"हाम्रो साधन", विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)
Print Friendly and PDF

मैले एउटा पछिल्लो लेखमा हाम्रो लक्ष्यमाथि प्रकाश पार्ने प्रयत्न गरेको थिएँ । त्यसमा मैले नेपाली राष्ट्रिय कांग्रेसको तात्पर्य के हो भन्ने स्पष्ट पारेको छु । प्रस्तुत लेखमा हाम्रो साधनका बारेमा केही भन्न गइरहेको छ । हामी आफ्नो ध्येयसम्म कुन बाटोबाट पुग्ने ? यस सम्बन्धमा अहिलेसम्म नेपाली राष्ट्रिय कांग्रेसका जति साहित्य निस्केका छन्, सबैमा हाम्रो साधन शान्तिमय र अहिंसात्मक रहनेछ भन्ने स्पष्ट रुपले घोषित गरिएको छ ।

हिन्दुस्तानका राजनीतिज्ञहरुबीच हिंसा र अहिंसाको प्रश्नलाई लिएर ठूलो विवाद चल्यो । कांग्रेसले गान्धीजीको अनुपम नेतृत्वमा अहिंसाको साधनलाई स्वीकार ग¥यो । यसले राज्यको निम्ति जति आन्दोलन चलायो, ती सबै अहिंसात्मक थिए । अन्त्यमा गान्धीजीको तरिकाद्धारा नै हिन्दुस्तानमा स्वतन्त्रता प्राप्त भयो । अङ्ग्रेजजस्तो शक्तिशाली साम्राज्यवादीका विरुद्ध त अहिंसात्मक जनआन्दोलन सफलतापूर्वक चल्न सक्यो भने, केवल मुठ्ठीभरका शासक वर्गलाई हटाउनुपर्ने हामीलाई त्यो उपायले झन् छिटै सफलता दिलाउन सक्छ भन्नेमा सन्देह छैन । अहिंसात्मक लडाईको एउटा मुख्य गुण के हो भने जसले विरोधी पक्षको हृदयमा पनि सत्याग्रहीहरुको लक्ष्यप्रति आदरको भाव जागृत गराउँछ । वीदेशीका विरुद्ध भएको प्रयोगभन्दा आफ्नै देशवासीका विरुद्ध भएको प्रयोग अधिक प्रभावकारी हुन्छ । सातसमुद्रपारि बसेर राज्य चलाउने विदेशीमाथि हिन्दुस्तानको अहिंसात्मक युद्धबाट कम असर पर्न पनि सम्भव छ । तर, काठमाडौंका जनताले आफ्नो मानवीय अधिकारका लागि काठमाडौंमै बसेर राज्य गर्ने शासकविरुद्ध निःशस्त्र आन्दोलन चलाएका खण्डमा निश्चय पनि ठूलो प्रभाव पर्छ ।

गान्धीलाई मनुष्यको असल प्रवृत्तिमाथि अटल विश्वास थियो । जस्तै निष्ठुर हृदयमा समेत सत्याग्रहको उचित प्रभाव नपरी छाड्दैन भन्ने पनि उहाँमा ठूलो विश्वास थियो । यस सम्बन्धमा मतभेद हुनसक्छ । कतिपयले मानवताको संसर्गमा नआएको व्यक्तिमाथि सत्याग्रहको परिवर्तनकारी प्रभाव पर्नै सक्दैन भन्ने मत पनि राख्न सक्छन् । कतिपय विचारकका दृष्टिमा असल उदाहरणद्धारा विरोधीको हृदय परिवर्तन गर्ने कुरा राजनीतिको ठोस वास्तविकतामा केही स्थान नरहेको कोरा आदर्शवाद मात्र हो । हुनसक्छ, यस्ता विचारक नै ठीक हुन् र गान्धीजी अव्यावाहारिक दार्शनिक मात्र हुन् ।

अब, हामी वास्तविकताकै तराजुमा हिंसा र अहिंसाका साधनलाई तौलने प्रयत्न गरौँ । के हामी हिंसाद्धारा आफ्नो ध्येय 'जनराज्य' सम्म पुग्न सक्छौँ ? जनरलहरुले कुनै पनि काम गर्नुभन्दा पहिले शत्रुपक्षको शक्तिको सही अड्कल लाउन सक्नुपर्छ । यो कुरा हिंसात्मक युद्धमा नितान्त आवश्यक छ । हामीले हिंसात्मक लडाई गर्दा सबभन्दा पहिले शत्रुपक्षले हाम्राबिरुद्ध कतिसम्म हिंसात्मक शक्ति प्रयोग गर्न सक्छ भन्ने लेखाजोखा गर्नुपर्छ । वर्तमान युगमा कुनै पनि सरकारले जनताको संस्थाभन्दा कता हो कता, उग्र रुपसँग हिंसाको सङ्गठन गर्न सक्छ ।

अठारौँ शताब्दीका राजनीतिक विचारकहरुका सामुन्ने आजको जस्तो समस्या थिएन । यस प्रकारका ठूला–ठूला कारखाना र ठूलो पुँजीको आवश्यकता हुने हतियार थिएनन् । भरुवा बन्दुक नै मुख्य हतियार थियो । त्यस बखत हिंसाको सङ्गठनको दृष्टिबाट जनताको संस्था र सरकारका साधनहरुबीच खास फरक थिएन । आजकल हतियार बनाउनु जनताको संस्थाको सामथ्र्यभन्दा कता हो कता बाहिरको कुरा भएको छ । जनताले विदेशबाट केही हतियार पाउन सम्भव हुँदैन । देश युद्धमा संलग्न भएको वा सरकारले अरु कुनै प्रकारको विपत्तिको सामना गर्नु परिआएको कुनै खास परिस्थितिमा बाहिरबाट प्राप्त भएका हतियारले पनि गुरिल्ला किसिमको लडाई सुरु गर्न सकिन्छ । यसका लागि जनताले विदेशबाट हतियार पाउने प्रयत्न गर्नुपर्ने मात्र होइन, अन्तर्राष्ट्रिय स्थितिमै सोह्रै आना निर्भर रहनुपर्छ । हो, ठूलो जनआन्दोलन भएको खण्डमा गुरिल्ला लडाई प्रारम्भ गर्न सकिन्छ । अर्थात्, जनताले त्यस अवस्थामा विदेशी परिस्थितिमा निर्भर रहनु पर्दैन, देशव्यापी आन्दोलन आफै प्रारम्भ गरेर सरकारको शक्तिलाई दमनमा व्यय गराउन गुरिल्ला किसिमको लडाई गर्न सकिन्छ । तर, देशव्यापी आन्दोलन चलाउन सकिन्छ भने हिंसाको सङ्गठनको आवश्यकता नै पर्दैन, त्यसबाटै सरकार ढल्छ ।

माथिको विवेचनाबाट हामी दुई परिणाममा पुग्छौ (१) जनताको संगठनद्धारा सफलतापूर्वक हिंसा वा शस्त्रको प्रयोग गर्नका लागि पर्याप्त मात्रामा आधुनिक शस्त्र प्राप्त हुन सक्तैन, (२) अन्तर्राष्ट्रिय स्थितिबाट उत्पन्न विशेष अवस्था वा देशव्यापी जनआन्दोलनका समयमा सरकारलाई कमजोर बनाउन हिंसात्मक आन्दोलन चलाउन सकिन्छ । अन्तर्राष्ट्रिय परिस्थिति सोह्रै आना जनताको सङ्गठनको अनुकूल भएको आधारमा संस्थाले राजनीतिक कार्यक्रम बनाउनु उसको कार्यदक्षता प्रयोग गर्नु हो । अर्को स्थिति अर्थात् देशव्यापी जनआन्दोलन भएको अवस्थामा हिंसाको कुरा गर्नु नै व्यर्थ हो । मानौँ, हिंसाद्धारा पनि राज्यमाथि कब्जा गर्न सम्भव छ । तर, हाम्रो ध्येय त केवल राज्यमाथि कब्जा गर्नु मात्र होइन । हाम्रो ध्येय जनताको राज्य स्थापित गर्नु पनि हो । नेपाली राष्ट्रिय कांग्रेसले हिंसाद्धारा राज्य कब्जा गर्न सक्यो भने पनि यस संस्थाले आफ्नो दलको राज्य कायम गर्न र अहिलेका राणा परिवारको ठाउँमा त्यस्तै अर्को परिवार वा व्यक्ति–समूहको निरङ्कुश शासन स्थापित हुन सक्छ । जुन आन्दोलनमा जनताको सक्रिय सहयोग हुँदैन, त्यसबाट जनताको राज्य कायम हुन्छ भनेर चिताउनु रछ्यानलाई राम्रो देखेजस्तो मात्र हो । नेपाली राष्ट्रिय कांग्रेसले देशव्यापी रुपमा जनताको सक्रिय सहयोग प्राप्त गर्न सक्छ भने हिंसाको मार्गमा लाग्नु मूर्खता मात्र होइन, देशको हितविरुद्ध काम गर्नु पनि हो । नेपाली राष्ट्रिय कांग्रेसले जनताको व्यापक सहयोग प्राप्त नगरी केवल गुप्त षड्यन्त्रकारी हिंसात्मक सङ्गठनद्धारा शासनको अधिकार हासिल गर्न सक्छ भने म त्यस अवस्थामा जनताको जीवनमा विशेष परिवर्तन हुने सम्भावना देख्दिनँ । त्यस अवस्थामा केवल त्यो अधिकार लिएर राणा परिवारको ठाउँमा अरु व्यक्तिहरु आसीन मात्र हुनेछन् ।

तसर्थ, आदर्श र व्यावहारिक दुवै कुरालाई ध्यानमा राखेर गम्भीर विचार गरेपछि, शान्तिमय र अहिंसात्मक आन्दोलनलाई आफ्नो ध्येयसम्म पुग्ने साधन भनेर हामीले निश्चित ग¥यौँ । यो बाटो बाहिरबाट हेर्दा लामोजस्तो देखिन्छ । तर, यथार्थमा जनताका लागि यसबाहेक अर्को उपयुक्त बाटो छैन । अरुहरुले देखाउन लागेको हिंसात्मक बाटो सबै राजनीतिक साहसिकता मात्र हुन् । 'तातै खाउ जली मरुँ' भनेझै हामी हतारियौँ भने हाम्रो प्रयत्न पनि व्यर्थै खेर जानेछ । अहिंसाको लडाईको हतियार जनताको व्यापक सङ्गठन हो । देशका तमाम जनतालाई सङ्गठनको सुत्रमा बाँध्नु नै यस्तो सङ्गठनको आधार हुन्छ । एउटा आदर्शको निमित्त जनतामा रहेको सानोतिनो विरोधको भावनालाई त्यागेर एकताको भावना उदय हुनुपर्छ । हामी अहिंसात्मक राजनीतिका कार्यकर्ताहरुमा रहेको यस प्रकारको एकताको भावना हिंसाको आधारमा सङ्गठित संस्थाका सदस्यको भावनाभन्दा एकदम भिन्न हुन्छ । हाम्रो नेपाली राष्ट्रिय कांग्रेस जनताको खुला संस्था हो । विभिन्न विचारका मानिस यसमा आउँछन् र सदस्य बन्छन् । सबैले आफ्नै कुरा मात्र सही हो र अर्काको अमान्य हो भन्ने लिँडेढिपी गरिरहने हो भने हामीले जनताको हतियारका रुपमा बनाउन चाहेको 'राष्ट्रिय सङ्गठन' कहिल्लै बन्न सक्दैन । त्यसका लागि हामीमा सहिष्णु भावना हुनु नितान्त आवश्यक छ ।

नेपाली राष्ट्रिय कांग्रेसलाई जनताको संस्था बनाउनका लागि हामीले जनताभित्रै काम गर्नुपर्छ । यो संस्था जनताको हो । तर, हामीले यसलाई जनतासम्म पु¥याउन सकेका छौँ ? नेपाली राष्ट्रिय कांग्रेसले जबसम्म जनताको सहानुभूति र सद्भावना पाउन सक्दैन, तबसम्म यो संस्थाले आफ्नो ध्येयका लागि आवश्यक शक्ति–सङ्ग्रह गर्न पनि सक्दैन । यस संस्थाको शक्ति नै दुनियाँ–रैतीको शक्तिको मापन पनि हो । जनता र नेपाली राष्ट्रिय कांग्रेसबीचको यस्तो सम्बन्धलाई हामीले बुझ्नुपर्छ र जनतालाई बुझाउन सक्नुपर्छ ।

((स्रोतः युगवाणी, अङ्क ५)

Back