संविधानको तेस्रो संशोधन सम्बन्धमा प्रेस वक्तव्य — विश्वेश्वर प्रसाद कोइराला (माघ २१, २०३७)
Print Friendly and PDF
Print Friendly and PDF

श्री ५ महाराजाधिराजद्धारा हालैमा घोषित संविधानको तेस्रो संशोधन निराशाजनक छ । यसमा निश्रय नै त्यस्ता तत्वहरु पनि समावेश भएका छन् जो संसदीय प्रजातन्त्रका विशेष लक्षण हुन् । तर यी सकारात्मक तत्वहरुलाई संविधानमा अन्य प्रतिकूल धाराबाट निस्कृय गर्ने प्रयत्न भएको छ । देशलाई अहिले यस्तो राजनीतिक यन्त्र चाहिएको छ जसले आर्थिक–सामाजिक परिवर्तन ल्याउन सकोस्, जस्ले २० वर्ष देखि स्थापित प्रतिगामी, शोषणशील र अन्तराष्ट्रिय निहित स्वार्थको फन्दावाट देशलाई मुक्त गर्न सकोस् र एउटा सशक्त राष्ट्रिय शक्तिको निर्माण गर्न सकोस् । आज हामीहरुलाई चाहिएको यस्तो यन्त्र हो जसले जनप्रिय संस्थाहको सृष्टि गरोस्, जसद्धारा आर्थिक विकासका लागि चाहिने हाड घोटिने खालको प्रयत्नका लागि जनता संचालित हुन सकून् । केवल शक्तिको एक हट्ठी कायम र सुरक्षित राख्ने प्रयत्नमा संविधानदाताले त्यो साहस बटुल्न सकेको छैन जो आजको राष्ट्रिय हाँक हो । नियन्त्रण र सन्तुलनको प्रजातान्त्रिक सिद्धान्तलाई यस पटक संविधानमा समाविष्ट गर्ने भनिएको छ तर के एउटा हातमा निहित शक्तिको एक हट्ठीलाई सन्तुलित नियन्त्रण गर्ने प्रयत्न भएको छ या त्यस शक्तिलाई राख्न अन्य शक्ति केन्द्र या संस्थाहरुको स्थापना गरिएको छ ? भरखरै जन्मिन खोजेको विधायिका र त्यसद्धारा स्थापित हुन सक्ने सरकारका उपर भने अनेक प्रकारका नियन्त्रण लादिएका छन् । राष्ट्रिय एकताको जुन खाँचो अहिले सबभन्दा बढी छ; त्यसको निर्माणमा यस दस्तावेजले कुनै सहायता दिन सक्दैन ।

जस्तो मैले माथि भनि सकेको छु, यस संविधानमा त्यस्ता सकारात्मक लक्षण पनि छन् जसले यसलाई पूर्ण वहिस्कारबाट जोगाउन सक्छ तर त्यसरी जोगिनका लागि निर्वाचनको प्रकृयामा कुनै बन्देज रहनु हुन्न र चुनावलाई निस्पक्ष र धाँधलीरहित गराउनको लागि चुनाव भरपर्दो मातहतमा हुनु पर्छ । त्यस्तै अन्य छेकवारहरु पनि समाप्त हुनु पर्छ ।

हाम्रो मुलुक ठूलो संकटमा परेको छ– अस्तित्वको नै संकट । हामीले आफ्नो निर्णय अत्यन्त सावधानी र विचार पु¥याएर लिनु पर्छ । त्यसो हुनाले म आफ्नो सहयोगी साथी र अन्य नेताहरुसंग छलफल गर्दैछु एउटा मतैक्य स्थापनाका लागि– यस संविधानका प्रश्नलाई लिएर । मलाई यस कुराले सन्तोष छ कि हामी प्रजातन्त्रवादीहरुमा– जुनसुकै पार्टी या गु्रपमा विभाजित भएता पनि एक प्रकारको मतैक्य पाएको छु । यसै बीचमा म श्री ५ महाराजाधिराजसंग पनि दर्शन गरी केही बुँदाहरुबारे स्पष्ट हुन चाहान्छु ।

Back