"आधुनिक नेपालका महान् चिन्तक" - डा. बाबुराम भट्टराई (२०७१ भाद्र २४, गोरखापत्र दैनिक)
Print Friendly and PDF

बी.पी. कोइराला हामीले सानैमा सुनेको र उत्सुकतापूर्वक लिंदै आएको व्यक्तित्वको नाम हो । उहाँ नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनमा अगुवा नेताको रूपमा स्थापित हुनुभएको कुरा सानैदेखि नै हामीले सुनेको थियौं । मैले बी.पी. कोइरालाका बारेमा २०१७–१८ सालमा सुनेको थिएँ । त्यतिबेला म छ–सात वर्षको थिएँ । त्यतिबेला तत्कालीन राजा महेन्द्रले संसदीय व्यवस्थाको विघटन गरेर सबै दलमाथि प्रतिबन्ध लगाए । निर्वाचित सरकारलाई अपदस्त गरेर सबै दलका नेतालाई जेलमा हाली शासनसत्ता आफ्नो हातमा लिएको अवस्था थियो । त्यस कदमको कांग्रेस र कम्युनिस्ट सबैले विरोध गरे ।

म त गोरखा जिल्लाको निकै पिछडिएको गाउँको बासिन्दा हुँ । त्यतिबेला त्यहाँ शिक्षाको ज्योति त्यति राम्ररी फैलिएको थिएन । गुरुकुल प्रथा नै थियो, आधुनिक स्कुलहरू थिएनन् । भर्खरै मैले अनौपचारिकखालको पढाइ शुरु गरेको थिएँ । मेरा मामा (जेठी आमाका दाजु) कृष्णप्रसाद न्यौपाने नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । २०१८ सालमा कांग्रेसका नेता सुवर्णशमशेरले सशस्त्र संघर्ष शुरु गरेपछि त्यसमा संलग्न भएर प्रहरीले 'वारेन्ट' काटेपछि त्यहाँ बस्न आउनुभएको रहेछ । मामा घरको माथि कोठामा बसेर दिनभरि लेखेर बस्ने गर्नुहुन्थ्यो । हामी त भर्खरै अक्षर चिन्दै थियौं । उहाँले लेखेर फालेका टुक्रा पढ्थ्यौं । ती कागजमा राजा खराब भए भन्ने कुरा अनि कांग्रेस र बी.पी. को नाम पढ्न पाएको थिएँ । ती कागज पढेपछि राजा अलिक खराबै रहेछन् भन्ने मेरो बालमतिस्कमा परेको थियो । त्यस्तैबेलाबाट मैले कांग्रेस, कम्युनिस्ट र बी.पी. कोइरालाको नाम सुनेको हुँ । पछि २०१९ सालदेखि म स्कुलमा भर्ना भएर पढ्न थालें । त्यतिबेला पार्टीहरू प्रतिबन्धित थिए । स्कुलमा दलगत राजनीति गर्ने कुरा पनि थिएन ।

वि.सं. २०२६ सालमा एस.एल.सी. परीक्षा दिएर काठमाडौं आएपछि मैले पहिलोपटक राजनीतिक दलका नेताहरूसँग भेट्ने मौका पाएँ । मेरा एकजना नातेदारले कांग्रेस र कम्युनिस्टका नेतालाई चिनाउनुभयो । म एस.एल.सी. मा बोर्ड फस्ट भएर उत्तीर्ण भएको विद्यार्थी भएको हुनाले उहाँहरूले बडो उत्सुकतापूर्वक लिनुहुन्थ्यो । त्यसैक्रममा मेरो सूर्यप्रसाद उपाध्यायलगायतका नेतासँग भेट भयो । त्यसबेला मैले बी.पी. लाई भेटें वा भेटिनँ, मलाई त्यति याद छैन । बी.पी. बस्दै आउनुभएको चावहिलको घरमा एकपटक भेट गरेको छु ।

राजतन्त्रबारेमा सबैभन्दा बढी प्रभावित भएको चाहिं भरतशमशेरले लेखेको एउटा पुस्तिकाबाट नै हो । राजतन्त्रले गरेका कर्तुत, षड्यन्त्र, जनताविरुद्धका कामको लामो फेहरिस्त भएको पुस्तक उहाँले निकाल्नुभएको थियो । त्यो खुलारूपमा पढ्न प्रतिबन्ध थियो । त्यस पुस्तक पढेपछि मलाई राजतन्त्रविरोधी चेतना त्यतिबेलै आएको हो । त्यसपछि चार–पाँच वर्ष म पढ्नतिर लागें ।

म भारतमा इन्जिनियरिङ पढ्न गएपछि स्वतः राजनीतिप्रति जिज्ञासा बढ्दै गयो र राजनीतिक चर्चा–परिचर्चा पनि बढी हुनथाले । त्यसैक्रममा हामीले अखिल भारत नेपाल विद्यार्थी संघ गठन ग¥यौं । त्यो भारतमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको छाता संगठन थियो । म त्यसको अध्यक्ष बनें । त्यही क्रममा बी.पी. कोइराला राष्ट्रिय मेलामिलापको नीति लिएर नेपाल फर्कनु हुँदा उहाँलाई पक्राउ गरेर जेलमा राखिएको थियो ।

उहाँको स्वास्थ्य खराब भएको चर्चा सबैतिर चल्यो । हामीमा राजनीतिक चेतना भएको हुनाले सबै दल र नेताप्रति सद्भाव राख्थ्यौं । त्यहीक्रममा मैले बी.पी. कोइरालालाई रिहा गरेर स्वास्थ्य उपचार गर्न पाउनुपर्छ भनेर सार्वजनिक वक्तव्य प्रकाशन गरें । त्यसले ठूलो हलचल उत्पन्न गरायो । त्यतिबेला नेपालमा नेपाल राष्ट्रवादी विद्यार्थी मण्डलको जगजगी थियो । कसैले पनि सिधै राजनीतिक दल र तिनका नेताको पक्षपोषण गर्न पाइँदैनथ्यो । म छात्रवृत्तिमा पढ्न गएको विद्यार्थी थिएँ । त्यसै विषयलाई लिएर भारतस्थित नेपाली दूतावासले आफ्ना मान्छे उठाएर मलाई अध्यक्षबाट हटाउन प्रयत्न पनि ग¥यो तर त्यसको सकारात्मक पक्ष के भयो भने त्यतिबेलासम्म कसैले वक्तव्य दिने, बोल्ने सहास गरेका थिएनन् । त्यो भएपछि म र अखिल भारत नेपाल विद्यार्थी संघप्रति सबैको चासो बढ्यो । राजदूतावासले पनि वक्तव्य जारी ग¥यो । त्यतिबेलाको त्यो समाचार गोरखापत्रमा पनि छाएिको छ । त्यसले देशव्यापीरूपमा तरंग पैदा भयो ।

त्यसको केही समयपछि बी.पी. जेलबाट छुट्नुभयो र उपचारमा विदेश जानेक्रममा दिल्ली पुग्नुभयो । २०२७–२८ सालमा चाहिं कहिले भेटभयो बी.पी. सँग मलाई त्यति अहिले याद छैन तर दिल्लीको दक्षिणी भागमा रहेको एउटा घरमा उहाँसहित कोइराला परिवारलाई मैले भेटेको हुँ । त्यतिबेला मैले बी.पी. कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, प्रकाश कोइराला, चक्रप्रसाद बाँस्तोलालगायतसँग भेट्ने मौका पाएको थिएँ । म अखिल भारत नेपाल विद्यार्थी संघको अध्यक्ष भएकाले बी.पी. ले मसँग स्नेहपूर्वक कुरा गर्नुभयो । त्यसपछि पनि पटक पटक भेट भयो । बी.पी. को बौद्धिक र राजनीतिक व्यक्तित्व त थियो नै शारीरिक व्यक्तित्व पनि निकै आकर्षक रहेको मैले पाएँ । उहाँले भनेको "राजासँग मेरो घाँटी जोडिएको छ" भन्ने भनाइप्रति मेरो सहमति थिएन । २३–२४ वर्षको म व्यक्तिगतरूपमा बी.पी. को प्रशंसक चाहिं थिएँ । उहाँका साहित्यिक कृति पढेर आकर्षित भएको थिएँ । उहाँका दोषी चश्मा, तीन घुम्ती र सुम्निमा कृति भर्खरै निस्केका थिए । उहाँमा दार्शनिक चिन्तन भएकाले पनि मलाई प्रभाव पारेको थियो । २०३४ सालमा पनि उहाँसँग मेरो भेट भयो । त्यसबेला चक्र बाँस्तोला, दुर्गा सुवेदी विमान अपहरणकाण्डमा परेर भारतमै बस्नुहुन्थ्यो । उहाँहरू बी.पी. को राजतन्त्रप्रतिको नीतिको विरोध गरेर पत्रिका निकाल्नुहुन्थ्यो । म चाहिं राजनीतिकरूपले उहाँहरूको नजिक पुगें । त्यसैक्रममा म कम्युनिस्ट पार्टीका नेतासँगको भेटघाट र कम्युनिस्ट आन्दोलनतिर लागें । मेरो राजनीतिक विचारधारा फरक भए पनि बी.पी. प्रतिको सम्मानमा कुनै कमी भएन । उहाँसँग तीक्ष्ण स्मरण शक्ति थियो । हामीजस्ता धेरै युवा उहाँलाई भेट्न जान्थ्यौं । म उहाँलाई नेपालमा पनि भेट्ने गर्थें । हामीले धेरै लामो समय भेट्न त पाउँदैन थियौं तर हामीले राखेका कुरालाई उहाँ ध्यानपूर्वक सुन्ने र सटिक जवाफ दिने गर्नुहुन्थ्यो ।

वि.सं. २०३४ देखि २०३९ सम्म मेरो उहाँसँग पटक पटक भेट भयो । उहाँको निधन हुनुभन्दा केही महिना पहिले म भारतको जवाहारलाल नेहरू विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) गर्दै थिएँ । उहाँ अल इन्डिया इन्स्टियुटमा उपचार गराउँदै हुनुहुन्थ्यो । त्यहाँ पनि उहाँसँग भेट भयो । त्यतिबेला पनि उहाँले मलाई चिन्नुभयो र रामै्र स्मरणमा राख्नुभएको रहेछ । त्यो नै मेरो उहाँसँगको अन्तिम भेट हुनपुग्यो । पछि मैले उहाँको निधनको खबर सुनें । नेपाली राजनीतिको एउटा शीर्ष नेताको निधन हुँदा हामी दुःखी थियौं नै । हुन त म त्यतिबेला कम्युनिस्ट पार्टीमा क्रियाशील भइसकेकाले वैचारिकरूपमा निकै टाढा बनिसकेको थिएँ ।

उहाँले नेपालमा आधुनिक पुँजीवादी प्रजातान्त्रिक समाजवादी विचारको प्रवेश गराउनुभयो । उहाँले २००७ सालदेखि निरन्तर राजतन्त्र र सामन्तवादविरुद्ध संघर्ष गरिरहनुभयो । त्यो चाहिं उहाँको जीवनको उल्लेख्य पक्ष रह्यो भन्ने मलाई लाग्छ । आधुनिक नेपालमा बी.पी. कोइरालाको स्थानलाई कसैले पनि कम गर्न सक्दैन । उहाँ समकालीन आधुनिक नेपालका एउटा अत्यन्तै उच्च व्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुरा म स्वीकार गर्दछु । वैचारिक हिसाबले समकालीन नेपालका नेताहरूको तुलनामा उहाँको उचाइ शायद सबैभन्दा अग्लो नै रहेको हामीले मान्नुपर्छ । उहाँको अध्ययनशीलता, चिन्तनशीलता, तर्कशीलता उच्चकोटीकै रह्यो । उहाँको साहित्यिक व्यक्तित्व पनि उच्चकोटीको नै हो भनेर हामीले स्वीकार गर्नुपर्छ । यद्यपि म वैचारिकरूपमा त्यो उदारवादीधारमा विश्वास गर्दिनँ । म माक्र्सवादी समाजवादी चिन्तनमै विश्वास गर्छु तर पनि उहाँको जुन योगदान हो, त्यो स्मरणीय छ ।

नेपाली समाजमा रहेको सामन्तीयुगको अन्त्य गरेर एउटा पुँजीवादीधारको नेतृत्व उहाँले गर्नुभयो । यसक्रममा म एउटा कुरा के भन्न चाहन्छु भने बी.पी. त्यति महान् विचारक, चिन्तक हुँदाहुँदै पनि शायद त्यतिबेलाको शीतयुद्धको अन्तर्राष्ट्रिय प्रभावले हुनसक्छ, उहाँले २००७ सालदेखि वैकल्पिक धारको रूपमा रहेको कम्युनिस्ट शक्तिलाई स्वीकार गर्नुभएन । त्यतिबेला कांग्रेस ठूलो शक्ति थियो, कम्युनिस्ट चाहिं पछिमात्रै ठूलो शक्ति भए । कम्युनिस्टसँग मिलेर जान तदारुकता देखाउन नसक्नु चाहिं बी.पी. को राजनीतिकरूपमा अपुग र कमजोरपक्ष रह्यो भन्ने मलाई लाग्छ । विशेषगरी कम्युनिस्ट नेता पुष्पलालले कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायती व्यवस्था र निरंकुशता अन्त्य गरेर लोकतान्त्रिक व्यवस्थातिर जानुपर्छ भनेर जुन कुरा उठाउनु भएको थियो, त्यसलाई उहाँले मान्नुभएन । सबै कम्युनिस्ट मिलेर २०३६ सालमा बहुदलको पक्षमा लागौं, तपाईं नेतृत्व गर्नुहोस् भन्दा पनि उहाँको जस्तो व्यक्तित्व थियो, उहाँले त्यो प्रस्तावलाई लिएर जानुपथ्र्यो । त्यसमा उहाँ चुक्नुभयो भन्ने मलाई लाग्छ । यदि उहाँले कम्युनिस्टहरूलगायत अन्य शक्तिलाई पनि समेटेर नेतृत्व गर्ने आँट गर्नसकेको भए शायद २०४७ सालको परिवर्तन उहाँकै जीवनकालमा पनि हुनसक्थ्यो ।

अहिलेसम्म हामी पुँजीवादी क्रान्तिलाई नै पूर्णता दिन यहाँसम्म आएका छौं । त्यसले अलि अघि नै तीब्रता पाउनसक्थ्यो । त्यसमा अलिकति उहाँको त्रुटि रह्यो भन्ने लाग्छ । तैपनि, नेपाली इतिहासमा बी.पी. कोइरालाको स्थान जो कसैले ग्रहण गर्न सक्दैन । उहाँ आधुनिक नेपालका महान् व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरामा कुनै आशंका छैन । म फरक वैचारिक खेमामा उभिए पनि उहाँप्रति उच्चसम्मान व्यक्त गर्न चाहन्छु । व्यक्तिगतरूपमा उहाँसँगका भेटका जुन स्मरण छन्, तिनलाई म जीवनपर्यन्त सुरक्षित राख्न चाहन्छु । हामी सबैले नेपाललाई परिवर्तन गरेर आधुनिक नेपाल बनाउँदैछौं । त्यसका लागि हामीले दलगतभन्दा माथि उठेर राष्ट्र र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । त्यसका निम्ति बी.पी. कोइरालालगायतका जति पनि व्यक्तित्व हुनुहुन्छ, उहाँहरूको उच्च मूल्यांकन गरेर अगाडि जान सक्नुपर्छ । अहिले बी.पी. को शतवार्षिकी मनाइँदैछ । यस समयमा उहाँका नकारात्मक र सकारात्मक पक्षको पाठ सिकेर अगाडि बढ्नुपर्छ । मान्छे भनेको भगवान् होइन, उसका सकारात्मक र नकारात्मक पक्ष दुवै हुन्छन् । सबै व्यक्तिका सकारात्मक पक्षको पाठ सिकेर अगाडि बढ्नुपर्छ र बी.पी. ले यो राष्ट्रका लागि जुन योगदान गर्नुभएको छ, त्यसको उच्च मूल्यांकन गरेर जानुपर्छ भन्ने मलाई लाग्छ ।

(डा. भट्टराई पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता हुनुहुन्छ । )

प्रस्तुतिः नारद गौतम

प्रकाशित मिति: २०७१ भाद्र २४, गोरखापत्र दैनिक

Back