउँको विकास गरेन, गरीबको भलाइ गरेन । सबै कुरा शहरीकृत मात्र ग¥यो । गाउँलाई उजाड पा¥यो । गाउँका गरीब जनताहरु अझ गरीब भए, खान लाउन नपाएर कति विदेशिए– तितर–वितर भए । भूमिसुधार लागू गरियो । तर त्यसले किसानकै शोषण ग¥यो मोहीहरुको वेदखली ग¥यो । यसबाट पनि भूमिपतिहरु नै लाभन्वित भए । त्यसो हुनाले भूमिसुधारको नाउँबाट तिनै यो देशका १० प्रतिशत ठूला बडाहरुले गरीब–किसानहरुको शोषण गरे । पञ्चायती ब्यवस्थाले ती १० प्रतिशतलाई अरु ९० प्रतिशत जनताको शोषण गर्ने खुला छुट दियो । अहिले आएको संविधान पनि तपाईहरु गरीब किसान देशका ९० प्रतिशत जनताको भलाईको निमित्त छैन । यो फेरि पनि तिनै १० प्रतिशतकै निमित्त नै आएको छ र देशको निमित्त, तपाई हामी सबैको निमित्त, त्यसैले यो बडो दुःखको कुरा भएको छ ।

यो बीस वर्षमा हामीले यत्रो दुःख खप्यौं । हाम्रा हजारौं मानिसहरु वर्षौ सम्म जेलमा बसे र हाम्रा कति तरुण साथीहरु मारिए । त्यो के को निमित्त थियो ? तपाईहरु ९० प्रतिशत यो देशका गरीब जनताको भलाइ गर्ने परिपाटी आवस् भनेर नै त्यत्रो सङ्घर्ष र कतिले अनेक कष्ट र प्राण समेत उत्सर्ग गर्न परेको थियो ।

तपाईहरु फाटेको, मैलो लुगा लगाएका कति दाजु–भाइलाई देख्दा जहिले पनि यो कुरा मलाई सम्झना भैरहन्छ– २१ वर्ष अघि म तर्पाहरुले रोजेको प्रधान मन्त्री थिएँ । मेरो एउटा अठोट थियो, १५ वर्ष भित्रमा यो देशको ती नब्बे प्रतिशत जनता सबैलाई सुखी बनाउन सकिन्छ । म जस्तै एउटा मध्यम वर्गीय परिवार जस्तै सम्पन्न सबैलाई बनाउन सकिन्छ । जसलाई खान–लाउन पुगोस् । सबैको एउटा सफा घर होस्, १–२ वटा गाई–भैसी पनि हुन् । आफ्ना छोरा–छोरी पढाउने सामथ्र्य सबैमा होस्, बिरामी परे ओखती मूलो गर्न सकुन् । यही अठोट र यही लक्ष्यमा हामी काम गरिरहेका थियौं र यो कुरा मैले स्वर्गीय महाराजाधिराजसंगँ पनि विन्ती गरेको थिएँ तर त्यसको केही महिना पछि नै हामीलाई जेलमा राखियो । त्यसवेला मलाई लागेको थियो, मैले भनेको १५ वर्ष पनि महाराजाधिराजलाई ढीलो भयो भन्ने लागेछ क्यार । ८–१० वर्ष भित्रैमा त्यो पूरा गर्न हामीलाई यसरी थुनेको होला । तपाईहरुले रोजेको म प्रधान मन्त्री थुनिएँ । तर त्यसवेला मलाई कुनै दुःख लागेको थिएन । म सोच्थे, हामीलाई थुनेर के भयो त ? बाहिर देशमा द्रुततर गतिले विकाश भैरहेको होला । नहर र कुलोहरु बनिरहेका होलान्, स्कुल र अस्पतालहरु खुले होलान् ...............। त्यसपछि आठ वर्षमा हामीहरु छुट्यौ । त्यसबेला मलाई बडो दुःख लाग्यो– हाम्रो मुलुक अझ गरीब भएको थियो । गरीब जनता तपाईहरु अझ शोषित भैरहनु भएको थियो । आज बीस वर्ष भैसक्यो । हाम्रो देश प्रतिदिन झन गरीब हुदै छ । हाम्रा प्राकृतिक साधन र स्रोतहरु पनि तहस–नहस पारिए । बीस वर्ष पहिले म प्रधान मन्त्री हुँदाको भन्दा पनि अहिले अझ धेरै खराब अवस्था भएको छ, हाम्रो देशको । त्यसबेला देश सुधारको सिढी उक्लन थालेको थियो । विकासका रुपरेखाहरु तयार भैरहेका थिए । देशवासीहरुमा एउटा नयाँ उत्साह र स्फूर्ति थियो । त्यसबेला देशमा खाद्य समस्या थिएन । यहाँ उब्जे को अन्न यहाँ प्रसस्त पुगेर बाहिरी मुलुकहरुमा पठाइन्थ्यो । तर आज बाहिरबाट अन्न नआए हाम्रा किसान दाजु भाइ भोकै मर्छन् र त्यो किन्ने सामथ्र्य पनि तिनीहरुको अझ खतम भैसकेको छ । यद्योग धन्दा छैन । व्यापार भनेको कालो बजार गर्नेहरुको छ । यहाँका तल्ला स्तरका र सिधा व्यापारीहरुको पेसालाई पनि यसबाट धक्का पुगेको छ । यहाँको सम्पूर्ण कुरा यसरी तलबाट– ९० प्रतिशतको हातबाट खोसिएर, यो व्यवस्थामा अनेक गै¥ह कानूनी तरीकाले धन कमाइरहेका माथिका २–४ धनीहरुको हातमा पुगेको छ ।

पञ्चायती व्यवस्था एउटा त्यस्तो तत्वको निमित्त आयो, जसलाई हाम्रो देशसित कुनै सम्बन्ध छैन । यहाँ प्रतिवर्ष सुखा लागे पनि त्यो तत्वलाई केही वास्ता छैन । ऊ त प्रतिवर्ष अझ धन जम्मा नै गरिरहेछ । पञ्चायती ब्यवस्थाले ल्याएको यो तत्व— यो नयाँ वर्ग न यो पूँजीपति बर्ग हो, न यो शामन्ती वर्ग । यो त भूइँफुट्टा वर्ग हो । बाहिरी देशहरुले हाम्रो देशमा बाटो बनाउन दिएको, नहर बनाउन दिएको, स्कुल बनाउन दिएको, अस्पताल बनाउन दिएको रकमको ६० प्रतिशत यसले खाइरहेछ । यसरी देशमा उब्जनी होस्–नहोस्; देशको विकाश होस्–नहोस् बाहिरबाट धन आइरहोस् । यिनीहरुको स्वार्थ यति नै हो र । र नयाँ आएको संविधानले पनि यिनीहरुलाई नै अझ आड दिएको छ ।

महाराजाधिराजबाट दिइएको यो संविधान यहाँका गरीब दाजु–भाइहरुको अगाडि बसेर हेर्दा यो तिनीहरुको हीतको निमित्त छैन । यो संविधान बनाउने मान्छेले जानी–बुझिकन कागजी अधिकार मात्र देखाएर सम्पूर्ण अधिकार मौसूफमा नै निहित छन् भनिएको छ । राष्ट्रिय पञ्चायतमा हामीहरु जस्ता होइन, तर विदेशीहरुको इशारामा चल्नेहरु पुग्छन् र तिनीहरुको कृयाकलापको बिरुद्ध, त्यसबेला विशेष अधिकार प्रयोग गरिरहन पर्दा राजाको स्थिति कस्तो रहन जान्छ ? त्यसैले यो संविधान राजाको हीतमा पनि छैन र जनताको हीतमा पनि छैन । केबल तिनै तत्वको हीतमा मात्र छ । जो विदेशीहरुको इसारामा काम गर्छन्, कालो बजार गर्छन्, मूर्ति चोर्छन्, जगंगल मास्छन् र यहाँको विकाशको निमित्त बाहिरी मुलुकहरुबाट आएको ६० प्रतिशत भन्दा बढी रकम खान्छन् ।

यस बाहेक अरु चार ठाउँहरुमा पनि हाम्रा कार्यकर्ता र अरुहरुलाई पनि हामीले भेट्यौं । राजाले दिएको संविधान, त्यसलाई अस्वीकार गर्न नपरोस् भनेर बडो ध्यान दिएर हामीले मेचीदेखि महाकालीसम्म घुमेर त्यसका सम्बन्धमा छलफल ग¥यौ । अब छिटै काठमाण्डुमा पनि यस्तै भेटघाट गरेर यसस सम्बन्धमा एउटा निर्णय लिने छौं ।

२०१७ सालमा बुद्धि नपु¥याई लिएको कदमले अहिले देश एउटा ठूलो सङ्कटमा छ । अब हामी स्वतन्त्र नै रहन्छौ कि रहन्नौं ? नेपाल स्वतन्त्र रहन्छ कि रहँदैन ? यसको निमित्त हामीले प्रत्येक डेग अत्यन्त सतर्क र सजग भएर चाल्नु परेको छ । संविधान दिइँदा पनि बुद्धि पु¥याइएन । अब तपाई हामीले पनि बुद्धि नपु¥याई कदम चाल्यौं भने एउटा ठूलो सङ्कटमा देश पर्न जान्छ ।

अहिलेका प्रधान मन्त्री हुन् वा त्यस्तै ठूला पदमा रहेका अरु हुन्, तिनीहरुको बढ्ता लोयाल्टी कता छ ? हाम्रै मुलुक प्रति वा अनेत्र ? त्यसको राम्ररी नबुझी, छानबिन नगरी राजाबाट पनि त्यस्तै तत्वहरुको भरमा कदम चालिएका छ र ती कदमहरु त्यसैले, देशको हीतका निमित्त, मेलमिलापको निमित्त र राष्ट्रलाई सङ्कटबाट जोगाउनका निमित्त गलत सावित भएका छन् । मैले राजाको दर्शन पाए, यो कुरा विन्ती गर्ने छु ।

हाम्रा सुकुमवासी, भूतपूर्व सैनिक, तल्ला स्तरका कर्मचारी तथा किसानहरुले राम्ररी दुई छाक खान पाउन्, लाउन पाउन् । तिनीहरुले एउटा छहारी मुनी बस्न पाउन् । केटाकेटीले पढ्न पाउन् । औषधी–उपचारको व्यवस्था होस् । हामीलाई अहिले ठूला–ठूला महल र हवाइजहाज चाहिया छैन । यति चाहि छ–सबैले पेटभरी खान पाउन्, लाउन पाउन्, पढ्न पाउन, औषधी पाउन्– त्यही हो प्रजातन्त्र ।

यहाँ तर्पाहरुले जुन स्नेह मान–सम्मान मलाई र मेरा साथीहरुलाई दिनु भयो, त्यो हामी कहिल्लै पनि विर्सने छैनौ । अनि यहाँ उभिइरहनु भएका तपाईहरु गरीब किसानहरुको च्यातिएको टोपी र मैलो लुगालाई पनि हामीहरु कहिल्लै बिर्सन्नौ । जहिले पनि तपाईहरु जसले राम्रो खान र लाउन पाएको छैन, अनेक थिचोमिचोमा रहनु परेको छ, त्यसको उत्थान होस् र एउटा सुखी र सम्पन्न नेपाल बनोस्, हाम्रो लक्ष्य यही हो र तपाईहरुको यस्तो स्नेहले नै त्यो लक्ष्य प्राप्तिमा जतिसुकै विध्न–वाधाहरु आए पनि बिचलित नहुन एउटा ठूलो आत्मबल हामी पाँउछौं ।

(साभारः वी. पी. कोइरालाका भाषणहरु, जयनेपाल प्रकाशन, २०३८) (पृ. १६—२० सम्म)

Back