"राजा मात्रै हार्दैन", वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)
Print Friendly and PDF

मेरो त मान्यता भन्नोस या चार्ज नै छ कि दरबारभित्र नै त्यो तत्व घुसेको छ। तपाईं एउटालाई झिक्नुहुन्छ त्यै किसिमको अर्को मान्छे त्यहाँ आउँछ। तपाईंले विराटनगरको अञ्चलाधीशलाई कम्युनिष्ट भनेर झिक्नुभयो, त्यहीं पठाउनु हुन्छ तेस्तै मान्छे। त्यो नियुक्त गर्ने मान्छे, दरबारमा जसले नियुक्त गराउँछ, राजाले हो नियुक्त गर्ने, प्रधानमन्त्रीले नियुक्त गरेको होइन नि, वैधानिक अर्थामा त प्रधानमन्त्री हो, महाराजाधिराजको सबभन्दा ठूलो सल्लाहकार, तर यहाँ त्यो चल्दैन। त्यसो हुनाले, दरबारभित्र को सल्लाहकार छ यी सब कुरामा? कसको खटन पटनबाट यहाँ गारद नियुक्त हुन्छ? त्यो राजाको खटन पटनबाट त हुँदैन। कसको खटन पटनबाट यहाँ गारद नियुक्त हुन्छ? त्यो राजाको खटन पटनबाट त हुँदैन। कसको खटन पटनबाट अञ्चलाधीश बर्खास्त हुन्छ, बदलिन्छ? त्यो तत्व नै, मानिलिऊँ, दूषिद छ भने, तपाईंले एउटालाई औंलो देखाएर प्रमाणित गरिदिनुस् यो बदमाश हो भनेर, त्यो हट्छ फेरि त्यस्तै किसिमको अर्को मान्छे जान्छ। या त त्यो मान्नुपर्छ।

तपाईं जहाँ चाहनुस् जान सक्नुहुन्छ। तपाईं आज चाहनुस् प्रधानमन्त्री कहाँ जान्छु, र घण्टौं कुरेर भएपनि प्रधानमन्त्रीलाई भेटेर आउनुहुन्छ। राजा जहाँ चाहोस् जान सक्दैन। राजाको दृष्टिमा के कुरा पर्नुपर्छ, त्यो राजाको अगल बगलमा बसेका मान्छेले पार्छन्। कुन अखबार राजाले पढ्ने? राजाले सबै अखबार पढ्दैनन्। कुन कुरा राजाको सामुन्नेमा जानु पर्ने हो, त्यो टीक मार्क गरेर वा कटिङ्ग काटेर उनको सामने राखिन्छ। राजाले के कुरो सुन्ने हो, त्यो पनि पहिलेदेखि नै तयार भएर जान्छ। मैले के भन्न खोजेको भने राजदरबार नै दूषित भएर बसेको छ भने राजदरबार भित्र नै त्यो तत्व अडेर बसेको छ भने राजाले के गर्न सक्छन्? मलाई यै कुरो सोद्धछन् मेरा साथीहरुले, तपाईले भनेको कुरा राजाले किन बुझ्दैन? जताततैं यो चर्चा छ। राजाले किन बुझ्दैन त भनेर। एक त राजाले नबुझेको पनि भन्न सकिन्न। म आज बोलिरहेको छु। मैले राजासंग निगाहा मागेर बोलेको छैन। त्यो त राजाले बुझेकै जस्तो मलाई लाग्छ, र कमसेकम त्यो तत्व, जसले वाहियात अञ्चलाधीशहरु बनाउँछ र खटाउँछ, त्यसको चल्दो रहेनछ मेरो सम्बन्धमा। त्यो चल्दो रहेनछ। मेरो सम्बन्धमा भन्दा केवल मैले राजाको पक्ष लिएँ भनेर स्वतन्त्रता छैन। मनमोहनलाई पनि स्वतन्त्रता छ। त्यहाँ पनि चल्दो रहेनछ। एउटा सकारात्मक पक्ष रहेछ दरवारभित्र जसले हामीहरुलाई यति स्वतन्त्रता दिएको रहेछ। राजाको सम्बन्धमा मैले त्यस्तो कटुवचन बोलेको छु। मैले भनेको छु राजाले देशघाती काम गरेका छन्। यो त ठूलो चार्ज हो, छाप्न नसकिने। त्यो छापियो। कतैबाट संरक्षण पाइयो होला नि। त्यो सकारात्मक पक्ष राजाको किन देख्नुहुन्न?

जब म भन्दछु, राजाले २०१७ साल पुष १ गतेका दिन यो विदेशीहरुलाई प्रवेश गर्ने मौका दिए र आफै बाँधिए। त्यसो हुनाले यो ठूलो देशघाती काम उनीबाट भएको छ। प्रजातन्त्र मारे भन्ने मात्र छैन भन्ने कुरा मैले भनेको छु। एउटा पक्ष छ, सकारात्मक, त्यो पनि हामीले देख्नु पर्दछ। पूरा नकारात्मक पक्ष हेर्ने होइन।

राजाले दिएनन् भन्छन्। साँच्चै भनौं, म बडो इमान्दारिता साथ भन्दैछु। मैले अस्ति पनि भनें, आज पनि भन्न चाहन्छु। राजासंग मैले के माग्ने? 'राजासंग किन भेट्दैनौ?' मलाई भन्छन्। 'राजाले भेट्नु त पर्ने तिमीसंग' भन्दछन्। राजाले दिनसक्ने कुरा र मेरो हातमा अटाउन सक्ने कुरा राजाले दिइसकेका छन्, तर राजा एउटै कुरो गर्नलाई तैयार छैनन्। त्यो मैले बुझेको छु। मसंग पावर शेयर गर्न तैयार छैनन् किनभने, उनी भन्ठान्छन्,यसको जुन जमात छ, त्यो जमातमाथि मलाई विश्वास छैन। मसंग भनेका छैनन्, तर क्रियाकलापले यो म बुझ्दछु। त्यसो हुनाले वीपी कोइराला भन्छन् तिमीले आफ्नो हातमा राखेको अधिकार पार्लियामेन्टलाई देऊ। त्यसो हुनाले तिनीले यसपालि दिएको संविधान हामीलाई स्वीकार्य भएन। हामीहरु मान्ने पनि थियौं, तर २।४ वटा व्यवधान त्यसमा राखिदिए, हामीले मानेनौं। हामीले स्वीकार गरेनौं।

राजा के भन्छन् भने–भैगो, तिमी नमान। म तिमीसंग पावर पनि शेयर गर्न चाहन्न। किनभने तिमीले ज्ञान पुर्याएर यो संविधान मानेको भए प्रधानमन्त्री कुन तत्व हुने थियो? मैले सबैलाई भनेको थिएँ, परशुनारायण चौधरी हाम्रोतर्फबाट हुने थिए। अब राजाले मलाई सोध्लान्, परशुनारायण चौधरी तिम्रो मान्छे हो कि हिन्दुस्तानको मान्छे हो? कसको मान्छे रहेछ? तिम्रो जमातमा यस्ता मानिसहरु छन्। अहिले तिमीले टिकट दिएको भए अधिकांश यस्तै पथ्र्यो। त्यो त तिमीले बुद्धि पुर्याएर मैले दिएको संविधानलाई बहिष्कार गर्यौ। राजाको भनाई त त्यो होला। जबसम्म शुद्ध प्रजातान्त्रिक राष्ट्रिय चरित्र भएको संगठन तिमी बनाउँदैनौं, म तिमीसंग पावर शेयर गर्दिन र अधिकार आफ्नो हातमा राख्छु। तिमीसंग पावर शेयर गर्ने मतलब त साँच्चै पावर शेयर गर्ने हो। अहिले प्रधानमन्त्रीसंग पावर शेयर गरेको जस्तो होइन। त्यसो हुनाले, त्यस कुराको लागि तिमी अहिले तयार छैनौं।" यो अगर राजाले भने भने मैले के जवाब दिने?

हामीहरुले यसपालि चुनाव लडेको भए, पचास भन्दा बेसी त्यो तत्व आउने थियो जो अहिले परशुनारायणसंग गएको छ। म त त्यहाँ हेरिरहेको छु। जब त्यो राजाले बुझेका छन् र भन्छन् तिमीलाई मैले मौका दिइरहेको छु। तिमी आफ्नो संगठन, राष्ट्रियताको जुन कुरा भनिरहेका छौं, आफ्ना कार्यकर्तालाई आफ्नो टिकट जसलाई दिन्छौं कमसेकम यो खाँदिएर यो विचार जुन दिन जाला, त्यस दिन मलाई भन, संविधान बदल र पावर पार्लियामेन्टलाई देऊ–म दिन्छु भनेर राजाले भने मैले के जवाब दिने? अहिले म तिमीसंग पावर शेयर गर्दिन।

राजाको हात दुई किसिमबाट बलियो हुन सक्छ एउटा राजा महेन्द्रले भनेको उपायबाट र अर्को मैले भनेको उपायबाट। राजा महेन्द्रको उपायको परिणाम आज उनी भोगिरहेका छन्। आज राजाको पक्षमा बोल्ने कोही मान्छे छैन। मैले आजसम्म एउटा मान्छे भेटेको छैन राजाको पक्षमा बोल्ने। दरबार भित्र म जान्दिन। एउटा सम्पादक, एउटा शिक्षक एउटा कुनै पेशेवर मानिस म पाउँदिन। मलाई पक्ष लिने मानिस भन्छन्, जसले उनको संविधानलाई स्वीकार गरेन। मलाई पक्ष लिएको भन्छन्, मेरो अखबार खोल्न पाउँदिन। राजालाई आक्रमण गर्ने अखबार नाउँ बदलि–बदलिकन आउँछ। कानून मिचि–मिचिकन निस्किन्छ, तर एउटा सिद्धान्तको आधारमा राजतन्त्र र प्रजातन्त्रको व्याख्या गर्ने कुनै पनि अखबार छैन। छ कुनै अखबार? मलाई आक्रमण भइरहेको छ हिन्दुस्तानबाट प्रभावित अखबारद्धारा। त्यो के मलाई आक्रमण गरेको हो? त्यो मलाई हो कि राजालाई हो? तिनको उद्देश्य मलाई सिध्याउने होइन, तिनको उद्देश्य त राजालाई कमजोर पार्ने हो। अहिले त्यो स्थिति छ, जो मैले भनेको विचार हाम्रा पार्टीका साथीहरुले बुझून् कि अहिलेको स्थितिमा कसरी विदेशीहरुको घुसपैठ व्यवस्थाभित्र भइरहेको छ। हाम्रो विराटनगरको अञ्चलाधिशलाई कम्युनिष्ट भनेर झिके, त्यहाँ पठाउँछन् फेरि उस्तै। नियुक्त गर्ने अधिकार कोसंग रहेछ, कसको सल्लाहबाट त्यसको नियुक्ति भएको छ?

मैले उदाहरण दिएँ इण्डोनेशियाको। मैले एडितको उदाहरण दिए। एडित यहाँ छलफलमा आएको छ म २०१७ सालमा जेलमा परेपछि। एडितको फर्मूला यहाँ लागू हुनुपर्छ भनेको छ र त्यै कुरो यहाँ हुन थालेको छ।

यसपालि, चुनावमा, राजाले जिते? हामीहरुले त चुनाव लडेनौं तर राजाले पनि जितेनन्। जितेर आएको एउटा मान्छेले भनेको मलाई, नेहोरामाथि नेहोरा गरेपछि त्यो त समर्थन गर्छु भनी अहिले प्रधानमन्त्रीलाई मैले समर्थन गरेको हुँ। दरबारले नेहोरा गर्नुपर्यो। त्यो परिस्थिति छ।

त्यसो हुनाले, हामीहरुले राजालाई आक्रमणको निशाना बनाउनुको सट्टा यस समस्यापट्टि हामीहरुको ध्यान जानुपर्यो। मेरो त्यति मात्रै भनाइ छ। राजासंग हाम्रो लडाई सिद्धियो भनेको छैन। त्यो लडाईंको विषयलाई सिमाबद्ध राख्नुपर्छ हामीले। त्यसभन्दा बेसी फैलिन दिनु भएन। केको लडाई छ, अधिकार पार्लियामेन्टलाई बेसी दिनुपर्यो भन्नेमात्र छ। अनि नचाहिंदा आरोप उनीमाथि लगाउन हुँदैन। मलाई एकजनाले भने, हृषिकेश शाहले। तपाईंलाई भ्रान्ति भइरहेको छ विदेशीहरुको। मैले भनें,"शाहजी अचेल तपाई के राजनीति गरिरहनु भएको छ?" मेरो शाहजीसंग राम्रो सम्बन्ध छ। म यहाँ आउँदाखेरि धेरैले मलाई आक्रमण गरे, शाहजी मात्रै त्यस्तो राजनैतिक व्यक्ति हुन्, जसले मेरो विरोध गरेनन्। तिनले गुन लगाए भनेर मैले भनेको होइन। तिनको बहुलठ्ठिपनको त्यो पनि प्रमाण हो। ती सबैले मलाई आक्रमण गर भनेको बेलामा–'म गर्दिन' भने।

यहाँ मसंग अस्ति ४ घण्टा बसेर कुरा गरेर गए। मैले उनलाई सोधें, मलाई तपाई देख्नुहुन्छ, भ्रान्ति भएको, विदेशी तत्वका प्रति भ्रान्ति भएको र धेरै विदेशीहरुको प्रभाव बढ्यो भन्नुहुन्छ सबैलाई अराष्ट्रिय भन्नुहुन्छ भनेर मलाई भने।

मैले भनें,"म देख्छु, त्यसो हुनाले भन्छु।" मैले उहाँलाई सोधें,"तपाईं अचेल के गर्नुहुन्छ? तपाईंको राजनीति के छ?"

उनले भने,"मेरो दुईवटा राजनीति छ। राजालाई कमजोर गर्नु र एथनिक ग्रुपहरुलाई उठाउनु। एथनिक ग्रुप भनेको मदिशे, पहाडी, राई लिम्बू इत्यादी।"

मैले भनें,"तपाईं त बडो राष्ट्रिवादी हुनुहुन्छ। त्यसो हुनाले, तपाईंलाई एट्याक गर्न भएन, तर हिन्दुस्तानले यहाँ हामीलाई कमजोर गर्नुपर्यो भने कुन स्ट्रेटेजी अपनाउला? यै गर्छ कि गर्दैन।"

यो भन्दा उनले भने,"यै गर्छ।" उनको साथमा आएका थिए वीरेन्द्र केसरी। उनले भने "यै गर्छ।"

अनि मैले भनें,"म तपाईलाई देखिरहेको छु। विदेशीहरुको हतकण्डा जस्तो भएर काम गरिरहनु भएको। तपाई आफूलाई देखिरहनु भएको छैन। तपाई भन्नुहुन्छ प्रजातन्त्रमा त त्यो गर्नुपर्छ। राजालाई कमजोर पार्नुपर्छ र एथनिक ग्रुपलाई उचाल्नु पर्छ। मेरो नजरमा के लाग्दछ भने तपाई अराष्ट्रिय काम गरिरहनु भएको छ।"

अहिले त उनी गइरहेको छन् अर्को अराष्ट्रिय काम गर्न। विद्यार्थीहरुको सम्मेलन, विदेशीबाट सञ्चालित विदेशीहरुको पैसा खाएर जो संगठन भइरहेको छ, त्यसको अध्यक्षता गर्न राँची गएका छन्। मलाई भन्थे–राँचीमा विद्यार्थीहरुको सम्मेलन हुँदैछ, म त्यहाँ जाँदैछु। अब उनी मलाई भन्दछन्–मलाई भ्रान्ति भइरहेको छ। म देखिरहेको छु विदेशीहरुको गतिविधि। म देखिरहेको छु अखबारहरु उनीहरुले चलाएको। आखिर त विदेशी भनेको, रसियन भनेको त उनीहरु आफैले काम गर्ने त होइन नि। उनका एजेण्टहरुले न गर्ने हुन्।

म अखबार गनाइदिन सक्छु कुन रुसको, कुन इण्डियाको र कुुन कसको? तपाई गनाउनूस्, कुन राष्ट्रवादी अखबार छ? जबाव छैन क्यै। उनीहरुको क्यै जबाव छैन। मेरो अचेल त्यतापट्टि ध्यान छ कि यो खतरा हामीहरुमाथि आएको छ। त्यस खतरालाई होइन भन्छन्।

एक दुईजनाले भने, होइन, यत्रो ठूलो शक्तिको खिलाफ गर्दा तपाईंले संगठन गरेर सक्नुहुन्छ। मिचिदिदैन। मैले भनें, राजालाई मिच्न तपाई तयार हुनुहुन्छ। या, राजाको खतरा तपाईलाई लाग्दछ रुसले बचाइ देला। राजाले मलाई क्यै गर्यो भने मलाई रुसले बचाउँछ। इण्डियाले बचाउँछ भन्ने ठान्नुहुन्छ, तर तपाईं रुसदेखि तर्सेर भन्नुहुन्छ म राजालाई नबचाउँ? यो त म गर्न सक्दिन नि।

अर्को एकजना छन्। सरकारी माध्यमबाट उहाँको आम्दानी छ। ठूल–ठूला घर बनाइरहनु भएको छ। राजाको खिलाफ बाल्नुहुन्छ र किताब छाप्नु हुन्छ, तर उहाँका सारा क्लाइन्टहरु सरकारी छन्। उहाँ तर्क के प्रस्तुत गर्नुहुन्छ भने राजा बदमाश हो। अब उहाँलाई कसको प्रोटेक्सन छ? राजा बदमाश भनिकन सरकारी रुपैयाँबाट उहाँ ठूल–ठूला घरहरु बनाउनु हुन्छ। अनि, एकजनासंग कुरा के गर्नुभएछ भने वीपीलाई छुट किन भयो भने उहाँ त राजावादी भएकोले। मेरो पक्षको मानिसले उहाँलाई भने छ, मनमोहनलाई नि? अनि उनी भन्दछन्, त्यो त अर्को कुरा हो।

मसंग मनमोहनले भनेका छन्,"तपाईंभन्दा अलि लेफ्टपटि गएर म राजालाई एट्याक गर्छु।" ऊ एट्याक गर्दैछ। उसलाई पनि छुट छ। त्यो बताउँदा, त्यो त अर्कै कुरा रे।

यस्तो तर्क प्रस्तुत गरेर कसलाई ठग्न खोज्दैछन्? र कस्तो भ्रम यहाँ पार्न खोजेका छन् भने, यी अखबारवालाहरु र यस्ता बुद्धिजीवीहरुले। तिनै बुद्धिजीवी हुन्, जो भन्छन् म राजावादी भएकोले मलाई छुट र मनमोहनलाई भएको छुट अर्कै कुरा रे। तिनले नै प्रस्तुत के गरे भने यहाँ चुनावको बखतमा, नानीमैया दाहालले जितेको जनताको समर्थनबाट र जोगमेहरले जितेको झूठो भोटबाट। मैले भनें, एउटै बैलेटमा नानीमैयाँलाई पनि छाप लागेको छ, जोगमेहरलाई पनि। त्यो के हो नि? नानीमैयाँलाई लागेको साँचो भोट हो रे र जोगमेहरलाई लागेको झूठो हो रे। त्यस्तो तर्क प्रस्तुत गरेर आफूलाई बुद्धिजीवी भन्छन्। म त उनैसंग सोध्ने भएको छु–तपाईंलाई कसको प्रोटेक्सन छ? राजाको खिलाफ बोलेर तपाईं सरकारी बेतन पाइकन तपाईं घरहरु बनाइरहनु भएको छ। मैले त्यो जान्नु पर्यो।

नेपालको परिस्थितिलाई बुझ्ने हो भने १९६० दशकको सुकार्ने र कम्युनिष्टहरुको सम्बन्धलाई बुझ्नु जरुरी छ। कसरी आत्मश्लाघा चाहने त्यो मनिस थियो। त्यसलाई अरु कुनै कुरा चाहिएको थिएन। केवल आफ्नो बडाई मात्रै चाहिएको थियो। त्यो कुरो कम्युनिष्टहरुले बुझेका थिए। अनि उनीहरुले रणनीति बनाए, त्यसलाई बडाई गर्ने। ऊ मुसलमान थियो, उसको इस्लामलाई पनि मान्ने शर्त थिए, उनीहरुले त्यो शर्त पनि मानिदिए। यहाँको परिस्थिति बुझ्नु छ भने त्यसबखतको इण्डोनेशियाको परिस्थिति पनि बुझ्नुपर्छ। त्यो बुझियो भने, यहाँका कुराहरु पनि बुझिन्छ।

अनि पहिलेका राजा। म जेलमा बसेको थिएँ। एकजनाले तारिफ गर्दा गर्दै यहाँ उनको नाउँबाट सम्बत् चलाउने सुझाव दिए। बाहिरबाट एउटा लेखक बोलाएर उनको कवितामाथि एउटा किताब लेखियो। भारतीय दर्शनका उपनिषद्का राम्रा श्लोकहरुसंग तिनका कविताहरुको तुलना गरिएको छ। मलाई जेलमा पठाई दिएका थिए। उनको कवितामाथि एउटा किताब लेखिएको छ। र, कविता त्यस्तो हलुको कविता कि त्यसलाई कविता मानिदैन। त्यस कविताको बारेमा के लेख्छ भने त्यो बाहिरबाट आएको लेखकले– कि उपनिषदका ठूल–ठूला ऋषिहरुका जुन कविता छन् त्यस श्रेणीको यो कविता हो। त्यस्तो आत्मश्लाघा चाहिएको व्यक्तिलाई, सरकारको जय–जयकार गरेर ठग्न सकिन्छ भन्ने कुरा उनीहरुले बुझे।

राजाले पावर शेयर गर्न चाहेका छन् हामीहरुसंग तर अहिलेको शर्तमा। हामीहरुले चाहेनौं। हामीहरुले यो देख्यौं र राजाले पनि यो देखून् कि अहिले प्रजातन्त्रको कुरा होइन, देश बचाउने कुरा हो। जस्तो युद्ध भएको सन्दर्भमा, अहिले प्रजातन्त्रको कुरो आउँदैन, तिमीले मलाई सहयोग दिनुपर्यो भनेको खण्डमा हाम्रो के लाईन हुन्छ? राजा हामीसंग पावर शेयर गर्न तैयार छैन जबसम्म साँचिकै प्रजातान्त्रिक पक्ष अरुबाट उचालिएका नानीमैयाँ दाहालजस्तालाई उचाल्ने पक्ष होइन। राष्ट्रिय पक्ष जबसम्म बलियो हुँदैन, ऊ हामीसंग पावर शेयर गर्न तयार छैन। त्यसो हुनाले एउटै उपाय छ, यो नेपाली काँग्रेसको जिम्मेदारी छ, कि आफू संगठित होस्। आजसम्म हामीले गुमायौं धेरै टाइम। मैले आफ्नो मान्छेलाई चेतावनी दिनुपरेको छ– म त एक्लो भएँ, एक्लो बृहस्पति। मैले त्यो आफ्नो मानिसलाई भनेको, अरुलाई होइन। एक्लो बृहस्पति मैले आफ्ना मानिसलाई सुनाएको। मलाई यो पाँच वर्षसम्म टोटल समर्थन यो लाइनलाई भएको भए मैले अस्ति पनि भनें, दोस्रो आमनिर्वाचनको तैयारी हामी गर्न लाग्ने थियौं। त्यो कुरो नभएको हुनाले, राजा र हामी प्रजातान्त्रिक शक्तिहरुको बीचमा मेलमिलाप नहोस् भनेर राजालाई औंलो ठड्याएर तर्साउनको लागि विद्यार्थी आन्दोलनको घुर्की र धम्की जुन चलिरहेको छ, त्यो त्यै कुराबाट भइरहेको छ। त्यो कुरो हाम्रा मानिसले बुझेनन्। आजकाल बुझ्दै आइरहेका छन्। २ वर्ष ३ वर्ष अघि यो कुरा बुझेको भए हाम्रो सामने यति जटिल समस्या हुने थिएन।

जस्तो भनौं, गणेशमानजीलाई हेटौडामा बेइज्जती गरे। कसले गर्यो? त्यसको हामीले छानबिन गरेनौं। मैले छानबिन गरें, मैले त किटेर भनें तर हाम्रो पार्टीले त गरेन। ढाँटी पोखरीमा जो पनि जाने, हमला गरे। त्यो को हो? मैले त औल्याएँ। तर मेरा साथीहरुले त औंल्याएनन्। सबैले राजालाई भने। यो राजाले गराएको भने। अब, मलाई लाग्थ्यो राजालाई के स्वार्थ? उनका भूतपूर्व प्रधानमन्त्री विष्ट जान्छन्, उनको मुखमा पनि कालो मोसो लगाइदिएका छन्। अर्को जान्छ, उसलाई पनि। त्यसो गर्नमा राजाको के स्वार्थ? गणेशमानजीलाई बेइज्जती गर्नमा राजाको के स्वार्थ? यति सजिलो कुरोसम्म हाम्रा मानिसहरुले बुझेनन्। किनभने मानिसहरुको सोचाइ र परिस्थितिको गतिसंगसंगै जान सकेन। परिस्थितिको गति अघि बढिसकेको बेलामा हामी उही पुरानो कुरामा अलमलिई रह्यौं।

यदी इतिहासले, भविष्यले, नेपाललाई स्वतन्त्र राख्न खोजेको छैन भने त्यो रहँदैन। विश्व इतिहासमा धेरै राज्यहरु आए, गए, धेरै–धेरै साम्राज्यहरु आए, सिद्धिए। ब्रिटिश साम्राज्य आयो। जुनबेलामा यता ब्रिटिश साम्राज्य आयो, करिब तेसैं बेलातिर यहाँ नेपालको एकीकरण भयो। इतिहासलाई नेपालको स्वतन्त्रा पनि स्वीकार्य छैन भने यो हाम्रो बसको कुरा भएन, तर त्यो कुरो हामीले मानेता पनि जस्तो, मलाई यो कैन्सर भयो। यो रोग निको निको नहुने रोग हो। आखती गरुँ कि नगरुँ? मनिलिनुस्, तपाईंकी आमा बिरामी हुनुहुन्छ, आखती गर्नुहुन्छ कि हुँदैन? डाक्टरले भन्दछ–अब यिनलाई निको हुने होइन। के तपाई त्यसपछि पोलिदिनुहुन्छ आमालाई? या, जे सकेको प्रयत्न गर्नुहुन्छ बचाउने? म त्यति निराश छैन। मैले आफ्नो देशबो भविष्य देखेको छु। जुन कारणबाट नेपाल अहिलेसम्म स्वतन्त्र रहेर बढ्न सक्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणबाट, त्यो कारण झन् बलियो किसिमबाट विद्यमान छ।

केवल हामीहरु अलिकति चनाखो हुनुपर्यो। यो विदेशीहरुको घुसपैठलाई हुँदै होइन भन्नु भएन। हामीहरु चनाखो भईदियौं भने हाम्रो देशको भविष्य पनि छ र ठूलो भविष्य रहन्छ। मेरो यो धारणा छ। होइन, दशवर्षका बीचमा यो नेपाल रहँदैन भन्ने हो भने त्यसका दुईवटा अर्थ छन्। त्यसो भए त यतिका मान्छेहरु मरे नेपालको निम्ति, मेरै नेतृत्वमा कति मरे, ओखलढुंगा काण्डमा कति मरे। त्यो सम्पूर्ण त्याग बलिदान त त्यसो भए निरर्थक रहेछ। या, त्यसको निरर्थकतालाई स्वीकार गर्नुपर्यो। मेरो पनि जीवन बित्यो, यो पनि मेरो भूल रहेछ, होइन? त्यसो हुनाले पनि म यो मान्दिन कि, आफ्नो दोष स्वीकार गर्न पनि म मान्दिन कि? मलाई विश्वास नै छैन कि हामीहरुको नेपाल त्यति अन्तिम सासमा पुगिसकेको छ। विदेशीहरुको अर्को एउटा चाल छ। यो भनेर, सकियो, सिद्धिसक्यो, आर्थिक स्थिति समाप्त भइसक्यो, भनेर हतोत्साहित गर्छन्। महाभारतको शल्यको कथा जस्तै, यी विदेशीहरुले हामीलाई निरुत्साहित गर्ने मात्र गर्दैछन्। मैले त्यस्तो हतास हुने स्थिति पनि देखेको छैन। तर, म यो भन्दछु कि हामी चनाखो भएनौं, हामीहरु संगठित भएनौं, हामी राष्ट्रिय र प्रजातान्त्रिक भावनामा बलियो भएनौं भने अर्कै कुरा हो।

राष्ट्रियता त कति बलियो रहेछ यहाँ भने विदेशीहरु आफूलाई राष्ट्रवादी भनेर मलाई आक्रमण गर्छन्। राष्ट्रियता कत्रो मूल्यवान् कुरो रहेछ। मलाई आक्रमण अराष्ट्रियहरुले गर्छन् तर आफूलाई विदेशीको मान्छे भनेर नचिन्हिने युक्तिका साथ।

मैले तराईको राष्ट्रिय भावनाको कुरा भनेको छु। मैले भनेको छु, नेवारहरुमा भएको राष्ट्रिय भावनाको कुरा। यति ठूलो राष्ट्रिय भावनाको आधार हामीहरुसंग छ भने हामीहरुले हरेस खाने कुरै छैन।

राजा मात्रै हार्दैन, हामी पनि हार्छौ। अस्ति किसुनजीले बडो राम्रो भन्नुभयो, हामीहरुले त्यस्तो कुनै कुरो गर्नु हुँदैन जसबाट राजा पनि हारुन् र जनता पनि हारोस्। मलाई बडो राम्रो लाग्यो उहाँको भनाइ। अगर उनीहरुको विजय भयो भने हामीहरु पनि हार्छौ, जनता पनि हार्छ र राजा पनि हार्छन्।

यहाँ त अहिले केवल बौद्धिक क्षत्रको कुरा चलिरहेको छ। अहिले म आफ्ना साथीहरुलाई भन्न थालिरहेको छु, यो, मेरो साथीहरुले बुझिदिएको खण्डमा कुनै पनि समस्या छैन। त्यै बुझाउन खोजिरहेको छु। अहिले धेरै बुझिसकेका छन्। पहिले बुझ्दैनथे।

एडिस फर्मूलाको बारेमा सुनेर छक्क परिरहेका छन्। तपाईंले यो अघि किन भन्नु भएन भन्छन्। म यै कुरा त हमेशा भनिरहेको छु। एडित भनिन हुँला, त्यै अर्कै हो।

(१० पुष, २०४२)

Back