"मन्त्रिपरिषद्को गठन हुने बेला" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. ३५–३९)
Print Friendly and PDF

१. प्रसङ्ग त यो २०१६ सालको प्राम्भकै हो। २०१५ सालको आमचुनाव सम्पन्न भएर त्यसको परिणाम पनि प्राप्त भइसकेको थियो। प्रतिनिधिसभाका १०९ स्थानमध्ये नेपाली कांग्रेसले ७४ स्थान ल्याएको थियो र चुनावमा स्वतन्त्र उम्मेदवारका हैसियतले विजयी भएका चार जना स्वतन्त्र सदस्यहरु पनि कांग्रसकै पक्षमा आएका थिए। यति ठूलो बहुमतले कांग्रेसले चुनाव जित्दा पनि श्री ५ बाट कांग्रेसलाई सरकार गठन गर्नका लागि आमन्त्रण बक्सेको थिएन।

निर्वाचित सरकार गठन गर्ने प्रक्रियामा भएको यस विलम्बको वास्तविक कारण त के थियो, थाहा थिएन। तैपनि यस विलम्बले बजारमा भने एउटा नयाँ हल्लाको जन्म दिएको थियो— "श्री ५ कहेन्द्र वीपीलाई प्रधानमन्त्री बनाउन चाहिबक्सन्न।" यस हल्लालाई हल्लाकै रुपमा मात्र नलिएर गम्भीरतापूर्वक लिने मानिसको पनि कमी थिएन। वीपी र राजाका बीच जस्तो सौहार्दपूर्ण सम्बन्ध हुनुपथ्र्यो त्यस्तो छैन भन्ने कुरा त नेपाली कांग्रेसकै नेतालाई पनि नलागेको होइन। श्री ५ बाट वीपीका प्रति पूर्ण आस्था र विश्वास हुँदाहुँदै पनि कांग्रेसभित्रकै जिम्मेदार कतिपय साथीहरुका मनमा के आशङ्का पैदा हुन पुगेको थियो भने वीपीलाई प्रधानमन्त्री बनाउन राजाबाट नमानिबक्सने त होइन? अथवा वीपीको नेतृत्वको सरकार टिकाउ हुन नपाउने होइन? यदि त्यसै हो भने वीपीको सट्टा सुवर्णवीलाई पो प्रधानमन्त्री बनाउनुपर्ने हो कि? सरकार गठन गर्ने निमन्त्रणा आउन जति विलम्ब हुँदै थियो त्यति पार्टीभित्र पनि यस्तै तर्कवितर्कले व्यापकता लिँदै जान थालेका थिए। वीपी स्वयंमलाई पनि कताकता भित्री मनमा यो कुरो नलागेको होइन। त्यसैले उहाँ आफ्ना अन्तरङ्ग साथीहरुसँग भन्ने गर्नुहुन्थ्यो– "साथीहरुले मलाई नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने अवसर दिनुपर्छ। म केही महिनापछि सुवर्णजीका पक्षमा प्रधानमन्त्रीको पदबाट राजीनामा गरी पार्टी संगठनका लागि बाहिर आउनेछु।"

वास्तवमा भन्ने हो भने उहाँको २००७ सालको क्रान्तिपछि पहिलो जनताको छोरो प्रधानमन्त्री (फस्र्ट कमनर प्राइममिनिस्टर) बन्ने इच्छा थियो र सात सालको क्रान्तिमा उहाँको भूमिकालाई ध्यानमा राख्दा यो उहाँको हक पनि थियो। तर कतिपय कारणले उहाँको त्यो इच्छा पुराहुन नसकेकाले अब उहाँले पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने चाहना राख्नुभएको थियो। आमचुनावमा पार्टीलाई मिलेको यति ठूलो सफलता र पार्टीका साथीहरुको उहाँप्रतिको आस्था एवम् असीम विश्वासका कारण उहाँको त्यो इच्छा पूरा हुन सबै ढोका खुलेका अवस्थामा राजइच्छा उहाँको प्रतिकूल नजाओस् भन्ने कुरामा भने उहाँ निकै सतर्क हुनुहुन्थ्यो। तर सरकार गठन गर्ने कुरामा भईरहेको विलम्ब सबैका लागि पट्यारलाग्दो बन्दै गएको थियो। यस कारण नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक बोलायो र एउटा प्रस्ताव पारित गरी सरकार गठनका लागि नेपाली कांग्रेसलाई अविलम्ब निमन्त्रण बक्सन श्री ५ मा बिन्ती चढायो। तैपनि निमन्त्रण त्यति चाँडो आउन सकेन र २०१६ सालको वैशाखको पूरै महिना यसै प्रतीक्षामा बित्यो।

२. यता सुवर्णशमशेरसहित नेपाली कांग्रेसका सम्पूर्ण नेताहरु प्रतिक्षारत थिए भने सुवर्णजीको परिवार चाहिँ सुवर्णजीलाई नै प्रधानमन्त्री भएको देख्न चाहन्थ्यो। प्रधानमन्त्रीका नाति प्रधानमन्त्री बन्न किन नहुने? आखिर कांगे्रस त सुवर्णजीको पनि त हो। यसरी सुवर्णजीलाई प्रधानमन्त्री बनेको देख्न चाहनेमा उहाँको परिवार मात्र नभएर श्री ५ महेन्द्रका हजुरिया जनरल मोहनविक्रम पनि हुनुहुन्थ्यो, जो नाताका हिसाबले सुवर्णजीका साख्खै साला पर्नुहुन्थ्यो।

सुवर्णजी त्यस बखत मन्त्रिपरिषद्को अध्यक्ष हुनुहुन्थ्यो र उहाँका पक्षमा बोल्ने राजदरबारमा अरुअरु पनि थिए। यता पार्टीमै पनि सुवर्णजीको समर्थनमा कुनै कमी थिएन। पार्टीका साथीहरु जति वीपीलाई आदर र विश्वास गथ्र्ये त्येत्तिकै आदर र विश्वास सुवर्णजीले पनि पाउनुभएको थियो। यति मात्र हो कि साथीहरुको पहिलो प्रार्थमिकतामा वीपी हुनुहुन्थ्यो र सुवर्णजी त्यसपछिको दोस्रोमा। यस्तैमा एक दिन अपरान्ह सुवर्णजीलाई दरबारबाट बोलावट आयो। सुवर्णजी दरबारतर्फ लाग्न नपाउँदै सुवर्णजीको परिवारमा सन्देश प्रवाहित हुन पुग्यो— "सरकारबाट जर्साबलाई प्रधानमन्त्री बक्सन बोलावट भएको हो।" यस सन्देशले ललितानिवासमा बेग्लै रौनक ल्यायो। प्रधानमन्त्रीको स्वागतका लागि ललितानिवासले आफूलाई पूर्ण तयारीतर्फ लगायो।

सुवर्णशमशेर राजदरबार पुगेर श्री ५ सँग दर्शनभेट गर्नुभयो। उहाँलाई सरकारबाट हुकुम भयो– "तिमी नै प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने मेरो इच्छा हो, तिमी के भन्छौ?" यो कुरा सायद सुवर्णजीका निम्ति अप्रत्याशित थियो। सुवर्णजीले बिन्ती गर्नुभयो– "सरकार, नेपाली कांगे्रसका असली नेता वीपी कोइराला हुन्। वीपीलाई नै सरकारबाट बोलाइबक्सेमा राम्रो हुनेछ।" यति बिन्ती गरेर सुवर्णजी आफ्नो निवासतर्फ फर्कनुभयो। सुवर्णजीको यसव्यवहारले आफ्नो जर्साबलाई प्रधानमन्त्रीका रुपमा स्वागत गर्ने तयारीमा बसेका ललितानिवासमा निराशा फैलाउन पुगेको भए तापनि स्वयम् सुवर्णजीका पक्षमा भने उहाँको त्यो व्यवहार त्यागको एउटा ऐतिहासिक दृष्टान्त प्रमाणित हुन पुगेको छ।

यस्तो ऐतिहासिक अवसरमा राजाबाट आफूलाई बक्सेको प्रधानमन्त्रीको पद स्वमं स्वीकार गर्नुका सट्टा आफ्नो एउटा अभिन्न मित्रका पक्षमा सिफारिस गर्ने प्रथम व्यक्तिका रुपमा नेपालको इतिहासले उहाँलाई नै मान्नु पर्नेछ।

सुवर्णजी दरबारबाट फर्केपछि यी सबै कुरा उहाँले वीपीलाई भन्नुभयो। त्यसपछि उहाँहरुले कांग्रसको संसदीय दलको बैठक अविलम्ब बोलाउने निर्णय गर्नुभयो। संसदीय दलको बैठक ललितानिवासमै बस्यो र त्यस बैठकमा संसदीय दलको नेता पदका लागि वीपी कोइरालाको नाम स्वयं सुवर्णजीले नै प्रस्तावित गर्नुभयो। संसदीय दलले सुवर्णशमशेरको प्रस्तावलाई सर्वसम्मतिले पारित ग¥यो। वीपी यसरी सर्वसम्मतिबाट नेता चुनिनुभयो र उहाँलाई नै सरकार गठनका लागि आमन्त्रण बक्सन पार्टीले श्री ५ मा बिन्ती चढायो। वीपीका निम्ति "प्रथम निर्वाचित प्रधानमन्त्री" बन्ने बाटो यसरी खुल्न गएको हो।

३. वीपीलाई आफू प्रधानमन्त्री बन्ने विश्वास पहिलेदेखि नै भए पनि मन्त्रिपरिषद्को निर्माणमा आफ्नो गृहकार्य उहाँले गर्नुभएको थिएन। तर अब संसदीय दलको नेताका रुपमा उहाँको नाम जाहेर भइसकेपछि श्री ५ बाट उहाँलाई कुनै पनि दिन निमन्त्रण प्राप्त हुन सक्ने हुनाले आफ्नो गृहकार्य गर्न उहाँलाई पनि हतार भईसकेको थियो। त्यसैले उहाँले पार्टीका साथीहरुलाई एकएक गरी बोलाएर मन्त्रिपरिषद्को गठनका लागि सल्लाह गर्न थाल्नुभएको थियो। त्यस बखत कांगे्रसका चार जना शीर्ष नेताहरु वीपी, सुवर्ण, गणेशमान र सूर्यप्रसाद (जसलाई कांग्रेसका साथीहरु आपसमा ठट्टा गर्दा 'चार धाम' पनि भन्ने गर्थे) मन्त्रिपरिषद्मा आउने कुरामा त कसैलाई कुनै सन्देह थिएन तर अरुको पर्छ को पर्दैन भन्ने कुरो कसैलाई थाहा थिएन।

यत्तिकैमा एक दिन वीपीले मलाई आफ्नो निवासमा बोलाउनुभयो। जब म उहाँकहाँ पुगेँ, उहाँले मेरो सामुन्ने एउटा प्रश्न राख्नुभयो— "मन्त्रिपरिषद्मा कसकसलाई लिनु उचित होला र तिमीलाई मैले मन्त्रिपरिषद्मा लिन सकिनँ भने तिमीमा त्यस्को प्रतिक्रिया के होला?" उहाँको दोस्रो प्रश्न मेरा लागि बिलकुलै अप्रत्याशित थियो। उहाँको "मन्त्रिपरिषद्मा लिन सकिनँ भने" भन्ने वाक्यांश मेरा लागि अप्रत्याशित भनेको होइन, अप्रत्याशित त यस अर्थमा भनेको हुँ कि त्यस दिनसम्म मैले आफूलाई मन्त्रीका रुपमा कल्पनासम्म पनि गरेको थिइनँ। त्यसैले मलाई उहाँको प्रश्नको उत्तर दिन गाह«ो परेन। मैले सहज रुपमा भनेँ– "तपाईले मन्त्री बनाउँदा वा नबनाउँदा ममा कुनै त्यस्तो अस्वाभाविक प्रतिक्रिया पर्नेछैन। मन्त्री बनाउनु भए आफूमा आएको दायित्वको निर्वाह म इमान्दारीपूर्वक गर्नेछु र बनाउनुभएन भने पार्टीमा सक्रिय रुपमा काम गर्ने मेरो उत्साहमा कुनै कमी आउनेछैन। तपाई जसलाई मन्त्री बनाउन उचित ठान्नुहुन्छ बनाउनुहोस्; म मन्त्री नभएपनि मेरो कुनै गुनासो रहनेछैन।" त्यसपछि उहाँले स्पष्ट भन्नुभयो— "तिमीलाई मन्त्री बनाउने मेरो इच्छा छ तर म पश्चिमाञ्चलबाट एक जनालाई मात्र मन्त्री बनाउन सक्छु। काशीनाथजीले सुवर्णजीलाई ठूलो गुन लगाउनुभएको छ। मैले एकपटक सुवर्णजीलाई सोध्नुपर्छ। दुई जनामध्ये उहाँले पनि तिमीलाई नै भन्नुभयो भने त मलाई कुनै समस्यै हुनेछैन। तर उहाँले काशीनाथलाई लिनुपर्छ भन्नुभयो भने चाहिँ म तिमीलाई लिन सक्दिनँ।" त्यस वेला मैले उहाँलाई काशीनाथ नै हुनुभयो भने पनि मलाई प्रसन्नता नै हुनेछ भनी आश्वस्त पारेँ।

दोस्रो दिन वीपीले मलाई पुनः बोलाई भन्नुभयो– "मैले हिजो साँझै सुवर्णजीलाई सोधेँ। उहाँले पनि तिम्रै नाम लिनुभयो। यसकारण अब तिमी ढुक्क भएर बसे हुन्छ। तर अहिले फाइनल लिस्ट तयार नहुँदासम्म यसलाई आफ्नो मनमा मात्रै राख्नू।" यसपछि म फर्के। म त्यसबखत पकनाजोलमा सुब्बा अनङ्गमान शेरचनको घरमा बस्थेँ।

भर्खर पार्टीले चुनाव जितेको उत्साहमा काठमाडौं आएका तनहुँ र पोखराका केही अरु साथीहरु पनि त्यहाँ बस्थे। मैले वीपीलाई भेटेर फर्केको भोलिपल्ट राति सढे दश बनेतिर कप्तान बखानसिंह गुरुङ आएर तल सडकबाटै "भद्रजी, भद्रजी" भनेर बोलाउन थाल्नुभयो। मैले झ्यालबाट हेरेर उहाँलाई माथी आउन आग्रह गरेँ। उहाँ आफू माथि आउनुसट्टा मलाईनै तल सडकमा ओर्लन आग्रह गर्न थाल्नुभयो। म ओर्लेर सडकमा निस्केँ। उहाँले भन्नुभयो– "म अहिले सरासर वीपीकाहाँबाट आउँदैछु। वीपीले तिमीलाई मन्त्रीमा र योगेन्द्रमानलाई उपमन्त्रीमा राख्नुभएको छ रे! योगन्द्रजीलाई यो खबर तिमी आफै सुनाउनू। अहिले अबेला भइसक्यो म हिँडेँ।" बखानसिंह हिँडेपछि म माथि यएर योगेन्द्रजीलाई बधाई दिएँ। उहाँको परिवार र त्यहाँ भएका साथीहरु सबै खुसी भए। उनीहरुले मेराबारे जिज्ञासा राख्नु स्वाभाविक थियो। मैले भने– "मलाई मन्त्रीमा लिनुभएको छ रे!" यतिकैमा काशीनाथ गौतम त्यहाँ आइपुग्नुभयो र मेरा खुट्टामा छाँद हालेर ध्वाँकध्वाँक्ती रुन थाल्नुभयो। मैले बुझेँ, उहाँ किन आउनुभयो र किन यसरी रुन थाल्नुभएको छ भनेर। त्यस स्थितिमा मेले उहाँलाई मन्त्री बनाउने जिम्मा मेरो भो भनी आश्वस्त तुल्याएँ। उहाँ फर्कनुभयो।

म भोलिपल्ट बिहानै वीपी काहाँ पुगेँ। वीपी तल चौरमा टहल्दै हुनुहुँदो रहेछ। मलाई देख्नेबित्तिकै सोध्नुभयो– "यति सबेरै किन आएको? बखानसिंहसँग भेट भएन?" मैले भनेँ– "बखान सिंहसँग पनि भेट भयो र काशीनाथजीसँग पनि। काशीनाथजीलाई तपाईले मन्त्री बनाउनुभएन भने त उहाँ साह«ै निराश हुनु हुनेछ। यसैले बरु मलाई छोड्दिनुहोस् र उहाँलाई मन्त्री बनाउनुहोस्।" वीपीलाई मेरो कुरा मन परेन र उहाँले उल्टै मलाई हप्काउन थाल्नुभयो। तर पनि आफ्नो आग्रहबाट बिचलित नभईकन मैले उहाँलाई भनेँ– "तपाईले योग्य देखेका मानिसजति सबैलाई मन्त्रिपरिषद्मा लिने हो भने भोलिदेखि पार्टी कसले हेर्ने त? के पार्टीमा अब योग्य मान्छे चाहिँदैन र?" मेरो कुरा सुनेपछि उहाँ अलिकति झसङ्ग हुनुभयो र भन्नुभयो– "यस तर्फत मैले सोचेकै थिइनँ।" त्यसपछि उहाँ फटाफट माथि जानुभयो र श्री ५ मा जाहेर गर्न तयार पारेको मन्त्रीहरुको नामावली भएको टाईप गरेको पत्र लिएर आई मलाई देखाउँदै भन्नुभयो– "अहिले साढे आठ बजे यो चिठी मैले दरबार पठाउनु छ। म यसमा भएको तिम्रो नाम काटियोस् भन्न चाहन्नँ। तर तिम्रो आग्रह यस्तै हुन्छ भने म तिम्रो सट्टा काशीनाथ गौतमको नाम पठाउन सक्छु।"

४. उहाँको त्यस भनाइपछि पनि उहाँले जब मेरो आग्रह यथावत् देख्नुभयो अनि त्यो सूचीबाट मेरो नाम काटेर त्यस ठाउँमा काशीनाथ गौतमको नाम लेख्नुभयो। भोलि पल्ट मन्त्रिपरिषद्को घोषणा भयो। काशीनाथ गौतमको नाम मन्त्रीहरुको सूचिमा सुन्दा मलाई खुसी लाग्यो। खुसी यस अर्थमा कि वीपीले मेरो आग्रहलाई मान्नुभएको थियो।

Back