"२०१५ सालको चुनावको राजनीतिक पृष्ठभूमि", विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)
Print Friendly and PDF

२००७ सालको क्रान्तिको प्राथमिक उद्देश्य त्यस्तो राजनीतिक व्यवस्थाको अन्त्य गर्नु थियो, जुन व्यवस्थामा एउटा परिवारको मात्र स्वार्थसिद्धि सम्भव थियो । राणाहरुले देशमा तानाशाही स्थापित गरेर राजादेखि रङ्कसम्म सबैलाई एकप्रकारले बन्दी तुल्याएर राष्ट्रको प्रशासनयन्त्रलाई स्वार्थसिद्धिको साधन बनाएका थिए । राजालाई दरबारमा जस्तै भोगविलास उपलब्ध भए पनि उनीसमेत एउटा सम्मानित कैदी मात्र थिए । उनी कैदबाट उम्किन छट्पटाइरहेका थिए । त्यस्तै अरु वर्गका व्यक्तिहरु र शोषित तलबमा निश्चित जागिर खाइरहेका सरकारी कर्मचारीहरु पनि कहिले त्यस व्यवस्थाको अन्त्य होला भन्ने चिताइरहेका थिए । पल्टनका सिपाहीहरु असम्मानको जागिर खाएर बसेका थिए । किसानहरु पनि उस्तै शोषित भएका थिए । हुकुमी राज्य भएकोले कसैको पनि पुँजी सुरक्षित थिएन । शिक्षित समुदायका लागि पराधिनताको जीवन झन कष्टकर थियो । यस अवस्थामा राजा र प्रजाका सबैवर्गमा क्रान्तिको भावना उत्पन्न हुनु स्वाभाविक थियो । २००७ सालको क्रान्ति त्यही राष्ट्रियताहीन अवस्थाका विरुद्ध उठाइएको विद्रोह थियो । यस संघर्षमा सरिक सबै शक्ति, समूह वा वर्गमा आफ्नो–आफ्नो हितरक्षाको भावना थियो । नेपाली कांग्रेस मुख्यतया निम्नमध्यमवर्गीय जनता र किसानहरुको सङ्गठन भएकोले यसको आन्तरिक लक्ष्य उनीहरुकै हितरक्षापट्टि थियो । यसले साहसपूर्वक क्रान्तिको बिगुल बजाउँदा नेपालका असङ्गठित मूक जनताले हठात् जीवन पाए र क्रान्तिका निम्ति अग्रसर भए ।

क्रान्तिको प्रारम्भिक उद्देश्य अर्थात् राणाशाहीको अन्त्य गर्ने कार्य पूरा भएपछि क्रान्तिमा संलग्न राजा र विभिन्न वर्गमा विभाजित जनता सबै आफ्ना–आफ्ना स्वार्थरक्षापट्टि लाग्नु निश्चित थियो । राणाशाहीको कठोर शासनमा सबैको वाणी बन्द थियो । यस क्रान्तिले त्यो वाणीलाई पनि फुकुवा गरायो । भर्खरै स्वतन्त्र भएका राजा स्वयंलाई समेत आफ्नो भविष्यको चिन्ता हुन लाग्यो र उनी छिट्टै आफ्नो शक्तिसञ्चय गर्नपट्टि लागे । आफ्नो भविष्यका सम्बन्धमा चिन्तित भएर ठूलाठूला, बिर्तावाल, जमिनदार, जिमुवालहरु पनि आफ्नो वर्गको स्वार्थरक्षाका लागि सङ्गठित हुन थाले । नेपाली कांग्रेसले चाहिँ किसान र निम्नवर्गको समस्यापट्टि विशेष ध्यान दिन थाल्यो । आफ्नो भविष्यको चिन्ता जागिरदारहरुलाई पनि भयो । सबै स्वार्थहरुको आपसी संघर्षको यो तस्बिर नै २००७ सालदेखि अहिलेसम्मको राजनीतिक तस्बिर हो । यो तस्बिर ऐतिहासिक र सामाजिक दृष्टिकोण नभएका व्यक्तिहरुलाई त बालकलाई एउटा जङ्गल अबोधगम्य भएजस्तै हुन्छ । क्रान्त्योत्तरको यी सात वर्ष मुख्य वर्गहितमा विभाजित भएका वा राजदरबारका पक्षमा लागेका व्यक्तिहरुको राजनीतिक कारबाहीका प्रदर्शनी थिए । विशेषतः राजाले सुसङ्गठित शासनयन्त्रको माध्यमद्धारा आफ्नो शक्तिको भरपूर वृद्धि गरेर राजनीतिक अनिश्चितता र मतभेदको पूरा लाभ उठाए । साथै क्रान्त्योत्तरकालमा विदेशको पनि समर्थन प्राप्त गरेर एकप्रकारले सर्वेसर्वा बनिरहे ।

नेपाली कांग्रेस यस्तो प्रतिक्रियावादी दरबारिया प्रवृत्तिको मुकाबिला गर्नसक्ने संस्था थियो । तर, जनतामा चेतनाको कमी, जनसङ्गठनका कमजोरी, नेतृत्वमा अनुभवको अभाव, केही व्यक्तिहरुको स्वार्थलोलुपता, विदेशी षड्यन्त्र इत्यादिले गर्दा नेपाली कांग्रेसले जति मात्रामा दरबारिया राजनीतिको कुटिलताको मुकाबिला गर्नसक्नुपर्थ्यो, त्यति सकेन । उता, क्रान्तिपछि जनताको अधिकार सुरक्षित गर्नका खातिर बनेको वैधानिक अर्थमा मात्र राजाको अधिकार स्वस्कृत रहेको अन्तर्कालीन विधानलाई विस्तारै–विस्तारै दफा–दफा गरेर हटाउँदै लगेर अहिले राजा एउटा वैधानिक शासक होइन, अपितु निरङ्कूश शासक हुन गएका छन् । वर्तमान महाराजाधिराज श्री ५ र श्री ३ दुवै हुनुभएको छ । राजाबाट दरबारको शक्तिवृद्धि गर्ने प्रयासको सिलसिलामा कारण–अकारण, समय–असमय विभिन्न किसिमको मन्त्रिमण्डल गठन वा सल्लाहकार शासन वा प्रत्यक्ष शासन स्थापित गर्ने काम भयो । यस प्रकारका प्रयोग जति–जति हुँदै गए, जनताका पक्षलाई तिरस्कार गर्दै कमजोर पार्ने र दरबारको पक्षलाई बलियो पार्ने काम उति–उति भयो । त्यति मात्र होइन, राजनीतिक सिलसिलामा एकपटक त राजाले आफ्नो आवरण पन्छाएर स्वयं प्रधानमन्त्रीको अधिकारसमेत लिएर मन्त्रिमण्डल बनाउने प्रस्ताव गर्नुभयो ।

अहिले चलिरहेको चुनावसम्बन्धी चर्चामा पनि यही राजकीय अधिकार कि जनताको अधिकार भन्ने प्रश्न अन्तर्निहित छ । विधानपरिषद्का लागि चुनाव हुने वा केवल संसद्का लागि ? प्रश्नको मर्म पनि प्रजाका विरुद्ध स्थापित हुन चाहने राजाको स्वार्थ वा प्रजाको मातहतमा रहने शासक भन्ने द्वन्द्व लुकेको छ । नेपाली कांग्रेसले विधानपरिषद्को माग जब राख्दछ, त्यसमा जनताको अधिकारलाई सर्वोपरि बनाउने प्रयत्नको घोषणा गर्दछ । त्यस्तै, आफ्नो मातहतभन्दा बाहिर विधानसम्बन्धी प्रश्न रहने केबल सीमित अधिकारप्राप्त संसद्को माग राख्ने पार्टी वा व्यक्तिको आन्तरिक उद्देश्य भने राजाको अधिकार वृद्धि र सुरक्षा गर्नेतर्फ छ । क्रान्तिपछिको सात वर्षसम्म राजाले बिस्तारै–बिस्तारै शक्ति बढाएर जुन परम्परा स्थापित भएको छ, चुनावमा पनि दरबारिया पक्षबाट त्यसैको अनुकूल राजालाई नै अन्तिम अधिकार दिलाउने प्रयास भइरहेको छ । उनीहरुको चेष्टा राजाको स्वेच्छाचारितामा जनताको स्वीकृतिको मोहर लागोस् भन्ने हो । यसका विपरित जनपक्षका व्यक्तिहरुको ठीक उल्टो भनाई छ । यस सम्बन्धमा मैले अरु विशेष लेखिरहनुपर्ने आवश्यकता छैन । मैले यहाँ क्रान्तिपछिको देशको राजनीतिक जीवनमा दरबारको स्वार्थ कुन प्रकारले प्रकट हुँदै गयो भन्ने मात्र खोजेको हुँ ।

त्यस्तै, यस सात वर्षमा वर्गस्वार्थको संघर्षले पनि राजनीतिक रुप लिएको छ । समाजभित्रको सामन्ती व्यवस्थामा निहित किसान र सामन्ती वर्गबीच द्वन्द्व चलिरहनु अहिलेको ऐतिहासिक तथ्य छ । त्यसो हुनाले यस सामन्ती व्यवस्थाको अन्त्य गर्नु र किसानलाई सामन्ती शोषणबाट मुक्त गर्नु अहिलेको ऐतिहासिक जिम्मेवारी हो । यस जिम्मेवारीलाई क्रान्तिको प्रारम्भिक जिम्मेवारी भने पनि हुन्छ । यस ऐतिहासिक तथ्यले समाजलाई मुख्यतः दुई दलमा विभाजित गरेको छ ।

एउटा पक्ष ऐतिहासिक रथलाई अगाडि लैजान प्रयत्नशील छ र अर्को निहित स्वार्थको पक्ष भने समाजको स्थितिलाई यथावत् राख्न खोज्दै छ । इतिहासको जिम्मेवारी वहन गर्ने उद्देश्यले नेपाली कांग्रेसले २००७ सालमा क्रान्तिको नेतृत्व ग¥यो र त्यसबाट उत्पन्न भएका अरु जवाफदेहीलाई पूरा गर्न पनि तत्पर बन्यो । क्रान्तिकै सिलसिलामा पनि किसान पक्षको प्रधानता यस संस्थामा प्रकट भएको थियो । त्यसले गर्दा सामन्ती शोषकहरु विचलित बनेर आफ्नो स्वार्थरक्षाको उपाय सोच्न थाले । गोरखापरिषद् यसैको परिणाम हो । सोझै सामन्ती स्वार्थरक्षाको ढ्वाङ पिटेर, सामन्ती ध्वजा गाडेर राजनीतिक पार्टीको गठन गर्नु सम्भव नभएकाले यस संस्थाले नानाप्रकारको आवरणमा आफूलाई प्रकट गरेको छ । ती आवरणहरु धर्मरक्षाको आवरण, थिति कायम राख्ने आवरण, देशको स्वतन्त्रताको रक्षा गर्ने आवरण इत्यादि रहेका छन् ।

अहिलेको ऐतिहासिक तथ्यबाट जनताको ध्यान हटाएर अवास्तविक कुरापट्टि उनीहरुको ध्यान आकर्षित गर्न चाहने यसप्रकारका अरु यस्ता पार्टीहरु पनि छन् । तराई–पहाडिया, नेवार–पर्वते इत्यादिका नाराहरु पनि यही सामन्ती कुटिलताका नारा हुन् । हामीले माथिपट्टिको आवरणलाई हटाएर भित्रसम्म हेर्ने प्रयत्न ग¥यौँ भने यी धार्मिक, साम्प्रदायिक नाराहरुका पछाडि सामन्ती स्वार्थरक्षाको भावना लुकेको पाउँछौँ ।

देशले अब पहिल्याउने बाटोको निर्माण २०१४ सालको चुनावले गर्ने भएकाले यसको ठूलो महत्व छ । तसर्थ, हाम्रो देशको सामाजिक, आर्थिक, राजनीतिक रुप यस चुनावद्धारा स्थापित हुन्छ । आगामी चुनावले समाजका विभिन्न स्वार्थहरुबीच चलिरहेको संघर्षको निर्णय दिनेछ । राजनीतिक पार्टीहरुको यथार्थ रुप कस्तो छ, राजाको आफ्नो स्वार्थ कसरी प्रकट भएको छ, आजको नेपालको ऐतिहासिक कर्तव्य के हो, यी सबै कुरा नेपाली कांग्रेसका कार्यकर्ताहरुले राम्ररी बुझ्नुपर्छ र जनतालाई बुझाउनुपर्छ ।

आगामी आमचुनावले २००७ सालको क्रान्तिको उद्देश्यलाई पुरा गराउन एक पाइला अगाडि सार्छ वा त्यसले क्रान्तिको उद्देश्यका विरुद्ध प्रतिक्रियावादलाई प्रोत्साहन दिन्छ भन्ने निर्णय जनताले चुनावद्धारा लिनुपरेको छ । हाम्रासामुन्ने प्रगतिशील वा प्रतिक्रियावाद, प्रजातन्त्र वा एकतन्त्र, जनता वा दरबारलगायत मौलिक प्रश्न छन् । हामीले २०१५ सालको चुनावमा यी प्रश्नको उत्तर दिनु छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले सानो–तिनो स्वार्थ वा व्यक्तिगत भावनाले प्रेरित भएर अहिलेको आफ्नो ऐतिहासिक कर्तव्य पूरा गर्न सक्तैनन् । हामीले व्यक्तिगत भावनाबाट माथि उठेर समाजको भलाइको भावना व्याप्त भएको वातावरणमा सास फेर्नुपर्छ ।

देशले २००७ सालपछि एउटा अर्को ठूलो कदम लिनुपरेको छ । २००७ सालमा देशले लिएको कदमको नेतृत्व गर्ने सौभाग्य जसरी नेपाली कांग्रेसले पाएको थियो, त्यसरी नै देशले अर्को कदम लिन लागेको बखतमा त्यसको नेतृत्व गर्ने अधिकार नेपाली कांग्रेसले आफ्नै हातमा राख्नुपर्छ ।

(१९५८, स्रोतः प्रथम प्रकाशितः नेपाल पुकार पुनप्रकाशनः राजतन्त्र र लोकतन्त्र, प्रकाशकः समाजवादी विद्या संस्थान, वाराणसी)

Back