"प्रकाशकीय", कमल दीक्षित (प्रकाशक), राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)
Print Friendly and PDF

पुराणका कुरालाई प्रमाण मान्ने हो भने, गणेशराज शर्माले आफ्नो नाम सार्थक पार्नुभएको छ। महर्षि व्यासले बोलेका कुरा गणेशजीले नटिपेको भए भागवत् भन्ने ग्रन्थ जन्मने थिएन। वीपीले बोलेका कुरा त्यस्तै आधुनिक पाराले, गणेशराज शर्माले अक्षरमा नउतारेको भए न विश्वेश्वरप्रसाद कोइरालाको 'आत्म वृत्तान्त' ले, न यस किताबले आज नेपाली माझ झुल्कने अवसर पाउँथ्यो।

कुन परिस्थितिमा वीपीका वाणीहरु 'टेप–बद्ध' भए त्यो सबै गणेशराजले लेखिसक्नुभएको छ, दोहोर्याउनु आवश्यक छैन। बरु भन्नु पर्ने के छ भने, टेपै गरिएका वार्ताहरु अक्षरमा ढालिएका हुँदा साहित्यिक गुणगरिमा या भाषाको ओज, व्याकरणको शुद्धताहरु यी पृष्ठहरुमा खोज्नु उचित हुनेछैन। उदाहरणार्थ भनूँ, सुरुतिरैको (पृ. ४ को) एउटा वाक्य हेरुँ। लेखिएको छ– "त्यो अवसर, जसले गर्दा हामी जनतामा त्यसरी पुग्यौं, प्रत्येक दिन हाम्रो तर्फबाट हजारओटाभन्दा कम्ती मिटिङ हुँदैनथ्यो देशभरिमा सानोठूलो गरीकन।" अथवा अलि पछिल्तिर (पृ. ७२) हेरुँ। यस्तो छ– "हामीहरुले हाम्रो दुई धरातल– एउटा धरातल हाम्रो कताकता खुस्किएको थियो, राष्ट्रियताको– त्यो हामीले पुनः हासिल गरेका छौँ यस पाँचवर्षको अवधिमा।" यस्ता वाक्य नै पूरा नभएको कुरा ठाउँ–ठाउँमा देखिन्छन्। तिनमा ठिक–ठिक ठाउँमा एउटा–एउटा त्रियापद राखिदिएर मिलाउन सकिन्थ्यो। तर त्यो कीर्ते काम हुन्थ्यो, त्यो वीपीको वाणी हुँदैन्थ्यो। टेपमा बोलिएका कुरा टिपेको कुरा भएकाले वाक्यहरु व्याकरणसम्मत या सिलसिलाबद्ध छैनन्। तिनलाई सम्पादन गरी साहित्यिक पार्ने आँट हामीमा आएन। त्यो अधिकार पनि हाम्रो थिएन। गणेशराजजी यस पुस्तकमा वीपीको 'फ्लेभर' या बास्ना कायम राख्न चाहनुहुन्थ्यो। हुनुपर्ने पनि त्यही थियो भन्ने मलाई लाग्छ।

यस कितापको महत्व, यसको सान्दर्भिकता भनेको वीपीका विचार हुन्। कति स्पष्ट छन् ती, कति मार्मिक, आजको परिवेशमा पनि कति विचारणीय छन् ती। त्यहीँ पस्कने काम हामीले गरेका हौँ– गणेशराजजीले र जगदम्बा प्रकाशनले।

राजाका बारेमा, भारतका बारेमा र अरु छिमेकिका बारेमा यहाँ वीपीले बोलेका कुराले केही चर्चा पाउला, केही विवाद पनि सिर्जना गर्ला, तर वीपी त्यस्ता विवाद र चर्चाभन्दा धेरै माथि, धेरै टाढा पुगिसक्नुभएकाले हामीले तिनलाई जस्तको तस्तै पस्कने अठोट गरेका हौँ। वास्वमा पच्चीस तीस वर्षअघि वीपीले बोलेका कुरा कति गहिरा रहेछन्, कस्ता सारगर्भित रहेछन् भन्ने कुरा ऐले आएर हामीले हृदयङम गर्न सक्ने भएका छौँ। ऐलेको परिवेशमा पनि ती विचार यति सान्दर्भिक र उपयुक्त छन् भन्ने देखेर नै हतार–हतार यसलाई प्रकाशित गर्ने हामीले जोहो गरेका हौँ।

लेखेको होइन यो सामग्री, भनिसकियो, बोलेका कुरा टिपिएका हुन् टेपका माध्यमले। बोल्ने त्रम पनि अटूट छैन, नियमित छैन। दुई महिनाभित्र विभिन्न मितिमा वीपीले भनेका कुराको सँगालो हो, सङ्कलन मात्र हो यो किताप। त्यसै हुँदा कतिओटा कुरा दोहोरिएका पनि छन् यसमा। तिनलाई काटेर पनि मिलाउन सकिन्थ्यो तर त्यो पनि हामीले गरेनौँ। जस्तो डा. तुलसी गिरीका बारेमा उस्तै–उस्तै कुरा एकदुई ठाउँमा दोहोरिएका छन्। त्यस्तै छन्– सामाजवादी राज्यव्यवस्थाका कुरा, या अमेरिकन स्वाधीनता युद्धको 'नो ट्याक्सेसन विदाउट रिप्रिजेन्टेसन' भन्ने कुरा।

बारम्बार दोहोराए पनि उत्तिकै सान्दर्भिक लाग्ने गरी वीपीले यसमा बोल्नुभएको छ– राष्ट्रियता र प्रजातन्त्रका कुरा, अनि 'बाहिरी तत्व' का कुरा। यो बाहिरी तत्वबाट वीपी कति सशङ्कित हुनुहुन्छ भन्ने आफ्ना सहयोगी, सहयात्रीलाई त्यतातर्फ सतर्क हुन उहाँ बारम्बार जोड दिनुहुन्छ। एक ठाउँमा उहाँ भन्नुहुन्छ, "विदेशीहरुको अर्को एउटा चाल छ– यो भनेर सकियो सकियो, आर्थिक स्थिति समाप्त भैसक्यो भनेर हतोत्साहित पार्छन्" (पृ. ६८)। यो बोल्ने बेलामा रुस (सोभियत सङ्घ) निकै प्रबल थियो र भारत उतैपट्टि मिलेको थियो। त्यसैले उहाँको इसारा त्यतैपट्टि हो भनेर बुझनु गाह्रो छैन किनभने उहाँ पाकिस्तानले बफर बन्नुपर्छ भन्नुहुन्छ (पृ. १२१)। भन्नुहुन्छ– 'जुन तत्वले हामीलाई आक्रमण गरेको छ, त्यो राजाको तत्व होइन' (पृ. ११८)। अथवा तुलसी गिरीको सम्बन्धमा बोलिएको यो वाक्य हेरौँः (पृ. ११४) "तुलसी गिरीले कुन आधारबाट राजालाई औँलो ठडाउन सक्यो?" अथवा "त्यो दात्रिरस र तुलसी गिरी एउटै तत्व हुन्" (पृ. ११५)।

तुलसी गिरीको कुरा आउँदा भन्नुपर्ने हुन्छ, वीपीलाई ती मान्छेसँग निकै चित्त दुखेको छ। त्यो राम्रै बुझन सकिन्छ यस कितापमा, उनको उल्लेख हुँदा निकै ठाउँमा। त्यस्तै विश्वबन्धुका बारेमा पनि हो तर उनको उल्लेख एक या दुई ठाउँमा मात्र वीपीले गर्नुभएको छ यसमा। एउटा कुरा अचम्म लाग्छ, आफ्नो 'आत्मवृत्तान्त' मा त्यति सम्मानसाथ वीपीले सम्झिने एकजना आफ्ना सहयोगी सुवर्णशमशेरका बारेमा यस कितापमा भने उहाँ त्यति प्रसन्न देखिनुहुन्न। सुवर्णशमशेरको पनि दुईचार ठाउँमै चर्चा भएको छ यसमा तर त्यति सम्मानका साथ होइन। जस्तो यो हेरुँ "सुवर्णजीका प्रति दरबार किन अनुकूल हुन सकेन भने दरबार भन्दा बेसी सुवर्णजी दिल्लीप्रति अनुकूल हुनुभयो। .....सुवर्णजी पूर्ण असफलताको अनुभूति लिएर मर्नुभयो। बरु मसँग वार्ता गर्ने प्रयत्न भयो, मसँग प्रसताव आएको थियो, संविधान मस्यौदा ग। भनेर।" (पृ. ११०)।

राजाका बारेमा त यस कितापमा एउटा परिच्छेद नै छ (पृ. १४१–१४) तर त्यसबाहेक पनि ठाउँ–ठाउँमा राजाको नाम लिनुभएको छ वीपीले र मूल कुरा के भन्नुभएको छ भने राजासँग मेरो मुद्दा छ, हो, तर राजा मेरो समस्या होइन, बाहिरी शक्ति हो समस्या भनेको। भन्नुभएको छ स्पष्टैसँग यसरी–"राजासँगको जो हाम्रो सङ्घर्ष छ, त्यसलाई सीमाङ्कन गरौँ। त्यसलाई परिसीमित गरौँ। एउटा परिधि बनाइदिऊँ। त्यस परिधिभित्र त्यस सङ्घर्ष, विवाद र झगडालाई सीमित राखौँ। बाहिरको खतरालाई हामीले ध्यान दिऊँ। मलाई पहिले बाहिरको खतराको अनुभव हुँदैनथ्यो। तर ऐले त मलाई त्यसको धेरै अनुभव छ। पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वमा थियो भने आज यो प्रथम महत्वको हुन आएको छ" (पृ. ७५)

यहाँभन्दा बढी स्पष्ट एउटा राजनेता कसरी हुनसक्छ? तर वीपीले अझ सोझो पाराले पारदर्शी भएर भन्नुभएको छ– "यो देश राजाको मात्र होइन, मेरो पनि हो" (पृ. १७)। दुई दशक र दुई–दई जनआन्दोलन पार गरिसकेको आजको परिस्थितिमा वीपीको राजा र राजतन्त्रबारे के सोच हुन्थ्यो होला अनुमान मात्र लगाउन सकिन्छ। "यो देश जोगाउनका लागि राजाको आवश्यकता छ। सेन्ट्रल फोकल प्वाइन्टका लागि राजाको आवश्यकता छ" (पृ. १९)। त्यति बेलै भन्नुभएको छ वीपीले– "राजा यथार्थमा वैधानिक भएर बस्न सक्छ भने त्यो जस्तो सजिलो राष्ट्राध्याक्ष अरु कुनै हुन सक्दैन" (पृ. २६)।

नेपाललाई बाहिरी शक्तिबाट खतरा छ भन्ने कुरा राजा वीरेन्द्रलाई पनि हृदयङ्गम भएको थियो कुनैकालमा भन्ने वीपीको विश्वास रहेछ। त्यसको सङ्केत दिएर उहाँले भन्नुभएको छ यसरी, "एकापट्टि विदेशीहरुको यत्रो बिगबिगी छ, अर्कोपट्टि अर्का पनि तत्व रहेछ.... मैले जुन विश्लेषण गरेको थिएँ, त्यो विश्लेषण सायद यहाँका कुनै न कुनै 'महत्वपूर्ण तत्वलाई पनि ठीक लागेको रहेछ।' कल्ले भन्न सक्छ त्यो 'महत्वपूर्ण तत्व' भनेर वीपीले राजा वीरेन्द्रलाई इङ्गित गरेको होइन? (पृ. ३६)।

राजतन्त्रका बारेमा यत्ति संवेदनशील भएर बोले पनि आफ्नै पार्टी र पार्टी–कार्यकर्ताहरुका बारेमा भने वीपीलाई त्यसबेला अलि चित्त दुखेको भान पर्छ यो किताप पढ्दा। मेरै पार्टीका मान्छेले, मेरा साथीहरुले नै बुझेनन् मेरो भावना भन्ने उहाँको चित्तदुखाइ हो। भन्नुहुन्छ– "मेरो समस्या के छ भने मेरो लाइनलाई मेरै साथीहरुले बुझेनन्। (पृ. ७२)। अथवा यो "त्यो तत्व म देखिराखेको छु, जो खतरनाक छ, जो हाम्रा साथीहरुले देखिराखेका छैनन्" (पृ. १०८) । त्यस्तै छन् पृ. ११८, १५७ तिर पनि।

वीपी त्यसबेला मृत्युको सँघारमा हुनुहुन्थ्यो, यी कुरा बोलिरहँदा, त्यो हामीले बिर्सनु हँदैन। उहाँलाई यो संसारको डर, माया, मोह केही छैन, कोही रिसाउने भन्ने पनि छैन, कसैलाई रिझाउनु पनि छैन। त्यसैले नै हो, उहाँ निस्पृह, निर्भिक भएर बोल्न सक्नुहुन्छ। के देखिन्छ भने उहाँको एउटै उद्देश्य छ, यी कुरा भनिरहँदा यो देश बाँचिराखोस्, त्यसको अस्तित्व लोप नहोस् भन्ने। राज्य बचाउन राष्ट्रियताको भाव उदाउनुपर्छ जनतामा भन्ने उहाँको धारणा छ। भन्नुहुन्छ– "ऐले त जरुरी के परेको छ भने नेपालमा नागरिक एकता चाहियो। यो पार्टीभन्दा पनि महत्वपूर्ण के रहेछ भने वैचारिक एकता। ....तसर्थ म अहिले बढी इच्छुक छु, पार्टीको दृष्टिकोणभन्दा पनि बेसी वास्तविकता जो मैले बुझेको छु, त्यो सबैलाई बुझाऊँ" (पृ.१४१)।

राष्ट्रियताको कुरा गर्दा साह्रै इमानदारीका साथ भन्नुहुन्छ– "नेवारहरु अति राष्ट्रवादी छन्। त्यस्तै छन्, तराईवासीहरु पनि (पृ. ४३, ४४, ११६)। यी तत्वलाई नै उहाँ 'राष्ट्रियताको रिजभ्र्वायर' सम्म भन्न पुग्नुभएको छ।

वीपीको स्पष्ट धारणा छ– राष्ट्रियताको कुरा राजा महेन्द्रले पनि बुझेनन्। भन्नुहुन्छ, "राजा महेन्द्रले बुझेनन्....आफ्नो राजतन्त्रको जरो खने। बरु म माटो भर्न थालेको छु, राजतन्त्रको जरामा" (पृ.१४१)।

भनियो माथि वीपी मृत्युको नजिकै हुनुहुन्थ्यो र उहाँलाई त्यसको बोध पनि थियो। तर उहाँलाई मृत्युसँग डर थिएन। भन्नुहुन्छ– "जन्मेर मर्नु त्यस्तो दुःखको कुरा मलाई लाग्दैन। त्यसलाई दुःख म मान्दिनँ" (पृ. १३३)। अथवा यो "म सायद अब धेरै बाँच्दिनँ" (पृ. १३५)। आफू मर्ने कुरा यत्ति निर्भिक, यति निस्फिक्री भएर कति जनाले बोल्न सक्छन्? त्यस्तै भएर हो कि वीपीलाई मान्छेहरुले 'महामानव' भन्ने विशेषण दिन थालेका।

मृत्युका बारेमा भन्दा पनि बढी स्वच्छन्द भएर वीपीले ईश्वर र धर्मका बारेमा बोल्नुभएको छ यस पुस्तकमा। ईश्वरका बारेमा त एउटा परिच्छेद नै छ यसमा। सुभाषितका थान्कामा राख्नुपर्ने यस्ता–यस्ता 'कोट'हरु फेला पर्छन् यस पुस्तकमाः

"धर्मको विरुद्धमा त म छँदै छैन, पटक्कै छैन। तर सवैलाई थाहा छ कि म धर्मको अभ्यास गर्दिनँ" (पृ. १३०)।

"मन्दिर जान्छु म तर देवताबाट कुनै आशा गरेर जान्नँ। तर म त्यहाँको वातावरणबाट क्यै न क्यै प्राप्त गर्दछु" (पृ. १३१)।

"मैले देउता छैनन् र छन् पनि भनेको छैनँ। म भन्छु देउता होलान् तर म उनको विशेष पात्र छु भन्ने मलाई कैले पनि लागेन" (पृ. १३६)।

यस कितापका बारेमा थोरै बोलेर सकिन्न। वीपीजस्ता महान् व्यक्तिको उमेरभरिको अनुभवले खारिएर निस्केका वाणीमा टिप्पणी गरेर के साध्य? यिनको त व्याख्या हुनुपर्छ, टीका हुनुपर्छ। होला त्यो, हुँदै गर्ला भन्ने आशा गरुँ। त्यही आशाका आधारमा नै हो हामीले यसलाई प्रकाशन गर्ने जमर्को गरेको।

अब अन्त्यमा आजको सन्दर्भमा पनि साह्रै मिल्ने वीपीको दुईओटा निर्देशन ध्यानाकर्षण गराएर प्रकाशक भएको म पन्छन्छु। वीपी भन्नुहुन्छ– "यथार्थमा हामीले बुझनु के परेको छ भने हामीले राष्ट्रियता र प्रजातन्त्रको धरातललाई छाडिदियौँ भने हामी बाउन्ने भएर जान्छौँ....कसैको पनि धृतराष्ट्रआलिङ्गनमा हामीले जनुहुँदैन" (पृ. १११)। "अनि हामीहरु विरोधी हौँ। विरोधीहरुको ठूलो भूमिका हुन्छ। विरोधीहरु गैरजिम्मेदार भए भने त सरकारमा बसेकाहरु झन् सजिलैसँग गैरजिम्मेदार हुन्छन्। तसर्थ हाम्रा तर्फबाट संयम मात्र होइन, इमानदारीवाला राजनीति हामीले गर्नुपर्छ। त्यो केवल मान्छेहरु उचाल्ने र भड्काउने सस्ता लोकप्रीयताको राजनीतिले धेरै काम गर्दैन" (पृ. १५५)।

(कमल दीक्षित। १ मङ्सिर २०६३)

Back