"बीपी र कांग्रेस" - राजेन्द्र ज्ञवाली (२०७० श्रावण ८, नागरिक न्यूज)
Print Friendly and PDF

'बीपी आउँदैछन् रे'– कक्षाका एक सहपाठीबाट सुनेको खबरले शरीर रोमाञ्चित भएको थियो। घरमा बीपीबारे बेलाबेलामा भइरहने चर्चाबाट थाहा पाइसकेको थिएँ– बीपी नाम गरेको कुनै व्यक्तिले ठूलो लडाइँ लड्दै छ। र, उसलाई खुलारूपमा तथा भित्रबाट धेरैले साथ दिइरहेका छन्। निकै पहिलेको कुरा हो यो। ७–८ कक्षाको विद्यार्थीका लागि बीपीको लडाइँबारे पूर्णरूपमा जानकारी हुने कुरा पनि थिएन। तर पनि उनको नेपालगन्ज आगमनको खबरले रोमाञ्चित गराएको थियो।

त्यसैले बीपीलाई हेर्ने रहरले स्कुलबाट भाग्ने निर्णय गरायो। अनि म मेरा एक जना दाजु नाता पर्नेसँग हिँडे। बीपी नेपालगन्जमा आइसकेका थिए। उनलाई हालको विद्युत् प्राधिकरणछेउको घरमा लगिएको थियो। मैले पनि अलि परबाट हेरें। थुप्रै मानिसबाट घेरिएको एउटा आकर्षक व्यक्ति सोफामा बसेको थियो।

त्यसको अर्को दिन हुनुपर्छ, नेपालगन्जको महेन्द्र पार्कमा आमसभा थियो र त्यसलाई बीपीले सम्बोधन गर्दै थिए। कार्यक्रम सुरु हुने बेलामा त्यही आकर्षक व्यक्तित्व निकै फूर्तिसाथ छिटोछिटो कदम चाल्दै मञ्चतर्फ उक्ले। बीपीलाई घाँटीमा क्यान्सर भएको खबर मैले सुनेको थिएँ। हँसिलो मुद्रामा मञ्चमा उक्लेका बीपीको बोली निकै मसिनो थियो। तर त्यो मसिनो स्वरमा निहीत दृढतालाई मेरो किशोर मस्तिष्कले अनुभव गरेको थियो। उनले आफ्नो त्यस सम्बोधनमा पनि नेपालमा समाजवादको सन्दर्भको परिभाषा दिएका थिए। जसलाई अहिले पनि कांग्रेसका नेता/कार्यकर्ता सुनाउने गर्छन्। उनले त्यतिबेला प्रजातन्त्र सम्पूर्ण नेपालीका लागि अपरिहार्य भएको र यसबाट राजसंस्था पनि अलग नरहेको भनेको सम्झना छ।

त्यसपछिका दिनमा किशोर उमेरको ममा पनि देशको परिस्थितिप्रति जानकारी राख्ने मोह जागेर आयो। अनि कम उमेर भए पनि जनमत संग्रहमा बहुदलीय व्यवस्थाले पाएको निलो रंगको प्रचारमा ठूला उमेरका दाजुहरूसँग लागियो। रातिराति घरवरपर पोस्टर टाँस्ने काम गरियो।

त्यसपछि जनमत संग्रहको परिणामबारे नेताहरूको विचार छापिएको पत्रिका त्यही महेन्द्र पार्कको एउटा कुनामा साथीहरूसँग बसेर पढ्दै थिएँ। गणेशमान सिंहले जनमत संग्रहमा व्यापक धाँधली भएकाले यसको परिणाम मान्न जरुरी नभएको विचार प्रकट गरेका थिए। त्यो पढेर हामी सबैले रगत तातेको अनुभव गरेका थियौँ। एउटा अर्को आन्दोलन चाहिन्छ भन्ने चर्चाबीच बीपीको विचार पढियो। जनतमत संग्रहमा धाँधली भएको भए पनि त्यसको परिणामलाई आफूले स्वीकार गरेको विचार उनको थियो। उनको त्यो विचारले ती महामानवप्रति नतमस्तक बनाएको थियो।

२०४६ सालको आन्दोलनपछि बीपीबारे अझ धेरै कुरा थाहा पाइयो। त्यो पनि नेताहरूको भाषणबाट। बीपीले यसो भन्नुहुन्थ्यो, बीपीले उसो भन्नुहुन्थ्यो। योजना आयोगको कोठामा गरिब किसानको तस्बिर राख्न भन्नुभएको थियो। अनि लाग्यो– मुलुकले अब फड्को मार्नेछ, विकासमा हाम्रो मुलुक पनि अगाडि बढ्नेछ।

तर बीपीका सन्देश भाषणका क्रममा जनतालाई सुनाउने कथामा सीमित भए। जसलाई स्वयं नेताहरूले नै दन्त्य कथामा खुम्च्याए। बिस्तारै बिस्तारै त्यो क्रम पनि कम हुन थाल्यो र बीपीसम्बन्धी प्रसङ्ग बीपी स्मृति दिवसका लागि सुरक्षित रहन पुगे। त्यसपछिको नेपाली राजनीति हेर्दा पञ्चायतकालमा पढाइने पञ्चायत विषयको एउटा पाठको सम्झना आउने गर्छ। जसमा बहुदलीय व्यवस्था असफल हुनुका कारणहरू भनेर बुँदागतरूपमा दिइएको थियो। जसमध्ये एउटा बुँदा लगभग यस्तो थियो– त्यतिबेलाको बहुदलीय व्यवस्थामा नेपालमा शान्ति कायम हुन सकेन। सबै राजनीतिक दल सत्ताका लागि लुछाचुँडी गर्न व्यस्त रहे। जनताका पीर मर्का र आवश्यकताबारे कुनै राजनीतिक दल र त्यसका नेताको ध्यान गएन। देशमा राजनीतिक कलह व्याप्त भयो। जनतामा राजनीतिक दल र नेताप्रति वितृष्णा व्याप्त हुँदै गयो।

राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको हत्या गर्न देखाएको त्यो कारण त्यतिबेला थियो/थिएन थाहा भएन। तर २०४६ सालपछिको स्थिति भने नेपालमा अहिले पनि त्यही पञ्चायत विषयको पुस्तकमा लेखिएजस्तै छ। अरु त अरु बीपीको सिद्धान्त बोकेको दलको अवस्था पनि दयनीय छ। सैद्धान्तिक विचलनपछि चौबाटोमा पुगेको कांग्रेस आफ्नो गन्तव्यप्रति आफैँ आश्वस्त हुन सकेको छैन। बीपीको विचारलाई सर्वोपरि ठानेको पार्टीले केही गर्ला भनेर जनतामा ठूलो विश्वास थियो। तर २०४६ सालपछिको कांग्रेसको स्थिति हेर्दा लाग्थ्यो– यही पार्टीले नै बीपीसँगै उनको सिद्धान्तलाई सती जान बाध्य पारेको रहेछ।

हुँदाहुँदा बीपीका विचारलाई दलका लागि नभई व्यक्तिगत स्वार्थ सिद्ध गर्न प्रयोग गर्न थालियो। उनका ती अमूल्य विचारलाई फगत चुनाव प्रचारका लागि प्रयोग गर्न थालियो। अहिले बीपी स्मृति दिवसका अवसरमा पनि कांग्रेसका नेताहरूबाट उनका सिद्धान्तबारे, उनले अर्थ्याएको समाजवादबारे, उनले देखेको नेपालको कल्पनाबारे चर्चा हुन थालेको छ। कसैकसैले त बीपीबारे अनुसन्धान हुनु आवश्यक भएको विचार पनि प्रकट गरेका छन्। उनीहरूको विचार पढ्दा त्यो राजनीतिक 'स्टन्ट' जस्तै लाग्छ।

बीपीबारे अनुसन्धान त आवश्यक नै छ। तर पहिलो त्यो स्वयं कांग्रेसले गर्नुपर्छ। पटकपटक राजाबाट धोका पाएर जेलमा कोचिँदा पनि किन बीपीले 'राजाको र मेरो घाँटी जोडिएको छ' भनेका थिए? यस कुराको अनुसन्धान कांग्रेसबाट उहिल्यै हुनुपर्थ्यो तर भएन। राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको भन्ने नेताको पार्टीले कहिले कुन बेला कसरी गणतन्त्रको आवश्यकता महसुस गर्यो ? त्यसैगरी नेपालका लागि राजतन्त्र आवश्यक छ भन्ने बीपीको विचार कहाँनेर गएर पुरानो हुन पुग्यो? संस्थापक नेता कृष्णप्रसाद भट्टराईले किन अन्तिम समयमा आफूलाई पार्टीबाट अलग राखे?

कांग्रेस अहिले सैद्धान्तिकरूपमा कुन कुन प्रसङ्गमा बीपीसँग नजिक छ र कुन प्रसङ्गमा टाढिएको छ भन्ने छिनोफानो पनि त्यो अनुसन्धानबाट हुनुपर्छ। हैन भने आवश्यकता परेको बेला बीपीका सिद्धान्तलाई थोकमा अँगाल्दा वर्तमानमा पार्टीले मिल्क्याएका उनका सिद्धान्तका बुँदा पनि पर्न सक्छन्। आफू प्रधानमन्त्री हुँदा नेपालको सुरक्षाका सन्दर्भमा बोलेका कारण भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई माफी माग्न बाध्य पार्ने बीपीका अनुयायीहरू अहिले भारत भ्रमणमा जाँदा त्यहाँको सत्तारुढ दल कांग्रेसकी नेतृ सोनिया गान्धीलाई भेट्न पाएको विषयलाई स्वदेश फर्केर किन गर्वसाथ सुनाउँछन्? यसको पनि अनुसन्धान हुन आवश्यक छ। मुलुकको विकासका लागि योजना बनाउने अवसर कांग्रेसले नपाएको होइन तर किन बीपीको सिद्धान्तले मूर्त रूप लिन सकेन? यस कुराको अनुसन्धान पनि हुन आवश्यक छ। अनि बीपीका सबै विचार अहिले सान्दर्भिक छन् अथवा कुनै कुनै पुराना भइसके, जसलाई पार्टीले बोकेर हिँड्न सक्दैन भन्ने तथ्य पनि अनुसन्धानबाट बाहिर आउनु आवश्यक छ।

प्रकाशित मिति: २०७० श्रावण ८, नागरिक न्यूज

Back