"भ्रमणका केही अनुभव" (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. २९–३३)
Print Friendly and PDF

१. वीपी काठमाडौंमै बसिराख्नुभन्दा प्रायः जिल्लाको भ्रमणमा जान रुचाउनुहुन्थ्यो। कैले पूर्व, कैले तराई उहाँको यही क्रम चलिरहन्थ्यो। अरु जिल्लाको भ्रमणमा त म उहाँका साथ त्यति रहन्नथेँ। तर उहाँ आफ्नो जिल्ला, अञ्चलमा आउँदा भने म उहाँका साथमा रहनैपथ्र्यो। तनहुँ, लमजुङ, स्याङ्जा, पोखरा, बाग्लुङ उहाँका घुम्ने मन पर्ने ठाउँ हुन्थे। यहाँ भएका अनेक पटकका यस्ता भ्रमणमध्ये म यहाँ बेग्लाबेग्लै दुईवटा भ्रमणको मात्र उल्लेख गर्न चाहन्छु।

२. कुरा २०१० सालतिरको हो र महिना फागुन। उहाँ तनहुको भ्रमणमा हुनुहुन्थ्यो। हामी उहाँको बन्दीपुरको कार्यक्रम सकी पोखरातिर लाग्ने उद्देश्यले हिँडेका थियौँ। बन्दीपुरबाट प्रस्थान गरेको दिन हाम्रो बास गुणादीमा परेको थियो। भोलिपल्ट जामुने भन्जाङमा आमसभाको आयोजना साथीहरुले गर्नुभएको थियो। हामी गुणादीबाट जामुनेतर्फ प्रस्थान गर्न लाग्दा नै खवर आयो— गोर्खा दल (गोर्खा परिषद्) ले जामुनेमा आमसभा गर्न नदिने भनेको छ र कांग्रसको विरोधमा कालो झन्डा लिएर मानिसहरु उभिएका छन्।

साँचै नै हामी जामुने पुग्दा त त्यहाँ निकै रमाइलो वातावरण थियो। मुर्दावादको नारा लगाउँदै कालो झण्डा हल्लाइरहेका एक हूल मान्छे एका तिर थिए भने कांग्रेसको चारतारे झण्डा हातमा लिएर जिन्दावादको नारा घन्काइरहेको अर्को हूल अर्कातिर थियो। दुबै हूलबाट पृथक् रही रमिता हेरिरहेका मान्छे चारैतिर छरिएर रहेका थिए। कालो झण्डाको जुलुसको नेतृत्व भिजेथुमका थापापरिवारका सदस्यहरु (कमल थापा, भेषबहादुर थापाहरुका पुख्र्यौली परिवार) ले गरिरहेका थिए। हामी त्यहाँ पुगेपछि दुवै पक्षमा अझै उत्तेजना थपियो र नारा चर्कन थाल्यो। त्यत्रो उत्तेजनाका बीच पनि एउटा राम्रो कुरा के थियो भने दुवै पक्ष संयमित थिए र हात हालाहालको स्थिति त्यहाँ उत्पन्न भएको थिएन। निकै बेरसम्मको यस्तो उत्तेजित नारा र होहल्लाका बीच वीपी मुसुमुसु हाँसेर बिलकुल शान्त मुद्रामा चौताराको एक छेउमा बसिरहनुभएको थियो भने म चाहिँ उत्तेजना शान्त पार्ने र सभा शान्तिपूर्वक सञ्चालन गर्ने प्रयासमा थिएँ। धेरैबेरको विवादपछि विरोधी पक्षसँग हाम्रो के सम्झौता भयो भने हामीले तोकेको ठाउँमा सभा गर्नुका सट्टा त्यहाँबाट करीब सय गजजति पूर्वमा पर्ने खेतमा गई सभा गर्ने र विपक्षकाहरु विरोधका लागि त्यहाँ नआउने।

वीपीको भाषण सुन्न वरपरका धेरै मानिस जम्मा भएका थिए र शान्तिपूर्ण वातावरणमा सभा सञ्चालन गर्नु हाम्रो उद्देश्य थियो। हामी हट्यौँ र केही पूर्वतर्फ आएर खेतमा हाम्रो सभा सञ्चालन हुन थाल्यो। केहीबेर अघिसम्म विरोधमा उफ्रिरहेका मानिस पनि हातका काला झण्डा फालेर सभाको एक छेउमा बसी शान्तिपूर्वक भाषण सुन्न थाले। हुन पनि त्यस दिनको वीपीको भाषण अत्यन्त मार्मिक थियो। हामी बन्दीपुरमा छँदा बन्दीपुरको वेदान्तप्रेमी एउटा समूहले वीपीसँग भेटेको थियो र वेदान्त दर्शन र माक्र्सवादका विषयमा निकै रमाइलो चर्चा चलेको थियो। त्यसैको प्रभावले पनि होला— वीपीले आफ्ना कुराहरु त्यस सभामा अत्यन्त दार्शनिक शैलिमा राख्नु भएको थियो। उहाँले भन्नु भएको थियो— "मावका लागि जीवित रहन प्रकृतिले पाँच कुरा दिएको हो— पृथ्वी, जल, तेज, वायु र आकाश।

हाम्रो शास्त्रले यिनलाई पञ्चमहाभूत भन्छ। हाम्रो शरीर यिनै पाँच तत्वबाट बनेकाले हामी हाम्रो शरीरलाई पाञ्चभौतिक मान्छौँ। यी पाँच तत्वमध्ये पृथ्वीभन्दा बाहेक अरु सबै केवल मानव समाजका लागी मात्र होइन, सम्पूर्ण प्राणीका लागि साझा छन्। नदीको सफा पानी खान, खुला आकाशमुनि बसेर न्यानो घाम ताप्न, स्वच्छ हावामा सास फेर्न सबै स्वतन्त्र छन् र कसैले कसैलाई रोक्दैन। यी चारै महाभूत, चारै तत्व मानव मात्रका लागि साझा छन् भने केवल पृथ्वी तत्वमा मात्रै तेरो—मेरो किन? जमिन सबैको साझा किन नहुने? जमिनमाथिको तेरो—मेरो प्राकृतिक न्यायको विपरीत हो; धनीले गरिबमाथि शोषण गर्न अपनाएको उपाय हो। यसकारण जमिनमाथि धनीहरुको मात्र स्वामित्वको अन्त्य गर्नु हाम्रो उद्देश्य हो।" यस भाषणमा कति ठूलो क्रान्तिकारी कुरा कति सरल भाषामा अभिव्यक्त भएको छ; यो कुरो स्वतः स्पष्ट छ।

३. सभा समाप्त भएपछि हामी थर्पुतिर लाग्यौं। हाम्रो त्यस दिनको बास थर्पूमा नै नियत थियो। हामी साँझमा थर्पु पुग्यौँ। हामी पुग्दा त त्यहाँ विचित्रको स्थिति पो पायौँ। त्यहा हामीलाई बास दिन कोही पनि तयार थिएनन्। कसैले पनि हामीलाई त्यहा बास दिएमा उसैको उठिबास बनाइदिने कडा चेतावनी भिजेथुमका थापा परिवारले दिएका रहेछन् र सबै डरले थर्कमान रहेछन्। अब त यो स्थिति हाम्रा लागि पनि अस≈य भयो; खास गरी मेरा निम्ति। त्यो मेरो आफ्नो जिल्ला थियो र वीपी त त्यहाँ मेरा पाहुना। बासै मात्र बस्न त थर्पुृको दायाँ—बायाँ जहाँ पनि पाइन्थ्यो। तर त्यो साँझ थर्पु छोडेर दायाँ—बायाँ लाग्न मेरो स्वाभिमानले पनि दिएन। म जस्तै संघर्ष गर्नुपरे पनि त्यो रात त्यहीँ बस्ने निर्णयमा पुगेँ।

वीपी पीपलको बोटमुनि चौतारामा बस्नुभएको थियो। त्याहाँको स्थिति उहाँले नबुझ्ने कुरै थिएन। उहाँले पनि भन्नुभयो— "आज थर्पुबाट अन्त कतै लाग्नु हुदैन।" उहाँको यस भनाइले मलाई अरु बल मिल्यो। थापा परिवारका मुख्य नाइके कप्तान गिरिबहादुर थापा, जिम्मुवाल कर्णबहादुर थापा र राइटर रणबहादुर थापा त्यहीँको एउटा दुकानमा बसेर चिया खाँदै थिए। विश्वबन्धु थापा र म त्यहाँ पुग्यौँ र उनीहरुसँग चर्काचर्की भयो। मैले उनीहरुलाई भने— "तपाईहरु आफ्नो उर्दी फिर्ता लिनुहुन्छ भने लिनुहोस, नत्र हामी पनि आफूले सकेको गर्न बाध्य हुनेछौं। हाम्रो पनि आजको अठोट के छ भने हामी आज यहीँ बस्नेछौँ र आरामसँग बस्नेछौँ। बरु तपाईहरु आफ्ना बारे राम्ररी सोच्नुहोला।" यो एकप्रकारले धम्कीकै भाषा थियो।

थर्पुका दायाँ—बायाँ डाँडाका बस्तीहरु चारैतिर नेपाली कांग्रसको पैभाव थियो र थर्पुको खबर डाँडामा पुगेमा २—४ सय मानिस ≈वार्रै झर्न बेर लाग्दैनथ्यो। यो कुरो बुझेर उनीहरु केही झस्के र भने— "जानोस बस्नोस्; हामी रोक्दैनौँ।" नरोक्ने भन्ने कुरो मात्र पर्याप्त थिएन। उनीहरुले प्रत्येक दुकानमा गएर आफैले आफ्नो अघिको उर्दी फिर्ता गरेको घोषणा गर्नुपथ्र्यो। मैले यसो भनेपछि उनिहरु उठेर सबै दुकानमा गएर भने— "लौ अघिको हाम्रो उर्दि हामीले फिर्ता लियौं।" यसपछि उनिहरु त हिँडिहाले; हामी त्यहा एकजना मित्रको दुकानमा बस्यौं। एकै छिनमा वरपरका सबै मानिस जम्मा भए र दिनभरको दबाब र तनाबका बारेमा आफ्नो दुखेसो पोख्न थाले। यत्रा ठूला नेतालाई स्वागतसम्म पनि गर्न नपाउनु उनीहरुको कस्तो दुर्भाग्य! वीपीले उनीहरुलाई सम्झाउनुभयो— "हो, त्यसैले यस्तो शोषण र दबाबका विरुद्ध सबैले मिलेर लडनुपर्छ, विनासंघर्ष कसैले आफ्नो अधिकार पाउन सक्दैन।" हो, वास्तवमै हामी पनि नलडेको भए त त्यस साँझ थर्पुमा बास पनि पाईने थिएन। यही नै उनीहरुका लागि एउटा उदाहरण थियो। त्यसपछि थर्पुमा यस्ता घटना कहिल्यै हुन पाएनन्।

४. भ्रमणकै प्रसङ्गको दोस्रो घटना सम्भवतः २०११ सालको हो। तर प्रकृतिमा भने बिलकुल भिन्न। अघिल्लो घटना विरोधको थियो भने मैले उल्लेख गर्न लागेको घटना स्वागतको हो। वीपी पोखराबाट कुस्मा र बाग्लुङ हुँदै स्याङ्जातर्फ फर्कने क्रममा हुनुहुन्थ्यो। बाग्लुङका साथीहरुले ओमप्रसाद गौचनका अगुवाइमा भव्य जुलुसको आयोजना गरी कालिकास्थानसम्म आई बिदा गरेपछि हामी बाटो लागेका थियौँ। वीपीका साथ हामी १५—२० जना साथी थियौँ— जसमध्ये विश्वबन्धु थापा, डा. तुलसी गिरी, डी.के. शाही, पोखराका प्रमचैतन्य ब्र≈मचारी र बाग्लुङकै गोविन्दलाल श्रेष्ठको नाम यहाँ उल्लेख गर्न सकिन्छ। त्यस दिनको बास पर्वतको ज्ञादीचौर निर्धारित थियो।

बाग्लुङ जाँदा कुस्माको बाटो गएकाले फर्कदा हामी बलेवाको बाटो फर्केका थियौँ। ज्ञादीका डिटठा प्रेम शर्मा वीपीको स्यागतका लागि बलेवासम्म नै आउनुभएको रहेछ। उहाँका साथमा आएका २–४ जना अरुलाई समेत हिसाब गर्दा हामो जत्थाले सानोतिनो जुलुसकै रुप लिन पुगेको थियो। त्यसमा पनि जब ज्यामिरेघाटमा कालीको पुल तरेर पारिपट्टि लाग्यो त्याहाँ एउटा ठूलो जनसमूह स्वागतका लागि पर्खिरहेको देख्यौँ। बाटामा अनेक तोरणद्धार बनाइएका थिए। बाजागाजासहित एउटा ठूलो जुलुसले वीपीलाई ज्ञादीचौरमा डिट्ठा प्रेम शर्माका घर पु¥यायो। वीपीले त्यहाँ पुगेपछि स्वागतमा जम्मा भएका मानिसलाई आफ्नो सन्देश सुनाउर, आफ्ना केही कुराहरु सम्झाएर त्याहाँबाट बिदा गर्नुभयो र हामी सबै चियाचमेना र विश्राम गर्न लाग्यौँ। यो त भयो वीपी हिँड्दा प्रत्येकजस्तो ठाउँमा हुने सामान्य घटना।

यत्तिका लागि यस घटनालाई मैले यहाँ उल्लेख गर्न लागेको होइन। असली उल्लेख्य घटना त त्यस दिन बेलुका भान्साको हो। पुरानो जामानामा हाम्रो पाहाड–पर्वतमा विशेष गरी धनी–सामन्त परिवारमा जुँधा हेरी भाग लगाउने प्रथा निकै प्रचलित थियो। डिट्ठा प्रेम शर्मा पनि आफ्नो जिल्लाका धनी सामन्तहरुमध्ये एउटा प्रमुख व्यक्ति मानिनुहुन्थ्यो। यसकारण उहाँको भान्सामा पनि 'जुधाँ हेरी भाग लगाउने' व्यवस्था राम्रै मिलेको रहेछ। वीपीका यौटा सानो कसौँडीमा छुट्टै भुजा, डाक्टर गिरी, विश्वबन्धु र मेरा निम्ति छुटै र डी.के. शाही लगायत अरु साथीका लागि छुट्टै व्यवस्था भएको रहेछ। त्यस्तै खाने भाँडाकुँडामा पनि श्रेणी विभाजन भएको रहेछ। खानाको गुणस्तरको हिसाबले वीपी र हामी तीन जनाकामा त्यस्तो फरक नभए पनि बाँकी अरु साथीहरुकामा केही भिन्नता राखिएको रहेछ।

भान्सा तयार भएको खबरले जब हामी भान्सातिर लाग्यौँ, त्याहाँको स्थान व्यवस्था देख्नेबित्तिकै वीपीले अडकल गरिहाल्नु भएछ। प्रेम शर्माले निकै ठूलो आग्रह गर्दा पनि उहाँ आफ्ना लागि नियत ठाउँमा बस्न जानुका सट्टा उहाँले डाक्टर गिरीलाई त्यस ठाउँमा बस्न अह«ाउनुभयो र डी.के. शाहीलाई उठाएर डाक्टर गिरीका ठाउँमा बस्न अह«ाई आफू डी.के. शाहीका ठाउँमा बस्न पुग्नुभयो। भान्सामा सबै खाने कुराका भागको घेरा पहिले नै लागिसकेकाले अब सबै कुरा उठाएर सार्न पनि सम्भव थिएन। वीपीको यस्तो व्यवहारले हाम्रो सह्रदयी आतिथेय डिट्ठा प्रेम शर्मालाई पर्नु पीर प¥यो। उहाँको अनुहार कालो—नीलो हुन पुग्यो। तर उहाँले त्यस बखत गर्न नै के सक्नुहुन्थ्यो र! वीपी झुक्किएर त्यहाँ बस्न जानुभएको पनि त थिएन। अन्ततः प्रेम शर्माले वीपीकै लागि तयार पारिएका परिकारमध्ये उहाँलाई पछि थप्नुपर्ला भनी राखिएका अवशेष टक्य्राएर सन्तोष लिनुभयो।

आखिर वीपीको आहारा नै पो कति थियो र! वीपीको साँझको त्यस व्यवहारको प्रत्यक्ष परिणाम भोलिपल्ट बिहानको भान्सामा देखियो। बिहान भान्समा बेलुकाको जस्तो भेदभाव केही देखिएन— सबै एउटै, सबै बराबर। मलाई लाग्छ त्यस साँझको यो एउटा अति सामान्य व्यवहारबाट वीपीले एकातिर भेदभावमा आधारित एउटा ठूलो सामन्ती प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुभएको थियो र त्यसमा उहाँलाई तत्काल सफलता मिलेको थियो भने अर्कातर्फ साथीहरु बीचको पारस्परिक समानताको त्यस व्यवहारले आफ्ना साथीहरुको आदर र सम्मान पाउन पनि उहाँ त्यतिकै सफल हुनुभएको थियो। के यो घटना आफ्नो स्वागतसम्मानमा गमक्क फुलेर अन्य साथीहरुको मान—अपमानमा ध्यान दिन पनि फुर्सद नपाउने नेताहरुका लागि एउटा गतिलो पाठ हुन नसक्ला र?

Back