"समाजवादको सान्दर्भिकता" - पुरुषोत्तम दाहाल (२०७१ असार ४, अन्नपूर्ण पोस्ट्)
Print Friendly and PDF

लोकतान्त्रिक समाजवाद हो कि सामाजिक लोकतन्त्र हो? यो विवाद आज सशक्त भएर उठेको छ। काम नभएपछि शब्दको जालोमा मानिसको ऊर्जा खर्च हुने गर्छ। नेपालमा यतिखेर काम छैन। बुद्धिविलास गर्नेहरू त्यसमा पनि समाजशास्त्री, राजनीतिका महापण्डित र अर्थशास्त्रीहरूले राष्ट्र निर्माणको नयाँ सूत्र खोज्नुभन्दा पुराना शब्दहरू र सिद्धान्तमा अडिएर बहस गर्नुलाई ज्ञानको अन्तिम सीमा ठानिरहेका छन्। समाज विकासले लामो फड्को मारिसकेको छ। विकासशील समाजको यात्रा राम्रो वा नराम्रो जस्तो भए पनि रोकिनेवाला छैन। हातले चन्द्रमा टिप्ने र आकाशलाई टाउकोमा राख्ने भ्रम पालेर बस्ने बुद्धिविलासका धनीहरूले मानिसलाई अनेक भ्रम छरिरहेको भेटिन्छ। त्यो भ्रमका सर्जक र उत्सर्जक बुद्धिजीवीहरू नै हुन्, तर तिनै भ्रमभित्रबाट निस्कने निचोडले राष्ट्र र समाजको उन्नतिको खाका कोरिरहेको हुन्छ। त्यस्तो कुनै खाका भएन भने समाज मध्ययुगीन बर्बरताभन्दा अगाडि बढ्न सक्दैन व्यवहारमा। सामाजिक लोकतन्त्र वा लोकतान्त्रिक समाजवाद भन्ने बहस पनि यथार्थमा त्यस्तै शब्दको उन्‍नत खेती हो।

विश्‍वेश्‍वर प्रसाद कोइरालाको नवनेपालको रचना गर्ने परिकल्पनाको आरम्भिक कालमा समाजवाद नेपालमा प्रवेश भएको हो। माक्र्सवादको निरंकुश प्रयोगविरुद्ध तर त्यसैलाई टेकेर परिभाषित समाजवादलाई रुखको बोक्रेयुगबाट इतिहाससँग जोड्दै हलो-कोदालो, खुर्पा-खुकुरी, डोको-नाम्लो भारी र भरियासम्म ल्याइपु:याएर अहिले माउस, इन्टरनेटसँग जोड्नुपर्ने भएको छ। आधाभन्दा ठूलो हिस्सा यथावत् डोको र नाम्लोमा झुन्डिएको छ भने आधाजसो समाजका हातमा माउस र मोबाइलनेट झुन्डिएर बसेको छ। भौतिक आवश्यकताका हिसाबले विपन्न, भूसंरचनाका हिसाबले सीमान्तीकृत र सामाजिक बनोटका आधारमा विभेदमा परेको व्यक्तिका लागि समाजवाद हिजोको जस्तै आकर्षणको विषय रहेको छ। त्यस आकर्षणलाई सावाँ र ब्याज बनाएर सत्ताको लिस्नु चढ्नेहरूले कुनै पनि हालतमा यस अवस्थामा सुधार नआउने सिद्धान्तहरूको आविष्कार गरिरहेका हुन्छन्।

नेपालमा पनि त्यो भइरहेको छ। दलितको मुक्ति खोज्ने टाठाबाठाहरू दलितको पहिचान र विभेद रहेसम्म आफ्नो वर्चश्व हुनेमा विश्वस्त छन्, आदिवासी जनजाति वा मधेसका नाउँमा शोषण र विभेदको निर्मित नारा सदा रहोस् भन्नेमा राजनीतिका धुरन्धर निरन्तर छन्, जसका कारण उनीहरूले बसाएको राजनीतिको ताउलो सदाबहार हुनेछ। महिला मुक्तिको कथामा टाठाबाठाहरूले सर्वाधिक लाभ लिएका छन्। अन्धविश्वासको आवरण कथामा सांस्कृतिक अतिक्रमणको पेटारो खुब जमेको छ। तर यथार्थमा बञ्चितीकरणमा पर्ने महिला वा पुरुष, सीमान्त क्षेत्रमा बसोवास गर्नेहरू र विभेदको मारबाट हरप्रकारले प्रताडितहरू समाजवादको स एकल अक्षरसँग समेत परिचित छैनन्। र यो पनि दु:खद सत्य हो : राजनीतिको मियो समात्नेहरू आफ्नो वर्चश्व रहेसम्म निुमखासम्म समाजवादको परिचय प्रदान गर्ने योजनामा देखिँदैनन्। सिद्धान्त र आचरणको द्विविधामा समाज गतिमान भइरहन विवश छ। निरंकुशताको प्रतीक भएर स्वतन्त्रताविरोधी धारको नायक बनेपछि माक्र्सवादविरुद्ध स्वतन्त्रतासहित समानताको परिभाषा हुन लागेको हो। आध्यात्मिक चेतना र विवेकका आधारमा भौतिक आवश्यकतालाई गान्धी दर्शनले नयाँ आयाम दिएको छ। यही दर्शनका आधारमा मार्टिन लुथर किङदेखि नेल्सन मन्डेला हुँदै बर्माकी दृढ प्रतीज्ञ साहसी नारी आङ सान सुचीसमेतले आफ्नो प्रतिभाको उपयोग गरे र उनीहरू संसारसामु महान् आदर्श प्रतीक हुन पुगे। बीपी कोइराला माक्र्सको द्वन्द्वान्त्मक भौतिकवाद र गान्धीको अध्यात्मवादलाई संयोजन गर्ने सीमारेखामा देखिनुभएको छ।

बर्माको जुन्ता सत्ताविरुद्ध जीवन र मृत्युको मुखमा रहेर पनि आफूलाई हिमालय पर्वत बनाउन सक्षम आङ साङ सुचीलाई भर्खरै नेपालले स्वागत गर्न पायो। इतिहासमा बिरलै हुने यस्तो घटना हाम्रो पुस्ताका लागि अपूर्व रहनु स्वाभाविक हो। नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालाको जन्म शताब्दीका अवसरमा जननायक बीपी कोइराला स्मृति ट्रस्टको आयोजना र बीपी चिन्तन प्रतिष्ठानको अगुवाइमा सुचीले नेपालको तीनदिने व्यस्त बसाइमा लोकतन्त्रका विषयमा केही गम्भीर विचार आफ्नो मन्तव्यक्रममा प्रस्तुत गरेकी छन्। खासगरी लोकतन्त्र अझै सुरक्षित भएको छैन भन्ने उनको भनाइ हामी नेपालीका लागि पनि उत्तिकै सान्दर्भिक छ। पंक्तिकारसमेतले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको अध्यक्षको रूपमा सुचीसँग संवाद गर्ने अवसर पायो। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विगतमा सुचीको बन्दी जीवनबाट उन्मुक्तिका लागि पर्याप्त अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने काम गरेको थियो। प्रतिष्ठानका मानार्थ अध्यक्षसमेत रहेका युवा लोकतान्त्रिक व्यक्तित्व विमलेन्द्र निधिको अगुवाइमा नेकपा माओवादीका नेता सीपी गजुरेल, एमालेका नेता प्रदीप ज्ञवाली, नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल र प्रतिष्ठानका पूर्व अध्यक्ष भानुभक्त ढकालसहितको टोलीले करिब ४५ मिनेटसम्मको संवादका क्रममा सुचीले लोकतन्त्र र समाजवादलाई आचरणमा नउतारेसम्म खतरा यथावत् रहेको स्पष्ट गरिन्।

लोकतन्त्रको हिसाबले बर्मा निकै कठिन क्षणबाट गुज्रिरहेको छ। अहिले पनि सर्वसाधारण जनता त्यहाँ राष्ट्रपति हुन पाउँदैन। राष्ट्रप्रमुख हुनका लागि त्यहाँ कुनै आर्मी अधिकृत नै हुनु जरुरी छ। संसद्को कुनै अहम् अर्थ छैन। तर पनि संसद्मा रहेर सैनिक कानुन परिवर्तन गर्न शान्तिपूर्ण आन्दोलन गर्नेमा सुची दृढ छिन्। एकदशकभन्दा लामो कठोर बन्दी जीवन बिताएकी महिलामा अभूतपूर्व साहस र ज्ञान देखिन्छ। सुचीले आफ्नो राजनीतिक सामाजिक अभिव्यक्ति प्रकट गरिरहँदा छत्तीस-सैंतीस सालतिर नेपालमा राष्ट्रिय एकता र मेलमिलापको व्याख्या र समर्थन गर्ने बीपी कोइरालाको ज्ञान र क्षमताको अनुवाद यस शताब्दीमा भएरहेको जस्तो अनुभूति पंक्तिकारलाई भइरह्यो। कुशल वाक् क्षमता, स्पष्ट दृष्टिकोण, शान्त तर आक्रामक तर्कशक्ति र सूचनाले सुचीका रूपमा यस युगमा कुनै विचार नेतृत्वको परिचय प्रदान गरिरहेको बोध गराउँथ्यो। बहुध्रुवीय अन्तर्राष्ट्रिय व्यवस्था, शीतयुद्धको नयाँ रूप, शक्ति र सुरक्षा स्वार्थका अवर्णनीय परिघटना, स्रोतदोहन र परिचालनको उत्कट महत्त्वाकांक्षा, जातीय, क्षेत्रीय र धार्मिकताका आडमा विकास हुन लागेको गृहयुद्ध एकातिर र अर्कोतिर लोकतन्त्र र समाजवादको आचरणको खोजी विचित्रको समाज विद्यमान छ। यस समाजलाई विचारले नेतृत्व दिने र आचरणमा प्रयोग गर्नखोज्ने सुचीजस्तै दृढ निश्चयी र विवेकशीलहरूको आवश्यकता सबै देशको माग हुनुपर्छ। शब्दको पहुँच होइन आचरणको प्रयोग हुनुपर्छ।

प्रकाशित मिति: २०७१ असार ४, अन्नपूर्ण पोस्ट्

Back