वी. पी. कोइरालाले धनगढीमा, २९ फाल्गुण २०३७ गते दिनु भएको भाषण
Print Friendly and PDF

म र मेरा साथीहरु यहाँ आउदा तपाईहरुले जुन हाम्रो स्वागत गर्नु भयो, त्यो जीनव पर्यन्त नविर्सने अनुभव भएको छ हामीलाई ।

हाम्रो देशमा १०० मा नब्बे जति मानिसहरु गरिब छन् । जसलाई खान लाउन पुग्या छैन । उनीहरु कुटो कोदालो गरेर गाउँमा बस्छन् । नेपाल भनेकौ तिनै १०० मा नब्बे मासिनसहरु हुन् । जब म नेपलको कल्पना गर्न थाल्छु, त्यसबेला तिनै गरीब दाजु–भाइहरुको तस्वीर मेरो अगाडि आउँछ— मैलो लुगा लगाएको खान नपाएको र रोगी अनुहारको तस्वीर । अनि मलाई लाग्छ— यो रागी, खान नपाएको अनुहार पो त हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जावस्, हाँस्न नपाएको ओठमा हाँसो आवस्, केटाकेटीहरुले पढ्न पाउन्, रोगी छन् भने औषधी–मूलोको व्यवस्था होस् भनेर नै हामीहरु राजनीतिमा लागेका हौ— मन्त्री हौला, ठूला–ठूला कुर्सीमा जावौला भनेर रानीतिमा लाग्या हैनौ । यही कारणले गत ३४ वर्षदेखि नेपालको भूमिमा राजनीति गर्दा हामीले हमेसा जेलमा या विरोध भएर बस्नु प¥यो । र तपाई हामी सबैलाई शोषण गर्ने, प्रति दिन गरीब तुल्याउने व्यवस्थाको विरोध गर्दा अधिकांश समय हाम्रो कि त जेलमा रह्यो या बाहिर विदेशमा विदेशिनु प¥यो । जहिले पनि हामीहरु यदि देशको कुरा गर्छौ भने, तिनै गरीब र सधै गला थिचिएका निमुखा मानिसहरुको कुरा गर्छौ ।

जनमत सग्रंहमा कसरी बहुदलीय पक्ष हा¥यो र पञ्चायत पक्षले जित्यो, त्यो अब इतिहासको विषय भएकाले त्यसको चर्चा गरिरहन चाहन्नँ । अहिले हाम्रो सामु— कुटो कोदालो गर्ने र खान नपाएकाहरुको सामु एउटा संविधान आएको छ । त्यसलाई राम्ररी नहेरी, राम्ररी अध्ययन नगरी त्यसमा के भनिया छ त्यो नबुझी हामीहरु त्यसै त्यसमा सहिछाप गर्दैनौ । त्यसमा धेरै कुरा लेख्नै बाँकी छ । तपाईहरु पनि घरायसी काम गर्न हुँदो हो । कागजको कति कारवाही त्यसमा आउँदो हो । र ती कागजहरुमा आफ्नो सहीछाप लगाउँदा, कागज राम्ररी हेर्नु हुन्छ— त्यसमा सच्चाउनु पर्ने भए सच्चाउन लगाउनु हुन्छ, नपुग भए थप्न लगाउनु हुन्छ र भन्नु हुन्छ– भाइ हो ! राम्ररी पढ, राम्ररी विचार गर । नत्र केमा सही हालौला । त्यो फेरि गएर के हुने हो ...? त्यसै राम्ररी विचार नगरी हस्ताक्षर गर्नु हुन्न । तर यो घरायसी कागज होइन । यसले तपाई हामीलाई झन् झन् गरीब तुल्याउने हो वा हाम्रो भाग्यलाई बढाउने हो ? यत्रो ठूलो दस्ताबेज अहिले हाम्रो अगाडि आएको छ ।

तपाईहरुले रोजेर म यो देशको प्रधान मन्त्री भएँ । तर बीस वर्ष पहिले मलाई जेल हालियो । मेरो अपराध के थियो भने म राजाबाट मनोनित भएको थिइनँ— तपाइहरुवाट रोजिएको थिएँ । त्यस वाहेक मेरो अरु कुनै दोष थिएन । त्यसरी थुन्दा मलाई के लागेको थियो भने, म बडो ह्दयदेखि भनिरहेछु महाराजाधिराजलाई लाग्यो होला, हाम्रो मुलुक गरीब छ, प्रजातन्त्रले केही ढिलो गतिले सुधार गर्छ । प्रजातन्त्रकै बाटो हिडिर≈्यौ भने धेरै कालसम्म गरीबी नै रहन्छ, हाम्रा जनता गरीब छन् । त्यसकारण प्रजातन्त्रलाई समाप्त पारेर, आफ्नो हातमा अधिकार लिएर– एकतन्त्रीय शासनबाट छिटो विकास गर्छु भन्ने सोचेर नै सबै अधिकार आफूले लिएर महाराजाधिराजले हामीलाई जेल भित्र थुनेको होला ।

म जेलमा हुँदा जस्तो सुकै दुःखले– परिवारबाट अलग्ग पारेर राखिएको होस् तैपनि मलाई लाग्थ्यो– बाहिर देशमा त सुधार भैरहेको होला । म वर्ष गन्थे, एक वर्ष गयो– देशमा कुलोको व्यवस्था भयो होला । अर्को वर्ष गयो, यहाँ ओखती–मूलको व्यवस्था भयो होला । यसरी आठ वर्ष वित्यो । त्यसपछि छुटेर फेरि निर्वासित हुनुपर्यो । आज बीस वर्ष भयो, यस अवस्थामा हामीहरु पुगेका छौ । यो बिस वर्षमा देश बन्ने कुरा त कहाँ, कहाँ ? गरीब दाजु–भाइहरुको भलो हुने कुरा त कहाँ कहाँ ? बाली बढाउने, अन्न उब्जाउने कुरा त कहाँ कहाँ ? अब देशलाई न खतरा छ, हामीहरु नै स्वतन्त्र रहन्छौ कि रहन्नौ भन्ने भय अहिले हाम्रो सामु आएको छ । यो कुरा हामीहरुले मात्र भन्या होइन । फाल्गुण ७ गते महाराजाधिराजबाट हुकुम भएको छ । म प्रधानमन्त्री छँदा त बडो उत्साहसङ्ग हामीहरु विकासको काममा अघि बढेका थियौ । देश खतरामा पर्न थालेको मलाइ अनुभव थिएन । के कारणले देश खतरामा पर्न थाल्यो, के कारणले ती– देशलाई खतरामा पार्ने तत्वहरुले यहाँ बढ्ने मौका पाए ? त्यो १ पौष २०१७ को कारवाहीबाट भयो । त्यो कारबाहीले केवल तपाई–हाम्रो अधिकार मात्रै खोसेन, देशको मर्म अस्तित्वलाई नै आघात पार्ने काम त्यसबाट भयो । हामी राष्ट्रवादी, प्रजातन्त्रवादी– देशले विश्वास गरेकाहरु जेलमा बस्यौ । जसलाई देशको ममता छैन, बाहिरी शक्तिबाट जो सञ्चालित छन्, जसमा स्वाभिमानी छैन, जसलाई जनताले विश्वास गरेका छैनन्– तिनीहरु भने सत्तामा– शासनको केन्द्र्रमा आए । अहिले यो जुन ब्यवस्था छ, त्यसको ठूला–ठूला ओहदामा तिनीहरु नै बसेका छन् । ती न किसान हुन्, न मध्यमबर्गीय, न त तिनीहरु शामन्ती हुन न पूँजीपति वर्ग । तिनीहरु पूँजीपति वर्ग भए, पूँजीको विकासमा लाग्ने थिए । उद्योग धन्दाको विकास भएर नै पूँजीपतिको विकास हुन्छ । र देशमा पूँजी व्यवस्थाको विकास भएर नै पूँजीपतिको विकाश हुन्छ । या तिनीहरु शामन्ती भए, किसानहरुको शोषण उनीहरुबाट भए पनि उनीहरुका सम्पतिको आधार देशको उब्जनीमा नै निर्भर रहन्थ्यो । वर्षा भएन भने उनीहरुको सम्पत्ति पनि कम भएर जान्थ्यो र यहा राम्रो वर्षा होस्, वालीनाली सप्रोस् भन्ने उनीहरु पनि कामना गर्थे । तर ती न शामन्ती न पूँजिपति, तिनीहरु संबृद्धिशाली भएका यहाँको पूँजी विकाश र शामन्ती विकाशले होइन । तिनीहरु यत्रो संवृद्धि देशको संबृद्धिसङ्ग सम्बन्धित छैन । देशमा सुखा परोस् या बाढी आवस्– उनीहरुको संबृद्धिमा केही कमी हँदैन । विदेशबाट आएको जुन सहायता र कोष छ, त्यसको दुरुपयोग यिनीहरुबाटै आएको छ । विदेशबाट जुन करौडौ रुपैया आउँछ, त्यसको ६० देखि ६५ प्रतिशतसम्म रमक यिनीहरु नै खान्छन् । अनि अर्को जुन व्यापार यहाँ चलेको छ, त्यो पनि तिनै वर्गको निमित्त मात्र भएको छ । तपाईहरुको निमित्त भएको छैन । त्यसको नाउँमा अनेक काला व्यापारहरु गरेर उनीहरु संबृद्ध भएका छन् । देशको उन्नतिको यिनीहरुलाई चासो छैन । यही तत्व शासनमा बसेको छ र अहिले आएको संविधान कसलाई ? कसको निमित्त भन्दा– यिनै तत्वको लाभको निमित्त आएको हो । यो आएको संविधान गरीब जनताको निमित्त होइन र राजाको निमित्त पनि यो होइन । सारा अधिकारहरु मौसूफमा नै निहित राखिया हुन् भनेर राजालाई भनिएको होला तर बास्तवमा राजामा त्यो अधिकार, कागजको अधिकार मात्र छ । हामीलाई त अप्ठयारो पा¥या छ, पा¥या छ । राजनैतिक दृष्टिबाट हेर्दा राजालाई पनि यसले अप्ठयारो पा¥या छ राजशक्ति र जनशक्ति एक हुन सक्ने संविधान आउनु पर्ने । त्यसो नभएर, राजशक्तिलाई पनि अप्ठ्यारो पार्ने र जनशक्तिलाई पनि अप्ठयारो पार्ने– यो बीस वर्षमा सृष्टि भएका बीचका यी लाउकेहरुको मात्र हीतमा संविधान आएको छ । अब यस परिस्थितिमा के गर्ने भनेर, नयाँ र पुराना साथीहरुसित छलफल गर्न हामीहरु देशभरि घुमिरहेछौ । मेची अञ्चलबाट हामीले थाल्यौ, सेती अञ्चलसम्म आएका छौ ।

मैले भन्न खोजेको एउटै कुरा– हामी गरीब जनताको भलाई गर्ने उद्देश्यले राजनीतिमा लाग्यौ । जुनसुकै परिस्थितिमा पनि हामी आफ्नो उद्देश्य परिपूर्तिमा लागिरहने छौ । तपाईहरु देशभरिका सारा दाजु–भाइहरुले जुन स्नेह र ममता दिनु भयो त्यो हामीलाई ठूलो कुरा भैरहेछ । त्यस्तै स्नेह पाएर नै यो तमाम दुःख–कष्ट यातना हामीले ३४ वर्षसम्म सह्यौं होला । यस्तै तपाईहरुको स्नेह र ममताले त्यो धोइन्छ र हामी हमेशा हमेशा जनताका प्रति आबद्ध भएर काम गर्ने छौ । यो प्रेरणा र शाहस तपाईहरुबाटै हामीले पाइरहेका हुन्छौ ।

(साभारः वी. पी. कोइरालाका भाषणहरु, जयनेपाल प्रकाशन, २०३८) (पृ. १२—१५ सम्म)

Back