वी. पी. कोइरालाले विर्तामोड झापामा, १२ फाल्गुण २०३७ गते दिनु भएको भाषण
Print Friendly and PDF

मेरो भरखरै घाँटीको अप्रेसन भएको थियो, दुइटा ठूला अप्रेसन । त्यसले गर्दा, मेरो आवाज बडो मधुरो छ । म धेरै बोल्न पनि सक्तिनँ ।

भरखरै नयाँ संविधान आएको छ । त्यसका सम्बन्धमा निर्णय लिन, तपाईहरुको सरसल्लाह लिन— हाम्रा पुराना र नयाँ साथीहरु तथा हितचिन्तकहरुसङ्ग भेट गरेर, सबैलाई मेल खाने स्थिति अपनाउन सकिन्छ कि भनेर नै हामीहरुले देशभरी घुम्ने कार्यक्रम थालेका छौं । त्यसैले यहाँ पनि हाम्रा पार्टीका साथीहरु बाहेक अरु पार्टीसित सम्बन्धित एबं राजनीतिमा नलागेका ब्यक्तिहरुसित पनि यस सम्बन्धमा छलफल गर्ने मेरो इच्छा छ ।

हामी चार वर्ष पहिले देशभित्र आयौं, राष्ट्रिय मेलमिलापको नीति लिएर । राष्ट्रिय मेलमिलाप भनेको २०१७ सालमा जुन राजा र जनताका बीचमा एउटा ठूलो पर्खाल खडा गराइयो, त्यो पर्खाल तोडेर राजालाई जनताका समक्ष ल्याउने त्यो प्रयास नै मेलमिलापको प्रयास हो । हामीहरु बाहिर रहँदा हाम्रो प्रेरणाबाट क्रान्तिहरु भए । यो ब्यवस्था समाप्त गर्न हामीले हतियार पनि उठाएका थियौं । ती सब हुँदाहुँदै पनि राष्ट्रिय एकताबाट, मेलमिलापको आधारबाट अब देशलाई अगाडि लान नसके देशको अस्तित्व नै खतरामा पर्ने सम्भावनालाई दृष्टिगत गरेर नै हामीहरु देशभित्र पसेका थियौं, अनेक खतरा र जोखिम मोलेर । त्यसपछि एउटा लहर पनि आयो । साराले हामीलाई हेर्न थाले उत्सुकताले, राजालाई पनि एउटा बाध्यता प¥यो । राष्ट्रिय एकताका नारा अवछिन्न रहे । यो मेलमिलापको नारा, राष्ट्रिय एकताको नारा चाहिन्न भनेर कसैले भन्न नसक्ने स्थिति हामीले पा¥यौं । यसै स्थितिमा जनतामा अर्कै जोश पनि आयो । जनताहरु उठे । विद्यार्थीहरुको आन्दोलन भयो । पहिले र मेलमिलापकोस्थिति पछिको विद्यार्थी आन्दोलनमा गुणात्मक फरक छ ।

जनमत संग्रह भयो । त्यसको परिणाम जस्तोसुकै रहे पनि एउटा ठूलो पक्ष जनमत संग्रहले देखायो— त्यो बहुदलबादी पक्ष, प्रजातन्त्रबादी पक्ष । त्यस्तो विषम परिस्थिति सरकार बिरोधमा थियो, अत्याचार थियो, डरत्रासको वातावरण थियो तैपनि बीस लाख भन्दा अधिक जनताहरु यो पक्षमा भोट दिएर देखा परे । तर यो पक्षको कुनै मर्यादा, कुनै कदर नै भएन अहिलेको संविधानमा । हामी संविधानलाई स्वीकार गर्न तयार छौं । तर हामीलाई ठाउँ दिया छ, स्वीकार गर्नलाई त्यहाँ ? हामी निउँ खोज्न होइन— स्वीकार गर्ने नियतले संविधानलाई हेरिरहेका छौं । तर त्यसमा हामीहरुको कतै स्थान हामीहरु पाउँदैनौं ।

महाराजाधिराजले फाल्गुण ७ गते हुकुम भएको छ, जसलाई जे भन्नु छ— सडक र गल्लीमा होइन, विधायिकामा भन्नु । तर यहाँ त उल्टो भएको छ । बरु गल्ली र मंचबाट केही भन्न सकिन्छ । विधायिकामा त त्यति छुट पनि दिइएको छैन । चुनिएर गएका प्रतिनिधिले भने अनेक नियन्त्रणहरुभित्र रहनुपर्छ र संविधानलाई स्वीकार गर्दिनँ भन्न बरु छुट छ । तर संविधानलाई स्वीकार गर्ने वित्तिकै उसको मुख थुनिन्छ ।

वर्तमान संविधानले राजालाई पनि अप्ठ्यारो स्थितिमा पा¥या छ र राजालाई बारम्बार विशेष अधिकार प्रयोग गरिरहन पर्ने स्थिति यसले ल्याएको छ । के यो राजाको हितमा हुन्छ ? महाराजाधिराजलाई विशेष अधिकार प्रयोग गर्नु पर्ने अवस्था नै नपर्ने संविधान होस् । राजा र प्रजाको बीचमा सौहार्द्रता कायम हुन सक्ने संविधान होस् । राजालाई पूर्ण विश्वास होस्, विशेष अधिकार प्रयोग गरिरहन पर्ने छैन भन्नेकुरामा । त्यस्तै जनतालाई पनि राजाबाट भएको हाम्रै हितको निमित्त हो भन्ने आस्वस्तता र सहमति बढ्दै जाओस् । एउटा विश्वासको वातावरण बनोस् ।

अब पनि राष्ट्रियताको जगेर्ना भएन, फेरि पनि संघर्षकै स्थिति आयो भने देश नै कता जाने हो ? यसलाई बडो गम्भीरताका साथ सोच्नु प¥या छ । हामीहरु चार वर्ष पहिले यही सोचेर देशभित्र आएका हौं । त्यही राष्ट्रिय मेलमिलापको विम्व हामीहरु अहिलेको संविधानमा हेर्न चाहन्छौं । तर त्यो त्यसमा छैन । अहिले सरकार बनाउँला भन्ने प्रश्न होइन । जुन ठाउँमा अहिले हामीहरु उभिएका छौं, प्रजातान्त्रिक संघर्ष गरेर जुन ठाउँमा हामी पुगेका छौं, त्यसभन्दा अगाडि जाने बाटो संविधानले दिएको छ कि छैन ? त्यो हामीले हेर्नु परेको छ । हामी राष्ट्रवादीहरु, प्रजातन्त्रवादीहरु, इमान्दार ब्यक्तिहरु जो शोषणको विरुद्धमा छौं, भ्रष्टाचारको विरोधमा छौं, अत्याचारको विरोधमा छौं, त्यो राजाभन्दा टाढा, राजाले दिएको संविधानभन्दा टाढा, तर जसले आज देशलाई यस अवस्थामा ल्याए जो बाहिरबाट प्रभावित र अरु राष्ट्रका प्रति वफादार छन्, उनीहरुलाई चाहि प्रवेश, शम्सदको ढोका भित्र छ ।

म प्रधान मन्त्री हुँदा मैले अठोट गर्न सकेको थिएँ, कि मेरो परिवारको जस्तो व्यवस्था यहाँका गरीब भन्दा गरीब परिवारलाई पनि १५ वर्ष भित्र म उपलब्ध गराउन सक्छु । तर आज कुन प्रधान मन्त्रीले भन्न सक्छ, १५ वर्षमा त्यो प्रधान मन्त्रीको परिवारको जस्तै अवस्था प्रत्येक परिवारलाई यहाँ हुन सक्छ भनेर ? अब त्यो सम्भव नै छैन । २०१७ साल पौष १ गते देशका प्रति सबभन्दा ठूलो दुस्मनी गरियो । राजाले दिएको संविधानलाई जनताले स्वीकार गरेर चुनाव लडिकन जनताको पार्टीले बनाएको सरकार; त्यसको कुनै दोष थिएन, राम्रो काम ग¥या थियो, कहीं खोट लाउने ठाउँ थिएन । तर त्यसमाथि विनाकारण हमला भयो । त्यस दिन त्यो सरकारमाथि मात्रै हमला भएन, म तपाइहरुले चुनेर पठाएको प्रधान मन्त्री मात्रै थुनिइनँ, हाम्रा सभामुख मात्रै थुनिइनु भएन, हाम्रा मन्त्रीमण्डलका सदस्यहरु मात्रै थुनिएनन् हाम्रा शम्सदका सदस्य मात्रै थुनिएनन्— तमाम, देशका कोही पनि मान्छे बाँचेनन् जो राजनीतिमा दिलचस्पी राख्थे । यो कत्रो ठूलो अन्याय भएको थियो । जबसम्म यो अन्याय विस्तारै–विस्तारै देशबाट हट्दैन, तबसम्म देशलाई खतराबाट जोगाउन सकिन्न ।

मेरो आफ्नो एउटा विश्वास छ, देशका सम्बन्धमा— देशको रक्षा महाराजाधिराजको पनि स्वार्थको कुरा हो । महाराजाधिराजलाई आफ्ना गद्दीको स्वार्थ रहन्छ भने, देशको पनि स्वार्थ हुन्छ । देश नरहे महाराजाधिराजको गद्दी पनि रहँदैन । एकचोटि मैले महाराजाधिराजसित त्यसैकारण विन्ती गरेको थिएँ— देश नरहे पनि म त मोरङ्मा खेती छ, हलो जोतेर खाउँला । तर सरकार कता जाने ? देश रहेन भने ? त्यसो हुनाले देशको रक्षा महाराजाधिराजलाई, हामीलाई भन्दा बढ्ता जरुरी छ । तर त्यो अहिलेको यो संविधानमा पाइदैन ।

म वीस वर्षपछि तपाईंहरुको सामुमा आएँ । हजारौ नर–नारीले अहिले आउँदा हामीहरुलाई फुल–माला दिनु भयो, स्वागत गर्नु भयो— घरको एउटा परिवार, बीस वर्षसम्म कहाँ थियो ? आज आएको छ भने जस्तो गरिकन जुन माया देखाउनु भयो, त्यो म कहिल्यै–कहिल्यै पनि विर्सन्न । सधै सम्झिरहने छु । मलाई कति जना भन्छन्— धेरै कालसम्म जेलमा बस्नु प¥यो, अनेक तगलिफ र दःख कष्ट भोग्नु प¥यो होला । तर उनीहरुलाई यो थाहा छैन जनताको मायाले मलाई कति ठूलो प्रेरणा दिन्छ ।

मेरो एउटा अठोट छ, हाम्रा साथीहरु, हाम्रो पार्टीको पनि एउटा अठोट छ—जनताको हीत हामीले गर्नुपर्छ, किनकि जनताको विश्वास हामीलाई छ । यो अठोट सधै हामी बाँचुञ्ज्यालसम्म रहिरहने छ ।

जो सधै मिहिनेत गर्छ तर गरीब र शोषित छ, जो किसान छ, जसको घर छैन, जसले खान–लाउन पाएको छैन— ती जनता उनीहरुको प्रतिनिधित्व हामी गर्छौ ।

(साभारः वी. पी. कोइरालाका भाषणहरु, जयनेपाल प्रकाशन, २०३८) (पृ. १—४ सम्म)

Back