"नेपाली क्रान्तिमा बीपी र रेणू" - रामभरोस कापडि 'भ्रमर' (२०७१ भाद्र २३, गोरखापत्र दैनिक)
Print Friendly and PDF

मानिस जब सांसारिक प्रवञ्चनाबाट मुक्त भएर सर्वजनहितका लागि बाँच्छन् तब समाजद्वारा महामानवको पदवी पाउँछन् । बीपी कोइराला यसै पंक्तिमा पर्नुहुन्छ । डिसेम्बर १९७६ मा आठ वर्षको आत्मनिर्वासनपछि स्वदेश फर्कन गरेको निर्णयले बीपी कोइरालाको त्यही उच्च विचार र देशप्रतिको मायालाई इंगित गर्दछ । नेपालमा आउँदा खतरा रहेको थाहा हुँदाहुँदै पनि फर्केर नेपालमा प्रजातन्त्रको सपना साकार गर्ने दृढता र दूरदृष्टि आज पनि चिन्तनको विषय रहेको छ ।

बीपी अब्बल दर्जाका राजनीतिज्ञमात्र होइन, विशिष्ट प्रतिभावान् साहित्यकार पनि हुनुहुन्थ्यो । यहाँ उहाँको साहित्यिक कृतित्वबारे भन्दा पनि उहाँका सान्निध्यमा लगभग डेढ दशकसम्म रहनुभएका हिन्दी साहित्यका ख्यातनामा साहित्यकार फणीश्वरनाथ रेणू र उहाँबीचको सम्बन्धलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । नेपाली र हिन्दी साहित्यको अध्ययन गर्ने धेरैलाई थाहा हुनुपर्दछ फणीश्वरनाथ रेणू कोइराला परिवारमा एउटा सदस्यका रूपमा (सन् १९३५–३६ देखि १९५० सम्म) बस्नुभएको थियो । त्यसपछि पनि सम्बन्धमा कुनै अन्तर आएन । राणाशासकविरुद्ध नेपाली कांग्रेसले सञ्चालन गरेको आन्दोलनका बेला रेणू एउटा सिपाहीका हैसियतमा युद्धभूमिमा हतियार र सैनिक पोशाकमा खट्नु भएको थियो भन्ने कुरा स्वयं बीपीले लेख्नुभएको छ ।

बीपी त्यतिबेला पूर्वी नेपालको कमान्डर हुनुहुन्थ्यो । मुक्ति उत्साह र राणाविरुद्धको अभियानलाई धारिलो बनाउन विराटनगर क्षेत्रमै रेडियोको स्थापना गरिएको थियो । रेणू त्यसमा हिन्दी समाचार पढ्नुहुन्थ्यो । एउटा अनुशासित सिपाहीका रूपमा मुक्ति संग्रामका प्रत्येक गतिविधिमा सामेल हुनुहुन्थ्यो । राजा त्रिभुवन, नेपाली कांगे्रस र राणाबीच सम्झौता भएर आन्दोलन स्थगित भएपछि पूर्णकालिक रूपमा रेणूले विराटनगर छाड्नुभयो । त्यसपछि पनि बीपीकै शब्दमा "रेणूको आयु रहुञ्जेलसम्म 'घनिष्ठता' कायमै रह्यो ।"

रेणूको 'नेपाली क्रान्ति–कथा' त्यतिबेलाको जल्दोबल्दो भारतीय समाचार पत्रिका 'दिनमान' मा धारावाहिक छापियो । हुन त त्यतिबेला उहाँ आफैं पनि भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको 'इमर्जेन्सी' विरुद्ध जयप्रकाश नारायणले शुरु गर्नुभएको अभियानमा सामेल हुनुभएको थियो । विरोधस्वरूप भारत सरकारद्वारा प्रदान गरिएको 'पद्मश्री' सम्मान फिर्तासमेत गर्नुभएको थिायो ।

त्यही 'नेपाली क्रान्ति–कथा' राजकमल प्रकाशनले सन् १९७७ मा पुस्तकका रूपमा प्रकाशन ग¥यो । आफ्नो त्यस रिपोर्ट शैलीको इतिवृत्तमा रेणूले अक्टुबर १९५० देखि सम्झौता भएसम्मको पूर्वी नेपालमा मुक्तिसेनाका युद्ध क्रियाकलापको सजीव चित्रण रेणूले गर्नुभएको छ । त्यसले उहाँलाई एउटा साहित्यकारमात्रै होइन योद्धाको रूपमा पनि प्रतिष्ठापित गरेको छ ।

त्यसै पुस्तकमा पूर्वी नेपालको सर्वाधिक सुरक्षित विराटनगरको गभर्नरको किल्ला जस्तो आवास क्षेत्रलाई 'क्याप्चर' गर्न मुुक्ति सेनाले निरन्तर गरेका प्रयासबारेमा बडो विशद रूपमा उल्लेख गरिएको छ । एकपटक ठूलो आक्रमण गर्नुअघि गभर्नरसँग वार्ता गरौंैं भनेर बीपीले भन्नुभयो । नचाहँदा नचाहँदै पनि सबै सहमत भए । राणाका सेनाको पक्षसँग वार्ताका लागि जानलाग्दा बीपी सेतो रुमाल हल्लाएर बाहिर आउन भन्नुभयो । आफू पनि सेतो रुमाल देखाएर आफ्ना अंगरक्षकसहित जानलाग्दा राणातर्फबाट एकाएक गोली चल्यो । अंगरक्षकले बीपीलाई कभर गरी सुरक्षित गरेको जानकारी पनि त्यहाँ छ । त्यससँगै राणाका सेवक उत्तम विक्रमलाई मुक्तिसेनाका जवानले घेराबन्दीमा पारेर बीपी लगायतप्रति गरिएको 'युद्ध अपराध' को दण्ड दिन खोजे । त्यत्तिबेला बीपीले कोइरालाले आफ्नो महानता देखाउँदै मुक्तिसेनालाई कुनै अप्रिय घटनाबाट सचेत गराउनुभयो । उत्तम विक्रमको ज्यानको खतरा टार्दै सबै लडाकूलाई शान्त पार्नुभयो । यी कुरालाई 'नेपाली क्रान्ति–कथा' मा रेणूले यसरी लेख्नुभएको छः

"बीपी अपनी दोनों भुजाओं को पसारकर उत्तम विक्रमको दरबाजे के पास–राह छेंककर खडे हो गये हैं" । "स्टप फायरिङ । " उता उत्तमविक्रम निस्तेज, 'बदहवास' बीपीलाई हेर्दै, केटीहरू रुँदै, महिलाहरू डरले काम्दै, त्रासपूर्ण मुद्रामा उभिए । त्यसबेला बीपीले सबैलाई शान्त हुन भन्दै उनलाई मुक्ति सेनाको बन्दी भएकोमा चिन्ता लिनुपर्दैन भनी सान्त्वना दिलाएका थिए । अविश्वास र भययुक्त आँखाले बीपीलाई हेर्दै कर्नल उत्तमविक्रमले जब बीपीलाई एउटा बालकलाई चुप गराउन आफ्नो काखमा लिनुभएको अवस्थामा देखे त्यतिबेला उनका आँखा रसाएर आयो र अनुनय–बिन्ती गर्दै भनेका थिए– तपाईं देउता हो, मानव हैन । तपाईं सम्पूर्ण नेपालीको नेता हुनुहुन्छ, युग–युगसम्म बाँचिरहनोस् ... । " 'नेपाली क्रान्ति–कथा' मा मुक्तिसेनाका क्रियाकलाप र त्यसमा बीपीको भूमिकाको जुन सजीव चित्रण रेणूले गर्नुभएको छ त्यसको उपयोग नेपालको प्रजातन्त्र स्थापनाको त्यसबेलाको इतिहास लेख्नेहरूले गरेका छन् वा छैनन् भन्ने चाहिं अध्ययनको विषय हुनसक्छ तर एकजना भारतीय लेखक, जसले आफ्नो जवानीका स्वर्णिम क्षण कोइराला परिवारको संगतमा बिताए र उनकै साहचर्यमा नेपालको राणाशासनविरुद्धको क्रान्तिमा कलम र बन्दुक बोकेरै लागे, त्यसको यथोचित चर्चा भएको चाहिं पाइँदैन ।

रेणूका विषयमा स्वयं बीपी कोइरालाले त्यस पुस्तकको भूमिकामा लेख्नुभएका यी पंक्ति पनि ऐतिहासिक महत्वका छन्– "तर सबैभन्दा बढी रेणू मेरा कान्छा भाइ थिए । उनको क्रान्तिकारी प्रवृत्ति र अन्याय तथा दमनको विरोध गर्ने उग्रता मेरो जस्तै थियो । उनका विचार मलाई आफ्नै जस्तो लाग्थ्यो । वास्तवमा त्यो मेरै थियो । उनी स्वतन्त्रताका प्रचण्ड योद्धा थिए । नेपालमा प्रजातन्त्रको हाम्रो संघर्षमा उनले हामीसँग काँध मिलाए । राणाशासनलाई अपदस्थ गर्न नेपाली कांग्रेसले १९५० मा जुन सशस्त्र क्रान्ति चलायो, त्यसमा रेणू पनि सामेल भए र मुक्ति सेनाको फौजी बर्दीमा मसँगै बन्दुक लिएर मोर्चामा डटे । क्रान्तिको समय उनले नेपाली कांगे्रसको प्रचार–प्रकाशन तथा विराटनगरमा स्थापित एउटा 'गैरकानूनी' आकाशवाणीको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।"

पन्ध्र–सोह्र वर्षको उमेरमा रेलयात्राका क्रममा भेट हुनुभएका रेणू बीपी र उहाँकी पत्नी सुशीला कोइरालाका कारण कोइराला परिवारमा प्रवेश गर्नुभएको थियो । त्यहीं बीपीका पिता कृष्णप्रसाद कोइरालाको प्रयासमा खोलिएको विराटनगर आदर्श विद्यालयमा तारिणीप्रसाद कोइरालासँगै पढ्नुभयो । बीपीले रेणूलाई 'साहित्यिक सहायक' भन्नुभएको छ । उहाँको अनुवादमा हिन्दीका स्तरीय पत्रपत्रिकामा आफ्ना कथा प्रकाशन भएका कुरा भूमिकामा लेख्नुभएको छ । विराटनगर छाडेपछि रेणूले 'रेणू', 'मैला आँचल' शीर्षकका उपन्यास लेखेर प्रसिद्ध हुनुभयो । बीपीको साहित्यमा आफ्नो परिवेशप्रतिको आकांक्षा र अनवरत सम्पर्कको जुन चित्र भेटिन्छ, ती वास्तवमा त्यतिबेलाका दस्तावेजै हुन् । 'रेणू' को साहित्यले सम्पूर्ण हिन्दी संसारलाई आफ्नो धरातलको महत्व बुझाउन निकै मद्दत गरेको थियो र आज पनि उहाँका साहित्य कालजयी बनेर हिन्दी साहित्यको श्रीवृद्धि गर्दैछन् ।

'नेपाली क्रान्ति–कथा' मा यस्ता अनेकौं प्रसंग उल्लेख छन्, जसले तत्कालीन राणाशासनविरुद्धमा नेपाली कांगे्रसले सञ्चालन गरेको अत्यन्त योजनाबद्ध र सशक्त मुक्तियुद्धका विस्तृत र ओझेलमा रहेका तथ्य प्रकाशमा ल्याउनुभएको छ । त्यसमा बीपीको 'इस्टर्न कमान्डका चिफ' को रूपमा असल रणकौशल पनि परिचय गराइएको छ । समयको गतिले दुवै व्यक्तित्वलाई स्वतन्त्रताका योद्धा र प्रखर साहित्यकारका रूपमा इतिहासमा स्थापित गरिसकेको छ । इतिहासको यस कालखण्डलाई उहाँहरूको सहकार्य र सम्बन्धका निम्ति सम्झिरहनु हाम्रो दायित्व हो, कर्तव्य पनि ।

प्रकाशित मिति: २०७१ भाद्र २३, गोरखापत्र दैनिक

Back