वी. पी. कोइरालाले पाल्पा तानसेनमा, २२ फाल्गुण २०३७ गते दिनु भएको भाषण
Print Friendly and PDF

यो रमाइलो, सुन्दर शहर पाल्पामा म पहिलो पटक २००७ सालको क्रान्ति यहीबाट प्रारम्भ गर्न सकिन्छ कि भनेर लुकेर आएको थिएँ र मेरा मित्र डा. त्रिवेणी प्रधान कहाँ बसेको थिएँ । त्यसपछि २००८ सालतिर पनि म यहाँ आएको थिएँ । आज करीब तीस वर्षपछि फेरि तपाईहरुको अगाडि आएको छु । यो तीस वर्ष भित्र देशमा धेरै घटनाहरु घटे । म तपाईहरुको प्रधान मन्त्री भएँ । तपाईहरुले रोजेर मलाई त्यो सौभाग्य प्राप्त भयो । त्यस पछि त्यही कारणबाट, तपाईहरुले रोज्नु भो भनेर १७ सालमा आठ वर्षसम्म मैले जेल जानु प¥यो । मेरो त्यस बखतमा कुनै दोष थिएन । महाराजाधिराजले संविधान बक्सेको थियो । त्यही संविधानबाट चुनाव भयो । तपाईहरुले मलाई चुन्नु भयो र हामीहरु काम गरिरहेका थियौ । तर बिनाकारण प्रजातन्त्रको त्यो सानो विरुवालाई निमोठियो । त्यो १७ साल पौष १ गतेको घटना नेपालको इतिहासमा एउटा सबभन्दा दुर्भाग्यपूर्ण दुरघटना थियो । त्यसपछि बीस वर्षमा देश आर्थिक दृष्टिबाट जर्जर भएर गएको छ । हामी तलभन्दा अझ तल झर्दै गयौ । गरीबी हटाउनलाई जुन प्राकृतिक आधारहरु हाम्रा थिए, तिनलाई पनि यो बीस वर्षमा अरु नष्ट पारियो । जङ्गल सखाप भयो । उब्जनी बढाउनेतिर ध्यान दिइएन । बाहिरका मुलुकहरुलाई अन्न पठाउने हामी, अब बाहिरबाट अन्न नआए भोकभोकै मर्छौ । यस्तो दयनीय अवस्था भएको छ देशको । २–४ परिवार धनीमाथि झन् धनी भएका छन् । म उनीहरुको कुरा गर्दिन । म यहाँका गरीब किसानको कुरा गरिरहेछु, मध्यम बर्गीहरुको कुरा गरिरहेछु— चाहे ती शिक्षक हुन् वा कर्मचारी । उमीहरुको अवस्था झन् खराब हुँदै गैरहेछ, यो बीस वर्षमा । अनि हाम्रो मुख टालिएको छ । यो बीस वर्षमा शायद पहिला या दोस्रा चोटि तपाईहरुले नौला कुरा सुन्न पाउनु भएको छ । नत्र भने एउटै कुरा— यो व्यवस्थाको तारीफ, यो ब्यवस्थाले नगरेको कामको तारीफ, गर्न नसकेको कामको तारीफ त्यो बाहेक अरु सुन्न पाउनु भएको थिएन । जबसम्म २०१७ सालमा बडो कठोर दमनका साथ हामीमाथि लादिएको यो व्यवस्थाको अन्त्य हुँदैन र त्यसलाई हटाउने प्रकृयामा हामी लाग्दैनौ, तबसम्म हाम्रो उत्थान हुँदैन । त्यसकारण यो संविधानलाई पनि म त्यसै दृष्टिबाट हेर्छु ।बीस वर्षसम्म जुन स्थिति रह्यो त्यसलाई अन्त्य गर्ने प्रकृया के यो संविधानले कायम ग¥या छ ?

हामी राजालाई मान्छौ । यो डराएर मानेको होइन । अब मलाई, मेरो यो उमेरमा कसैले तर्सन सक्छ भन्ने सोच्नु पनि हुँदैन । राजाले १७ सालको कदम चाल्दा ठूलो आघात देशलाई प¥यो । त्यसको घोर विरोध हामीहरुले ग¥यौ । धेरै मान्छेहरु मारिए । हामीहरु धेरै मान्छे जेल बस्यौ । देशमा राजसत्ताको आवश्यकता अनुभव गरेर, राजालाई हामीले अहिले होइन, पहिले देखिनै मानेका हौं । २००७ सालमा यहाँ दुइवटा राजाहरु थिए एउटा प्रजातन्त्र पक्षीय राजा भएको हुँदा उनलाई हामीले काँधमा बोकेर गद्दीमा राखेका हौं । अहिले देशमा राष्ट्रियताको कमी छ— विभिन्न बर्गमा विभाजित हुन थालेको छ देश । त्यसमा राजा एउटा केन्द्र बिन्दु जस्तो हुनुपर्छ । तर अहिले आएको यो संविधान के राजाको निमित्त पनि हितकर छ ? जुन राजाको बलमा राष्ट्रियतालाई बलियो बनाउन खोज्दै छौ हामी, त्यो राजालाई के हीत गर्छ अहिलेको संविधानले ? त्यो पनि हामी हेरिरहेछौ । तर त्यो राजाको हीतमा छैन । राजालाई त संविधानले बाँधिसकेको छ । राजनीति दृष्टिकोणबाट राजालाई उम्कने बाटो छैन अब । उमेदवार हुन वर्गीय सङ्गठनको सदस्य हुनुपर्छ । मलाई लागेको थियो— राजाबाट कुनै रा.प.स. लाई नसियत दिन प¥यो भने आफू अगाडि नआइकन त्यही वर्गीय संङ्गठनको पूर्जालाई नै प्रयोग गरिने छ ।

अमेरिकाको अस्पतालमा मैले संविधान पढ्दा यही अनुमान गरेको थिएँ । तर वर्गीय सङ्गठनको सदस्यता सजिलैसित जसले पनि पाउने गरियो र अब त्यो राजाको हतियार पनि हुने भएन । विनाकारण त्यसो भए त्यसलाई किन राखिएको ? इमान्दार हामीहरु जस्तो मान्छे आत्म सम्मान जसलाई छ, जसल कुनै कागज नगरेर ८–९ वर्ष, १०–१० र १५–१५ वर्षसम्म जेल बस्यौ तिनीहरुको सम्मानमा आघात पु¥याउने षड्यन्त्र मात्र हो यो । अब यसरी सम्मानमा रहने केही मान्छेलाई त यसले बाधा पु¥यायो । तर आत्मसम्मान नभएका, पैसामा बिक्ने, जसले पनि किन्न सक्ने— चाटुकार वा विदेशी दलालहरु जो जुनसुकै पनि, कागज गरेर जान सक्नेहरुलाई मात्र यसमा बाटो छ— हामीहरुलाई भने बाटो छैन । त्यस्ता तत्वहरु— आफू प्रति जसलाई सम्मान छैन, देशका प्रति जनतालाई सम्मान छैन, त्यो त त्यहा पस्न जान्छ । अब राजाले सीधा मुकाबिला गर्नु पर्छ, रा.प. मा त्यस्ता तत्वसित । राजाले पाएको विशेष अधिकारको बारम्बार प्रयोग गरेर तिनीहरुलाई नसियत दिइरहनु पर्दा, त्यसबाट राजाको स्थान कस्तो हुन्छ ? राजनैतिक दृष्टिकोणबाट । यो कुरा राजालाई शायद कसैले संझाएन ।

राष्ट्रिय एकता नागरिकन अब देशको अस्तित्व जोगाउने अरु कुनै उपाय छैन भन्ने हामीलाई लागेर नै ठूलो जोखिम मोलेर पनि हामीहरु देश भित्र आयौ; राष्ट्रिय मेलमिलापको आधार लिएर । त्यही आधारमा म संविधानमा पनि आफ्नो स्थिति हेर्न खोज्छु । म जस्तो मेलमिलाप गर्ने, राष्ट्रिय वातावरण— सहयोगको वातावरणमा देशलाई अघि लग्न खोज्नेहरुलाई ठाँउ नै पाउँदिन त्यहाँ । म त्यस्तो उग्र नारा पनि दिन्नँ । म केवल सोचेर देशलाई हीत हुने कुरा पनि र जनताको हीत रक्षा पनि संविधानले नै गरोस् भन्ने चाहन्छु ।

बीस वर्षदेखि राष्ट्रिय स्तरमा नै यहाँ एउटा यस्तो वर्ग आएको छ, न त्यो शामन्त हो, न पूँजीपति । पूँजीपति वर्गलाई पनि देशको विकास होस् भन्ने स्वार्थ हुन्छ । देशको विकास भए त्यसले अरु बढ्ता पूँजी कमाउन सक्छ । त्यस्तै शामन्ती वर्गलाई पनि खेतीमा स्वार्थ रहन्छ । यद्यपि उसले किसानको शोषण गर्छ तैपनि पानी परोस्, उब्जनी होस् भन्ने उसको पनि चाहना हुनछ । तर अहिलेको जुन वर्ग छ, जो अधिकारको केन्द्रमा बसेर यो बीस वर्षमा धन कमाएर बसिरहेछ । त्यस वर्गलाई देशको कुनै वास्ता छैन । बाहिरबाट आएको सहयोगको अधिकाँश भाग उनीहरुको पाकेटमा जान्छ । यहाँ जति ब्यापार वा ब्यापारको नाउँमा कालो बजार हुन्छ, त्यसको पनि अधिकांश भाग त्यही वर्गलाई नै जान्छ । देशमा उब्जनी होस्— नहोस्— तर कालो बजार चलोस् । देशको विकास होस्— नहोस्— तर बाहिरबाट धन आइरहोस् । त्यो वर्गको स्वार्थ यत्ति हो । त्यही वर्गलाई यो संविधानमा ठूलो बल र आड मिलेको छ । त्यसैले यो संविधानलाई स्वीकार गर्न हामीलाई अप्ठ्यारो परेको हो । देशको अस्तित्व जुन खतरामा छ अहिले, त्यसलाई विचार गरेर नै यो अप्ठ्यारो महसुस गरिएको हो । त्यसो नभए हामीहरु सिधै यसलाई अस्वीकार गर्ने थियौ । त्यसैकारण, हामी ती साथीहरु, जसले बीस वर्षदेखि लगातार प्रजातन्त्रको बत्तीलाई बालिरहे— आ–आफ्नो घर–घरमा बाले, जेलमा र बाहिर बाले— उनीहरु सित नै सल्लाह गरौ र अरु जो मार्गदर्शक छन् । उनीहरुसित पनि भेटौ, मेलमिलापको वातावरण सृष्टि गरौ र एउटा निर्णयमा आउँ भनेर नै हामीहरु हिडिरहेछौं ।

हामीहरु समाजवादी हौं । त्यसैले हामीहरु त्यस्तो व्यवस्था खडा गर्न चाहन्छौ, जसले गरीबको हीत गरोस् । नेपाल भन्ने वित्तिकै, त्यो नेपाल गरीवको नेपाल हो । त्यो नेपाल गाउँको नेपाल हो । त्यो झुपडी र छाप्रोको नेपाल हो । नेपाल, ठूलो घर, महल र धनाढ्य मानिसहरुको नेपाल होइन । त्यसैले नेपालको उन्नति भनेको ठूला–ठूला धनीको उन्नति होइन । किसानको उन्नति गर्ने, मध्यमवर्गीय मानिसको उन्नति गर्ने, शिक्षक र कर्मचारीको उन्नति गर्ने तथा जो सुकुम्बासी छन् उनीहरुको उन्नती गर्ने— यो हो विकाश वा उन्नति भनेको समाजवाद दृष्टिबाट । संविधानलाई यस दृष्टिबाट हेर्दा पनि यसले केवल त्यही बर्गको मात्र हीत गरेको छ, जसले देशको शोषण आजसम्म गरे, जसले गरीबलाई झन् गरीब र धनीलाई भने झन् धनी बनाए ।

भू. पू. सैनिकहरुका सम्बन्धमा मेरो एउटा धारणा छ । उनीहरु तालीम प्राप्त, अनुशासित, वडा जांगरिला र मानसिक विकास पनि भएका वर्ग हुन् । पहाडी भागमा त अधिकांश मानिसहरु भू. पू. सैनिकहरु नै छन् । त्यसैकारण, म प्रधान मन्त्री छँदा राजासित पनि भनेको थिएँ— तिनीहरुको जुन योग्यता छ र जुन तालीम लिएर तिनीहरु आएका छन्, त्यसको हामीले उनीहरुलाई विकासमा स्थानिय नेतृत्व प्रदान गरेर, उपयोग गर्न सक्छौ । तर त्यसपछि त म नै प्रधान मन्त्री रहिनँ । र प्रजातन्त्र पनि खतम भयो र भू. पू. सैनिकहरुको शोषण पनि शुरु भयो ।

जहिलेदेखि हामीहरु राजनीति मन्चमा आयौ, त्यस बेलादेखि नै हामीले जहिले पनि अनेक तकलीफ सहन प¥र्यौ । सधै हामी विरोधी जस्तो भएरै रह्यौ । म प्रधानमन्त्री हुँदा पनि मेरो जस्तै अवस्था विरोधीको रहेछ । त्यसैले त मैले त्यतिकासम्म थुनिनु प¥यो । तर जनताको विश्वास भने सधै हामीप्रति रहिरह्यो । यसैबाट हामीलाई बडो उत्साह हुन्छ जुनसुकै परिस्थितिमा पनि हामी त्यसैले, जनताकै साथ, जनताको भावना र विचारलाई लिएर, जनतासित भिजेरै काम गरिरहने छौ । यो अठोट फेरि पनि म दोहो¥याउँछु । अनि तपाईहरुले हामीलाई यहाँ जुन स्नेह र माया दिनु भयो, हामीहरुको आधार पनि त्यही, तपाईहरुको माया र स्नेह मायामा नै अडेको छ ।

(साभारः वी. पी. कोइरालाका भाषणहरु, जयनेपाल प्रकाशन, २०३८) (पृ. ८—१२ सम्म)

Back