"वीपी र राष्ट्रिय स्वाभिमान" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरण: जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. २५–२८)
Print Friendly and PDF

१. कुरो २००८ सालको हो। २००७ सालको क्रान्तिको सफलतापछि जब राणा–कांग्रेस संयुक्त सरकार बन्यो त्यस बेला गृह मन्त्रालयको कार्यभार वीपीमा पर्न आएको थियो। यस संयुक्त सरकारका मन्त्रीहरुमा राणातर्फका मन्त्रीहरु त आआफ्ना दरबारका धनी थिए; सबै आफ्नै दरबारमा बस्थे। तर कांग्रेसतर्फका मन्त्रीहरुमध्ये काठमाडौंमा घरनहुनेले मन्त्रीहरुका लागि सरकारी आवासगृहको अभाव भएको त्यस स्थितिमा आफैं डेरा खोज्नुपर्थो। त्यस बखतको काठमाडौंमा अचेलजस्ता उपयुक्त घर पो कहाँ भेटिन्थे र! वीपी सुरुमा त्रिपुरेश्वरको गेष्ट हाउसमा बस्नुभएको थियो र त्यहाँ खुकुरी दलको आक्रमणको घटनापछि केशरमहलको पश्चिम—उत्तर कुना (हाल मल्ल होटल भएको ठाउँ) मा अवस्थित रङ्गशाला भन्ने घरमा बस्न थाल्नुभएको थियो।

सम्भवतः त्यो घर वीपीका लागी केशरशमशेरले उपलब्ध गराएका थिए। म त्यस बखत नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको सम्पादक थिएँ। नेपाल पुकार नेपालभित्रबाट प्रकाशित हुन थालेपछिको पहिलो सम्पनदक। वीपी बेलाबेलामा आफ्नो एउटा विश्वसनीय कार्यकर्ताका हैसियतमा मलाई आफ्नो निवासमा वोलाएर त्यस बखत आइपरेका वा आउन सक्ने विभिन्न समस्याका बारेमा मेरो बिचार सुन्न र जान्न खोज्नुहुन्थ्यो। उहाँले बोलाउँदा म निकै प्रसन्न भएर जान्थें। वीपीको मप्रतिको स्नेह र सदभावनापूर्ण व्यवहारले मलाइ लाग्थो– वीपी अरुको तुलनामा मलाई विशेष माया गर्नुहुन्छ।

हुन त वीपीको यस्तो स्नेह र सदभावनापूर्ण व्यवहार मेरो मात्र एकलौटी प्राप्ति थिएन र उहाँ आफ्ना अधिकांश साथीहरुलाई यस्तै आत्मीयता र स्नेह बाँड्न सक्नुहुन्थ्यो, तैपनि किनकिन मलाई मेरो मनले भन्ने गथ्र्यो– "वीपीको सर्वाधिक प्रिय तँ नै होस्।" कमसेकम मेरा ह्रदयमा यस्तै छाप बसेको थियो। म आफूखुसी उहाँलाई भेट्न गएमा बाहेक उहाँले मलाई बोलाउँदा प्रायः ब्रेकफास्टमा या लन्चमा बोलाउनुहुन्थ्यो। खान बस्ता सुशीला भाउजूले आफै बसेर जुन स्नेह र उत्साहले खुवाउने गर्नुहुन्थ्यो त्यसबाट म झन् अभिभूत हुन पुग्थें।

२. एक बिहान म वीपीसँग सँगै बसेर ब्रेकफास्ट खादै थिएँ। कुरो सल्लाहकार सभाको गठनको विषयमा चल्दै थियो। वीपीको विचार थियो— चुनाव नहुँदासम्म मन्त्रिपरिषद्को सल्लाहले श्री ५ बाट मनोनीत एउटा सल्लाहकार सभा भइदियो भने त्यसबाट त्यसबाट सरसल्लाह लिन मन्त्रिपपरिषद्लाई सजिलै होला। संसद् नभए पनि संसद्ले जस्तै मन्त्रिपरिषद्लाई सल्लाह दिन सल्लाहकार सभाले पनि सक्नेछ। भर्खरै मात्र क्रान्ति सफल भएर देशभित्र आउन पाएकाले वीपीले जिल्ला—जिल्लाका मानिस सबैलाई चिनिसक्नुभएको थिएन। त्यसैकारण नै पश्चिमा अंचलमा को मान्छे कस्ता छन् र सल्लाहकार सभाका निम्ति कुन जिल्लाबाट कसलाई लिन उचित होला भन्ने विषयमा उहाँले मेरो राय लिन चाहनुभएको थियो। हामी खाँदै कुरा गर्दै थियौँ र कोठामा सुशीला भाउजूभन्दा बाहेक अर्को तेस्रो व्यक्ति कोही थिएन।

यतिकैमा हामी के देख्छौँ भने त्यस बखतका भारतीय राजदूत सर सी.पी.एन. सिन्हा हाम्रो टेबुलको सामुन्ने ठिङ्ग उभिन आइपुगेका छन्— न कुनै पूर्वसूचना न कुनै अनुमति। आउनासाथ ठाडठाडै के भन्छन् भने—"देखिए कोइराला साहब, हमको आपसे कुछ जरुरी बातेँ करनी थी।" उनको आशय थियो— अब वीपीले मलाई बिदा दिएर उनीसँग कुरा गर्नुप¥यो। वीपी एक त उनको यस्तो अप्रत्याशित आगमनले नै क्रुद्ध भइसक्नुभएको थियो भने उनको कुरा गर्ने ठाडो शैलीले उहाँको रिसको पारो अरु चढेको थियो। उहाले पनि उनकै जस्तो ठाडो शैलीमा भन्नुभयो— "आपको यहाँ तक आने किसने दिया? न कोई सूचना, न कोई अनुमति! जाइए, अभी नीचे बैठकमे बैठिए, अभी मैं यिनसे बहुत जरुरी बात कररहा हूँ।" एक त बिना कुनै पूर्वसूचना, बिना कुनै अनुमतिको अप्रत्याशित आगमन एउटा राजदूतका लागि कुनै पनि अर्थमा पूर्णतः अशोभनीय थियो भने त्यसमा पनि पहिलो तलाको बैठकमा बसेर खबर पठाउनु सट्टा डाइनिङ्गरुमसम्म सरासर पुग्नु कति अभद्रता थियो? यो सहजै अनुमान गर्ने सकिने कुरा हो।

नेपालका लागी भारतका त्यस बखतका राजदूत आफूलाई केवल राजदूत मात्र ठान्दैनथे, आफूलाई नेपालको सर्वेसर्वा र नेपालका मन्त्रीहरुसम्मलाई पनि आफ्ना मातहतका कर्मचारीसरह ठान्थे भन्ने कुराको ज्वलन्त उदाहरण यस बखत सी.पी.एन. सिन्हाले स्पष्ट रुपमा पेश गरेका थिए। उनलाई देख्नासाथ वीपी मलाई खुरुक्क बिदा गरी उनको स्वागतमा खडा हुनेछन् भन्ने सायद उनले सोचेका थिए। वीपीवाट त्यस्तो उत्तर सुन्नुपर्ला भन्ने कुरा त उनको कल्पनाभन्दा धेरै परको कुरा थियो। आफू बसेको आसनबाट उठ्नसम्म पनि नउठी वीपीले दिएको त्यस्तो उत्तरले त्यस बखत उनको दिमागमा कस्तो असर प¥यो? त्यो उनैले जान्ने कुरो हो। अचेल सी.पी.एन. सिन्हा जीवित छन्? त्यो मलाई थाहा छैन। यदी उनी जिवितै छन् भने आज उनी जहाँ भए पनि त्यस दिनको त्यो घटना उनले अवश्य नै बिर्सेका नहोलान् भन्ने मेरो विश्वास छ। अँ, त्यसपछि उनी एक बचन नबोली फरक्क फर्केर तल झरे।

हामी आफ्नो प्रसंगका कुरामै लाग्योँ। वीपीले जानीबुझिकनै कुराको प्रसङ्ग केही लम्ब्याउनुभयो। हामी कुरा सकेर तल बैठकमा झर्दा उनी बैठकमा थिएनन्। उनी बैठकमा थिएनन्। उनी बैठकमा पर्खेर बसेका होलान् भनेर हामीले सोच्ने कुरा पनि भएन। यस घटनापछि वीपीले बाहिर निस्केर आफ्नो गार्ड कमान्डरलाई बोलाई निकै खप्की दिनुभयो। उहाँले भन्नुभयो— "आइन्दा कसैलाई पनि बिनाअनुमति भित्र नपठाउनू।" वीपीको यस व्यवहारबाट त्यस दिन मेरो छाती नाङ्लोभन्दा ठूलो हुन पुगेको थियो।

३. दुरुस्तै यस्तो नभए पनि झन्डै यस्तैयस्तै अर्को घटना २०१६ सालको पनि छ। त्यस बखत आमनिर्वाचन भइसकेको थियो र वीपी प्रधानमन्त्री र सुवर्णजी उपप्रधानमन्त्री हुनुहुन्थ्यो। भारतसँगको गण्डक योजनाका विषयमा सम्झौता—वार्ता चल्दै थियो। भारतले आफ्नो प्रस्ताव नेपाललाई पठाएको थियो र नेपालले सो प्रस्ताव र गण्डक योजनाबाट नेपाललाई हुन सक्ने लाभ र हानिका बारेमा अध्ययन गर्दै थियो। सम्झौता गरिहाल्न नेपाल त्यति हतारमा थिएन तर भारत जतिसक्दो चाँडो यस योजनाको सम्झौतामा दुवै पक्षको हस्ताक्षर होस् भन्ने चाहन्थ्यो। नेपाली जनताको चेतनाको स्तर त्यस बखत अहिलेको जति थिएन र जलस्रोतका विषयमा हाम्रो अध्ययन पनि निकै कम थियोर अझ प्राविधिक ज्ञानका हिसाबले त हामी भारतका तुलनामा निकै पछि थियौँ। यस्तो अवस्थामा नेपाल भारतको मात्र भर परेर कुनै सम्झौता गरिहाल्नुभन्दा नेपाली प्राविधिकहरुले आफै पनि केहि अध्ययन गर्न सकून् भन्ने चाहन्थ्यो।

त्यस बखत नेपालका लागि भारतीय राजदूत भगवान साहय थिए। तर जति भलाद्मी भए पनि उनले आफ्नो राष्ट्रको स्वार्थ र भारत सरकारको ताकितामा सो सम्झौता चाँडो गराउन नेपालमाथि निकै दबाव दिन थालेका थिए। उनी आफ्नो प्रस्ताव लिएर कहिले राजदरबार पुग्थे भने कहिले सिंहदरबार प्रधानमन्त्री, उप्रधानमन्त्रीकहाँ। राजाबाट उनलाई हुकुम भएको रहेछ— "म सानोतिनो कुरामा भारतजस्तो मित्रदेशको चित्त दुखाउन चाहन्नँ तर निर्वाचित संसद् र मन्त्रिपरिषद् भएकाले मैले मन्त्रिपरिषद्को काममा हस्तक्षेप गर्नु हुन्न। तपाईले प्रधानमन्त्री सँग करा गर्नु बेस होला। मन्त्रिपरिषद्ले गरेको निर्णयमा मेरो सहमति हुनेछ।" यसको अर्थ उनले आफ्नो प्रस्तावमा श्री ५ को सहमति रहेको ठानेका रहेछन्। राजाले मानिसकेका कुरा पनि तिमीहरुले नमान्ने भन्ने उनको प्रधानमन्त्रीसँग गुनासो रहेछ। भारतको प्रस्तावमा के थियो र कुन बुँदामा कुरो मिलेको थिएन; मलाई यस सम्बन्धमा जानकारी थिएन। एक दिन सुवर्णजीलाई भेट्न पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान ११ बजे ललितानिवास बालुवाटार पुगेको थिएँ।

सुवर्णजीकहाँ जाँदा मलाई उहाँको बैठकसम्म नै कतै रोकटोक हुदैनथ्यो। "जर्साब कहाँ?" भनेर सोद्धा बैठकेले मलाई बैठकतिर देखाएकाले म त्यतै लागेँ। ठूलो बैठकमा कसैलाई नदेखेपछि त्यसै बैठकबाटै पस्ने अर्को सानो बैठकको ढोकामात्र के खोलेको थिएँ— मैले त्याहाँ सुवर्णजीलाई मात्र होइन, वीपी र भारतीय राजदूत भगवान् सहायलाई पनि देखेँ। यसरी तीन जनाको एकान्त वार्तालाप भइरहेको देख्दा म कोठाभित्र पस्न हच्केँ। तर मलाई वीपीले भित्रै बोलाउनुभयो। भित्र पसेर हेर्छु त तीनै जनाको अनुहार निकै रातोरातो भएको छ र तीनै जना अस्वाभाविक मुद्रामा छन्। मलाई देखेपछि भारतीय राजदूत उठ्न खोजेको देखेर वीपीले भन्नुभयो— "उहाँ हाम्रो पार्टीको महामन्त्री हो र उहाँको उपस्थितिले हाम्रो कुराकानीको प्रसङ्गमा कुनै बाधा पनर्दैन।" वीपीले यसो भने पनि म पुग्नुभन्दा पूर्व उहाँहरुका बीच निकै चर्का कुराहरु भइसकेका रहेछन् भन्ने संकेत त त्याहाँको वातावरणले नै दिइरहेको थियो। संयोगवश म त्याहाँ पुग्नु त त्यो चर्काचर्की समाप्त गर्ने निहुँ मात्र बन्न पुगेको रहेछ। म पुगेपछि "आपसे फिर मिलेंगे" भनेर राजदूत उठेर गए। उनी गएपछि वीपीले अनायास नै भन्नुभयो— "यसरी दबाब दिन पनि हुन्छ त? मानौँ नेपाल त भारतको एउटा प्रान्त नै हो।"

गण्डक सम्झौता भयो। कति नेपालका कुरा सुनिए वा कति सुनिएनन् अथवा भारतिय अबाबले कति काम गर्न सक्यो, कति गर्न सकेन, त्यो मलाई थाहा छैन। यहाँ यसप्रसङ्गमा मैले के मात्र उल्लेख गर्न खोजेको हुँ भने वीपी सहज रुपमा कसैको दबाबमा आउने मान्छे हुनुहुन्थेन र उहाँका कुनै पनि कार्य, व्यवहार र चिन्तन राष्ट्रहित र राष्ट्रिय स्वाभिमानबाटै प्रेरित हुने गर्थे।

Back