बीपीलाई भेट्न जाँदा - डा. धु्रवचन्द्र गौतम (२०६९ चैत्र १०, कान्तिपुर)
Print Friendly and PDF

काठमाडौ, चैत्र १० - २०२७ २८ तिर । ठ्याक्क सम्झना भएन । महिना फागुनको थियो, यसमा निश्चित छु । गते सोध्यो, बार सोध्यो भने ठ्याम्मै बताउन सक्दिनँ । हामी केही मित्र र परिवारका सदस्य बनारस गएका थियौं । मेरो पहिलो बनारस यात्रा ।

एक दिन अचानक रिक्सामा आइरहेकी भुवन ढुंगाना -त्यसबखत कोइराला) सित भेट भयो । हामी अमलेखमा थियौं । सिउडी पत्रिका हाम्रो मुखपत्र थियो । भुवन नै सम्पादन गर्नुहुन्थ्यो । उहाँले रिक्सा रोकेर भन्नु भयो, बिपीसँग भेट्न चाहनुहुन्छ ?

'अफकोर्स चाहन्छु,' मैले भनें । 'त्यसो भए अहिले म उहाँकहाँ जाँदै छु, भोलिलाई टाइम मिलाएर आऊ ?'

'स्योर,' मैले भनें, 'तर म खबर कसरी पाउँछु ?' 'म खबर गर्छु ।' भुवनले भन्नुभयो, 'भोलि कतै नजानुहोला ।'

'बिल्कुल जान्नँ,' मैले प्रसन्नतामा भनें । 'एउटा कुरा स्पष्ट गरिदिउँ', त्यो सहज बेला भने थिएन । बीपीलाई भेट्न मान्छे लुकेरै आउँथे, कि आउँदैन थिए ।

मलाई भुवनबाटै थाहा भयो त्यस बखत बीपी मामुरगन्ज भन्ने ठाउँमा बस्नुहुँदो रहेछ । वर्षौंसम्म एउटा पहेंलो बंगला सम्भिmन्थें । गेट सम्भिmन्थें अगिल्तिरको चौर र बंगलाको बरन्डा सम्भिmन्थें तर त्यो इलाका याद भएन ।

त मामुरगन्जको त्यस बंगलामा भोलिपल्ट म र भुवन रिक्सामा गयौं । उहाँले मलाई खबर गर्नुभएको थियो, अगावै ।

म त्रिचन्द्रमा शिक्षक भइसकेको थिएँ । त्रिचन्द्र सरकारी कलेज थियो । त्यसकालको कडाइको अहिले मै पनि कल्पना गर्न खोजँु भने अति कल्पनाझैं लाग्नसक्छ । त्यसकारण मैले मसित गएका कसैलाई पनि भनिन। विनोद दीक्षितलाई समेत अन्य बहाना बनाएर हिँडें । डरचाहिँ किन लागेन भने त्रिचन्द्रमै पढाउँदा पनि काठमाडौंको जेलमा म पुरुषोत्तम बस्नेत र अन्य मित्रहरूसँग भेट्दथें । त्यसले गर्दा हाम्रो शब्दमा भनुँ भने म ढिठ भइसकेको थिएँ । हेरुँ न त के गरिहाल्दा रहेछन्, यस्तो भाव थियो ।

बीपी स्वयं बरन्डामा उभिनुभएको थियो । यो संस्कृति मैले नेताहरूमा पछि पनि देखें । कोही आउँदा सबै उभिने । म त को थिएँ र ? भर्खर केही कथा र एक उपन्यास -अन्त्यपछि) पुरानो । हाम्रा लागि बीपीले गरेको सम्मानजनक व्यवहारले त मलाई झन् संकोची बनायो । यति ठूलो मानिस यति विनम्र व्यवहार ।

बैठकमा बसेपछि केहीबेरपछि देख्छु, केवल बीपी र म मात्र कोठामा छौं । भुवन त एकदम निकटकी, कताकता लाग्नुभयो । पछि मात्र भेटिनुभयो ।

बीपीले सोध्नुभयो, 'कहाँ बस्नुभएको छ ?' मैले भनें, 'नेपाली धर्मशालामा ।'

'मैले तपाईंलाई नाउँले चिनेको थिएं, भेट भएको थिएन । मेरालागि उत्सुकताकै विषय भयो । परम वा चरम उत्सुकता ।' मैले भनें, 'मलाई कसरी चिन्नुभयो र ?' मेरो स्वरमा अविश्वास थियो ।

उहाँले भन्नुभयो, 'म रूपरेखा पढ्छु नि ।' अब विश्वास भयो, यो चिनाइ, उहाँले केवल मेरो उत्साह बढाउन प्रकट गर्नुभएको होइन रहेछ । रूपरेखा बाट त म नेपाली साहित्य जगत्मा आएकै हो । छाएकै चाहिँ होइन फेरि । नयाँ लेखक, युवा लेखक, प्रयोगवादी लेखक अनि अत्याधुनिक लेखक त भन्थे तर नाउँ लिँदा समूहमा लिन्थे, जसलाई म गु्रप फोटोग्राफी भन्ने गर्दथें ।

मैले बीपीलाई भनेको थिएँ, 'सान्दाजु -यो अरूले पनि भन्ने गर्थे, मलाई पनि अरू सुझेन यही सम्बोधन गरें) तपाईं त प|mायडियन धाराको प्रवर्तक हो । तर, मलाई भने सिपाही कथा निकै मन पर्यो ।'

'त्यो बेग्लै ट्रेनमा छ,' उहाँले भन्नुभयो । 'मलाई त्यसको पृष्ठभूमि पनि याद छ ।'

त्यसपछि उहाँले सिपाहीको पृष्ठभूमि छोटकरीमा भन्नुभयो । अहिले म मिलाएर भन्न जान्दिनँ ।

'तपाईं लेख्नुहुन्छ,' बीपीले भन्नुभयो, 'तर, लेखकमा एउटा आदर्श हुनुपर्दछ । लेखनको उद्देश्य आदर्शमा टिकेको हुनुपर्दछ ।'

मैले भनें, 'हुन त हो तर यहाँ अलिकति अन्तर गर्नुपर्ने देख्दछु । तपाईंहरू बहुमुखी प्रतिभा र क्षेत्रका व्यक्तित्व हुनुहन्छ, आदर्श मान्न मिल्छ पनि । तर हामी त लेखेरै मात्र बस्ने मानिसले त्यस्तो आदर्शवादी भएर कसरी काम चल्ला ? हामीले त लेख रचनाको पारिश्रमिकको माग गर्नैपर्ने हुन्छ । लेखेर बाँच्न पाउनुपर्छ भन्नुपर्ने हुन्छ, त्यस्तो स्थितिको सिर्जना होस् भनेर माग गर्नुपर्ने हुन्छ । त्यस्तामा आदर्श मात्र बन्न कसरी सम्भव होला ?'

'तपाईंको कुरोसित म पनि सहमत छु,' बीपीले भन्नुभयो, 'तपाईंहरूले त्यस्तो आदर्शवादको पछि लागेर साध्य चल्दैन । तर लेखन सकेसम्म माथि उठेको होस्, आफ्नो धरातलमा माथि उठेको हुनुपर्दछ यो तपाईं पनि मान्नुहुन्छ ?'

'त्यो त हरेक लेखकको उद्देश्य नै हुनुपर्दछ, यसमा सन्देह छैन,' मैले भनें, 'तपाइर्ं आपै+m त्यत्रो लेखक, लेखकको र लेखनको मर्म बुझ्ने अन्य क्षेत्रका कमै हुन्छन् ।'

एक्कासि उहाँले भन्नुभयो, 'धु्रवजी, अब आउनुभएको छ भने, खाना खाएरै जानुहोस्, हुन्न ?' मैले संकोचपूर्वक भनें, 'हस् ।'

त्यत्रो मान्छेले विनम्रता देखाउँदा, अझ त्यसमाथि बराबर ठानेर बहस गर्दा म अत्यन्त संकोच मानिरहेको थिएँ ।

मैले सोधें, 'हजुरलाई भेट्न त धेरै किसिमका मानिस आउँदा हुन् ? गाह्रो हुँदैन ?'

'बानी परिसक्यो,' उहाँले भन्नुभयो, 'गुप्तचरसमेत साहित्यिक कुरा गर्ने निहुँमा आउँछन् । तिनलाई समेत डिल गर्नुपर्छ ।'

यो स्पष्ट पारूँ, मैले बीपीलाई 'हजुर' नै सम्बोधन गरेको थिएँ । यहाँ लेख्ने सुविधाका लागि 'तपाईं' सम्बोधन गरेको हुँ । मध्यमवर्ग यस्तै हुन्छ भन्ने नमुना पनि हो यो ।

बीपीका उपन्यासहरू निस्किसकेका थिए । उपन्यासतिर मोडें कुरालाई, 'आपmना उपन्यासहरूमा तपाईंलाई कुन उपन्यास सबभन्दा बढी मन पर्छ ?'

उहाँले प्रतिप्रश्न गर्नुभयो, 'तपाईंलाई नि ?' मैले भनें, 'नरेन्द्र दाइ ।'

'मलाई पनि त्यही मन पर्छ ।' कुन्नि यो उत्तर उहाँले साँच्चिकै मन परेर दिनुभएको थियो कि मेरो मन राख्नलाई, त्यो भने मलाई स्पष्ट भएन ।

मेरो सम्झनाले साथ दिएको छ भने, त्यसबखत उहाँले नाइटसुट लगाउनुभएको थियो, सम्भवत् धारीदार । एकदम घरेलु र घरको माहोल थियो त्यहाँ । कुनै औपचारिकता देखिएन । उहाँको खुबी भनूँ, हामीजस्तो भर्खर लेख्नेलाई पनि कम्फर्टेवल बनाइदिने मात्र होइन, गम्भीर कुरासमेत सरल भाषामा बोलेर बौद्धिक म पनि हुँ भन्ने आभास दिलाइदिने । कुरैकुरामा एकपटक साहित्यले समाजमा परिवर्तन ल्याउने कुरा उठाएँ मैले । उहाँले भन्नुभयो, 'साहित्यले विचारलाई प्रभावित गर्छ । विचारले समाज प्रभावित गर्छ, साहित्यले ल्याउने परिवर्तन त्यसरी हो ।'

मैले सोधें, 'समयले ल्याउँदैन परिवर्तन ?'

उहाँले भन्नुभयो, 'समय भनेको एब्स्ट्याक्ट कुरा हो । समयले ल्याउने परिवर्तन भनेको पनि मनुष्यले ल्याउने परिवर्तन हो । साहित्यले मनुष्य स्वतन्त्रताको वकालत त्यसैले गर्छ कि त्यसले विचारमा परिवर्तन ल्याउँछ । विचारले समाजमा परिवर्तन ल्याउँछ । स्वयं समय र मानव जातिमा परिवर्तन ल्याउँछ । समय पनि मान्छेले नै बदल्ने हो ।'

मैले भनें, 'साहित्यमा म अराजकतावादी हुँ भनेको, पूर्ण स्वतन्त्रता, निर्बाध स्वतन्त्रता भन्ने मैले बुझेको छु, यसमा के भन्नुहुन्छ ?'

'आशय यही हो मेरो पनि,' उहाँले भन्नुभयो, 'तर व्याख्या गर्ने स्वतन्त्रता हरेकसित हुन्छ ।'

खानाको टेबुलमा भएका कुराहरू हलुका रमाइला खालका थिए, त्यसकारण अहिले सम्भिmन्नँ ।

बीपीले कुरा गर्दैमा एकपटक भन्नुभएको थियो, 'यो हाम्रो पहिलो भेट हो त्यसकारण... ।'

मैले बीचमा भनें, 'तपाईंका लागि पहिलो भेट, तर मेरा लागि दोस्रो हो ।'

'कसरी ?'

'१६ सालमा जब तपाईं प्रधानमन्त्री हुनुहुन्थ्यो, मेरो हातमा मेरा एक दाइले निम्तो कार्ड दिनुभएको थियो । धनुषचन्द्रको कोट लगाएर म रोयल होटल पुगेको थिएँ । त्यो पार्टी तपाईंकै सम्मानमा थियो । त्यहाँ सबभन्दा सानो मै थिएँ । अशोभनीय पनि देखिँदो हो, मलाई लागेको थियो । अरूले त अरूले तपाईंले समेत मलाई चकित भएर हेर्नुभएको थियो । त्यही मेरो पहिलो भेट थियो ।'

'मलाई त याद छैन त्यो ।'

'त्यसबखतको कुरा सम्झेर अहिले ठान्छु, त्यहाँ मैले जानु नै हास्यास्पद थियो । केटाकेटी बुद्धि कस्तो भने जहाँजहाँ तपाईं ठूल्ठूला मानिससित कुरा गर्न जानुहुन्थ्यो, म त्यहीं घुस्दथें । यस्तो भएको थियो । एउटा अरू पनि कुरा छ, मैले तपाईंको कोटलाई पछाडिबाट छोएको पनि थिएँ ।'

'अच्छा ?' बीपी राम्ररी हाँस्नुभयो, 'म त अनभिज्ञ थिएँ ।'

तर मेरा लागि त्यो अविस्मरणीय भयो । आज बल्ल बताउन पाएँ ।

जाने बेला भयो । बीपी फेरि हामीलाई छोड्न बरन्डासम्म आउनुभयो । त्यसबखत त्यहाँ चक्र बास्तोला पनि हुनुहुन्थ्यो, एउटा ब्याग भिरेर उभिएको ।

बीपीले भन्नुभयो, 'गएर चिठी लेख्नु होला ।'

'हस् ।'

'कि डराउनुहुन्छ ?'

'पटक्कै डराउँदिनँ ।'

तर चिठी भने पछि मैले लेखिनँ । डराएर होइन । कुराकानीपछि म मनमनै सोचिरहेको थिएँ यतिका भेट्नेहरूमा सम्भावना ममात्र थिए, जो बीपीजस्तो निर्वासनमा रहेको नेतासित केवल साहित्यको कुरा गरेर फक्र्यो ।

बीपीसित अर्को भेट पनि भयो, पछि । त्यो कुनै अरू बेला ।

प्रकाशित मिति: २०६९ चैत्र १०, कान्तिपुर

Back