"पृथ्वीनारायण र बीपी" - डा. रमेशकुमार ढुंगेल (२०७१ भाद्र २८, अन्नपूर्ण पोष्ट्)
Print Friendly and PDF

हिजोआज राष्ट्रिय एकताको चिन्तन देखिन थालेको छ। कोही आदि राष्ट्रनिर्माता र देशभक्तका सालिक ढालिएका घटनाले पिरोलेर दु:स्वप्न देख्न थालेका कारणले हुन सक्छ, अब पुस २७ गते पृथ्वीजयन्तीका दिन पारेर एकता दिवस मनाउनेसम्मका घोषणा गर्न थालेका छन् भने कोही पृथ्वीनारायण र जंगबहादुरलाई देश निर्माणको इतिहासमा क्रियाशीलताको शीर्ष स्थानमा राख्ने जमर्कोमा जुट्न थालेका छन्।

त्यस्तै किसिमले बीपी कोइरालाका चिन्तन र क्रियाकलापमा अराष्ट्रियता विदेशको दलालीमात्र देख्नेहरू अहिले बल्ल उनको राष्ट्रियताको चिन्तनलाई स्वीकार गर्ने अवस्थामा पुगेका छन्। विश्वास गरौं, यहाँ कुनै नयाँ स्वार्थ गाँसिएको नहोस्।

विडम्बना यस्तो रह्यो यस देशको इतिहासमा- यहाँ बिना गहन बुझाइ, बिना सोच राष्ट्रनिर्माताका सालिकसमेत ठाडो रहन दिएनन्। जनसमुदायको ठूलो हिस्साले बुझ्ने भाषामा साहित्यको रचना गर्ने वा श्‍लोकबद्ध रूपमा अनुवाद गर्ने भानुभक्तजस्ताका अनि समाजको उत्थानका निम्ति लागिपरेका गणेशमान, मनमोहनजस्ताका सालिकसमेत एकपछि अर्को गर्दै तोडिए।

त्यस्तो नांगो कुकृत्य चलेको समयमा सुरक्षायन्त्र मूकदर्शक बन्यो। र, कतिपय भने आँसु झार्दै रहे। इतिहास बुझ्ने सोच भएन। त्यसको दुष्फल अहिले अगाडि बढ्नै नसकेर चाउरिएका तर अग्रगामी नाम दिइएको यस देश र यहाँका जनताले भोगिरहेका छन्।

यदि त्यो कथित परिवर्तन जनताको अधिकार स्थापित गर्न गरिएको राजनीतिक आन्दोलन थियो भने बीपी, गणेशमान, मनमोहन आदि र भानुभक्तजस्ताका सालिकसमेत ढाल्नुपर्ने, फुटाउनुपर्ने कारण के थियो?

राष्ट्रिय स्वाधीनता वा राष्ट्रियताका निम्ति भएको जनयुद्ध थियो भने अंग्रेजले हिन्दुस्तान दबाएर खाएको समेत मन नपराउने, खप्न नसक्ने र नेपाललाई सुरक्षित कि ल्लाका रूपमा व्याख्या गर्दै यस देशको भूराजनीतिक अवस्थितिको सुन्दर विश्लेषण गर्ने र सिंगो र स्वाधीन नेपाल निर्माणको जग हाल्ने पृथ्वीनारायणको सालिकचाहिँ के कारणले ढाल्नु परेको थियो?

परिवेश र समयमा ठूलो अन्तराल भए पनि देश र जनताको रक्षा, राष्ट्रियता र राष्ट्रिय स्वाधीनता आदि विषयमा बीपी र पृथ्वीनारायणका विचारमा समानता देखिन्छ। वास्तवमा नेतृत्वको तहमा रहेको जुन व्यक्ति देश र जनताको रक्षा सर्वांगीण हितमा चिन्तनशील हुन्छ, चाहे त्यो जनताबाट माथि उठेको राजनीतिक नेता होस् वा कुल वा वंशगत रूपमा जन्मिएको राजा वा सम्राट् नै किन नहोस्, ऊ क्षणिक स्वार्थ तथा सोचरहित सतहीपनमा लागेर अगाडि बढेको हुँदैन। त्यस्तै उदाहरण बीपी र पृथ्वीनारायणमा हामी पाउँछौं।

अनुभव र अध्ययनले खारिँदै जाँदा बीपीले नेपालमा राष्ट्रिय एकता तथा जनता र राष्ट्रियताका जगत्मा उठेका संस्थासमेतका बीच मेलमिलापको अपरिहार्य महसुस देशबाट बाहिरिएर रहँदाको अवस्थामा गर्न थालेको देखिन्छ।

अन्योल र अस्पष्टताकै अवस्थामा जिम्मेवारीशून्य र अधिकारकेन्द्रित महत्त्वाकांक्षाका फलस्वरूप राष्ट्रिय एकताको चिन्तनका क्रममा सतही ढंगले अपव्याख्याको उत्क र्ष केही जातीय समुदायगत राज्य वा प्रदेशयुक्त छुट्टी भिन्न हुनसक्नेसम्मका प्रादेशिक आत्मनिर्णयका अधिकार तथा जातीय समुदायगत अग्राधिकार भएको संघीय व्यवस्थाको समेत परिकल्पना गर्दै प्राविधिक स्वरूप बनाउने कामको थालनीसमेत भयो।

कतिसम्म भने कुनैकुनै जातीय समुदायगत संरचनाको प्रारूप तय गर्दा 'अमिवा' जस्ता आकारका प्रादेशिक खाकासमेत बनाउनमा हिचकिचाहट हामीमा भएन। भाषा वा नश्‍लमुखी जातीयताका आधारमा संघीय संरचना बनाउँदामात्र सच्चा राष्ट्र राज्य बन्नसक्छ र त्यसो भएमा मात्र वास्तविक एकताको स्थिति हुन्छ भन्ने जस्ता व्याख्याले मात्र एकोहोरो मान्यता पाउँदा बीपीले निर्दिष्ट गरेको राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादको बाटोमा पनि अपव्याख्या गर्न क्रम चल्यो।

बीपीका अनुयायीहरूमा समेत चिन्तनशीलतारहित एकोहोरो अधिकारमुखी तर जिम्मेवारीको अनुभूतिरहित, बाह्य प्रभावमा बगेको उद्दण्डताको भेलले असर पारेको देखियो। नेपालमा राष्ट्रियताको चिन्तन कम सतहीपनले ल्याएका आवेश र उद्दण्डताचाहिँ अत्यधिक हुन थाल्यो।

यस क्रममा जातीय सांस्कृतिक राष्ट्रवादको दृष्टिकोणलाई मात्र मूल आधार मानेर परिवर्तनको परिकल्पनालाई अगाडि सार्ने क्रम चल्यो। यसो हुँदा नेपालको राष्ट्रिय इतिहास, यहाँको चरम सांस्कृतिक तथा जातीय समुदायगत विविधता, तिनका बीचको हजारौं वर्ष लामो समन्वयात्मक इतिहास र त्यसले बनाएको आफ्नै किसिमको व्यावहारिक तथा परिवेशअनुरूपको सामाजिक अवस्था अलौकिकजस्तो देखिने सामाजिक सांस्कृतिक धरोहरको अवस्थामा त प्रतिकूलता ल्याउने र त्यसको फलस्वरूप राजनीतिक र सामाजिक स्थिरताको अवस्था ल्याउन कठिन हुनेतर्फ कुनै सोच पुर्‍याइएन।

उल्टै जातीय सांस्कृतिक राष्ट्रवादको चरम रूपको जातीय समुदायगत ढाँचामा निर्माण गरिने एकल जातीय समुदायको संघीयताको संरचना गर्ने र त्यसलाई लागू गर्नेसम्मका असम्भव र स्वराष्ट्रिय सोचभन्दा बाह्य प्रभाव र बहकाउमा भित्र्याइएका प्रयासको थालनी यहाँ भयो।

यस सोचले नेपाली समाज र संस्कृतिको हजारौं वर्षमा मान्यता र धरोहरमा मात्र कुठाराघात गरेन, उल्टै प्रजातन्त्रका छुटाउनै नसकिने वैयक्तिक तथा नागरिक स्वतन्त्रता तथा अधिकारको सर्वस्वीकार्य दृष्टिलाई पछाडि छाड्दै जातीयता, क्षेत्रीयताजस्ता कुरालाई मात्र स्वीकार गर्ने किसिमका राष्ट्रियताका व्याख्या र मान्यतालाई एकोहोरो रूपमा अगाडि ल्याइयो।

यसै एकोहोरो व्याख्याभन्दा अपव्याख्याको क्रममा राष्ट्रिय धरोहरमाथि प्रत्यक्ष-अप्रत्यक्ष आक्रमणको क्रम चल्यो। राष्ट्रनिर्माता र हाम्रो सामाजिक सांस्कृतिक व्यक्तित्वका सालिकमात्र फुटेनन्, पशुपतिनाथका हजारौं वर्षदेखिका पूजा परम्परामा समेत आँच पु:याइयो। केही समय पशुपतिनाथमा ताला लाग्यो, पूजासमेत रोकियो। श्लेषमान्तक वनसमेत इसाईका युरोपमुखी सभ्यताको 'सिमेन्टेड।'

स्मारकसहितका चिहानको स्थल बन्ने क्रम बढ्यो। गोम्पा, मठमन्दिर देवस्थलहरू खासगरी स्थानीय र परम्परागतमाथि प्रत्यक्ष-अप्रत्यक्ष आक्रमणको क्रम बढ्यो। इसाई चर्चहरू च्याउ उम्रिएजस्तै गरी कन्दराकन्दरा, गाउँगाउँसम्म बने।

नेपाली धरोहरको विनाशको युगको थालनी भयो कथित परिवर्तन सँगसँगै। हुँदाहुँदा बौद्ध अनुयायीको संख्यामा वृद्धि हुनुपर्नेमा उल्टै इसाईकरणका कारण पहिलेको जनगणनाको अभिलेखभन्दा कमी आएको दु:खद स्थिति हामीले देख्न पाइरहेका छौं।

यसरी धेरै कुरा बिग्रँदै गएपछि, राजनीतिक विकासभन्दा सामाजिक, सांस्कृतिक विनाश र देशलाई अग्रगामी नाम दिएर पनि वास्तविकतामा चाहिँ अधोगामी अवस्थातिर धकेल्दै गएको देखिएपछि पृथ्वीनारायण र राष्ट्रिय एकता पर्व मनाउने माओवादी नामका कट्टर वामपन्थी तथा जातीय समुदायगत संघीयता र राजनीतिका पक्षधरहरू र तिनलाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्‍याउने तर बीपीले भनेझैं बाह्य बहकाउमा लाग्दै स्वार्थपूर्ण रूपमा विदेशी स्रोत कुम्ल्याउने नेपाली समाज, संस्कृति र राष्ट्रियताको वास्तविकताभन्दा अपव्याख्याको खेती गर्ने केही विद्वत् सूचीमा गनिएकाहरूसमेत पृथ्वीनारायण, जंगबहादुर आदिका क्रियाशीलताको प्रतिफलको रूपमा नेपाली राष्ट्रियताको जग बसेको कुरा स्वीकार गर्ने लिखितै अभिव्यक्तिसमेत दिन थालेका छन्।

आशा गरौं, यस्ता अभिव्यक्तिमा त्यस्ता व्यक्ति र समूहको कृत्रिमता वा अर्को स्वार्थकेन्द्रित योजना वा दृष्टिकोण लुकेको नहोस्। किनकि पाँचसातवटा मात्र भए पनि जातीय समुदायगत राज्य वा प्रदेशको संरचना हाम्रो संघीयताका निम्ति बनाउनैपर्नेसम्मका उदेकलाग्दा र असम्भव विचार अभिव्यक्त गर्ने व्यक्तिहरू नै बल्ल नेपाली राष्ट्रियताको इतिहासमा पृथ्वीनारायण र जंगबहादुरलाई फेला पार्न थालेका छन्, जुन कुरा नेपाली इतिहासमा सगरमाथाजस्तै स्थूल र स्पष्ट भएको विषय थियो।

प्रजातन्त्र, नागरिक सर्वोच्चता र अधिकारको विषयलाई गहनताका साथ नेपालमा प्रवेश गराउने बीपीजस्ता व्यक्तिले त पहिले नै यस विषयमा स्पष्ट धारणा राखिसकेका उदाहरण पाइएका छन्। उक्त धारणाअनुरूप जातीयता, क्षेत्रीयताजस्ता नीति सच्चा प्रजातन्त्रको क्रममा अगाडि ल्याइएमा त्यसले राष्ट्रियता तथा नागरिक सर्वोच्चतासहितको स्वतन्त्रता र प्रजातन्त्रको स्थिति कायम गरी सर्वांगीण हित गर्न सक्दैन बरु उल्टै देशको स्वाधीनताको अवस्थामा खतरा निम्त्याउने सम्भावना बढ्छ भन्ने बीपीको धारणा अहिले आएर स्पष्ट भएको छ।

त्यसैगरी बीपीको विचारमा आन्तरिक एकताको अवस्था देशमा आएन भने वा त्यस्तो अवस्था खल्बलियो भने, क्षेत्रीयता तथा जातीयताका विषयले आवश्यकताभन्दा बढी महत्त्व पाउँदै जाने क्रम बढेर आन्तरिक अवस्था बिग्रियो भने 'विदेशी तत्त्व'को पैठ हुनसक्छ भन्ने देखिन्छ।

स्मरणीय छ, आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहका विचारमा पनि आन्तरिक बेमेल र कमजोरीको अवस्थामा विदेशी पैठ बढ्ने स्थिति सिर्जना हुने र देश कंगालसम्म बन्नपुग्ने स्थिति हुनसक्छ। देशको अस्तित्वमै खतरा आउनसक्छ भन्‍ने स्पष्ट दृष्टिकोण देखिन्छ।

नेपालको राष्ट्रिय एकताको स्थिति र स्थानीयताका बलियो धरोहरसँग सम्बन्धित विश्वासप्रति भयंकर विचलन आउँदै गरेको अवस्थामा गुज्रिइरहेको स्थितिमा हामी आइपुगेका छौं। राष्ट्रियता एकता कायम नहुँदा राजनीतिक र सामाजिक स्थिरतामा आँच पुग्ने र त्यस्तो अवस्था लम्बिँदै गए स्वाधीनतामै आँच पुग्नसक्छ। त्यसैले त राष्ट्रियता र प्रजातन्त्रका विषय बीपीजस्ता चिन्तक राजनेतामा र नवनिर्मित देशको अस्तित्वको निरन्तरताप्रतिको चासो पृथ्वीनारायणजस्ता आधुनिक नेपाल निर्मातामा अत्यधिक रूपमा देखिएको हो।

प्रकाशित मिति: २०७१ भाद्र २८, अन्नपूर्ण पोष्ट्

Back