बीपीको 'ब्रेन' - ओम बानियाँ (२०७० श्रावण ६, नागरिक)
Print Friendly and PDF

मानिस 'ब्रेड' ले होइन, ब्रेनले चल्छ भन्ने बीपी कोइराला बहुआयामिक व्यक्तित्वका धनी थिए। बीपी राजनीतिक आकाशमा जति चम्किला थिए, त्यति नै नेपाली साहित्य क्षितिजमा पनि एक जाज्वल्यमान नक्षत्र मानिन्छन्। असाधारण व्यक्तित्वका धनी बीपीसँग कठिन, असहज तथा विषम परिस्थितिमा पनि कार्य गर्ने बुद्धि अर्थात् भावनात्मक समर्थता थियो। यस्तै भावनात्मक बुद्धिमत्ताको ऊर्जाले नै 'बीपी' नेपाली राजनीतिक आकाशको शिखरमा पुगेका हुन्।

बीपी जति समर्थवान् राजनेता थिए, त्यत्ति नै कुशल स्रष्टा पनि। यसबाट बीपीका दुबै ब्रेन सक्रिय रहेको पुष्टि हुन्छ। बनौटको दृष्टिकोणले मानिसको ब्रेन (सेरिब्रम)का दुई गोलार्द्ध हुन्छन्, दायाँ गोलार्द्ध र बायाँ गोलार्द्ध (राइट र लेफ्ट हेमिस्पि्कयर), जसलाई 'राइट ब्रेन' तथा 'लेफ्ट ब्रेन' पनि भनिन्छ। यी दुवै गोलार्द्धलाई कोर्पस कोलोजमले जोडेको हुन्छ।

'राइट ब्रेन' तथा 'लेफ्ट ब्रेन' को एउटा विशेषता के छ भने राइट ब्रेनले शरीरको बायाँ अंगहरूको क्रियाहरू सञ्चालन तथा नियन्त्रण गर्ने कार्य गर्छ भने लेफ्ट ब्रेनले दायाँ अंगहरूका क्रिया सञ्चालन तथा नियन्त्रण गर्ने कार्य गर्छ। त्यसैले नै त टाउकाको दायाँपट्टि चोटपटक लागेर दायाँ मस्तिष्कमा क्षति पुग्यो भने बायाँ हात–खुट्टा नचल्ने हुन्छ। त्यसैगरी बायाँ मस्तिष्कमा क्षति पुग्यो भने शरीरको दायाँ भागमा असर पर्न सक्छ। यसका साथै यी दुई मस्तिष्कको अर्को विशेषता पनि छ, त्यो के भने राइट ब्रेन संगीत, नृत्य, चित्रकला, लेखन, अभिनय, प्रत्यक्षीकरण, सिलाइबुनाइ इत्यादि सृजनात्मक कार्यहरूसँग सम्बन्धित हुन्छ। लेफ्ट बे्रन तर्क–बितर्क गर्ने परीक्षण गर्ने, हिसाबकिताब गर्ने, संगठन, भाषा र विज्ञान इत्यादि तर्कपूर्ण कार्यहरूसँग सम्बन्धित हुन्छ।

राइट ब्रेनले कार्य गर्ने मानिसहरू ज्यादै सृजनशील हुने गर्छन्। उनीहरूको सिक्ने र याद राख्ने क्षमता राम्रो हुन्छ। तर लेफ्ट ब्रेनले कार्य गर्ने मानिस बढी तार्किक हुने गर्छन्। संगठन तथा भाषामा उनीहरूको राम्रो दखल हुने गर्छ। 'राइट ब्रेन' तथा 'लेफ्ट ब्रेन' को सम्बन्धमा वैज्ञानिकहरूको निचोड छ, साधारणतया वयस्क र दायाँहाते मानिसहरूले लेफ्ट ब्रेनले कार्य गर्ने गर्छन्। तर बालबालिकाले राइट ब्रेनले कार्य गर्छन्। जति–जति मानिसको उमेर ढल्कँदै जान्छ, उनीहरूको राइट ब्रेन निस्त्रि्कय हुँदै जान्छ। यसै कारणले गर्दा नै बालबालिका कुरा भुइँमा खस्न नपाउँदै टप्प टिप्ने गर्छन्, पाका मानिस दिन/प्रतिदिन भुलक्कड हुँदै जान्छन्। तर संसारमा केही दुर्लभ मानिस पनि हुन्छन्, जसको राइट ब्रेन तथा लेफ्ट ब्रेन, दुवै सक्रिय रहन्छन्। दुवै ब्रेन सक्रिय रहनु भनेको मेची महाकालीरूपी ज्ञान र कर्मको दोभान बन्नु जस्तो हो। त्यसैले नै यस्ता व्यक्तिहरू जीवनमा महान् कार्य गर्न समर्थ हुन्छन्। बीपी पनि यस्तै एक असाधारण मानिस भएको तथ्य उनको सोच, शैली, व्यवहार र कर्मबाट पुष्टि हुन्छ।

बीपी ब्र्रेनको यही विशेषताले गर्दा नै बीपीको सम्झना–शक्ति बुढेसकालसम्म पनि निकै अद्भूत रहेको कुरा उहाँका सम्पर्कमा रहेका व्यक्तिहरूको कथन तथा उहाँसँग सम्बन्धित दस्तावेजहरूले पुष्टि गर्छ। त्यसो त गणेशराज शर्माले विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तमा बीपीको अद्भुत सम्झना शक्तिबारे प्रकाश पारेका छन्। उनले लेखेका छन्, बीपीको आत्मवृत्तान्त उहाँ (बीपी) ले लेख्नुभएको होइन, मृत्यु–शय्याबाटै भन्नुभएका कुरालाई टेपमा संकलन गरी लिपिबद्ध गरिएको हो।

गणेशराज शर्माले उक्त किताब अगाडि लेखेका छन्, 'बीपीका आत्मवृत्तान्तका कुराहरू उहाँ (बीपी) ले कुनै टिपोट, लिखित वा सहायक–सामग्रीहरूको मद्दत लिनुभएन। कसैसँग केही सोध्नु पनि भएन। सबै कुरा तत्कालको सम्झनाको भरमा बोल्नुभएको हो। उहाँको स्मरण–शक्ति अद्भूत थियो भनेरमात्र यहाँ पुग्ला जस्तो लाग्दैन। सम्झना–शक्तिद्वारा हामीलाई चकित पारेका केही दृष्टान्त नै मैले दिनु ठीक हुन्छ। त्यसताका उहाँको अन्तिम दर्शनको अभिलाषाले ओखलढुंगातर्फको एकजना अधबैंसे उमेरका अपरिचित गाउँले व्यक्ति आएका थिए। भेट्न आउने सबैमाथि समुचित ध्यान दिने उहाँको संस्कारगत अभ्यासबमोजिम उहाँले त्यस व्यक्तिलाई कहाँबाट आउनुभयो भनी सोध्नुभयो। उनले आफ्नो जिल्लाको नाउँ लिए। त्यसपछि उहाँले गाउँ कुन नि भनी सोध्नुभयो। उनले असजिलो मान्दै तपाईं जान्नुहुन्न होला, अमुक गाउँ हो भने। अनि बीपीले भन्नुभयो, मलाई २००४ सालमा धनकुटाबाट अड्डासार गरेर हिँडाएर ल्याउँदा त्यो गाउँ हुँदै आएको छु। अनि त्यस गाउँको बाटो र जंगलहरूको भौगोलिक अवस्थिति र गाउँको बस्ती र बसाइँ वर्णन गर्दा ती व्यक्तिमात्र होइन, त्यो सुन्ने हामी सबै आश्चर्यमा परेका थियौं।

यस्तै सम्झना उहाँले हाम्रा मित्र कुसुम श्रेष्ठको बन्दीपुरस्थित पुर्ख्यौली–घरको बाटो, ढोकासम्म चढ्नुपर्ने ढुंगाको खुड्किलो कतिओटा छन्, झ्याल कस्ता छन् र छाना केको छ भन्ने शब्द–चित्र सुनाएर आफ्नो अद्भूत सम्झना–शक्तिको परिचय दिनुभएको थियो। नेपाली कांग्रेसको संगठनात्मक कामको सिलसिलामा उहाँले २००७ सालपछि बन्दीपुर जाँदा कुसुमजीको घर देख्नुभएको कुरा त्यसरी सम्भि्करहनु साधारण सम्झना–शक्तिको कुरा होइन।

अतः क्यान्सरबाट थलिएका एक ६८ वर्षीय वृद्ध व्यक्तिको यस्तो सम्झना–शक्ति हुनु सामान्य कुरा होइन। यिनै अद्भूत क्षमताका कारण नै बीपी नेपाली आकाशका नक्षत्र भएका हुन्। बीपी जति सम्झना–शक्तिको धनी थिए, त्यति नै निडर र साहसी थिए। यो कुरा आत्मवृत्तान्तमा बीपीले स्मरण गरेको एक घटनाले प्रष्ट पार्छ, गणेशमानजी भन्नुहुन्थ्यो, 'त्यो तपार्इंको शान्त मनस्थिति, त्यो साहस। म भन्ठान्थें म जति साहसी को होला! तर तपाईं (बीपी)लाई देख्दा म छक्क परें।' यो नै बीपीको बे्रनमा विद्यमान भावनात्मक समर्थताको एक नमुना हो।

बीपी प्रजातान्त्रिक समाजवादका प्रणेता थिए। बीपी मनमस्तिष्कमा प्रजातान्त्रिक समाजवादलाई केन्द्रमा राखेर राष्ट्रियता, प्रजातन्त्र र देशको सर्वांगीण विकासका लागि अघि बढ्ने एक स्पष्ट मार्गचित्र थियो। त्यसैले त बीपीले हरेक नेपालीसँग एउटा घर, एक हल गोरु र एउटा दुहुनो गाईको परिकल्पना गरेका थिए। यसरी बीपीले हरेक नागरिकलाई गास, बास र कपास तथा त्यसका लागि रोजगार अनि पौष्टिक आहार, शिक्षा र स्वास्थ्यको कुरा पनि उठाएका थिए। यहाँ एक हल गोरुको अर्थ रोजगार हो। दुहुनो गाईको अर्थ पौष्टिक आहार र स्वास्थ्य हो।

राष्ट्र निर्माणका सन्दर्भमा बीपीले भनेका छन्, 'एकीकरणपछि नेपालले एउटा आधुनिक भुगोल निर्धारित गर्यो, एउटा देश गठन भयो, यस निर्धारित सिमानामा बस्ने अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरूको, एउटा देश, नेपालको उदय त भयो तर बहुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देश ती सबै जातजातिको साझा फुलबारी हुन सकेन, एक राष्ट्र बन्न सकेन। शरीरको ढाँचा खडा त भयो, त्यसमा आत्मा प्रवेश हुन सकेन, फ्रेम बनाइयो तर तस्बिर राखिएन, भाँडो कुदियो तर त्यसभित्र राखिने तत्त्व राखिएन।'

बीपीले एकदम सटिक, तार्किक र भावनात्मक कुरा व्यक्त गरेका छन्। बीपीले भनेझैँ यो देशलाई सबै जातजातिको एक राष्ट्र बनाउन नै २०६२–२०६३ सालको जनआन्दोलन भएको हो। नेपाली नागरिकको भावना पनि यही हो। तर केही दलका केही नेताले तथा डलरको खेती गर्नेहरुले जातीय संघीयताको कुरा उठाएर देशलाई नै भड्खालोका जाकेका छन्।

सहजै अनुमान गर्न सकिने एउटा कुरा के भने सयौँ जातजाति तथा भाषाभाषी भएको यो देशमा ५–६ वटा जातीय राज्यहरू बनाउँदैमा कसरी यो देश सबै जातजातिको साझा फुलबारी हुन सक्छ? यसरी केही जातीय राज्य बनाउँदा केही जातिको आत्मसम्मान होइन कि यो हाम्रो राज्य हो भन्ने अहंकार बढ्नेछ र उक्त राज्यमा बसोबास गर्ने यावत् जातजातिको आत्मसम्मानमा ठेस लाग्नेछ। अर्को कुरो यस्तो संघीय राज्यले गरिब र पिछडिएका कुनै पनि जातजातिको भलो गर्दैन। भलो गर्छ त, टाठाबाठा र धनमानी मानिसको। छिमेकी संघीय देश भारतलाई नै हेर्नुहोस्, त्यहाँ दलित तथा आदिवासी जनजातिको हालत कस्तो छ? नेपालको भन्दा पनि दयनीय छ।

यस कुराप्रति दुरदृष्टि राख्नु आजको आवश्यकता हो। तर अरु पार्टीको कुरा परै छाडौँ, बीपीले जन्माएकै पार्टी, नेपाली कांग्रेसको ध्यान पनि सुरुदेखि नै त्यतापट्टि भन्दा सत्तापटि्ट नै केन्द्रित छ। तर जति दौडधुप गरे पनि गणतन्त्र स्थापना भएपछि नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको छैन। त्यसैले त पानीबिनाको माछाझैँ छटपटाइरहेको छ।

गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्ताको हातमा आएको छ। तर नेपाली कांग्रेसको दोस्रो पुस्ता लक्ष्यहीन राजनीतिमा 'कुहिरोको काग' जस्तो भएको छ। नेतृत्वसँग न स्पष्ट भिजन छ, न त कुनै उद्देश्य। नेपाली कांग्रेसको लक्ष्य के हो? सिर्फ सत्ताको कुर्सी? त्यही भएर पनि नेपाली कांग्रेस अहिले ओस्सिएको ब्याट्री जस्तो भएको हो।

नेपाली कांग्रेसले त नेपाली जनताको भावनालाई आत्मसात् गर्न सकेको छ न त मुलुकको नेतृत्व गर्न सकेको छ। त्यसैले हरेक वर्षको साउन ६ गते र भदौ २४ गते बीपीको शालिकमा माल्यार्पण गरी औपचारिकता पुरा गर्ने र बाँकी ३६३ दिन बीपीको ब पनि उच्चारण नगर्ने नेपाली कांग्रेसका साना/ठुला नेतालाई बोध हुनुपर्ने कुरा के भने आमनेपाली जनताको चाहना भनेको नै नेपालमा सामाजिक न्यायसहितको लोकतान्त्रिक शासन व्यावस्था स्थापित गर्नु हो। बीपीले कोरेको लोकतान्त्रिक समाजवादको बाटो नै नेपाली जनताको चाहना पुरा गर्ने सर्वोत्तम विकल्प हो।

बीपीको आदर्श र सिद्धान्त, स्पष्ट लक्ष्य र नेतृत्व पंक्तिमा प्रशस्त युवा वर्गको सहभागिताबिना ओसिएको ब्याट्री जस्तो नेपाली कांग्रेसलाई रिचार्ज गर्न खोज्नु 'दिवा सपना' हो। तर लोकतन्त्रको दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हिँडिरहेको छ। त्यसैले नेपाली कांग्रेसको दोस्रो पुस्ताले बीपीको आदर्शलाई मागिखाने भाँडो बनाइरहको वर्तमान अवस्थामा नेपाली कांग्रेसका नाति पुस्ताले बीपीको ब्रेनलाई आत्मसात् गरी बीपीले देखाएको बाटोमा मजबुत संगठनका साथ अघि बढ्नु नै आजको आवश्यकता हो।

प्रकाशित मिति: २०७० श्रावण ६, नागरिक

Back