बीपी र मेलमिलाप दिवस - रामचन्द्र पोखरेल (२०७० श्रावण १४, कान्तिपुर)
Print Friendly and PDF

"बीपीले स्वदेश फिर्तीको पूर्वसन्ध्यामा जारी अपिलमा भन्नुभएको थियो- 'राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसमा बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ' भन्दै उहाँले त्यसैमा बढ्नुभएको थियो- 'हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ ।'"

'राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अपि्रय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त पारेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौ .... ।'
३३ वर्षअघि 'राष्ट्रिय मेलामिलापको नीति' सम्बन्धी अपिल जारी गरी २०३३ पुस १६ मा भारतको पटनाबाट आफ्नो आठ वर्ष लामो राजनीतिक प्रवाश त्यागी जननायक बीपी कोइराला स्वदेश फिरेका थिए । निर्दलीय तानाशाही व्यवस्थाको चरमोत्कर्षमा यो साहसिक निर्णय लिँदा आफ्नो पार्टी कांग्रेसका साथीहरूले सहमति जनाएका थिएनन् । राजनीतिक जीवनमा २००३ देखि उहाँका अभिन्न मित्र गणेशमान सिंहसमेत यस निर्णयबारे पुनः विचार गर्न आग्रह गर्दै हुनुहुन्थ्यो । किनभने बीपीका विरुद्ध राज्य विप्लव र देश द्रोहका मुद्दाहरू थिए, जसमा फाँसीसम्म हुन सक्थ्यो । त्यस अवस्थामा देशभित्र प्रवेश गर्दा गणेशमान सिंहका साथै शैलजा आचार्य लगायतको साथीहरूले साथ छोडेनन् । त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्नासाथ सेनाको कडा सुरक्षा घेराभित्र पारेर अज्ञात स्थलतिर लगिएको खबर फैलिएपछि ज्यानको खतराको आउन सक्ने भएकाले गम्भीर चिन्ता पैदा भएको थियो । पछिमात्र थाहा लाग्यो उहाँलाई फेरि सुन्दरीजल सैनिक जेलमा पुर्‍याइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उहाँको जीवन खतरामा पर्न सक्ने आशंका गर्दै समाचार विश्लेषण पठाउन थाले । फेरि एकपल्ट विश्वभरिका प्रजातन्त्रमा विश्वास राख्ने राजनीतिज्ञहरू, मानव अधिकारवादीहरू एवम् मानवअधिकारको रक्षाका लागि समर्पित संस्था 'एमनेस्टी इन्टरनेसनल' र प्रजातान्त्रिक समाजवादीहरूको अन्तर्राष्ट्रिय संगठन 'सोसलिस्ट इन्टरनेसनल' ले तत्काल उहाँको जीवनरक्षाका लागि आवाज उठाउन थाले ।

बीपीले स्वदेश फिर्तीको पूर्वसन्ध्यामा जारी अपिलमा भन्नुभएको थियो- 'राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसमा बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ' भन्दै उहाँले त्यसैमा बढ्नुभएको थियो- 'हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ ।' २०१७ पछि बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका आठ जना नेताहरू राखिनुभएको थियो, पूरै शाही सैनिक नियन्त्रणमा । तिनताक सुन्दरीजल जान सजिलो थिएन । कच्ची सडकले मात्र जोडेको थियो । त्यहाँ दुई दृष्टिबाट राखिएको थियो । तरुणदलको प्रथम महाधिवेशनमा भाषण गर्दा गर्दै सेनाले पक्रेर मञ्चबाटै 'प्रधामन्त्रीलाई' लगिएको थियो र सम्भावित विद्रोहको निर्मम दमन गर्ने तयारीसमेत थियो । तत्कालीन राजा महेन्द्रले प्रारम्भमा सिंहदरबार बरफवात्रमा कडा सुरक्षा पुग्न सक्ने स्थानमा राख्ने आदेश दिएका थिए । यसबाट पनि बीपीको सम्मान देखिने र समर्थन सेनाको जमात बढेर 'केआई सिंहको विद्रोह' जस्तै प्रतिक्रान्ति सरह अर्को 'विद्रोह' हुन सक्ने भयमा सुन्दरीजल सारिएको थियो । जहाँ कांग्रेसको उच्च नेताहरूलाई मात्र राखिएको थियो ।

आठ वर्ष लामो त्यो सुन्दरीजलको जेल एसियाली प्रजातान्त्रिक आन्दोलनकै विशिष्ट प्रकारको राजनीतिक प्रजातान्त्रिक समाजवादी विचारधाराको 'वैचारिक केन्द्र' को रूपमा थियो । जहाँ अत्यन्त राजनीतिक चिन्तन हुन्थ्यो जुन कुरा बीपीको 'आत्मवृत्तान्त' मा झलक पाइन्छ । सौभाग्य, त्यो ठाउँ आज 'बीपी संग्रहालय' मा परिणत भएको छ । २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गरी आठ वर्षपछि स्वदेश फर्केपछि उहाँलाई गिरफ्तार गरी पुनः त्यसै सैनिक जेलमा पुर्‍याइएको थियो ।

'राष्ट्र रहेन भने हामी रहन्नौं' भन्ने बीपीको उद्घोष, आठ वर्षको प्रवासपछि पुनः त्यस्तै कठोर जेल कबुल गरेर स्वदेश प्रवेश गर्ने आँट र साहस गरेर स्वदेश र्फकनु, सम्भावित मृत्युको खतरा मोलेर आउनु र फेरि अर्को देशको सम्भावित जेल कानुन साहसपूर्वक समाना थिएन । मानिस बीस वर्ष भूमिगत बस्न सक्छ । प्रवासमा जीवनभर स्वतन्त्र विचरण गर्न सक्छ र विद्रोही सैन्य खडा गरी अर्को खतरा मोल्न सक्छ तर वषौ वर्ष एउटा सानो कोठामा कोचिएर बस्नु कबदु गर्नुका पछाडि कुनै एउटा प्रेरकतत्वबिना सम्भव हुँदैन । त्यो उत्प्रेरणा भर्ने ताकत के थियो र कुन यस्तो तत्व थियो जसले यो समर्पणसम्म पुर्‍यायो ?

२०३३ को कदम प्रजातन्त्र र प्रजातान्त्रिक अधिकारभन्दा पनि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको उच्च भावनाले उत्प्रेरित थियो । ०३३ को सुन्दरीजल जेल जीवनलाई र त्यसको पछाडि अन्तरनिहित भावना कारक र प्रेरणाबारे कम जिज्ञासा राख्छन् । आजको पुस्ताले यस राष्ट्रको राजनीति बचाउन त्यही चिन्तनको गहिराइतिर पुग्ने प्रयास गर्यो भने आजको जटिल राजनीतिक गतिरोधको सही उत्तर र समाधान खोज्न सकिन्छ भनेर अनुमान गर्नु आजको राष्ट्रियताको नयाँ परिभाषा लेख्न, नयाँ संविधान बनाउन खोजिएको घडीमा सान्दर्भिक हुनेछ ।

प्रकाशित मिति: २०७० श्रावण १४, कान्तिपुर

Back