"प्रतिभा, अभ्यास र व्युत्पत्तिका त्रिवेणी बी.पी. !" - बद्रीप्रसाद दाहाल (२०७१ भाद्र २३, गोरखापत्र दैनिक)
Print Friendly and PDF

नेपाली आख्यान संसारका नवीनतम र आधुनिक सर्जकपध्ये बी.पी. कोइराला एक मूर्धन्य प्रतिभा हुनुहुन्छ । बाह्य संसारभन्दा आभ्यन्तर लोकमा विचरण गर्न रुचिराख्ने उहाँको लेखनले अवचोतन, अर्धचेतन र चेतन मनका पत्र पत्र केलाउँदै मानसिक उहापोहलाई निखारेर विवेचना गर्ने क्षमता राख्छन् । उहाँकै शब्दमा भन्नुपर्दा 'लेखनमा आदर्श हुनुपर्छ, त्यसको उद्देश्य आदर्शमै टिकेको वा अडेको हुन्छ' । हाम्रो सतही सोचमा 'आदर्श' भन्नेबित्तिकै व्यावहारिक जीवनमा नआउने निर्गुण, निराकार र निरञ्जन तत्व भनेर बुझ्ने बुजुकपन छ । शाब्दिकरुपमा आदर्शको अर्थ ऐना हो । यसलाई अझ फराकिलो दृष्टिमा नियाल्दा रुप गुण र विचारको आभा वा 'लाइट' हो, जहाँ विवेक मुस्कुराएको हुन्छ । सारमा भन्नुपर्दा 'आदर्श यथार्थकै स्वरुप हो, जसरी ऐनामा हाम्रो समग्र भौतिक आवरण यथातथ्य छर्लग हुन्छ । आदर्शमा पनि त्यसको भौतिक र आभ्यन्तरिक जगत् विम्बित हुन्छ दृष्टिगोचरमा । त्यसै भएर फ्रेडरिक नित्से यस्तो निचोडमा पुगे– 'राम्रो लेखक बन्नु ढुंगााको रोटी चबाउनु जस्तै हो । धैर्य र मेहिनेत नभइकन राम्रो लेखक बन्न सकिँदैन ।'

हाम्रो जस्तो विकासोन्मुख समाजका कयौँ लेखक आफ्नो पुस्तकको प्रशंसा आफैले गरेर सफल लेखक भएको दम्भ पाल्छन् । त्यसैले प्रसिद्ध कलमबाज 'इिजरायली' भन्छन् । 'आफ्नो पुस्तकको प्रशंसा गर्ने लेखक, आफ्नो बच्चाको प्रशंसा गर्ने आमाजस्तै हो ।' कति सटिक छ यो भनाइ !

त्यसै भएर बी.पी. भन्ने गर्नुहुन्थ्यो –' हामी नेपाली लेखक आलोचना, टीका–टिप्पणी र परिचर्चा सुन्न, सहन र पचाउनसक्ने क्षमताको भइसकेको छैनौँ । लेखकहरु लेख्न त लेख्छन् तर लेखनमा लेखकको अनुभवभन्दा बाहिरी प्रभाव ज्यादा रहेको पाइन्छ । हाम्रा लेखकमा अध्ययन, चिन्तन र गम्भीर अनुभवको कमी छ ।

लेखनको सार्थकतालाई जोड दिदै बी.पी. भन्नुहुन्थ्यो –'लेखन सनातनभन्दा नुतन, व्यवस्थाभन्दा अन्तर्पेरणा, तर्कभन्दा भावना, ऐन–कानूनभन्दा नैतिकता, व्यवहारभन्दा मनसाय र समष्टि भन्दा व्यष्टिको सघनतामा सलबलाउँछ । त्यसैले त सिर्जनाको ध्येय मानव अनुभूतिमा नयाँ आयम, सुन्दरताको सृष्टि, भावनाको परिष्कार र मानव स्वतन्त्रताको सम्भावनालाई विस्तृत पारेर रमाउँछ ।

बी.पी. बहु–आयामिक व्यक्तित्वको पुञ्ज भएकैले उहाँ सफल राजनीति चिन्तक, असल राजनेता, निजात्मक निबन्धकार, मनोवैज्ञानिक आख्यानका, कवि, योग्य समीक्षक, कुशल विश्लेषक, कानून र कलाशास्त्रका अनुशीलकको रुपमा चिनिनुभएको हो । उहाँले 'साहित्यको सीमा आकाश हो' भनेर "कला जहिल पनि स्वतन्त्रताको अभीष्टमा पुरानो बाटोभन्दा नयाँ बाटो खनेर हिड्ने रुचाउँछ" भनी सकारात्मक अराजकतालाई आमन्त्रणा गर्नुभयो । यसरी बी.पी. ले भन्नुभएको छ –"आत्मा अडिन स्वतन्त्रता चाहिन्छ म जतिसुकै द्वन्द्व र अन्तरद्वन्द्वमा परे पनि भावना, अनुभूति तथा संवेदनलाई जोड दिन चाहन्छु । भावना मनभित्र उम्रने कल्पना वा चिन्तन हो भने अनुभूति भन्नाले इन्द्रीय वा स्नायुसमूहका माध्यमबाट प्राप्त उद्दीपनका फलस्वरुप प्रकट हुने मानसिक क्रिया हो । संवेदनाको आसय मानिसका मनमा हुने मार्मिक अनुभूति हो ।"

यसरी बी.पी. ले बाहिर वा सतही संसारको छिपछिपेभन्दा आन्तरिक जगत्को गहिराइमा सिर्जनालाई हिडाउने भगीरथ प्रयास गर्नुभएको छ । पूर्वीय आचार्यहरुले सिर्जनाको हेतुलाई तीन कोणबाट चिनाएका छन्, जसलाई प्रतिभा, व्युत्पत्ति र अभ्यास भनेर बुझिन्छ । स्रष्टा बी.पी. कोइरालाका सिर्जनाका फाँटमा जब हामी पस्छाँै तब उहाँ कतै प्रतिभा बनेर दीप्ति छरिरहनुभएको पाइन्छ, कतैँ व्युत्पत्ति भएर चेखब, मेपासाँ, टाल्सटाय, गोर्की, बनाई शा. फ्रेइङ बेकन, मोन्टेन, देवकोटा, कालिदास, सम जस्ताका ग्रन्थ सागरमय पौडिरहनु भएको भेटिनुहुन्छ । अनि जेलमा होस वा खुल्ला मैदान होस्, लेखनको निरन्तरतालाई 'ब्रेक' लगाउने चाहनुहुन्न ।

निरन्तर सिर्जना अभ्यासमै अभ्यस्त हुन रुचिराख्ने यत्नशील प्रयोग उहाँको तेस्रो पाटो हो । यसैले त बी.पी. लाई प्रतिभा, व्युत्पत्ति र अभ्यासको त्रिवेणी भनेर किटान गर्न सकिएको हो । विधिवत् साहित्यिक शिक्षाबाट सुसंस्कृत हुँदै सिर्जनाको आवृत्ति र अनुष्ठान गर्नु वा त्यसमा पुनः प्रवृत्त हुने सुकाम 'अभ्यास' हो । सुन्दरीजल जेलमा बस्दा होस् वा प्रवासमय रहँदा होस्, बी.पी. मा स्रष्टा–अभ्यास मडारिएकै भेट्टाइन्छ ।

जेल–जर्नल शीर्षकको बी.पी. को यो संकथनले पनि उहाँ प्रतिभा, अभ्यास व्युत्पत्तिका त्रिवेणी हुनुहुन्थ्यो भन्न बलमिल्छ । जस्तै: "घरबाट आएका किताबलाई सुमसुम्याएँ नयाँ किताब तरुणी हुन् । तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरुलाई सुम्सुम्याउनु पर्छ । यताउती वोलटाई पल्टाई हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सर्सरी नजर माथिदेखि तलसम्म डुलाउनु पर्छ अनि यसो सुँध्नुपर्छ ।" नियारेर हेरु त यति सानो अनुच्छेदभित्र कति दीप्त प्रतिभा झल्मलाएको छ व्युत्पत्ति चल्पलाएको छ र अभ्यास मजैले हलहलाएकोे छ ?

मूलतः प्रतिभामा नवीनताको उन्मेष गर्ने प्रज्ञा हुन्छ, जहाँ अनेक प्रकारका भाव उत्पन्न गर्ने अनौठो सिर्जनाशक्ति लुकेको मेट्टाउँछौ । यो त्यस्तो विशिष्ट संस्कार वा प्रज्ञा हो, जसको जागरणले लोकजीवन पुलकित बन्दछ । कारयित्री र भावयित्री प्रतिभाको आलोकमै संसार सधैँ अभिनूतन भइरहन्छ । स्रष्टा बी.पी. का सिर्जनाभित्र डुबुल्किदा यसको प्रयाप्त गुञ्जायस छ । त्यसैगरी बी.पी. को सिर्जाना हेतुभित्र व्युत्पत्ति क्षमता सबलरुपमा मुखर भएको भेट्टाउँछौँ । प्रसिद्ध साहित्यशास्त्री राजशेखरका शब्दमा भन्नुपर्दा व्युत्पत्ति भनेको 'बहुज्ञता' हो ।

बी.पी. ले सुकरातदेखि माक्र्ससम्म, चेखबदेखि शंकर लामिछानेतक, कृष्णदेखि हिटलरपर्यन्त, वेद, उपनिषद्, गीता, मुन्धुम, बाइबल, कुशन, सबै व्यक्ति र पोथीको पारख गर्नुभएको छ । यसबाट उहाँको सिर्जना व्यक्तित्व व्युत्पत्तिबादको प्रगाढ पाण्डित्यको उदधिमा निमज्जित भएको सगर्व सप्रमाण पुष्टि भएको छ ।

प्रकाशित मिति: २०७१ भाद्र २३, गोरखापत्र दैनिक

Back