"नेपाली राजनीतिका शीर्ष व्यक्तित्व" - लोकनारायण सुवेदी (२०७१ भाद्र २४, गोरखापत्र दैनिक)
Print Friendly and PDF

नेपालको आधुनिक राजनीतिक इतिहासका एक पुरोधा एवं अग्रज व्यक्तित्व हुनुहुन्छ बीपी(विश्वेश्वरप्रसाद) कोइराला । उहाँले आफ्नो सक्रिय जीवनको सम्पूर्ण अंश देश र जनताका निमित्त समर्पण गर्नुभयो । आफूले अवलम्बन गरेको राजनीतिक सिद्धान्तप्रतिको अविचलित निष्ठा, त्यसप्रतिको इमानदार नैतिकता र आदर्शप्रतिको उत्सर्ग नै बीपी चिन्तन र प्रयोगका मूल आधार हुन् भन्ने उहाँको राजनीतिक जीवनयात्राले खुलस्त पारेको छ । यद्यपि देशको अग्रगामी राजनीतिका निमित्त उहाँको लडाइँका बेला अनेक मोड अवश्य आए । विभिन्न उतारचढाव पनि आए तर बीपीले आफैंद्वारा आर्जित र कतिपय प्रत्युत्पन्न त्यस्ता कुनै पनि मोडमा आफ्नो गन्तव्यप्रति कदापि कसैसँग लत्रिनुभएन । बरु आदर्श र अडानका लागि जस्तोसुकै पीडा सहन र जीवन अर्पण गर्न पनि तयार हुनुभयो । बीपीलाई मनन गर्न चाहनेहरूले उहाँका जीवनभरिका संघर्षले कमाएका मूलतत्वलाई कदापि बिर्सनुहुँदैन ।

पिता कृष्णप्रसाद कोइराला नै राणाशासकको कोपभाजन हुनेगरेकाले बीपीले सानैदेखि राजनीतिमा लाग्ने वातावरण पाउनुभयो । कतिपय मानिस त्यस्तो वातावरण पाएर पनि त्यसबाट विमुख हुने गर्छन् र तिनले कुनै इतिहास निर्माण गर्दा पनि गर्दैनन् तर बीपी शुरुदेखि नै एउटा संघर्षको भावनाले ओतप्रोत भएको नेपाली समाजको अवस्थालाई फेर्न तत्पर रहनुभएको देखिन्छ । त्यसैले उहाँले वातावरण पाउनासाथ त्यस दिशामा आफ्नो अग्रसरता लिनुभयो । फलतः उहाँ राणाशासकविरुद्ध उत्रँदै जान थाल्नुभयो । यसरी शुरुदेखि नै उहाँले कठोर यातना र कारावासको संघर्षमय जीवनको बाटो पक्रेर निरन्तर त्यसमा लागिरहनुभयो । यसरी हेर्दा बीपीलाई नेपाली युवा समुदायको एउटा अजस्र प्रेरणाको स्रोतका रूपमा पाइन्छ ।

बीपी कोइरालाका जीवनका आखिरका सारगर्भित कृतिहरू 'जेल जर्नल' र 'आत्मवृत्तान्त' पढ्दा र केलाउँदा त्यहाँ नेपाली राजनीतिक आन्दोलनको इतिहासका निकै महत्वपूर्ण र गम्भीर पक्ष भेटिन्छन्, जसमा आत्मसात् गर्नुपर्ने अत्यन्तै मननीय कुरा छन् । संघर्षका गाथाका रूपमा आएका कृतिहरूमा अन्य महत्वपूर्ण कुराका साथै आफ्ना राजीतिक त्रुटि केलाउने जुन अत्यन्तै महत्वपूर्ण आत्मसमीक्षात्मक टिप्पणी बीपीले गर्नुभएको छ तिनले नेपाली जनआन्दोलनको दिशानिर्देश गर्न वस्तुवादी आधार प्रदान गर्छन् र इतिहासलाई कहाँ कहाँ सच्याउनुपर्ने रहेछ भन्ने दिशाबोध पनि गराउँछन् । बीपी जस्ता नेपालको राजनीतिक आकाशका एक उच्चतम व्यक्तित्वले महसुस गरेका र मनन गरेका ती कुराले आज हामीलाई देश र जनताप्रति उत्तरदायी हुने राजनीतिक संस्कार र संस्कृतिको शिक्षा दिन्छन् । अग्रगामी परिवर्तनको पक्षपोषण गर्ने र त्यस्तो परिवर्तनका लागि समर्पित हुन चाहनेका लागि बीपीका संघर्षशील जीवनका जानकारी कम दूरगामी महत्वका छैनन् ।

बीपीले आफ्नै नेतृत्वमा चलाएको र लडेको २००७ सालको जनक्रान्ति, त्यसैक्रममा भएको 'दिल्ली सम्झौता', भूमिसुधार, सेनाको लोकतन्त्रीकरण, २०१७ सालको प्रतिगामी शाहीकदम र त्यसविरुद्धको संघर्षको जस्तो किसिमले व्याख्या विश्लेषण गर्नुभएको छ त्यसको पनि गहिराइमा पुगेर आज समीक्षा र आत्मसात् गरिनु अत्यावश्यक छ । किनभने नेपाली जनआन्दोनलको इतिहासमा कहाँ कहाँ गल्ती कमजोरी भएका छन्, प्रतिगामी आन्तरिक र बाह्य शक्तिले अस्थायीरूपमै भए पनि तिनबाट फाइदा उठाएका र जनतालाई लोकतान्त्रिक आन्दोलनबाट गुमराह गर्न सफल भएका छन् भन्ने चेत बीपीमा भरपूर देखिन्छ ।

२०१७ सालको प्रतिगामी शाहीकाण्ड गरेर जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासमेत सम्पूर्ण प्रतिपक्ष अर्थात् कांग्रेस र कम्युनिस्टका नेता÷कार्यकर्तालाई जेलनेल हाल्ने, दमन गर्ने र राणाशाहीको विकल्पमा लोकशाही होइन, शाहशाही चलाउने गलत बाटो राजा महेन्द्रले लिए, त्यो उनको राजसी हित अनुकूल भए पनि नेपाल र नेपालीको हितमा थिएन । त्यसैले राजाको नेतृत्वमा रहेको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाविरुद्ध शुरुदेखि नै जनता रुष्ट, असन्तुष्ट र संघर्षशील रहे । त्यो वास्तवमा २००७ सालको जनक्रान्तिपछि विश्वसमक्ष खुला भएको नेपाली समाज र विकास हुँदै आएको नेपाली जनताको चेतनाकै प्रतिविम्ब पनि थियो ।

पञ्चायती कठोर कारावासमा परेका नेपाली कांग्रेस र कम्युनिस्ट नेताले आपसमा मिल्नुको साटो जेलभित्रैबाट परस्पर विरोधको राजनीति शुरु गरे । राजाले कम्युनिस्टलाई लगाउने गरेको 'ध्वंसात्मक तत्व' र कांग्रेसलाई लगाउने गरेको 'अराष्ट्रिय तत्व' को लाञ्छनाको बहकाउमा लागेर कांग्रेस र कम्युनिस्ट नेता नै एक–अर्काविरुद्ध खडा हुनु नेपाली जनआन्दोलनको त्यो पञ्चायतीकालमा विडम्बनापूर्ण कुरा थियो । कारावासमा बसेका नेतृत्वको कांग्रेस र कम्युनिस्टविरोधी वक्तव्यबाजीपछि जेलबाहिरका कार्यकर्ताबीच पनि नकारात्मक प्रभाव परेर 'गोबर' र 'खरानी' (त्यो बेला कांग्रेसलाई गोबर र कम्युनिस्टलाई खरानी भन्ने संज्ञा पञ्चायतले दिएको थियो) को झडपमा परिणत हुनथालेपछि जेलबाट आठ वर्षपछि छुटेका कांग्रेस नेता बीपी र निर्वासनमा रहेका कम्युनिस्ट नेता पुष्पलालले वक्तव्य दिएर त्यो 'गोबर' र 'खरानी' को झडपलाई साम्य पार्नुपरेको थियो । त्यसै पृष्ठभूमिको प्रभावले झण्डै एक दशकपछि (२०३५÷३६ सालमा) पञ्चायती व्यवस्थाविरोधी संयुक्त विद्यार्थी आन्दोलन राष्ट्रव्यापी विकास भएको र निर्विकल्प दाबी गरिएको पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा खडा भएको इतिहास छ । जुन जनमत संग्रहमा शाही पञ्चायतले ठूलो धाँधली गर्दा पनि बहुदलका पक्षमा ४४ लाख चानचुन मत आएको थियो र त्यसले नेपाली राजनीतिको भविष्यको संकेत गरेको थियो । त्यसपछि नै २०४२ सालको आन्दोलन, २०४६ को संयुक्त जनआन्दोलको गृहकार्यका रूपमा चलेको थियो र पञ्चायती व्यवस्थाविरुद्ध बृहत् संघर्षको उठान २०४६ साल फागुन ७ देखि शुरु भएको थियो । ४९ दिनपछि राजाको सक्रिय नेतृत्वको पञ्चायती व्यवस्था ढलेर देशमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भएको थियो, जुन गन्तव्य वस्तुतः बीपीकै उद्देश्य अनुरूप थियो ।

यहाँ स्मरणीय के छ भने बीपी आठ वर्षको कठोर कारावासपछि २०२५ सालमा पञ्चायती जेलबाट छुटेपछि पुनः ८ वर्ष स्वनिर्वासनमा भारतको बनारसमा रहनुभयो । बनारसको सारनाथ नेपाली कांग्रेसको 'हेडक्वाटर' जस्तै थियो । अहिलेको पहिलो पुस्ताका धेरैजसो कांग्रेसका नेता त्यही सारनाथको बीपी 'हेडक्वाटर' कै उपज हुन् भन्दा फरक पर्दैन । यहाँ अर्को एउटा निकै महत्वपूर्ण कुरा नगर्ने हो भने बीपी व्यक्तित्व समग्र उजागर हुन पाउँदैन । आठ वर्ष प्रवासमा रहेका बीपी भारतबाट २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर आफूमाथिका आठवटा मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्कनुभएको थियो । पञ्चायती व्यवस्थाले फासिस्टरूप लिएर गाउँफर्कको चर्को दबदबा चलिरहेको बेला बीपीले जानीबुझीकनै कार्यनीतिकरूपमा राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो । त्यसरी आफू स्वदेश फर्कने कुरा भारतको बनारसमै निर्वासित जीवन बिताइरहेका नेपाली कम्युनिस्ट आन्दोलनका सर्वोच्च नेता पुष्पलालसँग पनि गर्नुभएको थियो । पुष्पलालले राजासँगको मेलमिलाप तपाईंको कार्यनीतिक बाध्यता भए पनि आफूले त्यसको विरोध गर्ने वस्तुगत तर्क दिएपछि बीपीले त्यसलाई पनि सहर्ष स्वीकार्नुभएको थियो । बीपीलाई पञ्चायती व्यवस्थालाई फासिस्टशैलीमा चलाइरहेका राजाले मेलमिलापको नीतिलाई बेवास्ता गर्नेछन् भन्ने राम्ररी थाहा थियो । बीपी यी सबै कुराको पूर्वानुमान गरेर नै स्वदेश फर्कनुभएको थियो । पुष्पलालले त्यो मेलमिलाप नेपाली जनआन्दोलनलाई कमजोर तुल्याउने 'मन्दविष हो' भनेर वक्तव्य दिंदा पनि बीपीले त्यसको प्रतिवाद गर्नुभएन । हुन पनि बीपीको राष्ट्रिय मेलमिलापको नीतिले राजा र पञ्चायती व्यवस्थाको मन पग्लिएन बरु अझ कठोर बन्यो । बीपी थुनामा पर्नुभयो तर देशमा संयुक्त विद्यार्थी आन्दोलन (जुन कांग्रेस र कम्युनिस्टसम्बद्ध पञ्चायती व्यवस्थाविरोधी विद्यार्थी आन्दोलन नै थियो) उठ्यो र राजाले २०३६ साल जेठ १० गते एकाबिहानै पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा परेको घोषणा गर्नुप¥यो ।

यसप्रकार बीपीले आफ्नो सम्पूर्ण जीवन संघर्षमा बिताउनुप¥यो, त्यो चानचुने संघर्ष थिएन । विचार, नैतिकता, इमान र आदर्शसहितको एउटा जीवन्त संघर्ष थियो । त्यसैले बीपी झण्डै दुई दशक प्रतिपक्षमा रहँदा पनि नेपाली राजनीतिको धुरी नै भएर रहनुभयो । राजनीति उहाँकै वरिपरि केन्द्रित रह्यो । उहाँलाई हिजो गलत ढंगले नकार्नेहरू पनि आज उहाँको राजनीतिक जीवन र संघर्षबाट सिक्न थालेका छन् । यो बीपीको सत्य–निष्ठाप्रतिको अटुट आस्थाबाट निःसृत शिक्षा हो ।

हुन पनि अत्यधिक मतले विजय प्राप्त गरेर प्रधानमन्त्री बनेको व्यक्ति लोकतान्त्रिक मूल्य–मान्यता र पद्धतिका निमित्त आठ वर्ष निरन्तर कठोर जेलजीवन बहन गर्दछ, आठ वर्ष पुनः प्रवासमा निर्वासित हुन्छ र जीवनकै जोखिम मोलेर स्वदेश फर्केपछि पनि बाँचुञ्जेल आफ्नो आस्थामा आँच आउन नदिई संघर्ष गरिरहन्छ भने त्यो एउटा सफल र सबल संघर्षको द्योतक सिवाय केही हुनसक्तैन । यस्तै व्यक्तित्व हुनुहुन्थ्यो नेपाली लोकतन्त्रका अग्रतम धरोहर बीपी कोइराला । जसले आफ्ना कमजोरी राम्ररी बुझ्नुभएको थियो अनि तिनलाई सच्याउने र सकेसम्म आफूलाई सही बाटोमा हिंडाउने अथक प्रयत्न गरिरहनुभयो । सत्तामा पुगेपछि कसरी सुकिलामुकिलाले त्यसलाई आफ्नो कब्जामा लिन्छन्, नेतृत्व र जनताबीच अविश्वासको खाडल उत्पन्न गर्छन् भन्ने पनि बीपीले सात सालदेखिकै अनुभवका आधारमा राम्रोसँग बुझ्नुभएको थियो । ती अमूल्य अनुभवका भण्डार बीपीको आज भने कसैले अनुसरण गर्नसकेको पाइँदैन । स्वार्थपूर्तिका लागि बीपीलाई भजाउने काममात्र भइरहेको देखिन्छ । उहाँको जन्मशताब्दीका समयमा यो सत्य कुरा भन्नैपर्ने हुन्छ ।

प्रकाशित मिति: २०७१ भाद्र २४, गोरखापत्र दैनिक

Back