भूमिमाथि जोत्नेको अधिकार हुनुपर्छ – वी. पी. कोइराला (मङ्सिर २६, २०१७)
Print Friendly and PDF

भूमि उनीहरुको हुनुपर्छ, जो त्यससँग जुध्छन्, खेल्छन् र जोत्छन् । भूमिमाथि सहरमा महल बनाएर मोज गरेर बस्ने मुट्ठीभर व्यक्तिको हक हुन सक्तैन । जबसम्म भूमिमा जोत्नेहरुको हक कायम हुँदैन, तबसम्म भूमिसम्बन्धी समस्या पनि हल हुँदैन ।

शताब्दीयौँसम्म थिचिएर साँगुरो थलामा कोच्चिएर बसेका मानिसलाई नयाँ बाटोमा हिँड्दा अवश्य नै असजिलो अनुभूति हुन्छ । त्यसैले हाम्रो मुलुक नयाँ दिशातर्फ लम्कन लागेकोले यहाँ हलचल हुनु कुनै आचश्र्य एवम् अस्वाभाविक छैन । जनता आज जुर्मुराएर उठेका छन् । इतिहासले कोल्टो फेरेको छ । देश क्रन्तिको क्रममा छ । केवल नारा लगाउँदैमा वा गडबडी मच्चाउँदैमा क्रान्ति भयो भन्न सकिँदैन । हामी क्रान्तिको दौडमा हिँडिरहेका छौँ । घोषणापत्र, विधेयक, नाचगान, रगत र आगोमात्र क्रान्ति होइन । हाम्रो जीवनमा क्रान्ति अनन्त छ, सँधै भइरहन्छ । सामन्ती अनन्त छ, सँधै भइरहन्छ । सामन्ती व्यवस्थालाई खत्तम गरेर औद्योगिक समाजको निर्माण गर्ने प्रयास पनि अवश्य नै एउटा क्रान्ति हो । सामन्ती व्यवस्थालाई खतम गर्न हाम्रो संसद्बाट पारित भएका विधेयकहरु पनि क्रान्तिकै लक्षण हुन् । यस्तो नयाँपनमा जानका लागि देशमा जागृतिको लहर उठेको छ । म भर्खरै पश्चिम १ र २ नम्बरको जिल्ला भ्रमण गरेर फर्किएको छु । त्यहाँ जाँदा मैले देशमा जागृतिको लहर आएको प्रस्ट देखेको छु । आफ्ना देशवासीहरु जागृत भएर हिँड्न लागेको देख्दा मलाई ज्यादै हर्ष लागेको छ ।

शोषित–दलित जनताले चारैतिरबाट नयाँ युगको उपलब्धि हासिल गर्नका लागि बाटो, कुलो, विद्यालय, अस्पताल, पुल, उद्योगधन्दाको माग गरिरहेका छन् । पुरानो परिपाटी समाप्त भएर नयाँ परिवेश र व्यवस्थाको जग बस्दैछ । परिवर्तनको यस्तो निर्णायक बेलामा उत्पन्न भएका हलचल र उथलपुथल त ऐतिहासिक क्रान्तिमा स्वाभाविक रुपमा प्रकट भएका लक्षणहरु हुन् ।

यसबेला हामी सबैजना क्रान्ति गरिरहेका छौँ । हामीहरु देशमा नयाँ परिवर्तन ल्याउन चाहन्छौँ । आज पनि केही प्रतिक्रियावादी तत्वहरुले नयाँ परिवर्तनको भुइँचालोलाई वशमा राख्न खोज्ने मूर्खता गरिरहेका छन् । जुनसुकै काम गर्दा पनि पुँजीको आवश्यकता पर्दछ । अहिलेसम्म राष्ट्रको सारा आर्थिक स्रोतको व्यवस्था गर्नुपर्छ । देशको विकासका लागि केवल विभिन्न देशको सहायतामा मात्र निर्भर रहनु ठीक हुँदैन । कलकारखाना आदि सम्पत्तिको स्रोत हुन् । यसको विकास नगरी औद्योगिक समाज निर्माण हुन सक्तैन । तर यसको लागि पनि पुँजीको आवश्यकता पर्दछ । तसर्थ देशका पुँजीपतिद्वारा नभ्याउने किसिमको कलकारखानाको निमित्त मात्र विदेशी पुँजीपतिहरुलाई दस वर्षसम्म मुनाफाको सान्त्वना दिएर आह्वान गर्नुपरेको हो । नेपालको व्यापार पनि विदेशी पुँजीपतिको हात पर्नेछैन ।

कर तिर्ने चलन नेपालीका निमित्त नयाँ भएकोले यसबारे मुठ्ठीभर व्यक्तिहरुले भ्रमात्मक प्रचार गरिरहेका छन् । नयाँ बाटोमा हिँड्ने बेलामा यस्तो भ्रमात्मक प्रचार गर्न सजिलो हुन्छ । तर सबैले होहल्लामा नलागी राम्रोसँग विचार गर्नुपर्दछ । अरु देशको विकासलाई दृष्टिगत गर्ने हो भने सरकारले अहिले लगाएको कर अपर्याप्त मान्ने तत्वहरुलाई सम्झाउन चाहन्छु, सुकिलो सेतो लुगा लगाएर ठूलाठूला दरबारमा बस्ने र अर्काको परिश्रममा मोज गर्नेहरु यसबेला उनीहरुको बिर्तामा 'कर' लाग्यो, घरमा 'कर' लाग्यो भनेर विरोध गर्दैछन् । किनभने अब उनीहरुको त्यसरी मोजसँग बस्न पाउने व्यवस्था समाप्त भइरहेको छ । हावा, पानी, घाम र भूमिजस्ता चारवटा प्राकृतिक स्रोतमाथि भोगचलन गर्नेको मात्र अधिकार हुन्छ । भूमिमा जोत्ने किसानको हक हुनुपर्छ ।

आफ्नो घोषणा–पत्रमा भनेको सबै विशेष कामहरु हामीले गर्न सकेका छैनौँ । हामीले अझै धेरै काम गर्न बाँकी छ । मध्यम वर्गलाई ध्यानमा राखेर सरकारले बिर्तालाई 'क' र 'ख' श्रेणीको बिर्ता उन्मूलन गर्दा जमिनदारलाई कुनै नोक्सानी हुँदैन । 'ख' श्रेणीको बिर्तामा त सरकारले केवल रैकर जमिन सरहको मालपोत मात्र लगाएको छ ।

नेपाल जनहित संघको प्रतिनिधिले मलाई केही दिनअघि भेटेर 'ख' श्रेणीको बिर्ता रैकर हुन लाग्यो भन्ने गुनासो गरेका थिए । मैले उनलाई जवाफ दिँदै भनेको थिएँ, मेरो कारणले बिर्ताको खोरेजी र कर लागेको होइन, यो त प्रगतिको लक्षण र इतिहासको स्रोत हो । यसलाई कसैले पनि रोक्न सक्तैन र यसलाई रोक्ने प्रयास भुइँचालोलाई रोक्ने प्रयास जस्तै हो । बरु तपाईहरु हामीमाथि सरकारले किसानको भलाइमा बढी ध्यान दिन सकेको छैन भन्ने दोष लगाउन सक्नुहुन्छ ।

बिर्ताको खारेजी र 'ख' वर्गका बिर्तामाथि थोरै कर लगाउनु मात्र ठूलो उपलब्धि होइन । कर नै नतिरी अर्काले कमाएको जग्गाको मालिक भएर बस्न पाउनु ठुलो अन्याय हो । सरकारले प्रजातान्त्रिक तरिकाले बिस्तारै–बिस्तारै सुधार गर्दै लाने नीति लिएको हुँदा 'ख' वर्गका बिर्ताहरु अहिलेसम्म कायम छन् । अन्यथा त्यो पनि खारेज भइसक्थ्यो । जमिनमा जोत्नेहरुको हक कायम नभएसम्म मलाई सन्तोष लाग्नेछैन ।

जनताको अहित गर्न स्थापना भएको एउटा सामन्ती षड्यन्त्रको टट्टु सघंले अस्ति 'क' श्रेणीको बिर्ता उन्मूलन आदिको विरोधमा काठमाडौंमा हड्ताल गरेको थियो । यसबाट जे गर्दा पनि हडताल गर्नुपर्छ भन्ने धारणा काठमाडौंमा रहेको प्रस्ट हुन्छ । तर त्यसको कुनै अर्थ छैन । यस किसिमको परिपाटीले सरकारलाई केही पनि गर्न सक्तैन । किनभने हडताल सिद्धान्त [मा आधारित] हुनुपर्दछ । इतिहासले हामीलाई कतापट्टि लैजाँदैछ, त्यो बुझ्नुपर्छ । सय वा दुईसय परिवारको निम्ति देशका समस्त जनताको हितलाई पन्छाउन सकिँदैन । इतिहासको विरोधमा उठेकाहरु खतम भएर जानेछन् । पुरानो विचार राखेर नयाँ काम हुन सक्तैन ।

म जनतासँग सहयोग दिनका आगि अपिल गरिरहेको छु । म जनतासँग त्यागका साथ मेहनत गर्न आह्वान गर्दछु । आज देश पहिलेको अवस्थामा छैन । देशमा नयाँ व्यवस्था आएको छ । तपाईहरुले चुनेर यो सरकार बनाउनुभएको छ । सरकारको कुनै बेग्लै अस्तित्व छैन, सरकार भनेको दुनियाँ हो र यसको तमाम दायित्व जनतामा छ । अब सरकारका सामु आएको नयाँ दायित्व पनि तपाईहरुले नै बोक्नुपर्छ । हामीले सरकारको क्षमता र जनताको सहयोग एवम् मेहनतबाट देशलाई विकासको बाटोमा लैजानुपर्दछ । हाम्रो मेहनतको फल हामीले भोग्न नपाए पनि अर्को पुस्ताले यसको उपभोग गर्न पाउनेछ । परिवर्तनको समयमा अलिकति दुःख भोग्नैपर्छ । त्याग नगरी माटो मात्रले देश बन्दैन । अरु मुलुकले हामीलाई आफ्नो जनताबाट उठाएको करको रकमबाट सहायता दिँदैछन् । तसर्थ हामीले आफैँ केही नगर्दा मुलुक अगाडि बढ्न सक्तैन ।

यहाँ करबारे झूठो प्रचार भइरहेको छ । प्रतिगामीहरुले भनेका छन्, 'आइमाईको चुल्ठो, स्वास्नी र भैंसीको पुच्छरमा पनि कर लाग्छ', तर यो निरर्थक प्रचार मात्र हो । यो उनीहरुको हल्लामा लाग्ने बेला होइन । यसबेला हामीले जनताबीच कर तिर्ने बानी बसाल्न नाममात्रको कर लगाएका छौँ । कस्तो कस्तो विषयमा कति कर लागेको छ, त्यो पनि बुझ्नुपर्छ । केही धनीबाहेक अरु जनतालाई सरकारले कर लगाएकै छैन । हामीले राष्ट्र बनाउनुछ, त्यसका लागि पनि अरबौँ रुपैयाँ चाहिन्छ । करबाट त मुस्किलले ६०–७० लाख मात्र उठ्छ । रुसका जनताले ४३ वर्षसम्म हाड घोटेर काम गरेपछि आज बल्ल प्रगति देखे । तसर्थ हामीले १–२ वर्ष होइन, २० वर्षदेखि ३० वर्षसम्म परिश्रम र त्याग गर्नुपर्छ । मोहनशमशेरको शासन समाप्त हुनुभन्दा १ वर्ष ३ महिना अगाडि म थुनिएको बेला यही सिंहदरबारमा मोहनशमशेरले भनेका थिए, 'तिमीले प्रधानमन्त्रीको गद्दी ताक्या छौ, हेर, यो त पुर्पुरोमा लेखेको हुनुपर्छ ।' आज म ती सामन्ती तत्वहरुलाई पनि उनीहरुले भूस्वामित्व पनि आफ्नो पुर्पुरोमा लेखेको भ्रम नराखुन् भन्ने स्मरण गराउन चाहन्छु ।

(डिसेम्बर ११, १९६०, मङ्सिर २६, २०१७ / गोरखापत्र, मङ्सिर २५ गते लैनचौरमा आयोजित जनसभामा बीपी कोइरालाले दिनुभएको भाषणको सार)

Back