"भूमिका" प्रदीप गिरि (सम्पादक), विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)
Print Friendly and PDF

बीपी कोइरालाको जन्म सन् १९१४ मा भएको थियो । उहाँका पिता कृष्णप्रसाद कोइराला तत्कालीन नेपालका एक सुपरिचित एवं सम्भ्रान्त उद्यमी तथा समाज सुधारक हुनुहुन्थ्यो । सन् १९१४ ताका कृष्णप्रसाद कोइरालाको आर्थिक अवस्था राम्रो थियो । उहाँलाई व्यापार र उद्योगमा राज्याश्रयसमेत थियो । तर यो स्थिति धेरै दिनसम्म रहेन । राणा प्रधानमन्त्री चन्द्रशमशेर पछि कुपित भए । चन्द्रशमशेरको कोपभाजनमा परेपछि पिताजी सपरिवार भारत निर्वासित हुनुभयो । बीपी कोइरालाका संस्मरणमा निर्वासनका वर्षहरुको मार्मिक वर्णन पाइन्छ । ती वर्षहरुले नै बीपी कोइरालालाई संस्कार र व्यक्तित्व प्रदान ग¥यो, त्यस्तैमा युवक कोइराला शिक्षित एवं दीक्षित हुनुभयो । तिनताका गान्धीजी भारतीय राजनीतिमा प्रभावशाली हुँदै जानुभएको थियो । बीपी कोइरालाले आफ्नो आत्मकथामा गान्धीको असहयोग आन्दोलनमा एउटा बालकका रुपमा भाग लिन तत्परता देखाएको कुराको सगर्व उल्लेख गर्नुभएको छ ।

पछि गएर कोइरालाले काँग्रेस सोशलिस्ट पार्टीको सदस्यता लिनुभयो । काँग्रेस सोशलीस्ट पार्टी एउटा सङ्गठनका रुपमा गान्धीको विचारधारासित असहमत काँग्रेसी युवाहरुको जमात थियो । काँग्रेस सोशलिस्ट पार्टी मुख्यतः माक्र्सवादी विचारधाराबाट प्रेरित सङ्गठन थियो । सोशलिस्टहरु गान्धीको जीवनदृष्टि र कार्यक्रमका समेत आलोचक थिए । भारतीय स्वाधीनताको सङ्घर्षका सीमित परिप्रेक्ष्यमा मात्र सोशलिस्टहरुले गान्धीको नेतृत्वलाई स्वीकार गरेका थिए । तर यति हुँदाहुँदै पनि गान्धीको मानवीय एवं नैतिक प्रभावबाट भने कुनै पनि सोशलिस्ट नेता मुक्त थिएनन् । यसैले होला, जयप्रकाश नारायणदेखि बीपी कोइरालासम्मका सबै सोशलिस्ट नेताहरु जीवनको उत्तराद्र्धमा गएर अन्य कुनै चिन्तकको भन्दा गान्धीको नजिक पुगेका भेटिन्छन् ।

काशी विश्वविद्यालयमा बीए पढेताका बीपी कोइराला भारतीय राजनीतिमा प्रत्यक्ष मुछिन थाल्नुभएको थियो । भारत स्वाधीन नहुँदासम्म नेपालमा परिवर्तन हुन सक्तैन भन्ने कुरामा सिङ्गो कोइराला परिवार विश्वस्त थियो । भारतीय स्वाधीनता आन्दोलनका क्रममा थुनिएका बीपी कोइराला हजारीबाग जेलबाट सन् १९४६ मा छुट्दा भारत स्वाधीन हुने कुरो पक्कापक्कीजस्तै भइसकेको थियो । बीपी कोइरालाले त्यसपछि नै नेपाली राजनीतिमा प्रत्यक्ष हामफाल्नु भयो । अब नेपालीहरुले आफ्नो राष्ट्रिय राजनीतिक सङ्गठन बनाउनु पर्छ भन्ने उहाँको पहिलो आह्वान सन् १९४६ को अक्टुवरमा छापिएको भेटिन्छ । भारतीय स्वाधीनता सङ्ग्राममा अरु अनेकानेक नेपाली तन्नेरीहरुले पनि भाग लिएका थिए । भारतीय जेलमा थुनिने नेपालीहरुको संख्या उल्लेखनीय थियो । पटनाको 'सर्चलाइट' मा प्रकाशित उक्त आह्वानसँगसँगै र अघि पनि कोइरालाले निर्वासनमा रहेका नेपाली जमातसँग प्रत्यक्ष सम्पर्क गर्ने क्रम जारी राख्नुभएको थियो । फलतः 'सर्चलाइट' मा प्रकाशित उक्त आह्रवानको लगतै कलकत्तामा राष्ट्रिय काँग्रेसको पहिलो सम्मेलन भएको पाइन्छ । त्यस सम्मेलनले बीपी कोइरालालाई राष्ट्रिय काँग्रेसको कार्यकारी अध्यक्ष चयन ग¥यो ।

राणाशाहीको जेलमा यातना खपेर बसिरहेका टंकप्रसाद आचर्य भने नेपाली काँग्रेसका प्रथम अध्यक्ष बनाइनुभएको थियो । नेपाली राष्ट्रिय काँग्रेसको कार्यकारी अध्यक्षका रुपमा कोइरालाले अद्भूत गतिशीलता प्रदर्शित गर्नुभयो । नवगठित पार्टीको नेता एवं सिद्धान्तकारका रुपमा कोइराला छिट्टै नै प्रतिष्ठित हुनुभयो । बनारसबाट 'युगवाण्ी' भन्ने पत्रिकाको सम्पादन एवं प्रकाशन भट्टराईबन्धुद्धारा प्रारम्भ भयो । यस पत्रिकामा कोइरालाका राष्ट्रिय काँग्रेसको ध्येय र साधनका बारे लेख पढ्न सकिन्छ । सन् १९४७ अगस्ट १५ का दिन भारत विधिवत रुपमा स्वाधीन भयो । यसका सँगसँगै नेपाली जनआन्दोलनमा नवीन उत्साह र जाँगर आयो । नेपाली राष्ट्रिय काँग्रेसको प्रभाव बढ्दै गयो । तिनताका नै केही अन्य नेपाली तन्नेरीहरुले नेपालमा प्रजातन्त्रको स्थापनाको लक्ष्यका साथ एउटा अर्को पार्टीको गठन गरिसकेका थिए । त्यस नयाँ दलको नाम नेपाल प्रजातन्त्र काँग्रेस थियो । प्रारम्भिक प्रतिस्पर्धा र केही कटुता समेतको अनुभव गरेर पछि दुवै दल एक भए र नेपाी काँग्रेसका रुपमा एउटा नयाँ पार्टी गठन भयो । १९५० अप्रिल ९ का दिन त्यो नयाँ पार्टी गठन भएको विधिवत् घोषणा भयो । त्यसको केही महिनापछि सन् १९५० को सेप्टेम्बर महिनामा नेपाली काँग्रेसले बैरगनीयामा आफ्नो अधिवेशनसमेत ग¥यो । त्यसपछि तीव्र रुपले घटनाक्रमहरु अगाडि बढ्न थाले ।

सन् १९५० नोभेम्वर ६ का दिन राजा त्रिभुवनले भारतीय दुतावासमा शरण लिए । राजा त्रिभुवनको यो कदम नेपाली काँग्रेसको आन्दोलन र संघर्षप्रति खुल्ला समर्थन थियो । यस घटनाको चार दिनपछि मात्र नेपाली काँग्रेसको मुक्तिसेनाले वीरगञ्ज कब्जा ग¥यो । सशस्त्र संघर्ष धेरै लम्बिएन । सन् १९५१ जनवरी १० सम्म पुग्दा नपुग्दै प्रधानमन्त्री मोहनशमशेर गलिसकेका थिए राणाशाहीका प्रतिनिधिहरु दिल्ली पुगेर कुटनीतिक गतिविधिमा संलग्न भए । अन्ततः दिल्ली सम्झौताको नामले जानिएको राजनीतिक निर्णय हुन पुग्यो । सन् १९५१ फेब्रुवरी १८ का दिन राजा त्रिभुवनले ऐतिहासिक शाही घोषणा गरे । अबउप्रान्त नेपालको सरकार जनताले आफैले तयार गरेको एउटा लिखित संविधानद्धारा निर्देशित एवं सञ्चालित हुनेछ भन्ने त्यस घोषणाको सार थियो । निकट भविष्यमै वालिग मताधिकारका आधारमा संविधानसभाको चुनाव हुने घोषणा भयो । जनताप्रति उत्तरदायी हुने गरी मोहनशमशेरकै नेतृत्वमा नयाँ सरकारको गठन भयो । यस सरकारमा राणा र काँग्रेस दुवै शामेल भए । यसै सरकारले एउटा अन्तरिम संविधान अविलम्ब बनाउने कुरा पनि घोषणामा उल्लेख भयो । मोहनशमशेर प्रधानमन्त्री रहेको सरकारमा काँग्रेसको पक्षको नेतृत्व गरेर बीपी कोइराला गृहमन्त्री हुनुभयो ।

२००७ सालको क्रान्तिले नेपाललाई परिवर्तनको तीब्र भेलमा समाहित गरिदिएको थियो । परवर्तनको यस्तो भेलमा ढुँगा, यात्रु र माझीसमेत पनि शान्त र स्थिर रहन सक्दैनन् । नेपालमा उथलपुथल जारी रह्रयो । गृहमन्त्रीका रुपमा बीपी कोइराला प्रशस्त आलोचितसमेत हुनुभयो । तर प्रश्न बीपी कोइरालाको आलोचना वा प्रशंसाको थिएन । खासमा २००७ सालको लगतैपछि नेपाली समाजमा यथास्थितिवाद र अग्रगमनको तिव्र संघर्ष सुरु भइसकेको थियो । नेपाल लामो समयदेखि तामसिकता र जडतामा जकडिएर रहेको थियो । हिजोसम्मका शासक र शोषकको गठबन्धनका निमित्त कोइरालाको समाजवादी व्यक्तित्व र संस्कार सुपाच्य थिएन । कोइराला भने क्रान्तिकारी उत्साह र अधैर्यका प्रतिमूर्ति देखिनुहुन्थ्यो । विवाद र कोलाहल स्वाभाविक कुरा थिए ।

आखिर यस्तै पृष्ठभूमीमा कोइरालाले गृहमन्त्रीको पदबाट राजीनामा दिनुभयो । प्रथमतः आमजनताले कोइरालाको राजीनामाको समाचार रेडियो भाषणबाट थाहा पाए । त्यो कोइरालाको आफ्नो शैली थियो । राजीनामामा पनि कोइरालाको आफ्नै तर्क थियो । संयुक्त सरकारका ठाउँमा नेपाली काँग्रेसको एकमना सरकार कायम हुनुपर्छ भन्ने बीपी कोइरालाको जिकिर थियो । त्यस्तै नै भयो । नयाँ सरकारको नेतृत्व भने मातृकाप्रसाद कोइरालाले गर्नुभयो । मातृकाप्रसाद कोइराला नै त्यससमय नेपाली काँग्रेसको सभापतिसमेत हुनुहुन्थ्यो । त्यसैले त्यस निर्णयको विरोध गर्ने विशेष ठाउँ त थिएन, तर मातृकाप्रसाद कोइरालाले २००७ सालको क्रान्तिको भावनालाई निश्चय पनि प्रतिनिधित्व गर्नु हुँदैनथ्यो । कालान्तरमा बीपी र मातृकाका बीच ठूलो विवाद भयो । मातृकाप्रसाद कोइरालाले नेपाली काँग्रेस छोड्नुप¥यो । उहाँले छुट्टै नयाँ पार्टी गठन गरेको घोषणा गर्नुभयो । राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई त्यस छुट्टै पार्टीको नेताका रुपमा सरकार बनाउन आमन्त्रित गरे । यसको सँगसँगै नेपाली राजनीतिमा दरबारको प्रत्यक्ष र अशुभ हस्तक्षेप प्रारम्भ भयो । नेपाली काँग्रेस सत्ताबाट बाहिरियो ।

सन् १९५५ मार्च १३ का दिन राजा त्रिभुवनको ज्यूरिच, स्विजरल्याण्डमा देहान्त भयो । यसअघि नै राजा त्रिभुवनले सन् १९५५ फेब्रुवरी १८ का दिन युवराज महेन्द्रलाई सबै रजकीय अधिकार सुम्पिसकेका थिए । त्रिभुवनका तुलनामा महेन्द्र शक्तिकामी, चलाख र महत्वाकाङ्क्षी राजा थिए । तद्नुरुप उनले राजनीतिक दलहरुलाई अल्मल्याउने, लडाउने र तोडफोडसमेत गर्ने गराउने काममा चासो देखाए । नेपाली काँग्रेसलगायतका पार्टीहरु संविधानसभाको चुनाव गराउनका निम्ति आवाज उठाइरहेको थियो । काँग्रेसले सत्याग्रहसमेत गरेको थियो । तर राजा महेन्द्र संविधमनसभाको चुनाव गर्न गराउन तयार थिएनन् । राजा भएको देशमा संविधानसभाको चुनाव हुनै सक्दैन भन्ने उनको तर्क थियो । त्यस्तो तर्कको समर्थन गरिदिने नेता र बुद्धिजीवीको पनि नेपालमा कमी थिएन । सुरुमा त नेपाली काँग्रेसले तिनताका संविधानसभाको पक्षमा स्पष्ट एवं जोडदार आवाज प्रस्तुत गरेको थियो । तर राजाले संविधानसभाको चुनाव गराएनन् । राजा महेन्द्रले आफैले संविधान तयार गर्न लगाए र त्यही संविधानअन्तर्गत नै चुनाव हुने घोषणा गरे ।

नेपाली काँग्रेसलगायत सबैजसो पार्टीले संविधानसभाको माग छाडे । सन् १९५९ को फ्रेब्रुवरीमा नेपालमा पहिलो सम्झौतामूलक आमचुनाव सम्पन्न भयो । यस आमचुनावमा नेपाली काँग्रेस प्रचुर बहुमतका साथ विजयी भयो । बीपी कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसको एकमना सरकार गठन भयो । ०१५ सालको आमचुनावमा काँग्रेसले शानदार सफलता गरेको थियो काँग्रेस शीर्षथ नेताहरुलाई पनि यस्तो विजयको आशा थिएन होला । अझ राजा महेन्द्रका निम्ति त यो चिताउँदै नचिताएको अवस्था थियो । यसैले हो कि, राजा महेन्द्रले काँग्रेसका नेतालाई अर्थात बीपी कोइरालालाई सरकार बनाउनका निमित्त पनि अत्यन्त ढिलो गरेर आमन्त्रित गरे ।

त्यति भएर पनि कोइराला सरकारको उपलब्धि भने सर्वथा प्रशंसनीय थियो । कोइराला सरकारले आफ्ना बोली, बचन र आचरण समेतबाट जनताको मन जित्न कुनै कसर राखेको थिएन । मुलुकमा पहिलोपटक आधुनिक, सक्षम र लोककल्याणकारी राज्यको प्रयोग भएको थियो । कोइरालाको लोकप्रियता बढ्दै थियो । राजा महेन्द्र आखिर अधीर भए । पुस १, २०१७ सालका दिन राजा महेन्द्रले आफ्ना मातहतमा रहेका सेनाका सहायताले नेपाली कांग्रेसको जननिर्वाचित सरकारलाई अपदस्थ गरे । बीपी कोइराला, उहाँका मन्त्रिमण्डलका सदस्य र प्रतिनिधिसभाका सभामुखसमेतलाई कुनै कारण नदेखाई गिरफ्तार गरियो । सबै राजनीतिक दलहरु प्रतिबन्धित भए । पार्टीहरुले भूमिगत रुपमा वा निर्वाचनमा गएर आफ्नो साङ्गठनिक गतिविधि गर्नुपर्ने भयो । राजा महेन्द्रले नेपाली कांग्रेसको नेतृत्व र कार्यकर्ताहरुको ठूलो जमातलाई काराबासलगायत अरु दमनको तारो बनाए । नेपाली कांग्रेसका धेरै कार्यकर्ताहरु भारतमा राजनीतिक शरण लिन बाध्य भए ।

पुस १ गते २००७ सालको गिरफ्तारीका साथ कोइरालाको राजनीतिक जीवनको एउटा अध्याय समाप्त भयो । यस समापनले व्यक्तिगत रुपमा कोइरालालाई के कस्तो दुःख, हानी–नोक्सानी भयो त्यो कुरा आफ्ना ठाउँमा छ । तर त्यस ऐतिहासिक दुर्भाग्यले मुलुकको प्रगतिलाई ठूलो आघात पु¥यायो । पुस १, २०१७ साल १० वर्षअघि सम्पन्न भएको २००७ सालको क्रान्तिको ठाडो अस्वीकृति थियो । २००७ सालको क्रान्तिले परम्परागत नेपाली समाजमा ठूलो हलचल ल्याएको थियो । युगौदेखि सङ्गठित रहेका मूल्य, मान्यता र स्वार्थ खलबलिएका थिए कालको ओखती छैन, हुकुमको जवाफ छैन भन्ने समाजले क्रान्ति, समाजवाद र साम्यवादबाट प्रेरणा लिएको थियो । मुलुकमा जनउत्तरदायी प्रतिनिधिमूलक संस्था प्रतिष्ठित भएको थियो । मुलुकमा सर्वथा नौलो किसिमको विश्वास र जाँगर सञ्चालित भएको थियो । तर पुस १ गते २०१७ सालको यस अभिक्रममा विरामचिन्ह लगायो । मुलुक एकपटक फेरि प्रतिक्रिया र जडताको अतीततर्फ फर्कियो र राजनीतिक दलहरुमात्र प्रतिबन्धित मात्र भएनन् । प्रत्येक नौलो विचार र अभियान प्रतिकृत र पराजित भए ।

फर्केर हेर्दा नेपाली कांग्रेसको स्थापनाको दिनदेखि पुष १ गते २०१७ सालसम्ममा झन्डै १५ वर्ष बितेको थियो । यो १५ वर्ष कोइरालाका जीवनका अत्यन्त सिर्जनशील वर्षहरु थिए । कोइरालाको सिर्जनात्मकता कुनै एक दिशामा थिएन । यी वर्षहरुमा उहाँ एकातिर राजनीतिक दृष्टिले अत्यन्त सक्रिय हुनुहुन्थ्यो । राष्ट्रिय कांग्रेसका स्थापना समयदेखि आफ्ना जीउ–ज्यानका समेत परवाह नराखी राजनीतिका लागि जोखिम उठाउने गर्नुभएको थियो । २००७ सालपछि पनि कोइरालाको प्रवृति यस्तै कायम नै रह्रयो । तिनताकका कोइरालाले एकातिर प्रखर वैचारिकता अर्कोतिर अदम्य सक्रियता र साहसिकताको प्रदर्शन गर्नुभएको थियो । यी वर्षहरु निश्चय नेपालको लोकतान्त्रिक प्रयोगका सर्वश्रेष्ठ वर्ष थिए ।

सन् ५० र ६० को दशक यसै पनि सिङ्गो एशियाका निमित्त आशा, उत्साह र नवजीवनको सन्देश थियो । एकातिर भारत भर्खरै स्वाधीन भएको थियो । अर्कोतिर चीनमा जनवादी क्रान्ति सम्पन्न भएको थियो । एशियाका अरु देशहरु यता अफगानिस्तान, पाकिस्तान, वर्मा, श्रीलंकासमेत पनि नयाँ युगमा प्रवेश गरेका थिए । कोइरालाको राजनीतिक क्षितिज नेपालमा मात्र सीमित थिएन । उहाँ एशियाली समाजवादी आन्दोलनसित घनिष्ट रुपमा आवद्ध हुनुहुन्थ्यो । नेपालमा २००७ सालको जनक्रान्ति सम्पन्न नहुँदैमा कोइराला एशियाली समाजवादको सङ्गठन समेतको कार्यभार लिएर रंगुन पुग्नुभएको थियो । रंगुनको त्यस कार्यभारले नेपाली क्रान्तिलाई समेत भौतिक सहायता पु¥याउनु त्यस यात्राको अर्को पक्ष थियो । भारतीय समाजवादी आन्दोलनसँगको कोइरालाको घनिष्ट सम्बन्धले उहाँलाई रंगुन–यात्राको त्यो सुवर्ण अवसर प्रदान गरेको थियो ।

कोइरालाका यस कालअवधिका रचनाहरु अत्यन्त ताजा वा टट्का छन् । कोइरालाले समाजवादी दर्शनको मौलिक सिद्धान्तको बारेमा कुनै स्वतन्त्र कृति यस अवधिमा लेख्नुभएको छैन । त्यो काम बेलाबखतमा भारतका आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण र सर्वोपरि डा. राममनोहर लोहियाले गरिरहेका हुन्थे । कदाचित् कोइरालाले तीनै भारतीय रचनाहरुलाई मूल सिद्धान्तका रुपमा नेपालका निमित्त पनि पर्याप्त सम्झनुभएको थियो । मूल सिद्धान्तको हकमा यस्तो सम्झना गलत पनि होइन । योबाहेक आफूले जान्नु मान्नुभएको समाजवादी सिद्धान्तका आधारमा नेपाली राजनीति घटनाक्रमलाई केलाउने र प्रष्टयाउने काम भने कोइरालाले लगातार नै गरिरहनुभयो । यस दशकमा नेपाली कांग्रेसका तीनवटा महत्वपूर्ण घोषणापत्र लेखिए । ती तीनवटै घोषणापत्रहरुको लेखनमा कोइरालाको राजनीतिक प्रभाव बिलकुलै छर्लङ्ग थियो । २००७ सालको संघारमा लेखिएको घोषणापत्र त स्पष्टतः कोइरालाको कृति थियो । २००७ सालको महत्व एवं यस तथ्यको स्पष्ट जानकारीको कारणले यस घोषणापत्रलाई भने यहाँ शामेल गरिएको छ । यस सङ्कलनमा परेको 'हाम्रो अन्तिम लडाई' भन्ने लेखमा कोइरालाले यस घोषणपत्रका विषयमा स्पष्टीकरण दिने क्रममा यसको उल्लेख गर्नुभएको छ । लगतैपछि कोइराला कांग्रेस पक्षको नेतृत्व गर्दै गृहमन्त्रीसमेत हुनुभयो । गृहमन्त्रीत्वको अवधिका लेख भेटिदैनन् । तर तिनताक अवश्य पनि अनेकानेक भाषण र प्रवचन भएको थियो । तिनको केही नमूना हामीले दिएको छौ ।

गृहमन्त्रीबाट राजीनामा दिनासाथ कोइरालाको राजनीतिक जीवन अर्को चरणमा प्रवेश गर्छ । छिट्टै नै केही समयपछि कोइराला नेपाली कांग्रेसको सभापति हुनपुग्नुभयो । तर यो काम सजिलै भएको थिएन । नवनियुक्त प्रधानमन्त्री मातृकाप्रसाद कोइराला त्यतिञ्जेलसम्म नेपाली कांग्रेसको सभापतिसमेत हुनुहुन्थ्यो । मातृका कोइराला सहज रुपमा नेपाली कांग्रेस सभापतित्व छोड्न तयार हुनुहुन्न थियो । दाजु र भाइमा ठूलो कचिंगल भयो । यस कचिंगलको अनेकौं आयाम र व्याख्या छँदैछन् । तर मुख्य कुरो के भने कोइरालाले मातृकाप्रसाद कोइरालासँगको यस कचिंगललाई प्रखर सैद्धान्तिक रुप दिनुभयो । अधिकाशं पर्यवेक्षकले आजसम्म पनि यस झगडालाई दाजुभाइको सत्ता–सघंर्षका रुपमा हेरेका छन् । राजनीतिमा सत्ता संघर्ष स्वभाविक कुरो हो । त्यस्तो सत्ता–संघर्षको माध्यमबाट समाज र राजनीतिलाई अझ उँभो र अगाडि जानसक्नु ज्यादा महत्वपूर्ण कुरो हो । यस सङ्कलनमा 'नेपाली कांग्रेस र सरकार' र 'हाम्रो आगामी कदम' भन्ने शीर्षकमा दुई महत्वपूर्ण लेख छापिएका छन् । यी दुवै लेखले तत्कालीन सत्ता–संङ्घर्षमाथि महत्वपूर्ण प्रकाश पार्दछन् । यी लेखहरुले कोइरालाको लडाई लड्ने शैलीसमेत प्रस्ट पार्दछ । कोइरालाका निमित्त दलिय राजनीति नेताहरु विशेषको कोठे छलफलको विषय थिएन । राजनीतिको लक्ष्य र कार्यपद्धतिलाई नेतृत्वले आमकार्यकर्तालाई सर्वथा सुसूचित र शिक्षित राख्नुपर्छ भन्ने कुरोबाट कोइराला सचेत हुनुहुन्थ्यो । यी दुवै नै लेख यसै उद्देश्यबाट अभिप्रेत थिए । कोइराला फेरि यस्ता लेखहरु मात्र लेखेर सन्तुष्टि रहनुभएको थिएन । आफ्ना लेखहरुमा अन्तरनिहित सूचना र सन्देश कार्यकर्तालाई प्रत्यक्ष रुपमा सुनाउन–सम्झाउन कोइरालाले व्यापक देशभ्रमण पनि गर्नुभएको थियो ।

मातृकाप्रसाद कोइरालासँगको विछोडपछि नेपाली कांग्रेस फेरि लामो समयसम्म सत्तामा गएन । त्यसैले कालावधिमा कांग्रेसले साङ्गठनिक आधार प्राप्त ग¥यो । प्रस्तुत सङ्कलनमा परेका लेखहरुले कोइरालाका ती वर्षका गतिविधिहरुलाई रेखाङ्कित गरेका छन् । २००७ सालको क्रान्तिलगायतका ऐतिहासिक घटनाक्रमका कोइरालाको दृष्टिकोण यहाँका लेखहरुमा पाइन्छन् । संविधानसभाका पक्षमा यहाँ प्रखर तर्क भेटिनेछन् । तर अन्ततः कांग्रेसले संविधानसभाको परित्याग गरेको पक्षमा समेतका कारणहरु '१९ गतेको शाही घोषणा' भन्ने लेखमा सविस्तार गराइएका छन् ।

कोइरालाका यी वर्षहरुका लेखहरु एउटा खास शब्दावली र शैलीका सहायताले लेखिएका छन् । कोइराला बारम्बार केही निश्चित अवधारणाको प्रयोग गर्नुहुन्छ । यी लेखहरुमा कोइरालाले समाजको अनिवार्य ऐतिहासिक विकासक्रमको बारम्बार उल्लेख गर्नुभएको छ । यसो त कोइरालामा आजीवन तीव्र इतिहास चेतना रह्यो, तर विभिन्न मनीषी वा समाजवादीहरुका माझ एकै किसिमको इतिहास चेतना रहेको छैन । आचार्य नरेन्द्रदेवको एउटा किसिमको इतिहास चेतना थियो । नरेन्द्रदेवलाई बौद्ध दर्शनको काल–चिन्तन र माक्र्सको ऐतिहासिक कालक्रमले प्रभावित गरेको थियो । डा. राममनोहर लोहिया इतिहासको चक्रिय धारणामा विश्वास राख्नुहुन्थ्यो । विश्वेश्वरप्रसाद कोइरालाका यी वर्षका रचनाहरुमा माक्र्सली चेतनाको इतिहास–बोधको प्रमुखता पाइन्छ । कोइरालामा खासमा आजीवन जस्तो माक्र्सको ठूलै प्रभाव रहेको छ । तर यो कम्युनिस्टहरुको माक्र्सवाद होइन । यो दुई महायुद्धको बीचको युरोपको सोसल डेमोक्रेसीको माक्र्सवाद हो । अझ ठोस रुपमा भन्ने हो भने यो कांग्रेस सोसलिस्ट पार्टीको माक्र्सवाद हो ।

स्मरणीय छ, बीपी कोइराला नेपाली कांग्रेसको सातौँ महाधिवेशनबाट निर्वाचित हुनुभएको अध्यक्ष हुनुहुन्थ्यो । तसर्थ कोइराला जेल परेपछि नेपालले आफ्ना निर्वाचित प्रधानमन्त्री मात्र गुमाएको थिएन, नेपाली कांग्रेसको नेतृत्व पनि हराएको थियो । सौभाग्यबश उपप्रधानमन्त्री सुवर्णशमशेर त्यस दिन कलकत्तामा हुनुहुन्थ्यो । सुवर्णशमशेरले केही पर्खेर तर समयमा नै शाहीकदमको विरोध वक्तव्य जारी गर्नुभयो । साथसाथै उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सङ्गठित गर्ने प्रयास गर्नुभयो । भारत पुगेका र भूमिगत रहेका कार्यकर्ताहरु पटनामा जम्मा भए । पटना सम्मेलनले सुवर्णशमशेरलाई नेपाली कांग्रेसको कार्यकारी अध्यक्ष छान्यो । सुवर्णशमशेरको नेतृत्वमा नेपाली कांग्रेसले राजा महेन्द्रका विरुद्ध संघर्ष गर्ने निर्णय ग¥यो ।

स्मरणीय छ, बीपी कोइराला नेपाली कांग्रेसको सातौँ महाधिवेशनबाट निर्वाचित हुनुभएको अध्यक्ष हुनुहुन्थ्यो । तसर्थ कोइराला जेल परेपछि नेपालले आफ्ना निर्वाचित प्रधानमन्त्री मात्र गुमाएको थिएन, नेपाली कांग्रेसको नेतृत्व पनि हराएको थियो । सौभाग्यबश उपप्रधानमन्त्री सुवर्णशमशेर त्यस दिन कलकत्तामा हुनुहुन्थ्यो । सुवर्णशमशेरले केही पर्खेर तर समयमा नै शाहीकदमको विरोध वक्तव्य जारी गर्नुभयो । साथसाथै उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सङ्गठित गर्ने प्रयास गर्नुभयो । भारत पुगेका र भूमिगत रहेका कार्यकर्ताहरु पटनामा जम्मा भए । पटना सम्मेलनले सुवर्णशमशेरलाई नेपाली कांग्रेसको कार्यकारी अध्यक्ष छान्यो । सुवर्णशमशेरको नेतृत्वमा नेपाली कांग्रेसले राजा महेन्द्रका विरुद्ध संघर्ष गर्ने निर्णय ग¥यो ।

पञ्चायतलाई कुनै व्यवस्थाको संज्ञा दिनु त एउटा ढोंग मात्र थियो । तर यस ढंोग र छलले राजा महेन्द्रको लवेदाकोटको काम अवश्य गरेको थियो । पाँच छ वर्षको एक छत्र शासनपछि पनि राजा महेन्द्रले मुलुकमा कुनै जाँगर र विश्वास उत्पन्न गर्न सकेनन् । बेलाबेलामा यस्तो अनुभूति भएको झझल्को राजा महेन्द्रको शाहीघोषणामा भेटिन्थ्यो । मुलुकमा विघटनकारी शक्ति बढ्न थालेका थिए । तथाकथित निर्दलीय प्रजातान्त्रिक व्यवस्थाले युवा वर्गलाई व्यक्तिवादी र गैरजिम्मेदार बनाउँदै लगेको थियो । यो कुरो कसैबाट लुकेको थिएन । आखिर यस्तै निराश परिस्थितिमा राजा महेन्द्रलाई हृदयघात भएको समाचार बाहिर आयो ।

मुलुकभित्र र बाहिर नेपालको भविष्यको बारेमा चासो बढ्न थाल्यो । त्यतिञ्जेलमा तिनताक हिन्दुस्तानमा बसेर चलाउने–चल्ले सशस्त्र संघर्षले नेपालमा प्रजातन्त्रको बहाली हुन सक्तैन भन्ने निष्कर्षमा नेपाली कांग्रेस पनि पुगेको थियो । अब नेपाली कांग्रेस भए राजा महेन्द्रसँग संवाद स्थापित गर्न चाहन्थ्यो । यस पृष्ठभूमिमा बीपी कोइरालासमेतलाई कारागारमुक्त गरिनुपर्छ भन्ने आम समझदारी थियो । बीपी कोइरालाको रिहाइको आवश्यकता नेपाली कांग्रेसलगायत अरुले पनि महसुस गरेका थिए । सन् १९६८ मे १५ का दिनमा सुवर्णशमशेरले कलकत्ताबाट एउटा वक्तव्य प्रकाशित गर्नुभयो । स्मरणीय छ, एक वर्षअघि मात्र नेपाली कांग्रेसको कार्यसमितिले संविधानसभाको माग गरेको थियो । अबको वक्तव्यले त्यो अडान छोड्यो । सुवर्णशमशेरले त्यस वक्तव्यबाट राजा महेन्द्रबाट स्वयं संवैधानिक विकासको प्रकृयाबाट जनताको अधिकार बहाल हुने आशा व्यक्त गर्नुभयो । त्यस्तै आशाको पृष्ठभूमिमा कारागारमुक्तिको क्रममा बीपी कोइरालाले समेत सुवर्णशमशेरको त्यस वक्तव्यलाई समर्थन गर्नुभयो । ३१ अक्टुवर, १९६८ तद्अनुसार कार्तिक १४, २०२५ को बक्तव्यमा, उक्त वक्तव्य राष्ट्रिय एकता र राष्ट्रको हितमा छ । आजको वस्तुस्थितिमा श्री सुवर्णले गर्नुभएको कुरा ठीक छ भन्ने कुरामा मलाई शङ्का छैन । एक प्रजातन्त्रीवादी र विश्वासी साथीको हैसियतले सुवर्णको वक्तव्यको समर्थन गर्दछु भनिएको थियो । यो लगायत अनेकौँ राजनीतिक एवं कुटनीतिक दबाबपछि सन् १९६८ को अक्टुबर महिनामा बीपी कोइराला कारामुक्त हुनुभएको थियो ।

आफ्नो कारमुक्ति एक वृहत्तर राजनीतिक सम्झौताको परिणति हो भन्ने कोइरालाले प्रारम्भिक विश्वास थियो । तर बनारसमा बसोबास थाल्नुअघि नै कोइरालाले कतिपय घटनाक्रमबाट त्यस्तो सम्झौता नहुने अनुमान लगाइसक्नुभएको थियो । कारागारबाट मुक्त भएपछि जसरी भए पनि राजा महेन्द्रलाई एकपटक भेट्ने र संवाद बढाउने उहाँको प्रबल इच्छा थियो । स्वयं कोइरालाले बम्बैमा स्वास्थ्यलाभ गर्दागर्दै पनि यस्तो प्रयास गर्नुभएको थियो । तर कोइरालाको प्रयास विफल भयो । लामो काराबासपछि अब नेपाल फर्केर कोइराला जेल जान भने तयार हुनुहुन्नथ्यो । उता काठमाडौंमा भने कोइरालाका रिहाइले आत्तिएका तत्व पनि उहाँका विरुद्धमा जुटिसकेका थिए । यस्तै अन्योल र व्यग्रताका बीचमा बनारस बसोबास गर्न थाल्नुभएका कोइरालाको 'क्रान्तिको अनिवार्यता' का विषयमा वक्तव्य र लेख आउन थाले ।

बनारस पुगेपछि कोइरालाको तर्क र थेसिसले एकातिर पार्टीको तत्कालीन संस्थापनको कार्यनीतिलाई अतिक्रमण गरेको थियो भने अर्कोतिर स्वयं कोइरालाको हिजोको जेलबाट छुट्दाको वक्तव्य र समझदारीलाई खण्डित बनाएको थियो । त्यस समयसम्म नेपाली कांग्रेसको कार्यकारी अध्यक्षको रुपमा सुवर्णशमशेर स्थापित रहनुभएको थियो । कोइरालाले चाहँदा काराबासबाट मुक्ति भएको भोलिपल्ट नै आफू कांग्रेसको अध्यक्ष भएको दावा गर्न सक्नुहुन्थ्यो । तर उहाँले त्यसो गर्न चाहनु भएन । जानकारहरुका अनुसार कलकत्तामा भेट्नेसाथ सुवर्णशमशेरले यस्तै प्रस्ताव राख्नुभएको थियो । तर त्यति भएर पनि बनारस पुग्नासाथ कोइरालाले सशस्त्र विद्रोहको कुरो गर्न थाल्नुभयो । यो कुरा पार्टीको तत्कालीन नीतिको विपरित थियो । तर कोइरालाको व्यक्तित्व पार्टी भन्दा पनि ठूलो थियो । एक त पार्टीको सङ्गठन भताभुङ्ग भएको थियो । दोस्रो, जो रहेका पार्टीका कार्यकर्ताहरुसमेत अत्यन्त असुरक्षित र भयभीत मनस्थितिमा रहेका थिए । अझ नेतृत्वको हताशाको त कुरै थिएन । नेतृत्वको कुण्ठा र मनोदौर्बल्य चरमावस्थामा पुगेको थियो । तर कोइराला लामो काराबासबाट भर्खरै छुट्नुभएको थियो । विवश–परवश भएर जेल बसेको मानिस क्रिया र कर्मका निमित्त बेचैन रहन्छ । कोइरालामा यस्तै बेचैनी थियो । उहाँको क्रान्ति आह्वान कदाचित यस्तै बेचैनीको पनि थियो । तर यस बेचैनीले नेपालका विद्यार्थी र तन्नेरीलाई भने जोश, जाँगर र आशासमेत प्रदान ग¥यो ।

उता नेपाली कांग्रेसको औपचारिक नेतृत्व भने राजासँग संवाद गर्ने पक्षमा थियो । एकातिर बीपी कोइराला औपचारिक नेतृत्वको संवाद–वार्ता पार्टी लाइन हो भन्न पछि पर्नुभएको थिएन । अर्कोतिर उहाँतिर तत्कालीन नेपालमा क्रान्तिलाई अनिवार्य ठान्नुभएको थियो । कोइरालाको यस्तो विभक्त मानसिकताबाट कांग्रेसको अन्योल बाक्लिदै गयो । केही समयपछि गिरिजाप्रसाद कोइराला पनि हिन्दुस्तान पुग्नुभयो । त्यस दिनदेखि नेपाली कांग्रेसका कार्यकर्ताहरुले सशस्त्र संघर्षको नयाँ अर्थ फेला पारे । प्रारम्भमा बीपी कोइरालाले सशस्त्र क्रान्तिलाई एउटा थेसिसका रुपमा प्रतिपादित गरेको दावा गर्नुभयो । त्यसपछि त्यो थेसिस आह्वानमा मात्र सीमित रहेन । सन् १९७३ जून १० का दिन एउटा नेपाली विमानको सनसनीखेज अपहरण भयो । त्यस अपहरणले कोइराला र सुवर्णशमशेरको संवाद समाप्तझैं बनायो । पञ्चायत व्यवस्थाको बर्बर दमन र अरु परिबन्दमा पनि परेर विभिन्न राजनीतिक कार्यकर्ता एवं आमजनतासमेत नेपालबाट भागिरहेकाहुन्थे । निर्वासनमा रहनुभएका गिरिजाप्रसाद कोइरालाले त्यस्ता केही मानिसहरुलाई समेत फारविसगञ्जमा आश्रय र संरक्षण दिनुभएको थियो । त्यहाँ आर्थिक सङ्कट हुनु स्वाभाविक थियो । त्यसै सङ्कटलाई बेहोर्न विमानबलान्नयन भएको थियो । कोइरालाको क्रान्ति–आह्वानको पृष्ठभूमिले निश्चय गिरिजाप्रसादलाई नैतिक एवं राजनीतिक औचित्य प्रदान गरेको थियो । गिरिजाप्रसाद कोइरालाको पहलमा नै ओखलढुंगा–काण्डसमेत भयो । विमान बलान्नयनको काण्डबाट प्राप्त भएको धन–साधनले समेत ओखलढुंगा काण्डको मूल तयारी भएको थियो ।

सामान्यतः क्रान्ति र विद्रोहको राजनीतिका दुई पक्ष रहन्छन् । एक पक्ष भनेको यस्तो प्रयासको सैद्धान्तिक औचित्य र व्यवहारिकता हो । कुन लक्ष्यका निमित्त क्रान्ति गरिने हो ? क्रान्तिको लक्ष्य र तयारीका प्रति आमजनताको उत्साह र समर्थन कस्तो छ ? कुनै पनि क्रान्ति र विद्रोह गर्नका निमित्त जनताको उत्साह र समर्थनमा आधारित रहेको एक राजनीतिक सङ्गठन चाहिन्छ । के कोइरालासँग त्यस्तो सङ्गठन थियो ? यसको जवाफ नकारात्मक नै दिनुपर्छ । यसो त क्रान्ति–चिन्तनको इतिहासमा ७० को दशकको विशेष महत्व छ । १९६७ मा चे गुवेरा मारिएका थिए । क्रान्तिको इतिहासमा चे गुवेराले विशेष स्थान राख्दछन् । क्रान्ति गर्नका निमित्त आमजनताको चेतनाको उकासिएको स्तर र सङ्गठन चाहिन्छ भन्ने माक्र्स, लेनिन र माओको ठहर छ । चे गुवेराले यस्तो विश्लेषणलाई बहसमा ल्याए । चे गुवेराका अर्का एक उत्ताउला र अल्लारे अनुयायी थिए । रेगीस डेब्रे नाम तिनको । तिनताका बौद्धिक क्षेत्रमा रेगीस डेब्रेको क्रान्ति विषयक पुस्तक बडो प्रचलित थियो ।

क्रान्तिका निमित्त सङ्गठन चाहिदैन, बन्दुक र इच्छा शक्ति भए पुग्छ भन्ने डेब्रेका तर्क थियो । विश्वेश्वरप्रसाद कोइरालाको वृतमा यस्ता तर्कहरु र डेब्रेका पुस्तक पनि देखिन्थे । यस्तै क्रान्तिका प्रति रोमान्टिक उल्झनका बीच ओखलढुंगा–काण्ड भएको थियो । ओखलढुंगा–काण्डको उद्देश्य के थियो ? तयारी कस्तो थियो ? तयारीका आधार के थिए, अझै गम्भीर बहसको विषय हुन सकेको छैन । कांग्रेस वृत्तबाट ज्यादातर गैरजिम्मेदार र हास्यास्पद किसिमका अभिव्यक्ति बेलाबखतमा देखिरहन्छन् । त्यस्ता अभिव्यक्ति समेतलाई एक ठाउँमा राखेर संश्लेषण र विश्लेषण गर्ने काम अझै भएको छैन । यस्तो किसिमको अध्ययनको अभावले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई ठूलो हानी पु¥याएको छ । नेपाली कांग्रेसको आजको दिशाविहीनता र कमजोरी यस्तै अनेकन आवश्यक विचार–विमर्शको अनुपस्थितिले उपस्थित भएको हो । ओखलढुंगा–काण्ड ३० वर्षभन्दा बढि भयो । ढिलै भए पनि पार्टीले यस्ता विषयमा बहस गर्नु र गराउनुपर्दछ । तर पार्टीभित्र र बाहिर यस्ता विषयमा कहिल्यै कतै छलफल भएन । कोइरालाले आफ्नो बयानमा ओखलढुंगा–काण्डको नैतिक जिम्मेवारी अवश्य लिनुभयो । तर त्यो पर्याप्त छैन ।

कोइराला उच्चकोटीको बुद्धिजीवीसमेत हुनुहुन्थ्यो । कोइरालालाई माक्र्स र लेनिनका साहित्यको ज्ञान थियो । माओत्सेतुङका गुरिल्ला विषयक रचनाहरुको जानकारी थियो । यस सङ्कलनमा कोइरालाको क्रान्तिकारी राजनीतिका विषयको एउटा गम्भीर लेखसमेत छापिएको छ । 'क्रान्ति–चर्चा' शीर्षकको लेख ओखलढुंगा–काण्ड अघि नै छापिएको थियो । त्यस लेखले एउटा कुरा स्पष्ट पारेको छ । सिद्धान्ततः कोइराला स्वयम् ओखलढुंगा–काण्ड जस्तो दुस्साहसिक कार्यका पक्षमा हुनुहुन्न थियो । त्यसैले समग्रमा यो घटना अझै पनि विवेचित र आलोकित हुन सकेको छैन भन्नैपर्छ ।

सन् १९७६ डिसेम्बर ३१ का दिन कोइराला एक्कासी जस्तो नेपाल फर्किनु भयो । तर त्यो एकाकी निर्णय थिएन । नेपाल फर्किनुअघि नै कोइरालाले आफ्नो एउटा विशेष राजनीतिक सोचाइ र दृष्टिकोण बनाउनु एवं प्रचारित गर्नुभयो । त्यसलाई उहाँले 'राष्ट्रिय मेलमिलाप' को संज्ञा दिनुभएको थियो । उहाँले राष्ट्रिय मेलमिलापको यस संज्ञा वा सोचलाई आफूमा मात्र सीमित राख्नुभएन । नेपाल आउनुअधि कोइरालाले आफ्ना सहयोगी र समर्थकलाई सकेसम्म सम्पर्क गर्नुभयो । ठाउँ–ठाउँमा कार्यकर्ता भेला भए । त्यस्ता भेलामा कोइरालाले परिवर्तित परिस्तिथिमा नयाँ किसिमको कार्यक्रम तयार गर्ने खाँचो र आफूले त्यसै गर्नुभएको कुरा समेतको सविस्तार बताउनुभयो । त्यस्तो बैठकहरुमा गरिएको महत्वपूर्ण टेप वार्ताको दुई अभिलेख यहाँ छापिएका छन् ।

हिजो 'तरुण' मा प्रकाशित भएका लेखहरुका यावत् मान्यतालाई यहाँ छोडेको भेटिन्छ । बीपीको चिन्तनमा अब राष्ट्रियताले नयाँ परिभाषा प्राप्त गरेको छ । 'तरुण' का पानामा कोइरालाद्धारा राजा र राजतन्त्रलाई राष्ट्रियताको विरोधी वा विपरीत शक्तिका रुपमा प्रस्तुत गरिइको छ । अब ती पुराना तर्क विस्मृत भएका थिए । त्यसका ठाउँमा राजतन्त्रलाई राष्ट्रियताको प्रमुख सहायक शक्तिका रुपमा अगाडि राखिएको छ । यस्ता तर्कका माध्यमबाट कोइराला नेपाल फर्कने तैयारी गर्दै हुनुहुन्थ्यो । भारतको इमर्जेन्सीले कोइरालालाई निराश बनाएको थियो । कोइराला अब राजा विरेन्द्रसँग संवाद गर्ने कोशिसमा हुनुहुन्थ्यो । नेपाल फर्कने दिनमा राष्ट्रिय मेलमिलापको आधारभूत तर्कलाई कोइरालाले एक आह्वान रुपमा प्रसारित गर्नुभयो । स्मरणीय छ, त्यतिञ्जेलसम्म निर्वासनमा राजनीतिक गतिविधि गर्दा कोइरालाले आफूलाई नेपाली कांग्रेसको अध्यक्षका रुपमा प्रस्तुत गर्नुभएको थिएन । तर अब नेपाल फर्कदाका दिन कोइरालाले नेपाली कांग्रेसको अध्यक्षता आफूले ग्रहण गरेको कुरा घोषणा गर्नुभयो । यो एक महत्वपूर्ण राजनीतिक कदम थियो । राजा विरेन्द्रले कोइरालाको नेपाल प्रत्यागमनलाई कसरी लिन्छन्, त्यो सबैले हेरिरहेका थिए । राजाले कोइरालालाई गिरफ्तार गरे । सँगसँगै दक्षिण एसियामा र विशेष गरी भारतमा महत्वपूर्ण राजनीतिक घटनाक्रम भइरहको थियो । भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाउनाले कोइरालाका निमित्त त्यहाँ बसिरहनु अप्ठेरो भएको थियो । तर कोइराला नेपाल फर्कनुभएको सय दिनभित्रै भारतमा इन्दिरा गान्धी सत्ताच्युत भइन् । भारतमा जनता दलको सरकार बन्यो । बिग्रदो स्वास्थ्यका एवं भारतलगायत वाह्य दबाबका कारणले कोइराला छिट्टै नै छुट्नुभयो । कोइरालाको रिहाइको साथ नेपाली राजनीतिमा एउटा नयाँ हलचल प्रारम्भ भयो । लगत्तै पछि नेपालमा ०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन भयो । राजा विरेन्द्रले सहज रुपमा जनमतसङ्ग्रहको घोषणा गरे । यस घोषणाको पृष्ठभूमिमा कोइरालाको राजनीतिक उपस्थिति र अभियान पनि एक कारक तत्व अवश्य थियो ।

नेपाली कांग्रेसका कार्यकारी सभापति जनरल सुवर्णशमशेरले झण्डै दश वर्षअघि कलकत्ताबाट एक वक्तव्य प्रकाशित गरी राजा महेन्द्रलाई संवैधानिक विकासको आशाका साथ सहयोगको प्रस्ताव 'टक्र्याउनु' भएको थियो भनेर माथि भनिसकिएको छ । कोइरालाले गर्नुभएको 'राष्ट्रिय मेलमिलापको आह्वान' को सार सुवर्णजीको वक्तव्यभन्दा फरक थिएन । तर दुवैको कार्यपद्धति फरक थियो । सुवर्णशमशेरले राजाप्रति विश्वास व्यक्त गरेर संविधानको विकासका निमित्त अनुरोध र प्रयास गरिरहनुभयो । यस दृष्टिले सुवर्णशमशेर भारतीय नेता फिरोज शाह मेहता, गोखलेजस्ता नेताहरुको बाटोमा हिड्न चाहनुहुन्थ्यो । यसमा स्पष्टतः सम्झौतावादको झलक छ । कोेइरालाले करिब २ गान्धीको बाटो अख्तियार गर्नुभयो । सुवर्णशमशेरसरह नै कोइराला पनि राजाको हृदय परिवर्तन होस् भन्ने चाहनुहुन्थ्यो । तर त्यतिले मात्र उहाँको चित्त बुझेको थिएन । कोइराला यो बाहेक जनताको ह्रदय परिवर्तनको अर्को बाटो खोज्दै हिड्नुभयो । त्यस दृष्टिले राष्ट्रिय मेलमिलापले जनआन्दोलनको रुप लियो ।

कोइरालामा कांग्रेसको स्थापना कालदेखि नै गान्धी र सत्याग्रहको प्रभाव स्पष्टता परिलक्षित छ । विराटनगरको मजदुर हडताल एक सत्याग्रह थियो । राणाको काराबासमा रहँदाको अनशन सत्याग्रह नै थियो । भूमिगत रुपमा आएर भए पनि मोहनशमशेरलाई भेट्ने इच्छा कोइरालाको सत्याग्रहको कार्यशैलीबाट प्रेरित थियो । कोइरालाले राष्ट्रिय मेलमिलापको चरणमा राजा वीरेन्द्रलाई भेटेर उनको हृदय परिवर्तन गराउने कार्य पनि सत्याग्रहको शैलीमा नै गर्नुभएको । त्यसैले उहाँ राजालाई भेटेर मात्र सन्तुष्ट हुनुभएन । राष्ट्रिय मेलमिलापका ती वर्षमा मौका पाउनासाथ कोइराला आमजनताका घर दैलोमा पुग्नुभयो । कोइरालाको स्वागत गर्ने साथीहरु कटिए–पिटिए । कोही त मारिए पनि । तर अन्ततः कोइरालालाई देख्न, भेट्न पाउँदा आमजनता उत्साहित भए । डराएर लुकेर बसेका कांग्रेसका कार्यकर्ताहरु निर्भीक भएर हिँड्न र बोल्न थाले । कांग्रेसले सङ्गठनको नयाँ आधार प्राप्त ग¥यो । यही नै राष्ट्रिय मेलमिलापको उपलब्धि थियो । यस अर्थमा यो एक अभिनव सत्याग्रह भयो । यो तत्वतः गान्धीवादी सघंर्षको अङ्गीकार थियो ।

समसामयिक नेपालमा अन्य कुनै कुरोभन्दा पनि कोइरालाद्धारा अगाडि सारिएको राष्ट्रिय मेलमिलाप भनिने कार्यनीतिलाई केन्द्रमा राखिन्छ । लामो समयदेखि यो आह्वान वा कार्यनीति नै कोइरालाको विचारधाराको पर्यायजस्तो रहेको छ । अहिले पनि कांग्रेसका आमकार्यकर्ताले यस नीतिलाई कोइरालाको प्रमुख अवदानका रुपमा लिएका छन् । यस अवदानका हकमा पनि यसको गुण–दोष, उपलब्धि वा कमजोरीका बारे भने छलफल भएको छैन । राष्ट्रिय मेलमिलापका पक्षमा कुरा गर्दा यस आह्वानको माध्यमबाट बीपी कोइरालाले कांग्रेसका कार्यकर्ताहरुको मनोबल उच्च बनाउन योगदान पु¥याउनुभयो भनेर भन्नै पर्छ । नेतृत्वले गरेको कुनै निर्णयलाई कार्यकर्ता पंक्तिले कसरी लिन्छ, कसरी हेर्छ भन्ने कुरो बडो महत्वपूर्ण हुन्छ । आखिर कार्यकर्ताहरुले नै आमजनताको घर–दैलोमा पुग्नुपर्छ, एक्लै नेता होइन । तात्विक दृष्टिले भन्दा कोइराला र सुवर्णशमशेरको राजनीतिक प्रस्तावनामा विशेष अन्तर थिएन । सुवर्णशमशेरको सहयोग–प्रस्तावले कांग्रेसमा आशा, विश्वास र उत्साहको सृजना गर्न सकेन । तर लगभग उही आशयको कोइरालाको वक्तव्यले भने नेपालको राजनीतिक वातावरणमा सर्वथा नयाँ किसिमको तरङ्ग ल्यायो । कोइरालाको क्रान्ति आह्वानमा समेत यस्तो हुन सकेको थिएन । विद्यार्थी र युवाको सानो जमातबाहेक उल्लेखनीय जन समर्थन कोइरालाको क्रान्ति आह्वानको पक्षमा उभिन सकेको थिएन । दुवै कार्यक्रमका प्रस्तुतीक हकमा कोइरालाले अपनाउनुभएको काम गर्ने शैली पनि सर्वथा पृथक थियो । मेलमिलापको सार्वजनिक घोषणा गर्नुअघि बीपी कोइरालाले कार्यकर्तापक्तिसँग प्रसस्त सल्लाह गर्नुभएको थियो । कार्यकर्ता सम्मेलन बोलाएर छलफल गर्नुभएको थियो । सशस्त्र क्रान्तिको आह्वानका हकमा यस्तो भएको थिएन ।

दुर्भाग्य, मेलमिलापलाई सत्याग्रहको त्यस्तो दृष्टिकोणले भने हेरिएन । स्वयं बीपी कोइराला समेतले यस अभियानलाई सत्याग्रह वा त्यस्तै कुनै संज्ञा दिन चाहनु भएन । गान्धीले सत्याग्रहका क्रममा आफ्ना विरोधीका प्रति एक खास दृष्टिकोण प्रतिपादित गर्दथे । गान्धीले कसैलाई शत्रु मान्दैनथे । गान्धी र माओत्सेङ्गको संघर्षको सिद्धान्त र शैलीमा आधारभूत फरक थियो । गान्धी विरोधीलाई उसको गलत कामका निमित्त प्रतिरोध गर्दथे । तर गान्धीलाई उसको मानवीयताप्रति कुनै शङ्का थिएन । कुनै कुकृत्यका कारण अत्याचारीसँग विरोध हुनु नै पर्छ भन्ने एउटा कुरो हो । पीडक वा शोषक समाजमा हुन्छन् । गान्धीको सहानुभूति सधै नै शोषित र पीडितसँग थियो । तर यसको अर्थ शोषक र पीडकको मानवीयता हुँदैन भन्ने पनि होइन । त्यस्तो मानवीयताको चिनारीमा संघर्षको कार्यक्रम ओझेल हुँदैन । कोइरालाको राष्ट्रिय मेलमिलापको व्याख्यामा यस कुरोको झल्को पाइन्छ । प्रचारमा तर राजासँगको सम्बन्धलाई हदभन्दा ज्यादा महत्व दिएर प्रचारित र प्रसारित गरिएको देखिन्छ । कोइरालाले राष्ट्रिय मेलमिलापको व्याख्या गर्ने क्रममा राजतन्त्रलाई राष्ट्रियताको प्रतीक भन्नुभएको थियो । भन्दै जाँदा उहाँले 'राजा र मेरो घाटी जोडिएको छ' समेत भन्नुभयो । कोइरालाका यस्ता कथोपकथनले नेपाली कांग्रेसभित्र काथर र कमजोर तत्वलाई ठूलो बल पु¥यायो । सत्याग्रहको मर्म ओझेलमा प¥यो । सहयोग र सम्झौताको प्रस्ताव मात्र अग्रपंक्तिमा रहयो । स्मरणीय छ, गान्धी सदैव नै सम्झौताका निम्ति तत्पर थिए । तर उनी सम्झौतावादी थिएनन् ।

कुनै पनि राजनीतिज्ञको जीवनमा उसले चाहेको जस्तो परिस्थिति रहँदैन । राजनीतिज्ञले जहिले पनि एउटा इतिहास–प्रदत्त ठोस परिस्थितिका आधारमा काम गर्नुपर्छ । इतिहास बनाउने मानिसले नै हो । यो सत्य हो । तर कुनै पनि मानिसले आफूखुशी इतिहास बनाउँदैन । इतिहास र समाजका कण्टकाकीर्ण जंघारलाई पार गरेर मात्र राजनीति अगाडि बढ्छ । यसै कारणले गर्दा राजनीतिलाई सम्भावनाको खेल एवं तात्कालीकताको व्यवसाय भनिन्छ । बीपी कोइरालाले क्रान्ति वा राष्ट्रिय मेलमिलापको आह्वान गर्दा उहाँका के–कस्ता बाध्यता थिए, तिनलाई बुझ्न बिशेष गाह्रो छैन । तर त्यस्तो बुझाइको आधारमा मात्र यस्ता विचारको मौलिकता र गहनतालाई प्रमाणित गर्न सकिदैन । तार्किक परीक्षणका दृष्टिले सशस्त्र क्रान्ति वा राष्ट्रिय मेलमिलाप दुवै नै सशस्त्र नीति–वक्तव्य थिएनन् । एक अत्यन्त अप्ठेरो परिस्थितिमा अगाडि बढ्ने प्रसङ्गमा राष्ट्रिय मेलमिलापले भने कांग्रेसलाई निर्विवाद रुपमा अगाडि बढायो ।

राष्ट्रिय मेलमिलापको आफ्नो आह्वानको स्पष्टीकरण र प्रचार गर्दागर्दै कोइरालाको देहान्त भयो । उहाँको देहान्त सन् १९८२ सेप्टेम्बर महिनामा भयो । कोइरालाका अन्तिम घडीसम्म पनि उहाँका आह्वान र अपीललाई तत्कालीन राजा विरेन्द्रले कहाँबाट कतैबाट सकारात्मक रुपले लिएका थिए भनेर भन्ने ठाउँ देखिएको थिएन् । कोइरालाले कहिल्यै सुविधाको राजनीति गर्नु भएन । उहाँ सुविधाका होइन, आस्थाका राजनेता हुनुहुन्थ्यो । यस्ता राजनीतिज्ञहरु निराश हुँदैनन् । त्यसैले कोइराला पनि मृत्युशैय्यामा समेत कहिल्यै निराश हुनु भएन ।

बीपी कोइरालाको देहान्त भएको झण्डै तीस वर्ष हुन लाग्यो । कांग्रेस स्थापना भएको पनि ६० वर्ष नाघ्यो । नेपाली समाज र राजनीतिको यो ६० वर्षको विकासक्रम कांग्रेस र कोइरालासँग घनिष्ठ रुपमा आवद्ध रहेको छ । एउटालाई नबुझि अर्कोलाई बुझ्न सकिँदैन । अझ, २०४७ सालदेखि यताका वर्षमा नेपाली कांग्रेसले सरकार र राज्यको नेतृत्व गर्ने प्रशस्त मौका समेत पायो । यस्ता वर्षहरुमा कांग्रेसका टाउके नेताहरुले सँधैभरि नै कोइरालाको सपना साकार गर्ने नारा र भाषण गरिरहे । यस्तै नारा–भाषणका बीचमा आफैले नेतृत्व गरेको सरकारले गराएको संविधानसभाको चुनावमा नेपाली कांग्रेस नराम्ररी पराजित भयो । कोइरालाले नेपालको राष्ट्रियताको निम्ति परमाश्यक देख्नुभएको राष्ट्रिय मेलमिलाप नीति विस्मृत भयो । नेपाली राष्ट्रियताको सुरक्षा र समर्थनका निम्ति राजतन्त्रको महत्वपूर्ण भूमिका छ भन्ने कोइरालाको तर्क थियो । तर आज नेपालमा गणतन्त्रको स्थापना भएको छ । सिङ्गो नेपाली कांग्रेसले चाहेर वा नचाहेर गणतान्त्रिक नेपाललाई समर्थन र नेतृत्वसमेत दियो । कोइराला व्यक्ति–स्वतन्त्रता र उदार लोकतन्त्रको प्रखर पक्षधर हुनुहुन्थ्यो । नेपालमा अहिले यी कुरा धरापमा परेको देखिन्छ । आधारभूत रुपमा कोइरालाले परिकल्पना गरेको राष्ट्रियता मुख्यतः लोकतन्त्रको विस्तार थियो । भारतका जवाहरलाल नेहरु जस्तै बीपी कोइराला पनि जाति, भाषा, लिङ्ग र संस्कृतिका समस्याहरु लोकतान्त्रिक अधिकारको विस्तार र सुदृढीकरणका साथ आफै निर्मूल हुने कुरामा विश्वस्त हुनुहुन्थ्यो । आजको नेपालले यी सबै कुराभन्दा पृथक कार्यक्रम र परिकल्पना अघि सारेको छ । त्यसो भए आजको नेपालमा कोइरालाको व्यक्तित्व र विचारको कुनै प्रासङ्गिकता छैन त ? यी र यस्तै प्रश्नहरुको उत्तर दिने प्रयासमा प्रस्तुत सङ्कलन तयार गरिएको छ ।

प्रस्तुत सङ्कलनमा परेको पहिलो महत्वपूर्ण लेख 'हाम्रो ध्येय' हो । आज यो लेख पढ्दा पाठकहरु छक्क पर्नसक्छन् । कोइरालाले यस लेखमा आमजनताको उत्तरदायी शासनको अवश्य वकालत गर्नुभएको छ । तर एउटा जनउत्तरदायी सरकारसँगसँगै शाहवंशका श्री ५ र राणाशाहीका श्री ३ दुवै पनि यथावत् रहनसक्ने एउटा सम्झौतामूलक प्रस्ताव अघि सारिएको छ । 'हाम्रो ध्येय' छापिनुभन्दा केहीपहिले नै नेपाली राष्ट्रिय कांग्रेसको विधिवत् घोषणा भइसकेको थियो । कोइरालाले उद्घाटन समारोहमा दिनुभएको अभिभाषण र त्यो अघिको पार्टी निर्माणको ऐतिहासिक आह्वान हामीले परिशिष्टमा राखेका छौँ । त्यस लेखमा नेपाल र भारतका सम्बन्धलाई लिएर आज सुपाच्य नहुने किसिमको अभिव्यक्ति भेट्न सकिन्छ । कोइरालाका विरोधीहरुले यस्ता अभिव्यक्तिलाई लिएर लामो समय वा आजसम्म पनि कांग्रेसलाई 'भारतीय दलाल' भनेर खेदेका छन् । कोइराला स्वयंले यसै सङ्कलनमा यस तथ्यको मार्मिक उल्लेख गर्नुभएको छ । कोइरालाको विचारको विकासयात्रालाई अध्ययन गर्न नभ्याएका व्यक्तिले यस्तो खेदो गरेका हुन् । खासमा अनेक अन्य विषयजस्तै कोइरालाका राष्ट्रियतासम्बन्धी विचारमा गतिशीलता देखिन्छ । प्रारम्भमा 'भारतवादी' (?) देखिएका कोइराला जीवनको अन्तिम चरणमा 'परम राष्ट्रवादी' हुनुभएको थियो भनेर अर्का थरिको दृष्टिकोण पनि यहाँ छ । तर फेरि कोइरालाको 'राष्ट्रियता ः नेपालको सन्दर्भ' भन्ने लेखमा तेश्रो किसिमको सोच छ । तर यस्ता सबै दृष्टिकोण र दस्तावेजहरुको समन्वित र समग्र अध्ययनले मात्र कोइरालाको राष्ट्रियताको तात्पर्यको उद्घाटन गर्दैछ ।

एउटा अर्को उदाहरण पनि छ । भूमिगत रुपमा काठमाडौं पुग्नुभएका कोइरालाले काठमाडौं रहँदा बस्दा श्री ३ महाराज मोहनशमशेरलाई भेट्ने इच्छा व्यक्त गर्नुभएको यहाँ प्रकाशित चिठ्ठीबाट बुझ्न सकिन्छ । यो इच्छा उहाँको गान्धीवादी कार्यपद्धतिको सूचक थियो । तर केही महिनाभित्रै बीपी कोइराला स्वयं नै सशस्त्र संघर्षको सङ्गठक हुन पुग्नुहुन्छ । यसबाट कोइराला कुनै 'रुढ सिद्धान्त' को पक्षधर नरहेको कुरा प्रस्ट हुन्छ । संविधानसभाको आह्वान र निर्वाचनको हकमा पनि कोइरालाको कुनै अकाट्य मानदण्ड र मान्यता थिएन । नेपाली कांग्रेसले स्थापना कालदेखि २०१४ सालसम्म संविधानसभाको एकाग्र माग ग¥यो । कोइरालाले तिनताक संविधानसभाका पक्षमा राख्नुभएका प्रखर तर्कहरु यहाँ समावेश गरिएका छन् । तिनताकको नेपाली कांग्रेस र बीपी कोइरालाले संविधानसभाका निम्ति गर्नुभएका संघर्ष र सङ्गठनको आफ्नै इतिहास छ । तर त्यति हुँदाहुँदै पनि कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले संविधानसभाको ऐतिहासिक माग सरक्क सहज रुपमा छाडिदियो । संविधानसभाको माग छाड्नुपर्ने बाध्यताका हकमा पनि तर्क पेश गर्न कोइराला नै अघि बढ्नुभयो । त्यसपछि २०१५ सालको आमचुनावको तत्काल तयारी सुरु भयो । नेपाली कांग्रेसले त्यस आमचुनावमा शानदार सफलता प्राप्त ग¥यो । कोइराला प्रधानमन्त्री नियुक्त हुनुभयो । प्रधानमन्त्रीका रुपमा कोइरालाका केही भाषण र बक्तव्य पनि यहाँ राखिएका छन् । तिनताकका कोइराला समाजवादी चेतना र क्रान्तिधर्मी स्वभावको परिचय त्यस्ता अभिव्यक्तिमा सजिलै पाइन्छ । कोइरालाले महासभामा गर्नुभएका भाषण पनि यहाँ छन् । राजा महेन्द्रले आफूले महासभामा कोइरालासँग चुनाव लड्ने दिलबहादुर श्रेष्ठदेखि लिएर सधैँका कडा आलोचक दाजु मातृकाप्रसाल कोइरालालाई मनोनित गरेका थिए । यिनीहरुको गतिविधि सरकार विरोधी रहन्थ्यो । यस कुरालाई लक्षित गर्दै कोइरालले महासभालाई गरेको सम्बोधनमा प्रधानमन्त्री र राजाको अन्तर्विरोध स्पष्टताः नियाल्न सकिन्छ । प्रधानमन्त्रीका रुपमा कोइरालाले राजा महेन्द्रको विश्वास आर्जन गर्ने ठूलो प्रयास गर्नुभएको थियो ।

कोइराला स्वयंले आफ्नो आत्मकथामा राजा महेन्द्रसँगको उभयक्षीय द्धिविधाको चर्चा गर्नुभएको छ । राजनीतिमा व्यक्तिगत भावनाभन्दा पनि समूहगत स्वार्थ ज्यादा प्रभावशाली हुन्छन् । यही सबले गर्दा प्रधानमन्त्रीत्वको १८ महिनाको कार्यकालपछि मात्र अन्ततः सन् १९६०, १५ डिसेम्बर आयो । प्रधानमन्त्री कोइराला त्यस समय तरुण दलको प्रथम महाधिवेशनको उद्घाटन गरिरहनुभएको थियो । यस सङ्गठनबाट कोइरालाले ठूलो आशा राख्नुभएको थियो । उद्घाटनका निम्ति तयार भएको अभिभाषणबाट यो कुरो थाहा हुन्छ । यो अभिभाषणले कोइरालाको समाजवादी मनस्थितिको परिचय दिन्छ । प्रधानमन्त्रीका रुपमा कोइरालाले बम्बैमा विद्यार्थीहरुको बीचमा दिनुभएको भाषण पनि यहाँ सङ्कलित छ । प्रधानमन्त्रीका रुपमा अनिरुद्र गुप्ता लाई कोइरालाले आफ्नो सामाजिक, आर्थिक चिन्तनको जानकारी दिनुभएको थियो । यो अन्तर्वार्ता पहिलोपटक नेपाली पाठकले पढ्दै छन् । यस आलेखमा प्रधानमन्त्री कोइरालाको तत्कालीन दृष्टिकोणको साँच्चै राम्रो चिनारी छ ।

झ्यालखानाका वर्षहरुमा कोइरालाले प्रशस्त अध्ययन र मनन गर्नुभएको भेटिन्छ । कोइरालाका जेलमा लेखिएका त्यस्ता कतिपय डायरी अझै अप्रकाशित छ । तिनको अध्ययन गर्दा कोइरालाको साहित्य, संस्कृति र दर्शनशास्त्रप्रति रहेको गहन चासो बुझ्न सकिन्छ । काराबासमा लेखिएका केही लेखहरु वाराणसीबाट छापिएको 'तरुण' मा प्रकाशित भएका छन् । त्यस्ता लेखहरु केही यहाँ प्रकाशित गरिएको छ । यस्ता लेखहरुमध्ये उहाँको 'सेना' विषयक लेख आज विशेष प्रासङ्गिक छ । सेना विषयक त्यस लेखमा बीपी कोइरालाले राजाले राणाको देखासिखी 'बिजुली–गारद' को नामको विशेष बफादार सेनाको प्रतिरुप राखेकोमा आपत्ति प्रकट गर्नुभएको थियो । अहिले नेपालमा सैन्य समायोजन र भर्ती प्रकरणको ठूलो विवाद चलिरहेको छ । नेकपा माओवादीबाहेकका बाँकी राजनीतिक पार्टीहरुले माओवादीको 'जनमुक्ति सेना' लाई त्यस्तै बिजुली–गारदको रुपमा हेरेका छन् । यस्ता बेलामा कोइरालाको त्यस लेखलाई 'सेना' विषयको बहसको प्रस्थान बिन्दु बनाउन सकिन्छ ।

प्रस्तुत सङ्कलनमा कोइरालाको गान्धीका बारे एउटा लामो आलेख छ । भारतमा सन् १९६९ अक्टुबरमा गान्धीको जन्मशताब्दी मनाइएको थियो । जयप्रकाश नारायणको नेतृत्वमा रहेको गान्धी विद्या संस्थानले बीपी कोइरालालाई प्रवचनका निम्ति निम्त्याएको थियो । बीपी कोइरालाले यस आलेखमा गान्धीको आर्थिक विकास र अहिंसाको अवधारणालाई अव्यवहारिक र असम्भव छ भन्ने तर्क गर्नुभएको छ । पण्डित जवाहरलाल नेहरुले पनि आर्थिक विषयमा लगभग यस्तै कुरा भन्नु र लेख्नुभएको थियो । तत्कालीन नेपालमा कुनै पनि प्रकारको अहिंसात्मक प्रतिरोध सम्भव छैन भन्ने कोइरालाको अर्को तर्क थियो । तर सन् १९७६ मा नेपाल फर्कदा कोइरालाले यस्ता आग्रह छोडिसक्नुभएको थियो । कोइरालामा आर्थिक चिन्तनमा आएको परिवर्तनलाई रेखाङ्कित गर्न विशेष गाह्रो छैन । उहाँले आफैले नाटकीय किसिमबाट आफ्नो चिन्तनको परिवर्तनलाई बारम्बार बताउनुभएको छ । कोइराला नेपालको नयाँ आर्थिक कार्यक्रममा ई. एफ. शुमाखर सान्दर्भिक भएको बारम्बार दोहो¥याउनुहुन्थ्यो । त्यो सुनेका–जानेका थुप्रा हामी साथीहरु अझै राजनीतिमा सक्रिय छौ । केही मित्रहरुले यस प्रसङ्गमा केही इमान्दार प्रतिक्रिया पनि नदिएका होइनन् । तर सत्तामा पुगेको नेपाली का्रग्रेसले कोइरालाको पुरानो वा नयाँ चिन्तनसित कहिल्यै वास्ता राखेन, त्यो अर्कै कुरो हो । यहाँ एउटा अप्ठेरो अवश्य रहेको छ । कोइराला अर्थशास्त्रको सिद्धान्तकार होइनन् । आफ्नो वा अरुको आर्थिक प्रस्ताव अघि सार्दा त्यस प्रस्तावको साङ्गो–पाङ्गो निहितार्थमा उहाँको ध्यान गएको छैन । त्यसैले गर्दा कोइरालाको आर्थिक चिन्तनको विरोधाभास अल्पज्ञ अर्थशास्त्रीले पनि औल्याउन सक्छ । कांग्रेसका स्वनामधन्य अर्थविदले यसै गरे । कोइरालाको आर्थिक चिन्तनमा दुई स्पष्ट धारा छन् । कोइराला एकातिर पश्चिममा प्रभावशाली रहेको आर्थिक चिन्तनबाट प्रभावित हुनुहुन्छ ।

एडम स्मिथ, सोसल डेमोक्रेसी र माक्र्सवादी समेतले युरोपमा वितरणभन्दा पहिले विपुल उत्पादन हुनुपर्ने तर्क राखेका थिए । कुनै पनि किसिमको समाजवाद गरीबी र अभावको वितरण गर्ने योजना होइन । समाजवाद त मूलतः सम्पन्नता वितरण गर्ने सङ्कल्प र पद्धति हो । त्यसैले प्रत्येक विकासको मोडलले पहिले उत्पादनको अभिवृद्धिमा जोड दिनुपर्ने भन्ने उनीहरुको तर्क छ । कोइराला कतिपय कथपोकथनमा पनि उत्पादकताका उपर जोड दिनुपर्ने कुराका बारेमा ठूला–ठूला तर्क गरिएको छ । कोइरालाले दुध वा कपडा समाजमा वितरण गर्दा चम्चा वा इन्चका आधारमा वितरण गरेर दुरुपयोग गर्न नहुने कुरो गर्नुभएको छ । कोइरालाको यस तर्कसित कुनै माक्र्सवादी वा कुनै माओवादी पनि सजिलै सहमत हुनसक्छ । तर गान्धी त्यसमा सहमत छैनन । गान्धीको अर्थशास्त्री बेग्लै किसिमको थियो । गान्धीका अनुसार राज्य र समाजले सर्वप्रथम निमुखा र भोकाको समस्या हल गर्नुपर्छ । त्यो काम शारीरिक श्रम र प्राकृतिक अपदानका भरमा मात्र पनि हुनसक्छ । त्यसका निमित्त पूँजीवादी चाहिँदैन । बरु त्यसका लागि जीवनदर्शन र मूल्यबोधमा क्रान्ति हुनुपर्छ । समकालीन पूँजीवादले कुनै राष्ट्रको उन्नतिलाई वृद्धिदरका आधारमा लेखाजोखा गर्ने गरेको छ । गान्धीले यस्तो लेखाजोखाको स्वीकार गदैनन् । कुनै पनि समाज र राज्यले सर्वप्रथम 'पूर्ण रोजगार' को लक्ष्यलाई प्रमुखता दिनुपर्छ । आर्थिक विकासको वैकल्पिक अर्थात गान्धीको दृष्टिकोणले विश्वको पूँजीवादीकरण वा भू–मण्डलीकरणलाई राम्रो ठान्दैन । कोइरालाका अन्तिम वर्षका अभिव्यक्तिमा यो दोस्रो धारा स्पष्ट र प्रबलतर रुपमा उपस्थित छ । कोइरालाले विकासको प्रचलित मोडलको विरोध गर्नुभएको छ । नेपाललाई ठूलो–ठूलो एरोड्रम वा चारलेनका सडक किन चाहियो ? सर्वप्रथम करोडौँ नेपालीको गाँस, बाँस, स्वास्थ्य र शिक्षाको समस्या हल हुनुपर्छ र योजना आयोगमा हलोजोतेको किसानको तस्बीर राखेर प्रेरणा लिनुपर्छ भन्ने कोइरालाको स्पष्ट कथन थियो । कोइरालाको यस्तो सोचाइले उहाँको उत्पादन सम्बन्धी र दुधको वितरणसम्बन्धी तर्कका भने खण्डन गर्दछन् । यहाँ निहित रहेको अन्तरविरोध स्पष्ट छ ।

कोइरालाले आफ्नो राजनीतिक जीवन गान्धी र भारतीय सङ्ग्रामको प्रारम्भमा सुरु गर्नुभयो । तारुण्यका वर्षमा कोइराला युरोपको सोसल डेमोक्रेसी र माक्र्सवादबाट आकृष्ट हुनुभयो । तर जीवनका अन्तिम वर्ष गएर कोइराला एकपटक फेरि ढुक्क गान्धीका समीप पुग्नुभएको थियो । खास गरेर अन्तिम वर्षताका कोइरालाले विकासको एउटा मोडेल प्रचारित गर्नुभएको थियो । त्यो मोडेल गान्धी चिन्तनमा आधारित थियो । कोइरालाको राष्ट्रिय मेलमिलापको कार्यनीति पनि तत्वतः गान्धीवादी शिक्षा र पद्धतिको प्रयोग थियो । तर, कोइरालाका अधिकांश अनुयायीहरुले किन हो कुन्नि यस गान्धीवादी आयामलाई रेखाङ्कित गरेका भेटिदैन । सौभाग्यवश, स्वयं आफैले आफू अन्ततः र अन्तिम रुपमा गान्धीका समीप पुग्नुभएको स्वीकारोक्ति अनेकपटक गर्नुभएको छ । तीर्थकंर मुखर्जी र भोला चटर्जीले लिएका अन्तर्वार्ताहरुमा त्यो प्रस्ट पढ्न सकिन्छ , तीर्थकंर मुखर्जीको अन्तरर्वार्ता यहाँ राखिएको छ । यो बाहेक अर्को महत्वपूर्ण साक्ष्य यहाँ पहिलोपटक छापिँदै छ ।

डा. हरिदेव शर्मा भारतका सुपरिचित समाजवादी बुद्धिजीवी हुनुहुन्थ्यो । पछि गएर उहाँ भारतको जवाहरलाल नेहरु म्युजियममा शोध विभागमा काम गर्नुहुन्थ्यो । नेहरु म्युजियममा काम गर्दा भारत र नेपालका समेत वरिष्ठ व्यक्तित्वको मौखिक अन्तर्वार्ता लिएर टेप सुरक्षित राख्नुभएको थियो । नेपालका हकमा तुलसी मेहर र बीपी कोइरालाको मौखित अन्तर्वार्ता आज पनि त्यहाँ सुरक्षित छ । फरबरी, १९७६ का महिनामा हरिदेव शर्माले बीपी कोइरालाको एउटा लामो अन्तर्वार्ता लिनुभएको थियो । स्मरणीय छ, त्यसको एक वर्ष नबित्दै कोइराला नेपाल फर्कनु भयो । यो अन्तर्वार्ता अझै प्रकाशित भएको छैन । त्यस अन्तर्वार्ताका केही प्रासङ्गिक अंश पहिलोपटक प्रकाशित गरिएको छ । त्यस प्रकाशनले बीपी कोइरालाको वैचारिक विकासमा देखा परेको एउटा ठूलो व्यक्तिक्रमको समाधान गर्छ । यस अन्तर्वार्तामा कोइरालाले आफू अन्ततः फेरि गान्धीका समीप पुग्नुभएको सहर्ष स्वीकार गर्नुभएको छ । व्यक्तिगत जीवनमा कोइराला संवेदनशील एवं सहृदय व्यक्तिहुनुहुन्थ्यो ।

ओखलढुंगा र त्यो अघि भएको रक्तरञ्जित बलिदानले निश्चय उहाँलाई विचलित बनाएको थियो । तर कुरो यति मात्र थिएन । यो भन्दा महत्वपूर्ण कुरो अर्को थियो । यसै बीच भारतमा सङ्कटकाल घोषणा भएको थियो । कोइरालाका अग्रजवत् शुभचिन्तक जयप्रकाश नारायण र समर्थक साथीहरु यथा अशोक मेहता, चन्द्रशेखर जेल परेका थिए । उनी असफल भइसकेका थिए । त्यस परिस्थितिमा कोइरालाले तानाशाही भएको मुलुकमा हिंसक प्रतिरोध एक मात्र बाटो भन्ने आफ्नो पुरानो तर्कको अव्यवाहारिकता याद गर्नुभयोहोला । हिन्दुस्तानमा देखिएको तानाशाहीमा यो बाटो पनि उपयोगी थिएन । बरु गान्धीको सत्याग्रह कारगर थियो । यति कुरा हेक्का नराख्ने हो भने मुश्किलले एक वा दुई वर्षको अवधिमा उहाँमा त्यस्तो मौलिक रुपान्तरण आउनु आश्चर्यजनक प्रतीत हुन्छ । तर कोइरालाको नेपाल फर्कने निर्णयलाई यस्तो राजनीतिक वा वैचारिक विश्लेषणका आधारमा मात्र कदाचित बुझ्नसकिँदैन । कोइराला बौद्धिक विचारणमा अस्तित्ववाद प्रभावको कुरा गरिरहनुहुन्थ्यो । कोइरालाको नेपाल फर्कने निर्णय मानौँ एक अस्तित्ववादी जमर्कोसमेत थियो । त्यहाँ राजनीति अवश्य थियो । तर राजनीतिका सँगसँगै जीवनको आत्यन्तिक सत्यको साक्षात्कार गर्ने प्रयत्न पनि थियो कि ?

कोइरालाको जीवनकाल एक उथलपुथलको समय थियो । तेस्रो विश्वका भारत, चीन, इजिप्ट र मध्यपूर्वका देशहरु महान् सभ्यताका जन्मभूमि हुन् तर इतिहासको चक्रले गर्दा यी सभ्यताहरु पाश्चात्य पूँजीवादबाट आक्रान्त भए । दोस्रो, विश्वयुद्धपछि यी देश समाज र सभ्यताको कोल्टे फेरे । तर यो कोल्टो सजिलो भएन । नव–स्वाधीन देशहरुमा पश्चिमका मूल्य मान्यता र विचारधाराको प्रभाव कायम रह्यो । कोइराला स्वयं यस्तै प्रभावमा हुर्किनु भएका राजनीतिज्ञ हुनुहुन्थ्यो । तर सयैका कारणले कोइराला र उहाँको सिङ्गो पुस्ताले तेस्रो विश्वमा सर्वत्र भीषण संघर्ष, पीडा र विडम्बनाको सामना गर्नुप¥यो । प्रश्न एकजना विश्वेश्वरप्रसाद कोइरालाको होइन । विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गर्न सकिने अनेकौँ राजनेता यहाँ सम्झन सकिन्छ । वर्माका उनु र उ वा स्वे विश्वेश्वरप्रसाद कोइरालाका मित्रसमेत थिए । वर्माको सेनाले यिनीहरुलाई पनि जेलमा कोच्यो । चिलीका साल्वाडर आएन्दे, बंगलादेशका मुजीबुरहमान वा पाकिस्तानका जुल्फीकर भुट्टो समेतको यस्तै त्रासदी (Tragedy) रह्यो । अफ्रिका र ल्याटिन अमेरिकाको अझै लामो सूची छ । त्यो एउटा सिङ्गो युगको द्वन्द्व र पीडा हो । यो युग अझै घस्रिदै छ । कोइरालामा देखा परेको गान्धी र माक्र्सको द्वन्द्व, वितरण र उत्पादनको अन्तरविरोध, राजा र राष्ट्रियताको सम्बन्ध यी सबै प्रसङ्गले केही सैद्धान्तिक प्रश्न अगाडि सारेका छन् । कोइरालाले नेपाली समाजमा देखा परेका प्रत्येक द्वन्द्व र समस्यालाई सम्बोधन गर्नुभयो । यस विशेषताले उहाँलाई नेपाली राजनीतिमा प्रासङ्गिक राखेको छ । अधिकांश सम–सामयिक समस्यालाई बुझ्नका निमित्त कोइरालाका कतिपय कृति र अभिव्यक्तिले प्रस्थान–विन्दु र सन्दर्भको काम गर्न सक्छन् ।

नेपाली कांग्रेसका साथीहरुले विगतका वर्षहरुमा कोइरालाका केही सन्दर्भहीन उद्धाहरणबाट आफ्नो काम चलाए । त्यो पर्याप्त र सन्तोषजनक प्रयास थिएन । एक त कोइराला आफैमा सम्पूर्ण हुनुहुन्न । लोहोयालाई बुझ्नका निमित्त गान्धी र रोजा लक्जेमवर्गलाई बुझ्नै पर्छ । माओत्सेतुङ्गलाई बुझ्नका निमित्त लेनिन, माक्र्स र साङजुलाई बुझ्नै पर्छ । कोइरालाको विचार परिदृश्य पनि जायप्रकाश नारायण, गान्धी र माक्र्ससँग सोझो सम्बन्ध राख्दछ । त्यस समृद्ध परम्परालाई बिर्सिने हो भने कोइरालालाई बुझ्ने कुरामा अन्धोले हात्ती बुझेको कथा दोहोरिन पुग्छ । कोइरालामा कुनै सुसम्बद्ध र साङ्गोपाङ्ग स्वतन्त्र वैचारिक प्रस्थापना भेटिँदैन । बेलायतका चर्चिल वा भारतका जवाहारलाल नेहरु स्वयंलाई कुनै रुढ विचारधाराको दायरामा राख्न सकिदैन । तर यी सबै मूलतः महान् नेता थिए । नेता र विचारक दुई अलग प्रकारका प्राणी हुन् । नेताको मुख्य दायित्व आफ्नो पार्टी, अनुयायी र मुलुकलाई एक गन्तव्यमा पु¥याउनु हो । कुशल माझीले ठूलो भेल र झन्झाबातमा ढुंगा पार लगाएरको जस्तो काम नेताले गर्नुपर्छ । कुनै पूर्व निश्चित घाट वा मानचित्रका आधारमा ढुंगा पार हुँदैन । बाढीमा अघि र पछि गर्दै हल्लिदै–मच्चिदै ढुंगा पार हुन्छ । विचारक बरु केही निश्चित विश्लेषणबाट प्रेरित रहन्छ । तर नेता बढिमा केही निश्चित जीवनमूल्यका संवाहक हुन्छन् । वासिंगटन, लिंकन, चर्चिल, नेहरु र सर्वोपरि गान्धी यस्तै निश्चित जीवनमूल्यका संवाहक र जीवन्त उदाहरणसमेत थिए । कोइराला पनि यसै गौरवशाली पङक्तिमा सधै नै सगर्व उभिइरहनु हुनेछ ।

प्रस्तुत सङ्कलनको अनुशीलनका निमित्त एउटा अर्को कुरा पनि यस पृष्टभूमिमा स्पष्ट छ । कोइरालाका सबै महत्वपूर्ण लेखहरु निश्चित ऐतिहासिक परिस्थितिमा लेखिएका छन् । यसलाई ध्यानमा राखेर सबै लेख, वक्तव्य र भाषणलाई यथासम्भव समयक्रमका अनुसार राखिएको छ । समाजवादको सैद्धान्तिक पक्षका बारेमा कोइालाले व्यक्त गर्नुभएका विचार भने एकै ठाउँमा राखिएको छ । यो बाहेक परिशिष्टका रुपमा यस सङ्कलनमा केही सन्दर्भ सामग्री अलग्गबाट राखिएको हो । ऐतिहासिक पृष्ठभूमिको सम्झना दिलाउन यस परिशिष्टले पाठकलाई सहायता पु¥याउने छ भन्ने सोचाई हो । आज हामीसँग कोइरालाको शोधपरक एवं प्रामाणिक जीवन छैन । यस पुस्तकमा परेका लेखहरुका हकमा गहन शोध परक जीवनीले मात्र कोइरालाका अभिव्यक्तिसँग न्याय गर्न सक्छ । कोइरालाले कुन परिस्थितिमा कुन कारणले र के कस्ता सीमाभित्र रहेर एउटा खास नीति वा कार्यक्रमको प्रवर्तन गर्नुप¥यो, त्यो बुझेर मात्र यस्तो सङ्कलनले अर्थवत्ता प्राप्त गर्छ । कोइरालाको कुनै एक अशं–उद्धरण अठयाएर लकीरको फरीर बन्ने हो भने एउटा कुरा हो । हैन भने कोइरालाका बेलाबखतका राजनीतिक आग्रहको बुझाइका दिशामा भने यस पुस्तकले केही मात्रामा सघाउ पु¥याउनेछ । भन्ने हाम्रो आशा हो ।

यस पुस्तकको अर्को पनि सीमा रह्यो । यस पुस्तकलाई एउटा निश्चित आकारभन्दा नबढाउने मजबुरी छ । यसैले हामीले फेला पारेका सारा सामग्री पनि यस पुस्तकमा अटाउन सकेन । कोइरालाका व्यक्तित्व र विचारका केही महत्वपूर्ण कागज दिल्लीमा जवाहरलाल नेहरु म्युजियम र मेमोरियममा राख्ने चाँजो भएको छ । यस पुस्तकमा परेका कतिपय सामग्री त्यहीबाट सारिएका हुन् । अरु केही सामग्री जगदम्बा पुस्तकालयका कृपाले प्राप्त भयो । नेपाली साहित्य र वाङ्मयलाई जगदम्बा पुस्तकालयले अकथनीय ऋणको भारी बोकाएको छ । यी दुई संस्था नहुँदा हुन् त यो सङ्कलन पनि सम्भव थिएन । तर पुस्तकालयमा रहँदैमा कागज छापामा आइपुग्दैन । यसलाई हेक्का राखेर केही कुरा दिलैबाट भन्नुछ ।

ती दुई पुस्तकालयबाट यहाँ भएका केही बडो कष्टसाथ खोजेर ल्याउनेमा साथी पदवबहादुर थापा प्रमुख हुनुहुन्छ । नेविसंघका केन्द्रिय उपाध्यक्ष रत्नबहादुर कार्कीले पनि यस काममा ठूलो भरथेक गर्नुभयो । कतिपय सामग्री अङ्ग्रेजीमा मात्र फेला परे । त्यस्ता सामग्रीको झण्डै सबैजसो अनुवाद गोपालप्रसाद दुलालले गर्नुभएको हो । एक वा दुई/तीन वटा आलेख मात्र मैले अनुवाद गरे होला । श्री दुलालले पुस्तकको साजसज्जा र सम्पादनमा समेत विशेष योगदान गर्नुभएको छ । यसरी यस सङ्कलनका लागि चाहिने शोध र परिश्रम यिनै व्यक्तिहरुको समर्पणबाट भएको हो । कुनै संघ वा संस्थाबाट यस प्रयासमा मद्दत खोजिएन । तर यो सङ्कलन तयार गर्ने बारेमा एउटा कुरा भने प्रस्ट भयो । व्यक्तिले भन्दा पनि संस्थाले प्रयास गर्दा यस्तो कामले पूर्णता प्राप्त गर्दछ । यसैले यस सङ्कलनको मूल्याङ्कन गर्दा सहृदय पाठकले हाम्रो सीमा र कमजोरीलाई मनमा राखिदिनु होला । यस पुस्तकको कमजोरीबाट हामी आफै राम्ररी अवगत छौँ । माथी भनिहालियो, जम्मा भइसकेका सामग्रीसमेत अहिले राख्न र छाप्न सकिएको छैन । निकट भविष्यमा थप काम हुन्छ होला । यस सङ्कलनले त्यस दिशामा शोधार्थीलाई प्रेरित गर्ने छ भन्ने आशाका साथ यो संकलन अहिलेलाई त्रुटिका साथ भए पनि अगाडि सारिएको छ ।

पुस्तकको कम्प्युटर सेटिङ तथा सम्पादनमा श्री बिकाश हमाल 'एनफ' ले दिनरात नभनी दिलोज्यानले गरेको सत्कार्यलाई कुनै मूल्यले चुकाउन सकिन्न । त्यो काम उनले अत्यन्त प्रेमले गरे । भेषबहादुर राउत 'आनन्द' दिनभरि अन्तै काम गरे पनि साँझ र बिहान आएर यस पुस्तकको लागि सघाउनु भएको छ, त्यो पनि फोसामा । यस पुस्तकले पुण्य आर्जन गरेमा त्यसमा भने उनको सबभन्दा ठूलो भाग लाग्नेछ, पुण्यका कुरा नगरौँ । यहाँ सहयोगी पूर्ण कार्कीलाई पनि सम्झनै पर्छ । अरु अरु पनि थुप्रा नाम छन् । यस्ता नाममा धावक दीवेन्द्रराज हमाल प्रमुख हुनुहुन्छ । यी सबै मित्र धेरै–धेरै धन्यवादका पात्र छन् । विशेष पछि ।

प्रदीप गिरि (अगस्त, २००९)

Back