"प्रजातन्त्र समाजवादको अभिन्न अङ्ग", विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)
Print Friendly and PDF

प्रिय तरुण साथीहरु,

तरुण दलको सम्मेलन उद्घाटन गर्न पाउँदा मलाई बडो खुसी लागेको छ । तपाईको संस्थाको लक्ष्यतर्फ ध्यान दिँदा अनिवार्य रहेको स्वतः स्पष्ट हुन्छ । सम्भवतः यो सम्मेलन देशको राजधानीमा पहिलोपटक भएको सम्मेलन हो । यसमा भाग लिन देशका विभिन्न क्षेत्रबाट नवयुवकहरु आएका छन् । तपाईहरुले समाजवाद तथा प्रजातन्त्रका लागि गरिएका आन्दोलन र संघर्षको केही विशेष अनुभव प्राप्त समाजवादी साथीको हैसियतले यसको उद्घाटनका लागि मलाई आग्रह गर्नुभएको होला । तपाईहरुको आमन्त्रण स्वीकार गर्दा म पनि त्यसै प्रकारको भावनाले प्रेरित भएको हुँ । मेरो विचारमा 'समाजवाद' राजनीतिक अधिकार वा शक्ति प्राप्त गर्ने माध्यम मात्र होइन, न यो केवल एउटा आर्थिक सङ्गठन नै हो । यो त्यस्तो आदर्श हो, जुन आदर्शले मानव हृदयलाई इतिहासमा सदैव आन्दोलित गरिरह्यो । तर, समाजवादको त्यो आदर्श केही विचारक वा सन्तहरुको मनोजगत्को काल्पनिक वस्तु मात्र नभएर व्यावहारिक जगत्को एउटा ठूलो सामाजिक शक्तिका रुपमा पनि प्रकट भएको छ । त्यसो हुनाले समाजमा आदर्श भावना ल्याउने सबैभन्दा जोसिलो वाहक तरुणहरुको यस सम्मेलनको ठूलो महत्व छ । देशको वर्तमान अवस्थामा समाजवादी विचारको नेतृत्व मुख्यतः तरुणहरुकै उत्साही काँधमा आएको छ ।

नेपाल अहिले सङ्क्रमणकालमा छ । हाम्रो मुलुकमा पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको स्थापना हुन लागेको छ । आउनै लागेको त्यो नूतन व्यवस्थाका लागि हामीले काम गर्नु छ । तसर्थ, हाम्रो मानसपटलमा त्यो नूतन व्यवस्थाको तस्विर हुनुपर्छ । पुरानो व्यवस्थामा नेपालका नागरिकहरुको अवस्था दयनीय थियो । नेपाली समाज प्रजातन्त्रबाट वञ्चित हुनुका साथै दरिद्रताको गर्तमा पनि डुबेर बसेको थिये । शताब्दीदेखि सुपुप्त अवस्थामा रहेका तर समाजलाई प्रगतिको बाटोमा लैजान सहायक हुने शक्तिहरुलाई चलायमान गर्नका लागि राणा व्यवस्थाको अन्त्य गर्नु आवश्यकता भयो । अहिले क्रान्तिका ती सामाजिक शक्तिहरु हाम्रो समाजमा सक्रिय छन्, पुरानो व्यवस्था ढल्दै छ । समाजमा अहिले जुन हलचल, तानातानी, आन्दोलन र क्षुब्ध वातावरण विद्यमान छ, त्यो सबै पुरातन तथा नूतन व्यवस्थाबीच संघर्ष भइरहेको लक्षण हो । अहिले जुन शक्तिले नेपालको भविष्य निर्माण गरिरहेको छ, त्यस सामाजिक शक्तिलाई राणाशाहीको समाप्तिले सक्रिय पारेको छ ।

राणाशाही, 'पुरानो सामाजिक–आर्थिक व्यवस्था' अर्को शब्दमा भन्नुपर्दा 'सामन्ती व्यवस्था' को राजनीतिक रुप थियो । नयाँ सामाजिक आर्थिक व्यवस्थाको राजनीतिक लक्षण 'वालिग मताधिकारको आधारमा भएको आमनिर्वाचनद्धारा गठित संसदीय व्यवस्था' हो । अहिले इतिहासले पन्छाउन लागेका पुराना तत्वहरु नयाँ तत्वहरुसँग हारिने लडाई लडिरहेका छन् र क्रमशः परास्त हुँदै जानेछन् । बिर्ता उन्मूलन, नयाँ कर व्यवस्था नूतन व्यवस्थाका प्राथमिकता चरण हुन् । हाम्रो अधमरा समाजले प्रगतिशील सामाजिक शक्तिहरुको सङ्गठनको बलमा बिस्तारै–बिस्तारै अझै बढी क्रान्तिकारी कदम चाल्नुपर्नेछ । समाजवादी तरुणहरुले आफ्नो सङ्गठनलाई ती प्रगतीशील सामाजिक शक्तिहरुको सहायतामा लागि प्रयोग गर्नुपर्छ । सम्भवतः अरु मुलुकका प्रतिगामी तत्वहरुभन्दा कमजोर अवस्थामा रहेका यहाँका प्रतिगामी तत्वहरुले इतिहासको क्रमलाई बुझेर नेपालको परिस्थितिमा मूर्खताको बाटोमा नलागी प्रगतिको बाधक हुने छैनन् र हाम्रो समाजको सङ्क्रमण अवधि छोटो हुनेछ तथा संघर्षमय हुने छैन भन्ने मैले ठानेको छु । यद्यपि, इतिहासका विरुद्धको उनीहरुको वर्तमान उद्योगले मेरो संघर्षविहीन क्रान्तिको विश्वासमा केही धक्का पु¥याएको छ ।

परिवर्तनको बाधकतत्वबाट संघर्षको सृजना हुन्छ । विश्वइतिहासको सानो अध्ययनले नै त्यस्तो संघर्षमा पुरानो व्यवस्थाको हार अवश्यंभावी छ भन्ने सत्यलाई सावित गर्दछ । यो स्थूल सत्यलाई प्रगतिविरोध तत्वहरुले बुझ्नु पर्ने हो । अहिले देशलाई आर्थिक क्षेत्रमा रहेको घोर दरिद्रताको अन्त्य गर्ने दिशातर्फ उन्मुख गराउन राष्ट्रिय सम्पत्तिको अभिवृद्धिका लागि उत्पादनका क्षेत्रहरुको विस्तार गर्नु प्रथम कर्तव्य भएको छ । राष्ट्रिय सम्पत्ति उत्पादन गर्ने आधार कृषि मात्र भएको सामन्ती व्यवस्थाले आफ्नो व्यवस्थामा जस्तोसुकै सुधार गरे पनि राष्ट्रिय सम्पत्ति बढाउने क्षमता राख्दैन । सामन्ती व्यवस्थामा समाजले जमिनको पूर्ण रुपले उपभोग गर्न नसकेको कारणले पनि जमिनलाई सामन्ती व्यवस्थाबाट मुक्त गर्नु आवश्यक छ । समाजले जमिनबाट जति परिमाणमा उत्पादन प्राप्त गर्नुपर्छ, सामन्ती उत्पादन प्रणालीमा त्यति मात्रामा उत्पादन लिन सम्भव छैन । देशको दरिद्रताको अन्त्य गर्नका लागि चाल्नुपर्ने सबैभन्दा पहिलो व्यवहारिक कदम सामन्ती उत्पादन व्यवस्थाको अन्त्य गर्नु हो ।

म केवल समाजवादी सिद्धान्तका आदर्शको आधारमा यो कुरा भनिरहेको छैन, स्थूल व्यावहारिकताको आधारमा पनि दोहो¥याइरहेको छु । कसैले समाजवादमा आस्था राखून् वा नराखून्, तर सामन्ती व्यवस्थाको अन्त्यबिना र जमिनमा काम गर्ने कृषकहरुलाई जमिनमाथिको पूर्ण स्वामित्व उपलब्ध नगराई देशले आर्थिक विकासको प्राथमिक कदम पनि चाल्न सक्तैन । अहिलेको वर्तमान सरकारले यस दिशापट्टि जुन सक्रिय कदम चालेको छ, त्यसको विरोध गर्नु दरिद्रताको अन्त्य गर्ने प्रयासको विरोध गर्नुजस्तै हो । बरु, यो कदम पर्याप्त भएन भन्ने सम्बन्धमा भने आलोचना गर्न सम्भव देखिन्छ । निश्चय नै तपाई तरुणहरु सामन्ती व्यवस्थाको अन्त्य गर्न आतुर हुनुभएको होला र हाम्रो कदमलाई अपर्याप्त सम्झिनु हुँदो हो । सामन्ती व्यवस्ताको अन्त्य भएपछि मात्र कृषि उत्पादनमा वैज्ञानिक दृष्टिकोण अपनाउन सकिनेछ । सामन्ती व्यवस्थाबाट मुक्त भएपछि हाम्रा खेत–बारीहरु हरिया हुनेछन्, गाउँको समृद्धि बढ्नेछ र आफ्नो भूमिको स्वामी बनेका स्वतन्त्र कृषकवर्ग स्वतन्त्र नेपाली समाजका बलिया स्तम्भ हुनेछन् ।

समाजवादका लागि जुन परिणाममा आर्थिक उन्नतिको आवश्यकता पर्छ, त्यो कृषिसम्बन्धी विशुद्ध सुधारले मात्र सम्भव छैन । त्यसका लागि औद्योगिक विकासको पनि आवश्यकता पर्छ । 'आर्थिक विकास' विभिन्न उद्योगधन्दा स्थापित नगरी ग्रामीण आधारमा मात्र सम्भव छैन । दुर्भाग्यवश, नेपालले औद्योगिक क्रान्तिका लागि आजसम्म पर्खनुप¥यो । हामी जुन समय एकतन्त्रीय जहानियाँ शासन व्यवस्थामा जकडिएर थुनुवाको जीवन व्यतीत गरिरहेका थियौँ, ठीक त्यही समय आजका उन्नतिशील देशहरुले आफ्नो औद्योगिक विकास गर्ने मौका पाएका थिए । हाम्रो राष्ट्रिय जीवनको विगत एक सयदेखि डेढसय वर्षको इतिहासमा कसैले दृष्टिपात ग¥यो भने त्यस अवधिका शासकहरुको ध्यान औद्योगिक विकासतर्फ नगएको र देशको औद्योगिक क्रान्तिका लागि चाहिने पुँजी देशबाहिर पठाएको अत्यन्त दुःखलाग्दो तथ्य फेला पर्दछ । आज हामीले देशलाई दरिद्रताबाट मुक्त गर्न तथा विकासको बाटो लैजानका लागि इतिहासले छाडेको अभिभारा अर्थात् औद्योगिक क्रान्तिलाई ग्रहण गर्नुपरेको छ ।

अरु मुलुकले समय पाए र बिस्तारै–बिस्तारै औद्योगिक विकास गर्दै लगे, हामीले छोटो अवधिमा त्यो कार्य पूरा गर्नुपरेको छ । अर्थात् पश्चिमी देशहरुले डेढ सयदेखि दुई सय वर्षमा जुन औद्योगिक विकासको कार्यसम्पन्न गर्न सकेका छन् । हामीले त्यसलाई पच्चीस–तीस वर्षको अवधिमा सम्पन्न गर्नुपर्छ । यो समाजवादीहरुका सामुन्ने रहेको सबैभन्दा ठूलो चुनौति हो । समाजवादीहरुले त्यो परिवर्तन, त्यो आर्थिक क्रान्ति प्रजातान्त्रिक व्यवस्थामा रहेर गर्न चाहने हुँदा यो चुनौति झन् गम्भीर हुन गएको छ ।

समाजवादी व्यवस्थाको लक्ष्य तथा लक्ष्यप्राप्तिको साधन प्रजातन्त्र हुनेछ । दुनियाँका विभिन्न देशमा समाजवादका नाममा तानाशाहीका विभिन्न प्रयोग भएका कारण समाजवाद र प्रजातन्त्रको अभिन्नताको सम्बन्धमा धेरै भ्रम फैलिन गएको छ । अहिले विश्वमा शक्तिको नग्न होड चलिरहेको छ र तानाशाही व्यवस्थालाई ग्राह्य बनाउने हेतुले समाजवादको संज्ञा दिने प्रयत्न भइरहेको छ । समाजवादी व्यवस्था अविकसित स्थितिमा वा दरिद्रतामा स्थापित गर्न नसकिने हुँदा समाजवादको स्थापनाका लागि माथि उल्लेख गरिएको आर्थिक विकास परम आवश्यक छ । समाजवादको सृजनाका लागि उत्पादनका साधनको पूर्ण विकास र औद्योगिक उन्नति आवश्यक हुन्छ । तर, केवल आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन । व्यक्ति नै समाजवादको जीवित तत्व हो । आर्थिक उत्थानको लक्ष्य पनि त्यही जीवित तत्व व्यक्तिलाई सुखी बनाउनु हो । त्यसो हुनाले 'प्रजातन्त्र' समाजवादको अभिन्न अङ्ग हो । जुन समाजमा नागरिकको स्वतन्त्रता अपहरण हुन्छ, वा उनीहरुले सङ्गठनको स्वतन्त्रता पाउँदैनन्, वा शासकवर्गको बीच–बीचमा आफ्नो कार्यको लेखाजोखा गरेर अन्तिम निर्णयका लागि जनतासामुन्ने जानु पर्दैन, वा जहाँ न्यायालय स्वतन्त्र छैनन्, वा जहाँका नागरिकले राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयमा स्वच्छन्दतापूर्वक बहस गर्न पाउँदैनन् भने त्यहाँ समाजवाद पनि रहन सक्तैन ।

अहिले विश्वमा जुन सामाजिक तानातानी छ र वर्तमान युगमा शयर गर्ने तयारीका लागि मानिसको हृदयलाई पूर्ण रुपले कब्जा गर्नु आवश्यक भएको छ, त्यसका लागि आफ्ना–आफ्ना हतियारका रुपमा प्रजातन्त्र तथा समाजवादको नारा प्रचार भइरहेको छ । यसको परिणामस्वरुप प्रजातन्त्र र समाजवादलाई आपसमा विरोधी सिद्धान्तका रुपमा स्थापित गराउन थालिएको छ । यस प्रकार, विश्वमा एउटा ठूलो भ्रम फैलिन गएको छ ।

असमानता वा आर्थिक शोषण विद्यमान भएको प्रजातन्त्र प्राण नभएको शरीरजस्तै मात्र हो । त्यस्तै, प्रजातन्त्र नभएको समाजवाद पनि केवल नारा मात्र हो, शोषणको अर्को नाम मात्र हो । समाजवादको इतिहासमा कुनै पनि समाजवादले 'समाजवाद' लाई तानाशाही व्यवस्थाको पर्यायवाची शब्द मानेका थिएनन् । आर्थिक न्याय वा समानता नभएको समाजमा स्थापित भएको प्रजातान्त्रिक परिपाटीको अपूर्णतातर्फ निश्चय नै समाजवादी दार्शनिकहरुको ध्यान गएको थियो । तर यता आएर औद्योगिक विकासको क्रममा केही ठूला राष्ट्रहरुमा समाजवादको नाम प्रयोग गरेर शुद्ध तानाशाही व्यवस्थाको स्थापना भएकाले साधारण जनतामा समाजवाद र प्रजातन्त्र भिन्न प्रकारका र आपसमा विरोधी व्यवस्था हुन् भन्ने भ्रम पर्न गएको छ ।

तपाई समाजवादी तरुणहरुले समाजवाद र प्रजातन्त्र एउटै व्यवस्था हो भन्ने विश्वास राखेर त्यस भ्रमसँग टक्कर लिनुपर्छ । 'हामी समाजवादको नाममा प्रजातन्त्रको हत्या गर्न दिँदैनौँ र प्रजातन्त्रको नाममा शोषणलाई स्वीकार गर्दैनौँ' हाम्रो नारा यही हुनुपर्छ ।

विश्वमा समाजवादको अन्तिम विजय हुन्छ भन्ने मेरो अटल विश्वास छ । हामी अहिले संघर्ष, तानातानी, दरिद्रता, राग–द्वेष र अशान्तिबीच समुद्रमा थाकेका नाविकजस्तो टाढा क्षितिजमा समाजवादको तटको अस्पष्ट रेखा देखिरहेका छौँ । त्यहाँ पुगेर हामी आफ्नो सारा थकाइ मार्दछौँ र शान्त एवं सुखमय समाजको निर्माण गर्दछौँ । यो कुनै सपनाको कुरा होइन । विश्वमा समाजवादको विजयको लक्षण प्रकट भइरहेको छ । परतन्त्र देशहरु स्वतन्त्र हुँदैछन्, अविकसित देशहरुले विकासका लागि भगरथ प्रयत्न गरिरहेका छन् । शुद्ध तानाशाही व्यवस्थामा पनि केही खुकुलोपन अनुभव हुन थालेको छ । युद्ध आजको वैज्ञानिक युगमा एउटा निरर्थक र समयानुचित कुरो भइसकेको छ । त्यसो हुनाले समाजवादमाथि मेरो आस्थाको आधार झन्झन् बलियो हुँदै गएको छ ।

तरुण साथीहरु ! भविष्य उज्ज्वल छ र त्यो भविष्य तपाईहरुकै हो । तपाईहरु आफूलाई त्यो उज्ज्वल भविष्यको उत्तराधिकारी ठान्नुहोस्, आफूलाई त्यसअनुरुप बनाउनुहोस् र कर्तव्य गर्नुहोस् ।

यो सम्मेलनले तपाईहरुलाई सक्रियता प्रदान गर्ला, यस सम्मेलनले आजको अवस्थाअनुसार तपाईहरुले गर्नुपर्ने कामको क्रम पनि निर्धारित गर्ला र समाजवादप्रतिको तपाईहरुको विश्वासलाई झन् दृढतर बनाउला भन्ने मलाई पूर्ण विश्वास छ । तपाईहरुको यस सम्मेलनमा छलफल गर्नुहुने विषयहरु मेरा लागि चाखका विषय हुनेछन् । मबाट ती सबैको राम्रो अध्ययन हुनेछ । यति भनेर म यस सम्मेलनको विधिवत् उद्घाटन भएको घोषणा गर्दछु । समाजवाद जिन्दावाद !

(१९६०, डिसेम्बर १५, तरुण दलको सम्मेलन उदघाटन भाषण)

Back