"पहाडे वा मधिसे भावनाले मुलुकको उन्नति हुँदैन", विश्वेश्वरप्रसाद कोइराला,

विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख

(काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)
Print Friendly and PDF

साथीहरु,
जय नेपाल !

हाम्रो मुलुकमा ठूलो परिवर्तन आएको कुरा मैले भनिरहनु पर्दैन । धेरै कालदेखि रहेको एकतन्त्रीय सरकार समाप्त भएर प्रजातान्त्रिक सरकारको सुत्रपात भएको छ । यो परिवर्तन अति छोटो र अति ठूलो भएको हुँदा धेरै यसको महत्व अझै बुझ्न सकेका छैनन् । त्यसो हुँदा राजनीतिक क्षेत्रमा भएको उथलपुथलअनुरुप हाम्रो सोच्ने प्रणाली परिवर्तन नआएको बुझिन्छ । हाम्रो मनोवृति राजनीतिक परिवर्तनभन्दा पहिलेको जस्तो रह्यो भने हामीले लाग्न चाहेको प्रजातान्त्रिक बाटोमा कैयौँ रुकावट आउँछन् । सबैभन्दा पहिले हामीले भित्री हृदयदेखि नै एकतन्त्री हुकुमी राज्यबाट स्वतन्त्र भएको अनुभव गर्न थाल्नुपर्छ । हाम्रो सोच्ने प्रणाली स्वतन्त्रता प्राप्त गरेको मानिसको जस्तो हुनुपर्छ । हाम्रो मनोवृत्ति प्रजातान्त्रिक हुनुपर्छ । यथार्थमा अनि मात्र हालै भएको राजनीतिक परिवर्तनको महत्व हुन्छ । मेरो भनाइको तात्पर्य के हो भने हामीले स्वतन्त्रता पाएपछि त्यो स्वतन्त्रता उपभोग गर्न आफ्नो जिम्मेवारीको पनि बहन गर्नुपर्छ । एकतन्त्रीय सरकार हुँदा हाम्रो कर्तव्य थियो, एउटा जिम्मेवारी थियो । त्यो जिम्मेवारी भनेको त्यस एकतन्त्री सरकारलाई अविलम्ब समाप्त गर्नु थियो । तर स्वतन्त्रता प्राप्त भएपछि अब हाम्रो कर्तव्य अर्कै हुन जान्छ । त्यो जिम्मेवारी भनेको प्राप्त भएको स्वतन्त्रतालाई बचाउनु, प्रजातान्त्रिक बाटोपट्टि जान थालेको समाजलाई शान्तिपूर्ण रुपमा अगाडि बढ्न दिनु हो ।

प्रजातन्त्रमा विरोधी दल खडा हुन्छन्, हुनु पनि पर्छ । तर विरोधी दल खडा हुनुको आधार व्यक्तिगत द्वेप र स्वार्थ हुनु हुँदैन । यस तरिकाबाट सोचेर आफ्नो बाटो पहिल्याउनुपर्छ । विरोध गर्दा पनि बुद्धिमानीपूर्ण तरिका अपनाउनुपर्छ । जाति–जाति, सम्प्रदाय–सम्प्रदायमा हिंसाको भावना जगाएर, विरोधको भावना ल्याएर देशमा अशान्ति ल्याएर सरकारलाई बदल्ने प्रयत्न गरियो भने प्रजातन्त्र कहिल्लै पनि स्थापना हुँदैन । सम्प्रदाय विशेषको भावना लिएर गरिने हिंसा र गुप्त सङ्गठनबाट एकतन्त्रीय प्रणाली स्थापना हुन्छ । यो कुरा हामीले प्रस्टसँग भन्नै पर्छ । विभिन्न दल बन्नु आवश्यक भएको कुनै आधार देखिदैन । सबैभन्दा पहिले हामीले नयाँ–नयाँ पार्टी बन्नु आवश्यक छ कि छैन भन्ने बुझेर जिम्मेवारीका साथ सोच्नुपर्छ । कुनै आधारमा नयाँ पार्टी बन्नु आवश्यक छ भने मात्र दल खडा गरेको खण्डमा राजनीतिक पार्टीहरु जिम्मेवारीका साथ काम गर्दछन् र दलहरुमा प्रजातान्त्रिक वातावरण पनि कायम रहन्छ ।

अन्तरिम सरकार गठन भएको धेरै समय भएको छैन । तपाइहरुलाई थाहा नै छ कि यस सरकारले विभिन्न दल बन्ने आवश्यक छ कि छैन । यदि छ भने कुनै आधारमा अनि मात्र खडा गरेको खण्डमा राजनीतिक पार्टीहरु जिम्मेवारीका साथ काम गर्छन् र दलहरुमा प्रजातान्त्रिक वातावरण कायम रहन्छ ।

अन्तरिम सरकार गठन भएको धेरै भएको छैन । यस सरकारले विभिन्न कठिनाइका बीच काम गर्नुपरेको छ भन्ने कुरा तपाईहरुलाई थाहा नै छ । तथापि, कठिनाइ रहे पनि देशको कल्याणको लागि सरकारले गर्नुपर्ने काम भइरहून् भन्ने प्रयत्न हामीले गरिरह्यौँ । हामीले एउटा कुरा बुझ्नुपर्छ । पूर्ण प्रजातन्त्र त्यस समय मात्र आउँछ, जब वालिग मताधिकारबाट चुनिएका प्रतिनिधि रहेको विधान परिषद्ले देशको विधान तयार गर्नेछ । यो अन्तरिम सरकारको जिम्मेवारी र विधान परिषद्को चुनाव अविलम्ब बोलाउनु हो । यसका निमित्त देशमा शान्ति रहनु र सरकारको शान्तिपूर्वक आफ्ना काम गर्न पाउनु आवश्यक छ । देशमा अशान्ति रह्यो भने विधान परिषद बन्ने अवधि पनि लम्बिदै जान्छ ।

यद्यपि, हाम्रो यस सरकारको पहिलो र मुख्य जिम्मेवारी भनेको विधान परिषद्का निम्ति छिट्टै चुनाव गर्नु भए पनि तबसम्म हाम्रो जिम्मेवारी दैनिक सरकार चलाउनु पनि हो । दुई वर्षका लागि हाम्रो जिम्मामा प्रशासन रहेको छ । यस दुई वर्षका लागि, अर्थात्, अन्तरिम सरकारको सबैभन्दा पहिलो कालका लागि कस्तो विधान राख्ने भन्ने विषयमा समेत छलफल भएर एउटा विधान तयार भइसकेको छ । त्यो विधान छिट्टै सार्वजनिक हुँदैछ । त्यस्तै, जनताको भलाइका लागि आर्थिक कार्यक्रम पनि बनिरहेको छ । सरकारी कर्मचारी र पल्टनका सिपाहीका लागि पनि सरकारले विशेष ध्यान दिइरहेको छ । पल्टनका सिपाहीको भलाइका निम्ति बसोबासको व्यवस्था र तलब बृद्धि गर्ने प्रबन्ध हुँदैन । अरु जागिरदारको निम्ति पनि यस्तै किसिमको बन्दोबस्त हुँदै छ ।

बुझ्नुपर्ने कुरा के हो भने हामीले पुरानो प्रणालीलाई समाप्त पारेर नयाँ प्रणालीमा गोलबन्द हुँदै जनतालाई भलाइ हुने काम गर्नुपरेको छ । अन्तरिम सरकारले आफ्नो जिम्मेवारी बुझेर पनि गरिरहेको छ । तर सरकारले सँधैभरि अशान्तिझै सामना गर्नु परिरह्यो भने हामी देशको उन्नत्तिको मार्गमा अगाडि बढ्न सक्तैनौँ र सरकारको काम पनि अगाडि बढ्न सक्तैन ।

मैले अर्को एउटा कुरा पनि भन्नुछ । हामी नेपाली बस्ने तमाम रैती–दुनियाँ नेपाली प्रजा हौँ । यो हाम्रो देश नेपाल सबै रैती–दुनियाँको देश हो । त्यसैले सबैले मिलेर यस देशको उन्नति गर्नुपर्छ । यस मुलुकमा बस्ने हामी सबै दाजुभाइ हौँ हामी पहाडमा बस्ने भए पनि मधेशमा बस्ने भए पनि नेपाल चार भञ्ज्याङ्गभित्र बस्ने भए पनि, हाम्रो एउटै मुलुक हो । हामी एउटै माटोका मानिस हौँ ।

हाम्रो देश राम्रो छ । हाम्रो देशमा थरी–थरीका मानिस बस्तछन् । यहाँ थरी–थरीका जातका मानिस छन् । हामी सबैमा देशको ममता हुनुपर्छ । हामीले पहाडे वा मधिसे भन्ने भावना ल्यायौँ भने हाम्रो मुलुकको उन्नति हुँदैन । मुलुक एउटा नाउजस्तो हो । त्यसमा चढेर मानिसहरु नदी तर्छन् । डुङ्गा चढेका मानिसहरु आपसमै लड्न थाले भने कस्तो गति हुन्छ ? डुङ्गा डुब्यो भने को बाँच्छ ? त्यस्तै, हामी रैती–दुनियाँ पनि आपसमा लड्यौँ भने मुलुक बिग्रन्छ । र, मुलुक बिग्रियो भने हाम्रो पनि दुर्दशा हुन्छ ।

(स्रोतः गोरखापत्र, मार्च १९५१)

Back