"नेहरू पथमा नेपाली कांग्रेस" - दीपक अर्याल (२०७१ जेठ, १७ शनिबार, अन्नपूर्ण पोस्ट्)
Print Friendly and PDF

बीपी कोइराला र समाजवाद नेपालको सन्दर्भमा सदैव पर्यायजस्ता लाग्छन्। हरेक कार्यक्रममा बीपीलाई सम्झँदा समाजवाद, महान् समाजवादी चिन्तकका उपमा त दिइन्छ तर बीपीले कस्तो खालको समाजवादको परिकल्पना गरेका थिए? के त्यस्तो समाजवादको कुनै भविष्य थियो/छ? वा नेपाली कांग्रेसले बीपीको समाजवाद भनेर नारा लगाउने समाजवाद र अहिलेको राजनीतिक, आर्थिक वा सामाजिक कार्यक्रममा कुनै तालमेल छ कि छैन? त्यसबारे खासै बहस हुने गरेको देखिँदैन। त्यसैले नेपालको सन्दर्भमा बीपी खोपामा राखिएका देवता र समाजवाद उनको आराधना गर्दा चिच्याइने जय बोलको नाराबाहेक अरू केही बन्न सकेको छैन।

बीपीको समाजवादी अवधारणाको कुरा गर्दा भारतीय राजनीतिज्ञ राममनोहर लोहिया र महात्मा गान्धीको नाम बडो इज्जतसाथ लिइन्छ। तर समाजवाद, ग्रामीण अर्थतन्त्र तथा दिगो विकासका विषयमा महात्मा गान्धीलाई सल्लाह दिन र गान्धीका विचारलाई परिमार्जित गर्दै उत्कृष्ट बनाउनसक्ने हैसियत राख्ने सोही समयका चिन्तक जेसी कुमारप्पाको नाम भने बिर्सिइन्छ। बीपीले समाजवादका सम्बन्धमा जे बोलेका छन् वा जे लेखेका छन् त्यसको सार बुझ्न गान्धी वा लोहियामात्र पढेर पुग्दैन। बीपीलाई समाजवादी चिन्तक माने पनि उनी आफैंले समाजवादका विषयमा भने धेरै लेखेका छैनन्, जति लेखेका छन् त्यो पनि प्रस्ट छैन।

बीपीका विचारमा समाजवादका दुई पोया छन्, राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने खालको विकास। उनका अनुसार समाजवादका आधार पुँजीवादमा नै पलाउँछन् र त्यस पुँजीलाई व्यक्ति हितबाट हटाई सामूहिक हितमा प्रयोग गरेर नै समाजवादको व्यवस्था खडा गरिन्छ। तर, व्यक्तिगत रूपमा आर्जन गरेको वा व्यक्तिगत पुँजीलाई सामूहिक हितमा प्रयोग गर्ने उपाय के हुन सक्छ? वा त्यसका लागि समग्र राष्ट्रलाई कसरी तयार पार्न सकिन्छ? बीपीले कैयौं प्रश्नको उत्तर दिएका छैनन्।

बीपीको समाजवादी अवधारणामा सदैव गाउँको कुरा गरिएको छ र गाउँकेन्द्रित अर्थतन्त्र तथा विकासको नमुनामा जोड दिइएको छ। देश गरिब भएको, देशमा किसानको बहुमत भएको र देश गाउँले बनेकाले यसमा ध्यान दिनुपर्नेमा उनको जोड छ। उनी भन्छन्, 'हाम्रो मुलुक गरिब छ। हाम्रो मुलुक किसानहरूको मुलुक हो। जसले किसानको, हलो जोत्नेहरूको भलाइ गर्छ। जसले गाउँलाई चिनेको छ, गाउँमा बस्ने मानिसहरूको अवस्थालाई चिनेको छ, गाउँको भलाइको जुन नीति छ, जुन कार्यक्रम छ, त्यही समाजवादी नीति र कार्यक्रम हो।'

बीपीलाई हामी हाम्रो आदर्श मान्छौं तर पछिल्लो समयमा देशले अवलम्बन गरिरहेको आर्थिक, सामाजिक वा विकासका नीतिलाई हेर्दा त्यो बीपीको परिकल्पनाविपरीत छ। अर्थात् ढिलोचाँडो बीपी असान्दर्भिक भइसके वा उनका चिन्तनले नेपाली समाजमा कुनै योगदान दिन सक्दैन भन्ने निष्कर्षमा पुग्नुपर्ने हुनसक्छ। बीपीका चिन्तन, बुझाइ तथा विवेचना असान्दर्भिक हुनुमा उनका अनुयायी मात्र होइन, उनी स्वयंको चाहना र केही हदसम्म सैद्धान्तिक विचलनप्रति पनि प्रश्न गर्नुपर्ने हुन जान्छ।

बीपी जुन मोडमा समाजवादी अवधारणा र आन्दोलनप्रति प्रतिबद्ध देखिन्थे सोही मोडमा विचलित पनि देखिन्थे। यसो हुनुको खास कारण उनीमा समाजवादी आन्दोलनका अगुवा गान्धी, कुमारप्पा वा लोहियाको बाटोमा उन्मुख हुने वा नेहरूको विकास तथा औद्योगिकीकरणको समर्थन गर्ने भन्नेमा द्विविधा रहनु हो। बीपीका लेख तथा भाषणमा समाजवाद खोज्ने हो भने त्यसमा नि:सन्देह गान्धी, कुमारप्पा र लोहियाले तयार गरेको समाजवादको परिभाषा भेटिन्छ तर उनी आफ्ना काम र योजनामा भने सदैव नेहरूका अनुयायी रहे। नेहरूप्रति उनको निकै आदर थियो र केही हदसम्म उनको कामप्रति विश्वास पनि। सायद त्यसैको प्रभाव हुन सक्छ, उनले नेपालभित्र समाजवादी आन्दोलन वा आदर्शका लागि नयाँ पुस्तालाई उत्प्रेरित गर्न सकेनन् वा चाहेनन्। केही हदसम्म समाजवादको अभ्यास गरिरहेका वा त्यसलाई आदर्श मानिरहेका पहिलो पुस्ताको लगभग अन्त्यपछि अब नेपालका सन्दर्भमा समाजवाद अभ्यास र चिन्तनको युग समाप्त भएको मान्नु अन्यथा नहोला।

नेहरूको नेतृत्वमा भारतले औद्योगिक विकास तथा आधुनिक पूर्वाधारको विकास गरिरहँदा गान्धीले यस्तो परिवर्तन दिगो नहुनेमा जोड दिइरहे। तर, उनको विरोध विकासको आकांक्षा तथा उत्कटताले कमजोर पारिदियो। नेहरूको नेतृत्वमा भारत आधुनिक संरचनायुक्त सहरी विकासको मार्गमा अगाडि बढिसकेको थियो। नेहरूका लागि गान्धी, लोहिया वा कुमारप्पाले उठाएका विषयवस्तुहरू आदर्शवादी र सैद्धान्तिक थिए, व्यावहारिक थिएनन्। आधुनिकीकरणको यो नशाले जनतालाई पनि छोइसकेको थियो त्यसैले विकासको नाराबाहेक अन्य सबै नारा तथा मुद्दा निष्प्रभावी हुँदै गए। गान्धीले हार मान्दै सानै स्वरमा भए पनि आफ्नो असन्तुष्टि पोखिरहे, 'भगवान्ले यो नगरोस् कि भारत पनि पश्चिमी देशको जस्तो औद्योगिक देश बनोस्, आज एउटा सानो द्वीप (इङ्ल्यान्ड)को आर्थिक साम्राज्यवादले त संसारलाई आफ्नो नोकर बनाएको छ भने ३१ करोड जनसंख्या रहेको हाम्रो मुलुकले यस्तै प्रकारको आर्थिक शोषण गर्न थाल्यो भने त्यसले संसार बिथोल्नेछ।' गान्धीले भने, 'भारत इङ्ल्यान्ड वा अमेरिकाजस्तो बन्नका लागि धरतीको केही ठाउँ वा केही नश्लको खोजी गर्न जरुरी छ जसको शोषण गर्न पाइयोस्। यस्तो लाग्छ कि पश्चिमी राष्ट्र युरोपबाहिर देखिएका सबै नश्लको शोषण गर्नका लागि बाँडिइसकेका छन् र अब दुनियाँमा शोषणका लागि बाँडिने कुनै चीज छैन।'

पश्चिमी विकासको नक्कल गर्ने प्रयासमा भारतको भविष्य झन् अन्योलपूर्ण हुनसक्छ भन्ने मान्यता राख्ने गान्धीको विचार बीपीले पनि सापटी लिएका छन् र भनेका छन्, 'विकसित (पश्चिमी) देशको चकाचौंध देखेर हामी नबहकिऔं र विकासको प्रश्नमा भावुक नहोऔं।' गाउँको विकास मूल एजेन्डा हुनुपर्छ भन्ने सन्दर्भमा मात्र होइन अन्धाधुन्ध आधुनिक यन्त्रको प्रयोग तथा विकासको नक्कल गर्न नहुने मामलामा बीपी गान्धीसँग नजिक थिए तर त्यसको अर्को पाटो के हो भने गान्धी वा कुमारप्पाले आफ्ना मान्यतालाई ग्रामीण क्षेत्रमा परीक्षण पनि गरिरहेका थिए। उनीहरू आफैं समाजवादको आदर्शलाई आफ्नो दैनिक जीवनमा उतार्ने प्रयास गरिरहेका थिए र आफ्ना सहयोगी तथा शुभेच्छुकलाई प्रेरित गरिरहेका थिए। तर, नेहरूको विकास र परिवर्तनको जञ्जालमा समग्र भारत पसेपछि गाउँ जहाँको तहीँ रह्यो भने गरिब र धनीबीचको खाडल कहिल्यै घटेन। आज ५० वर्षपछि पनि भारतको सबैभन्दा ठूलो समस्या र चुनौती नै भारतभित्र देखा परिरहेको दुईवटा भारत, दुई थरी जनता, दुई थरी विकास र परिवर्तन हो।

गान्धीले सन् १९४६ मा सहरको विकासका लागि गाउँको स्रोतको दुरुपयोग भइरहेको र गाउँको स्रोतसाधन रित्तिएको सम्बन्धमा भनेका थिए, 'गाउँको रगत नै त्यो सिमेन्ट हो जसले सहर निर्माण हुन्छ।' तर, सुन्ने कोही थिएन। यस्तो स्वर सहरको कोलाहलसँगै कतै हराउँदै थियो।

नेपालको सन्दर्भमा पनि समाजवादी अवधारणको प्रस्टसँग व्याख्या हुन पाएन र त्यसप्रति सायद धेरैले चासो पनि देखाएनन्। तथापि एउटै आन्दोलन वा चिन्तनको वरिपरि घुम्ने भारतीय समाजवादी चिन्तक र बीपी तथा नेपाली समाजवादी कार्यकर्ताका माझ केही कुरामा भने भिन्नता देख्न सकिन्छ। भारतमा समाजवाद चिन्तनका रूपमा मात्र होइन, जीवनपद्धतिका रूपमा अपनाउने प्रयास पनि भयो। नेपालको सन्दर्भमा भने यसको कमी रह्यो। सायद बीपीले यसलाई बुझेका थिए, त्यसैले उनले यसलाई सांस्कृतिक आन्दोलनका रूपमा व्याख्या गरेका थिए,

'समाजवाद एउटा सांस्कृतिक आन्दोलन हो। यहाँ सांस्कृतिक भन्नाले खालि धार्मिक वा आध्यात्मिकमात्र हो भनेर मैले भन्न खोजेको होइन। यो तमाम मानिसको तमाम पक्षलाई छोएको मुभमेन्ट हो। अर्थले मात्र मानिसलाई समाजवादमा पुर्‍याउन सक्दैन।'

तर, बीपीको यो मान्यताले स्थान पाएन र समाजवादका लागि आवश्यक सांस्कृतिक आन्दोलनको वातावरण तयार हुनै पाएन वा सकेन। बीपी पनि यो मार्गमा हिँडेनन्। उनी २०१७ साल पुस १ गतेको कदमपछि सत्तामा जान पाएनन्, धेरै वर्ष जेलमा वा निर्वासित भएर बिताए, त्यसैले पनि व्यक्तिगत रूपमा गर्नसक्ने कतिपय परीक्षण गर्न पाएनन्। तर, उनका लेखनीले मात्र उनको समाजवादी चिन्तन र मान्यतालाई प्रस्ट पार्दैन। सायद त्यसैको प्रतिफल हुनुपर्छ, २०४८ सालपछि बनेको नेपाली कांग्रेसको सरकारले पनि नेहरू र पश्चिमी देशको विकासको नमुना पछ्यायो। र, देशमा दुई थरी विकास, समाज, शिक्षा, स्वास्थ्य र पूर्वाधारमात्र होइन, दुई थरी जनता पनि सिर्जना गरिरह्यो। नारा समाजवादको लगाए पनि कांग्रेसका पछिल्ला कार्यक्रम र योजना बीपीको समाजवादी चिन्तनसँग होइन, नेहरूको चिन्तनसँग नजिक छन्। त्यसैले आफूलाई समाजवादी पार्टी भन्नकै लागि पनि कांग्रेसले एकपटक बीपीको समाजवादबारे बहस गर्न जरु री छ। आवश्यक परे, पुनव्र्याख्या, संशोधन वा अन्त्य गर्न जरुरी छ।

प्रकाशित मिति: २०७१ जेठ, १७ शनिबार, अन्नपूर्ण पोस्ट्

Back