"राजतन्त्रको भूमिका", वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)
Print Friendly and PDF

मैले दिएको रविबार मन्तव्य पत्रिकामा छापिएको छ। मेरो विचार टेपबाट उतारिएछ। त्यो मेरो लेख होइन तर मसंग अन्तर्वार्ता लिन आएको एउटा मान्छेले टेप गरिकन छापेको हो, मेरो विचारलाई कुनै किसिमसंग नबङ्गयाएर छापेको हो। त्यसो हुनाले रविबारमा छापिएको कुरो मेरो हो।

त्यसमा नेपाल टाइम्सका चन्द्रलाल झाले आलोचना गरेका छन्। उनले त्यसलाई कसरी हेरे त्यो मलाई थाहा छैन, र चन्द्रलालमा भाषाको कति ज्ञान छ, त्यो पनि मलाई थाहा छैन। सम्पादक त सम्पादक नै हुन्, तर कति निम्नस्तरमा तिनी जान सक्छन्, त्यो पनि मलाई थाहा छैन। एउटा कुरो निर्विवाद छ–चन्द्रलाल झा को हुन्? कहाँबाट प्रेरित भएर त्यो लेखेका हुन्?

मेरो मन्तव्य त्यहाँ के छ भने देश बन्ने अवस्थामा, जताततैको इतिहास कसैले पढेको भए र तपाईले पनि पढेको भए राजा वा त्यस्तै शक्तिशाली व्यक्तित्वले देशको, राज्यको जरो हाल्छ र त्यसलाई बढाउँदै लैजान्छ र जोड्छ, अलिकति कठोर शासनद्धारा। यो इतिहासको कुरा मैले भनेको हो। अहिले दुनियाँमा तानाशाही राजाको प्रतीकको रुपमा कसैलाई लिन्छन् भने जारलाई लिन्छन्। कहीं तानाशाही छ भने जारशाही छ भन्छन्। स्वेच्छाचारी राजाको एउटा प्रतीक जस्तो छ त्यो। हुन त त्यो रुसको राजा थियो, रुसमा राजाहरुको आफ्नो पदवी हुन्थ्यो–जार। त्यस्तो संस्थालाई स्टालिनले द्धितीय महायुद्धको दौरानमा किन सम्मान गर्यो? मैले जारको पनि हिमायत गरेको होइन, स्टालिनको पनि होइन। तर द्धितीय महायुद्धमा जब हिटलरको आक्रमण भयो, त्यसमा समाजवादको रक्षा गर, साम्यवादको रक्षा गर भनेर स्टालिनले भनेन। स्टालिनले के भन्यो भने यस देशको रक्षा गर, र देश–जसलाई बनाउनमा ती क्रूर शासकहरुको नाम लियो, जसले शासनको जग हाल्यो इभान भन्ने त्यसको नाम थियो। त्यसको परिचय दिंदा इभान दि टेरिबुल भन्छन्, तपाईंहरुले इतिहासमा पढ्नु भयो होला–पिटर एलिजाबेथ र अन्तिम जार जसलाई मार्ने स्टालिन नै थियो, त्यसलाई मात्रै होइन त्यसको पूरा परिवारलाई मार्ने, त्यस्तो जार विरोधी राजतन्त्र विरोधी व्यक्तिले पनि जब त्यस मुलुकलाई खतरा हुन थाल्यो, स्टालिन ग्राडको पतन हुन थाल्यो, मुलुक पराजित हुन लागेको बखतमा त उसले दुहाई दिएन कि कम्युनिज्म सिद्धिन लाग्यो। कम्युनिज्मको दुहाई उसले दिएन। त्यै इतिहासको कुरा मैले भनेको हुँ। त्यसमा न मैले स्टालिनलाई हिमायत गरेको छु न जारलाई। त्यो १९४२ देखि १९४५ सम्मको इतिहासको कुरा हो, धेरै टाढाको कुरा होइन। त्यसलाई नबुझेर वा बुझ पचाएर भाषालाई नबुझेर वा बुझेर पनि नबुझे जस्तो गरेर तिनले लेखेका छन्, मैले त्यसको जबाव दिने पनि आवश्यकता देख्तिन, तर मलाई कसै कसैले सोधेको हुनाले यो कुरा भनेको हुँ।

कुनै पनि देशको मैले त्यहाँ चर्चा गर्दा भनेको छु–मैले जारको किन चर्चा गरेको भने त्यो त क्रूरतम शासकहरुको एउटा प्रतीक भएको छ इतिहासमा। त्यो प्रतीक भएको थियो एउटा कठोर तानाशाही स्वेच्छाचारी राजाको। जहाँसुकै त्यस्तो राजा भयो भने भन्दथे यो त जार जस्तो भयो। त्यसो हुनाले जारको मैले उदाहरण दिएँ। लुई जसले फ्रान्सलाई बनायो। लुई तेह्रौं, लुई चौधौंपछि त्यहाँका जनताले सोह्रौं लुईलाई मारे। तर ती लुईहरुले फ्रान्सलाई बनाएको इतिहास छ। इङ्गल्याण्डको इतिहास हेरौं। इङ्गल्याण्डको ट्यूडर राजाहरु, जसले स्वेच्छाचारी शासनमाथि नै इङ्गल्याण्डको निर्माण गरे।

इतिहासमा कुनै पनि देशको निर्माणको तीनवटा काल हुन्छ। एउटा काल हुन्छ, देशको प्रारम्भिक अवस्थाको निर्माण। उदाहरणको निम्ति लिउँ पृथ्वीनारायण शाहलाई। के पृथ्वीनारायण शाह बडा दयालु थिए? तिनका सेनापतिहरु दयालु थिए? देश बनाउने अवस्थामा त्यस किसिमबाट देश बन्यो। दोस्रो कालमा देश बनिसकेपछि, अनि जनताले आफ्नो अधिकार मागे। राजा र जनताका संघर्षहरु भए। राजाले जनताको मनोभावना र इतिहासलाई पनि बुझेको अवस्थामा पछिसम्म पनि अधिकारहरुलाई छोडेर आफ्नो वंशलाई कायम गर्न सकेको छ। इङ्गलैण्डमा भएको छ, अरु पनि धेरै ठाउँमा यो भएको छ।

तेस्रो काल आउँछ, प्रजातन्त्र आइसकेपछि पनि यो समानता केवल राजनैतिक दृष्टिबाट मात्र भएको होइन, आर्थिक दृष्टिबाट पनि समानता हुनुपर्छ भन्ने आवाज आयो। त्यो आवाज तेस्रो अवस्थाको हो। यस चरणको जुन विकास हुन्छ, त्यो तेस्रो अवस्था हो राष्ट्रनिर्माणको। त्यसो हुनाले मैले भनेको छु, हामीहरुको मुलुकमा तीनवटै अवस्थाहरुलाई एकैचोटी पूरा गर्नु परेको छ।

त्यसले भन्दछ, क्रूर हुने कि नहुने, यो राजाको स्वविवेकको कुरा हो। म राजाको स्वविवेकमा मात्र भर पर्दिन। यो देश राजाको मात्र होइन, मेरो पनि हो। स्वविवेक र स्वेच्छारिता एउटै कुरा होइन। स्वविवेक भन्दा विवेक प्रयोग गर्नुपर्छ। २०१७ सालमा राजाले त्यो विवेक प्रयोग गरेनन्, त्यसो हुनाले मैले त्यसलाई स्वेच्छाचारिताको कदम भनेको हुँ।

देशको विकासका तीन चरणहरु–राष्ट्रनिर्माण, प्रजातन्त्र र आर्थिक विकास एकैपल्ट पूरा गर्नुपर्ने हुनाले राजाको पनि अहिले हामीहरुलाई खाँचो छ र खास गरेर पहिलो प्रक्रियाको लागि। मेरो यति स्पष्ट कुरालाई बङ्गयाएर लेख्दछ भने कुन उद्देश्यले लेखेको छ, कताबाट प्रेरित भएर लेखेको छ? यो, कसको तालमा नाचिरहेको छ? यो त तपाईंहरुले बुझ्नुपर्ने कुरा हो। मेरो त स्पष्ट कुरा छ।

अमेरिकामा राजा थिए पहिला अमेरिकी राज्य बन्दाखेरि। अमेरिका उपनिवेश थियो। आफ्नो देशमा कुनै कारणवश बस्न नसक्ने, धार्मिक होस् वा अरु, फ्रान्सबाट आए, हल्याण्डबाट आए, इङ्गल्याण्डबाट आए। तिनीहरुले आ–आफ्ना उपनिवेशहरु बनाए। जो जहाँबाट आए, आफ्नो राजा वा त्यहाँका शासकहरुकाप्रति वफादार रहन्थे। सुरुको अवस्थामा राजतन्त्रकै अन्तर्गत अमेरिकाको गठन भयो। राजाको त्यहाँ कतिसम्म मान्यता थियो भने महारानी एलिजाबेथको नाउँमा त्यहाँ एउटा उपनिवेश बन्यो, त्यस उपनिवेशको नाउँ तिनीहरुले भर्जिनिया राखे। भर्जिन रानी–बिहा भएको थिएन रानीको त्यसो हुनाले। अंग्रेजहरुले त्यो उपनिवेश बसाउँदा आफ्नो रानीप्रति श्रद्धा दर्शाउन त्यस इलाकालाई भर्जिनिया भने। त्यस्तै लुइस वर्ग–फ्रान्सका लुई राजाको नाउँमा एउटा उपनिवेश बनाए। राजतन्त्रकै मातहतमा ती उपनिवेशहरु खडा भएका थिए। त्याहाँ राजा नरहेता पनि, गर्भनरहरु हुन्थे, प्रशासकहरु थिए जो राजाका प्रति उत्तरदायी थिए।

त्यसपछि त्यहाँ शक्तिको लागि झगडा हुन थाल्यो। प्रजातन्त्रको माग हुन थाल्यो। त्यही ताका फ्रान्समा त्यो ठूलो क्रान्ति भयो १७७९ मा। जर्ज तृतीय राजा थिए त्यसबखत बेलायतको। तिनीहरु त्यहाँ अमेरिकामा ट्याक्सहरु धेरै असुल गर्थे। जति सामानहरु आउँथे अमेरिकामा ट्याक्स लाग्थ्यो। झगडा चियाबाट सुरु हुन्छ। अमेरिकन ब्रिटिशहरुले के भन्न थाले भने तिनीहरु कहाँ त संसद छ र संसदमा प्रतिनिधिहरु जान्छन्, हामीहरुको संसद छैन र संसदमा कुनै प्रतिनिधि पनि जाँदैन। जुन संसदमा हामीहरु प्रतिनिधि पठाउन पाउँदैनौ, त्यस संसदलाई ट्याक्स लगाउने पनि अधिकार छैन। नो ट्याक्सेशन, विदाउट रिप्रेजेन्टेशनको पहिलो नारा त्यहीं लाग्यो। त्यहाँको लागि एउटा स्टाम्प एक्ट पास भएको थियो, जस अन्तर्गत लेनदेनको कागज पत्र तयार गर्दा स्टाम्प पेपरमा गर्नुपथ्यो, त्यो पनि ट्याक्स असुल गर्ने उपाय थियो। त्यसको पनि विरोध गरेर भने, जुन संसदमा हाम्रो प्रतिनिधित्व छैन, त्यसले हामीसंग ट्याक्स उठाउन पाउँदैन। अनि त्यसपछि त्यहाँ अमेरिकी स्वतन्त्रताको संघर्ष चल्यो र स्वतन्त्र अमेरिकी राज्यको स्थापना भयो।

उता फ्रान्सको लुईको खिलाफमा पनि जनशक्ति बढ्न थालेको थियो। त्यसबखत फ्रान्समा क्रान्ति भइसकेको थिएन। फ्रान्सले त्यसबखत मद्दत गरेको छ अमेरिकी विदोहलाई अंग्रेजहरुको खिलाफमा। किनभने फ्रान्सीसी र अंग्रेजहरुको ठूलो लडाई चलिरहेको थियो, बढी उपनिवेशहरुमा आधिपत्य कसको हुन्छ भनेर। हिन्दुस्तानमा पनि उनीहरुको बीचमा लडाईं थियो, अन्त पनि ब्रिटिश र फ्रेन्च उपनिवेशहरुमा लडाईं चलिरहेको थियो। युरोपमा सातवर्षे युद्धको काल थियो। त्यसबखतमा अमेरिकामा ब्रिटिशहरुको विरुद्धलाई फ्रान्सले मद्दत गरेको थियो। यो १७७७ ताकाको कुरा हो। १७७९ मा फ्रान्समा क्रान्तिलाई मद्दत गरेका छन्।

मैले के भन्न खोजेको भने अमेरिकामा पनि सुरुको बेलामा राजतन्त्रको आधारमा राष्ट्रको संघटन भएको छ। सुरुको बेलामा त्यहाँ आफूलाई ब्रिटिश भन्नमा गौरव मान्दथे। उनीहरुले आफ्ना राज्य र शहरहरुको नाम ब्रिटिश किसिमको राखे। राष्ट्रनिर्माणको एउटा प्रारम्भिक चरणबाट अमेरिका पनि गुज्रेको छ, तर किताबी मोडल भन्दा कमै फरक भएपनि व्यावहारिक दृष्टिकोणबाट त्यो लक्षण त्यहाँ पनि देखिएको छ।

हामीहरु कहाँ त राजा नै छन्। यस देशलाई जोगाउनको लागि राजाको आवश्यकता छ, सेन्ट्रल फोकल प्वाइन्टको निम्ति राजाको आवश्यकता छ। मैले क्रूर शासक हुनुपर्छ भनेको छैन, नत्रभने प्रजातन्त्रको मेरो माँगको कुनै माने नै रहँदैन। राष्ट्रनिर्माण पनि ऐल्हे नै चाहिएको छ, प्रजातन्त्र पनि ऐल्हे नै चाहिएको छ र आर्थिक विकास पनि ऐल्हे नै चाहिएको छ। एकैसाथ यी सबै काम गर्नको निम्ति जति राष्ट्रिय चरित्रका शक्तिहरु छन् सबैलाई एकताबद्ध गर्नु परेको छ। मेरो राष्ट्रिय एकता र मेलमिलाप भएको यै कुरा हो। मेरो राष्ट्रिय मेलमिलाप भनेको यो पार्टी र ऊ पार्टीको मेल गर, राजाको विरुद्ध अभियान चलाऊ भनेको होइन। यो काम—यो जवाफदेही जो हामीहरुमाथि परेको छ, यसमा भूमिका खेल्ने शक्तिहरु एक हुनुपर्यो भन्ने मेरो भनाई हो। त्यसमा मैले स्पष्ट भनेको छु, कसैलाई दुविधा हुन सक्दैन त्यस वक्तव्यमा। मेरा वक्तव्यहरु कहिलेकाहीं छाप्थ्यो नि हिन्दुस्तानमा, जसमा यस्तै भनेका आधा भाव छापिदिन्थे, आधा दबाइदिन्थे र मैले भनेको पूरा कुरा नआएर जनतामा विवाद सिर्जना हुन्थ्यो, तर त्यस रविबारको वक्तव्यमा मैले स्पष्ट शब्दमा भनेको छु। कसैले पनि हिन्दी बुझ्दछ भने बुझ्न सक्छ मैले के भनेको छु भनेर। मैले यै भनेको छु —तीनवटा चरणका कामहरु हामीले एकैचोटी गर्नु परेको छ। त्यो अप्ठ्यारो स्थितिमा हामी परेका छौं।

मैले स्टालिनको उदाहरण दिंदा यो भन्ने गरेको छु कि द्धितीय महायुद्धमा हिटलरको आक्रमण हुँदा उसले कम्युनिजमलाई बचाऊन त भन्न सकेन। उसले त्यहाँका जो सेनापतिहरु, जसले नेपोलियनसंग मुकाबिला गरेका थिए, तिनीहरुको नाउँमा तक्माहरु बाँड्यो। जब मान्छेलाई देशै बचाउनुपर्ने खण्ड पर्दाखेरि त कहाँ–कहाँबाट त्यो गाडिएको राजा, त्यो काई लागेका तिनका शालिकहरुलाई टल्काएर, तिनले बनाएको यो देशको रक्षा गर भनेको थियो। जसलाई कठोरक्रूर राजा हो भन्ने गरेका थिए, उसको नाम लिकन सैनिकहरुलाई, जनतालाई प्रेरणा दिएका थिए। मैले त्यो उदाहरण पो दिएको हुँ। मैले राम्रा राजाहरुको उदाहरण दिन सक्थें। मैले आफ्नो तर्कलाई बलियो पार्नको निम्ति मैले कठोरतम राजाको पनि उदाहरण दिएँ र राजतन्त्रको सबभन्दा ठूलो विरोधी जसले राजालाई मार्यो पनि, त्यसले देश माथिको संकट टार्न ती राजाहरुको दुहाई दिएको उदाहरण दिएको हुँ।

यो न भन्ठान्नुस् कि नेपाली काँगे्रस वा प्रजातन्त्रको पक्ष एउटा व्यक्तिले मात्र अडाइ रहेको छ। त्यस्तो ठान्नुभयो भने भन्ठान्नुस् कि नेपालको पनि कुनै भविष्य रहेनछ र प्रजातन्त्रको पनि अब कुनै भविष्य रहेनछ। जस्तोसुकै महत्वपूर्ण लागोस् त्यो व्यक्ति, एल्हे मलाई नै तपाईंहरुले भन्नुहोला, त्यो त जनताको एउटा प्रस्फुटित वा अप्रस्फटित भावनालाई मुखरित गर्ने व्यक्ति हो। त्यो भावना नै छैन भने, त्यो आधार नै छैन भने त्यो व्यक्तिले के गर्न सक्छ? मेरो क्यै अस्तित्व छ, मेरो क्यै रिलिभेन्स छ भने यै कारणले छ कि मैले नेपालको राष्ट्रियताको चुरोलाई समातेको छु। राष्ट्रियताको चुरो नै छैन भने मैले के समात्ने? जनतामा जो आकांक्षा छ, त्यो आकांक्षा घाँटीमा आएर वाणीमा निस्कन पाएको छैन भने त्यसलाई मैले मुखरित गरेको छु। त्यसो हुनाले तपाईंहरुलाई मेरो महत्व महसुस हुन्छ। तर मैले त वाणी मात्र दिएको हुँ। उनीहरुको आधारबाट मैले बोलेकोछु, मलाई उनीहरुले बोल्ने आधार दिएका छन्। म राजासंग टक्कर लिन सक्छु। म त्यो जुन साहसका साथ गर्छु त्यो किन? किनभने जनताको मनोभावनालाई मैले बुझेको छु अरुहरुले कम्ति बुझेका छन्। जबसम्म यो भावना रहन्छ राष्ट्रियताको भावना, जो म भन्दछु मेरो आशावादिताको तमाम आधारनै यस कुरामा छ कि नेपाली जस्तोसुकै भएता पनि अन्ततोगत्वा एउटा ठूलो चट्टान राष्ट्रियताको चट्टानमा अडेको छ। तराईका हुन् वा काठमाण्डौंका अथवा पर्वतका, ती सबैमा त्यो भावना छ। त्यो मैले बुझेको छु। त्यसलाई बिगार्ने कोशिश भइरहेको छ, तर ती कोशिश सफल हुन सकिरहेका छैनन्। किनभने एउटा चुरो न मर्ने न गल्ने, यस धरातलमा राष्ट्रियताको रुपमा रहेकोछ। अर्को कुरो, हामीलाई अधिकार चाहिन्छ भन्ने प्रजातन्त्रको कुरो तराई, काठमाण्डौं, पहाड जहाँका जनतामा पनि विद्यमान छ। त्यसो हुनाले म रहिनँ भने यहाँ राष्ट्रियता पनि सिद्धिएर जान्छ, प्रजातान्त्रिक भावना पनि समाप्त भएर जान्छ भन्ने होइन। मैले त्यस भावनालाई बुझेर वाणी मात्र दिएको छु।

मलाई आफ्नो कुरा भन्न बडो अप्ठ्यारो लाग्दछ। अरुहरुको तुलनामा म त बडो भाग्यमानी रहेंछु। मैले जति काम गरिन, त्यसभन्दा वेशी मैले समर्थन पाएँ–जनताबाट पनि पाएँ, परिवारबाट पनि पाएँ र मेरो पार्टीका साथीहरुबाट पनि पाएँ। अन्तर्राष्ट्रियस्तरमा पनि मेरा मित्र र समर्थकहरु भए। यो व्यक्तिगत सौभाग्यको कुरो लाग्दछ। किनभने मैले त्यस्तो कुनै काम गरेको थिइन जसबाट यति व्यापक समर्थन मलाई प्राप्त होस्। तर एउटा अर्को कुरा छ। म रहुञ्जेल मेरा साथीहरुलाई एउटा नचाहिंदो निर्धक्कता पनि भयो–वीपी छँदैछन् नि भन्ने। त्यसले गर्दा जति कोशिश र जति जिम्मेवारीबाट काम लिनुपर्ने थियो त्यसमा उनीहरुले ढिलाई गरे। म रहिन भने उनीहरुले त्यो ढिलाई गर्न सक्दैनन्। गरे भने उनीहरुको अस्तित्व पनि सिद्धिन सक्छ। खालि मैले यति भनेको छु, उनीहरुलाई पनि त सबैलाई, यो राष्ट्रियताको भावना जुन हरेक नेपालीको मुटुमा छ, अर्काको दलाली गर्दा पनि उसलाई भित्रको मुटुमा चस्कँदो होला, त्यो राष्ट्रियताको जो एउटा नगल्ने चुरो छ, त्यसलाई तपाईंहरुले बिर्सन हुँदैन। त्यसो हुनाले राष्ट्रियता र प्रजातन्त्रलाई जोड्न सक्ने जुन नीति छ राष्ट्रिय एकताको, त्यस नीतिमा तपाईहरु अड्नुभयो भने कसैले हामीलाई फुटाउन सक्दैन। त्यसो हुनाले मलाई यति ठूलो शक्तिको आधार छ। हामीहरुले यस रिजाभ्र्वायरलाई–पानीको जलाशय जस्तो छ राष्ट्रियताको आधार, मैले त्यसलाई बुझेको छु।

मेरै जीवनलाई पनि उदाहरण दिऊँ भने मैले राणासंग झगडा गरें, हिन्दुस्तानसंग झगडा गरें, राजासंग झगडा गरें, मैले जति दुःख पाएँ, त्यो कम्ति मान्छेले पाए होलान्, मर्ने मान्छे त मरेर गइहाले।

मैले अप्रिय कुरा बोलेको भन्दछन्। मैले अप्रिय कुरा बोलेको छैन। मैले त जनभावनालाई बुझेर उनीहरुको कुरा बोलेको छु।

अहिले सबभन्दा मौलिक कुरो हामीहरुलाई के चाहिएको छ भने यो समाजमा बस्दाखेरि वा एउटा समूहमा बस्दाखेरि पहिला शर्त सम्बन्धहरुको हुन्छ स्वतन्त्रता। मेरो मनमा लागेको कुरा म समाजमा भन्न पाऊँ भन्ने भावना स्वतन्त्रताको मूलभूत भावना हो। राजनीतिको सबभन्दा पहिलो शर्त छ, मानिसले आफूलाई लागेको कुरा भन्न पाओस्। अर्को शर्त के हुन्छ भने यसरी विभिन्न विचारधाराको संघर्ष समाजमा होस्, जनताले ती विभिन्न विचारधारालाई बुझून्, अनि निर्वाचन होस्, निर्वाचन भएर जुन विचार धारालाई जनताले रुचाएको छ, त्यसको सरकार बनोस् र त्यसले ऐन कानुन बनाओस्। प्रारम्भिक प्रस्थान बिन्दु नै, त्यसको सबभन्दा पहिलो शर्त छ, बोल्ने लेख्ने हामीलाई स्वतन्त्रता होस्। त्यसो हुनाले त्यो अधिकार प्राप्त नभईकन यो भन्नु कि किसानलाई जमिन देऊ, त्यो त बोल्ने अधिकारै छैन। या किसानले जमिन पाओस् भनेर म भनौं भने, मलाई बोल्ने स्वतन्त्रता त हुनुपर्यो। त्यसो हुनाले यो आर्थिक कुरो उठ्नुभन्दा पहिले आर्थिक कुरो राख्ने अधिकार चाहियो—जनसमक्ष आर्थिक कुरो राख्ने अधिकार चाहियो।

अब तपाईंले सोध्नु होला, यो अधिकार तिमीले पायौ भने तिम्रो आर्थिक ढाँचा कस्तो होला? भोलि हामीले चुनावमा भाग लियौं त्यस्तो चुनाव, त्यस्तो पार्लियामेन्टको चुनाव, जसमा साँच्चि नै ऐन कानून बनाउने अधिकार रहला, हामीले आर्थिक कार्यक्रम त दिनै पर्छ।

इङ्गल्याण्डमा वा अमेरिकामा आर्थिक प्रश्नहरुको कुरा गर्दा डलरको कूल आम्दानी यति छ, त्यसलाई कुन कति मदमा कति दिने या बाँड्ने, जस्तो हातहतियारको निम्ति यति, शिक्षा दीक्षाको निम्ति यति स्वास्थ्यको निम्ति यति, प्रशासनको निम्ति यति भनेर त्यो राशीको बटवाराको प्रश्न छ वहाँ। हामीहरुकहाँ त राशी नै छैन। बटवाराको त कुरै छैन ती कुराहरुको लागि। हामीहरुसंग पैसा पनि छैन। त्यो राशी बनाउने उपाय चाहियो। प्रारम्भिक अवस्थाको हाम्रो आर्थिक स्थिति छ। त्यसो हुनाले प्लानिङ्गको विचार गर्ने हो भने त हामीहरुको साधन के छ? हिन्दुस्तानका करदाता वा अमेरिकाका करदाताहरु त हाम्रा साधन मान्न सकिदैन। हामीहरुको साधन जमिन छ। हाम्रो साधन जमिन छ भने जमिनको उब्जनी बढाएर मात्र त्यो साधन जुटाउन सकिन्छ, जसको आधारमा हामीहरु विकास गर्न सक्छौं। त्यसो हुनाले, साधनको प्रश्न उठ्दाखेरि जमिन भन्छौं। जमिनको उत्पादन बढाउने भन्नासाथ पानी चाहियो उत्पादन बढाउनलाई कुलो, नालाको व्यवस्था गर्नुपर्यो। अनि अर्को कुरा आउँछ राम्रो बिउको। त्यसपछि कुरा आउँछ खाद मलको। यसरी क्रमैसंग प्राथमिकता निर्धारित हुन जान्छ।

अनि त्यस संगसंगै अर्को कुरा उठ्छ–जमिनको स्वामित्व कसलाई दिने जसले उत्पादनको प्रक्रियालाई बढाओस्। ठूला भूमिपतिको जिम्मामा जमिनको उत्पादन राख्ने कि जोत्ने मान्छेलाई नै स्वामित्व दिने? स्वामित्व दियो भने आफ्नो मायाले गर्दा त्यसले उत्पादन बढाउँछ। यो फेरि अर्को प्रश्न हो। तर जमिनको उत्पादनको त्यै प्रारम्भिक कुरा गर्दा यो सजिलो कुरा छैन। मैले कार्यक्रम बनाएर जमिनको उत्पादन बढाउँछु भन्ने घोषणा गरेर मात्र त हुदैन। मैले योजना दिन सक्नुपर्छ कसरी बढाउने भनेर। बाहिरबाट आएको जो राशी छ। मेरो अधिकार भयो भने मेरो पहिला प्राथमिकता जमिनको उब्जा बढाउनुमै हुन्छ। कुलोनालाको व्यवस्था गर्ने, खादको व्यवस्था गर्ने। अनि अर्को के छ साधन हाम्रो? हाम्रा नदिनालाहरु छन्। धेरै ठूलो शक्तिको श्रोत छ त्यो। त्यसको हामीले विकास गर्नुपरेको छ। त्यो विकार गर्नलाई के चाहियो? त्यो हामीले गर्न सक्ने हुनुपर्यो। वनजंगल छ। त्यो पनि एउटा साधन छ हामीहरुको। अनि, हामीहरुको शारीरिक शक्ति छ–बाहुबल। यै चारवटा प्रमुख साधनहरु छन्। हामीहरुसंग कुनै ठूलो खनिज पदार्थ छैन। हामीहरु कहाँ तेल निस्केको छैन। हामीहरुसंग उद्योग–धन्धाहरुको लागि चाहिने खनिज पदार्थ छैन। हामीहरुको साधन त जमिन भयो, मान्छेहरु भए, पानी र वनजंगल भयो, यी चारवटा मुख्य साधनहरुको आधारमा हामीहरुले विकास गर्नुपरेको छ। अहिले विकासका जो योजनाहरु बनेका छन्, त्यसमा यी कुराहरुलाई ध्यानै दिइएको छैन। यो साधनको कसरी विकास गर्ने? तर्फ ध्यानै दिइएको छैन।

विकासको जुन मोडेलको म चर्चा गर्दैछु, त्यसमा अहिले धेरैले चर्चा गर्न थालेका छन्। अहिले धेरैको ध्यान गएको छ। अमेरिकाको र युरोपको अर्थव्यवस्थाको सबभन्दा ठूलो कमजोरी, उनीहरुसंग तेल छैन, पेट्रोल छैन। पेट्रोल अरब मुलुकमा छ। पेट्रोलमा उनीहरुको अर्थव्यवस्था निर्भर छ। पेट्रोलको दाम बढाईदिने बित्तिकै त्यहाँका सारा कुराको दाम बढ्न थाल्छ। त्यहाँ पनि मनिसहरुले सोच्न थालेका छन्–अर्को किसिमको उर्जा सम्भव छ कि छैन? तेल नभएर पनि चल्ने मेशिन हुनसक्छ कि सक्दैन? हामीहरुले त अहिलेदेखि नै सोच्न थाल्नु परेको छ उर्जा सम्बन्धमा। सूर्यको उर्जा, नदी पानीबाट उत्पन्न हुने उर्जा, त्यसलाई उपभोग गर्नुपर्ने योजनातर्फ ध्यान जानुपर्छ।

अमेरिकाको टेक्नोलोजी त अब त्यहाँको निम्ति पनि सोचनीय अवस्थामा पुगेको छ। हामीहरुले त्यस टेक्नोलोजीको अन्धाधुन्ध आयात गर्ने होइन। आज तृतीय विश्वमा त्यसको चर्चा असाध्यै छ। जस्तो घर बनाउने कुरा लिऊँ। यहाँ कुनै वस्तु छैन बाहिरबाट नआएको। छड, सिमेण्ट, इन्जिनीयर। त्यसले गर्दा के भएको छ भने हाम्रो एउटा घर बनाउनको लागि पनि हामी बाहिर निर्भर गर्नु नपरोस्। भोजन, कपडा, आवास, शिक्षा, स्वास्थ्य–यी हाम्रा प्रारम्भिक आवश्यकताहरु हुन्। यी कुराहरु हाम्रै मुलुकमा प्राप्त साधनहरुको आधारमा पूरा हुनु पर्दछ।

फ्रान्समा बडो ठूलो विवाद उठ्यो। त्यहाँको अर्थमन्त्री मेरो मित्र रोकार्ड भन्ने। त्यो बडो डाइनेमिक। ऊसंग कुरा भयो। तिनीहरु र प्रधानमन्त्रीमा ठूलो मतभेद छ–आर्थिक योजनाको निम्ति। मतभेद यहाँसम्म छ कि रोकार्ड भन्छ हामी मन्त्रिमण्डलबाट राजिनामा दिन्छौं। मुख्य कुरा के रहेछ भने त्यहाँको योजनामा कतिसम्म समाजवादको छुट दिने। समाजवादको ओखती, तितो ओखती जनताको घाँटीमा कति हाल्ने? किनभने अर्को सातवर्षपछि त चुनाव गर्नुपर्छ। त्यसमा बहस छ उनीहरुको। त्यहाँ कम्युनिष्टहरुसंग पनि छ उनीहरुको मतभेद जो हाल सरकारमा छन्। मतभेदको एउटा बुँदा नेटो सम्बन्धी कुरालाई लिएर। अर्को कुरा छ रुससंगको सम्बन्धलाई लिएर। त्यहाँ सोसलिष्टहरु चुनिंदा कम्युनिष्टहरुको मद्दत बेगर चुनिएका थिए र कम्युनिष्टहरुको मद्दत बेगर उनीहरु सरकार बनाउन सक्थे, त्यसमा कम्युनिष्टहरुलाई सामेल गर्ने जरुरत थिएन। मजदूरहरुमा कम्युनिष्टहरुको प्रभाव छ। शर्त के राखे भने तिमीले हाम्रो विदेशनीतिलाई समर्थन गछौं भने, हाम्रो आन्तरिक नीतिमा पनि समर्थन गर्छौ भने र रुषसंग तिम्रो सम्बन्ध रहँदैन भने तिमीहरु सरकारमा आऊ।

यहाँका कम्युनिष्टहरुसंग मेरो मतभेद दुई तीन कुरामा छ। एउटा कुरा के छ भने रुषबाट सञ्चालित नहोऊ। अर्को कुरा बहुदलीय व्यवस्थामा विश्वास राख। यी कुराहरु मानेपछि त अरु मतभेद त्यति ठूलो छैन। संसदीय व्यवस्था भन्ने बित्तिकै यिनीहरु सरकारमा आएर पनि अरु पार्टीको स्वतन्त्रता कायम राख्छन् भने उनीहरुसंग मेरो धेरै ठूलो मतभेद रहँदैन। जनताले राजनीति, कार्यक्रम र औचित्यबाट निर्णय लिन पाउने स्वतन्त्रता तिनीहरुले माने भने मतभेद त सामान्य कुराका होलान्– आर्थिक कार्यक्रमको सम्बन्धमा होला। उनीहरु भन्लान् जमिन जोत्नेको हुनुपर्छ, हामीहरु भनौंला अहिले जमिनको उत्पादन बढाउनु जरुरी छ। त्यो त कार्यक्रमहरुको कुराको मतभेद हो। हामी नेपाली काँग्रेसले पनि आर्थिक पक्षमा कार्यक्रम बनाउनु पर्यो भने विभिन्न विचारधाराहरु आउलान्, तर मौलिक मतभेद उनीहरुसंग त्यै दुई चार कुराहरुमा छ। तानाशाही व्यवस्थालाई उनीहरुले त्याग्नु पर्छ र आफ्नो पार्टीको लागि आदेश बाहिरबाट लिन हुँदैन, जनतैबाट लिनुपर्छ।

राजतन्त्रका साथ समाजवाद चल्न सक्छ भन्छन्। समाजवादको अहिले सबभन्दा ठूलो नमूना स्वीडेनमा छ – त्यहाँ राजतन्त्र छ। मलाई त के लाग्दछ भने असल राजा भयो भने चुनावबाट आएर सरकारलाई सजिलो हुन्छ। चुनिएर आएको राष्ट्रपति भयो भने र चुनिएर आएको प्रधानमन्त्री भयो भने शक्तिको कुरामा को ठूलो भन्ने उठ्ला। दुबैले भन्लान् म पनि जनताबाट चुनिएर आएको। त्यो कुरो अलिकति परेको छ हिन्दुस्तानमा। राजेन्द्र बाबु र जवाहर लालजीको बीचमा पनि त्यस्तो कुरा परेको छ। त्यसो हुनाले राजा यथार्थमा वैधानिक भएर बस्न सक्छ भने त्यो जस्तो सजिलो वैधानिक राष्ट्राध्यक्ष अरु कुनै हुन सक्दैन।

ऐल्हेसम्म जति कम्युनिष्टहरुको उदाहरण पाइएको छ, त्यसमा आफू बाहेक अरु कसैलाई ठाउँ छैन। राजालाई मात्र होइन कि हामीहरु जस्ता मान्छेहरुलाई पनि कुनै ठाउँ छैन।

अर्को कुरा। चुनाव हुँदा कुनै पार्टीले पाँचवर्षको लागि जित्यो रे। जित्यो भने उसले संविधानलाई नष्ट गर्न पाउँदैन। हामीहरुले जित्यौं, अब हामीहरु सधैभरि बस्छौं भनेर संसदमा बहुमत भएको दलले भन्ला रे। त्यो गर्छ भनेर नै राजा चाहिएको हो। कुनै पनि पार्टीले बहुमतबाट जितेर आएर पार्लियामेन्टमा एउटा तानाशाही व्यवस्थाको सुरुवात गर्यो भने? दुनियामा धेरै तानाशाही चुनावबाट आएको थियो। हिटलरसम्म पनि चुनिएर आएको थियो। त्यसो हुनाले त्यो नहोस् भन्नको निम्ति एउटा राष्ट्राध्यक्ष चाहिन्छ। ऊ कुनै पार्टीसंग सम्बन्धित हुनु हुँदैन, तर संविधानको रक्षा त्यसको जिम्मेवारी हुन्छ। त्यो काम ज्यादा सजिलोसंग राजाले गर्न सक्छ, बनिस्पत चुनिएर आएको राष्ट्राध्यक्षले।

२० मंसिर २०३८

Back