"सप्तरीबाट जयप्रकाश नारायणको गिरफ्तारी" - कृष्णराज बर्मा (२०७१ जेठ, १७ शनिबार, अन्नपूर्ण पोस्ट्)
Print Friendly and PDF

भारतीय कांग्रेसको मुम्बई अधिवेशनले ८ अगस्ट १९४२ मा अंग्रेजविरुद्ध 'भारत छोडो' आन्दोलनको प्रस्ताव पास गरेपछि सन् १९४० देखि महात्मा गान्धीको एकल प्रयासमा सुरु भएको सत्याग्रह आन्दोलन उत्कर्षमा पुगेको थियो। ६० हजारभन्दा बढी भारतीय सत्याग्रही आन्दोलनकारी पक्राउ परे। उनीहरूका साथ विश्वेश्वरप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, राजेश्वरी उपाध्याय, आदिभक्त माथेमा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, हरपि्रसाद प्रधान, सन्तवीर लामा आदि नेपाली पनि सत्याग्रहमा सरकि भएको एवं त्यस आन्दोलनलाई सघाएको आरोपमा बनारस, कोलकाता र दार्जीलिङबाट समातिए। यसै समयमा भारतीय समाजवादी पार्टीका नेता जयप्रकाश नारायण र राममनोहर लोहियाहरू आफ्ना केही साथीहरूका साथ हजारीवाग जेलबाट भागी पूर्वी तराईको सप्तरी पसेका थिए।

हामी नुवाकोटका खनाल हौँ। बुबा संस्कृत विद्या पढेलेखेको बेदान्ती हुनुहुन्थ्यो। उहाँले नै हाम्रो थर बर्मा राखिदिनुभएको हो। मेरो बुबा नुवाकोटबाट सप्तरीमा बसाइँ सर्नुभएको थियो। म सप्तरीमै जन्मे-हुर्केको हुँ।

त्यस बेला म त्यस्तै १४ वर्षको विद्यार्थी थिएँ। सप्तरीका उत्साही राजपुत, युवकहरू र स्थानीय जनताको साथ सहयोग लिएर अंग्रेजविरुद्ध त्यहीँबाट क्रान्ति सञ्चालन गर्ने ध्येयले समाजवादी नेताहरू जयप्रकाश नारायण र राममनोहर लोहियाहरू त्यहाँ पुगेका थिए। खास गरी पूर्वी नेपालको कोसी टप्पुलाई उनीहरूले आफ्ना लागि सुरक्षित स्थल ठानेका थिए। कोसी टप्पुमा भारतीय किसानहरूले ठूलो मात्रामा गाई पालेका थिए। केही किसानले त एक लाखको संख्यासम्म गाईहरू ल्याएर हिउँदको समयमा गोठ बनाएर त्यहीँ राख्थे। आफ्ना गाई चिन्नका निम्ति उनीहरूले कसैका कानमा नम्बर लेखेका हुन्थे भने कसैका कानमा छाप र मुन्द्री लगाएर आफ्ना गाईको परचिय खुलाउने काम गर्थे। चरनका लागि ती गाई फुकाउँदा त्यहाँ एक किसिमको मेला लागेजस्तो देखिन्थ्यो। यसरी कोसी टप्पु भारतीय किसानहरूकै नियन्त्रणमा थियो।

त्यहाँ नेपाल सरकारको कुनै पहुँच थिएन। त्यो ठाउँलाई जयप्रकाश नारायण र राममनोहर लोहियाहरूले ज्यादै सुरक्षित ठाने र क्रान्तिका लागि आफ्ना अखडा बनाए। सप्तरीको सखडा गाउँमा उनीहरूको हेडक्वार्टर थियो। यस आन्दोलनका क्रममा कोइलाडीका राजपुतहरूले उनीहरूलाई ठूलो सहयोग पुर्‍याएका थिए। उनीहरूले आफ्ना अनुयायीहरूलाई विभिन्न सात शाखामा विभाजित गरेका थिए। त्यहाँ उनीहरू हतियारको प्रशिक्षण पनि दिन्थे। आफ्नो दैनिक खर्चका लागि आवश्यक पर्ने दुई र पाँच रुपियाँका नोटहरू उनीहरूले तिनै क्याम्पमा छाप्थे भन्ने हल्ला पनि सुनिन्थ्यो। यस काममा कुसाह वन जाँच चौकीका हाकिम भक्तपुरका विष्णुभक्तसिंह प्रधानाङ्गले उनीहरूलाई ठूलो सहयोग पुर्‍याएका थिए।

यसरी भारतीय समाजवादी नेताहरूले सप्तरीमा बसेर अंग्रेजविरोधी आन्दोलन चर्काइरहेकामा भारतीय बि्रटिस सरकारलाई सह्य हुने कुरा थिएन। बि्रटिस सरकारले जयप्रकाश र लोहियाहरूको टाउकाको मूल्य तोक्यो- जिउँदै ल्याउनेलाई चार लाख र मृत बुझाउनेलाई दुई लाख रुपियाँ। राणा सरकारलाई पनि ठूलो दबाब दियो।

यसपछि सप्तरीमा राणाहरूको चर्को दमन र धरपकड सुरु भयो। कोइलाडी भनेको हुनेखाने जमिनदारहरूको बस्ती भएको गाउँ हो। जयप्रकाश र लोहियालगायतको ठूलो संख्या त्यो गाउँमा बसेको बडाहाकिम तुलाविक्रम राणाले चाल पाए। त्यसपछि गाउँलाई घेरा हालियो। क्रान्तिकारीहरूले यो कुरा चाल पाए। उनीहरू कोसी नदीको पूर्वपट्टि रहेको बोकरो टापुमा गएर लुके। त्यहीँबाट जयप्रकाश नारायणलाई गिरफ्तार गरियो।

एकथरी मानिसहरू जयप्रकाशलाई यसरी गिरफ्तार गरिएको कुरा अस्वीकार गर्छन्। उनीहरूका भनाइमा बडाहाकिम राणासँग जयप्रकाशको नजिकको सम्बन्ध रहेकाले उनलाई भेट्न जाँदा मानमर्यादा, खानपान गराएर एक किसिमको नजरबन्दमा राखेको अवस्थामा सप्तरीका जनताले जयप्रकाशलाई त्यहाँबाट मुक्त गरेका थिए।

जेहोस्, चार दिन बडाहाकिमको निगरानीमा पालोपहरा दिएर गोश्वारामा राखिएका जयप्रकाशलाई भारतीय क्रान्तिकारी कार्यकर्ता, कोइलाडी बर्साइनका राजपुतहरू र उल्लेख्य मात्रामा उपस्थित भएका स्थानीय जनताको सहयोगमा गोस्वारा अड्डा घेरेर त्यहाँबाट मुक्त गरेर भारततिरै लिएर गएका थिए। यस क्रममा गोली चल्दा एक सरकारी हबलदारको मृत्यु भएको थियो । यसरी नाटकीय ढंगबाट जयप्रकाशलाई त्यहाँबाट उम्काइएको थियो। नेपालको इतिहासमै एउटा महत्त्वपूर्ण घटना थियो यो। यस घटनाले सप्तरी मात्र होइन, पूर्वी तराईमै ठूलो हलचल ल्याएको थियो।

यत्तिकैमा राणा सरकारले यस घटनाको सत्यतथ्य बुझ्न र जाँचबुझ गर्न वीरगन्जका बडाहाकिम सोमशमशेर राणाको नेतृत्वमा अधिकारसम्पन्न एउटा समिति गठन गर्‍यो। राणा ठूलो फौजका साथ त्यहाँ पुगेका थिए। त्यसपछि सप्तरीका जनतामा बर्बर आतंक र यातनाको कहर सुरु भयो। राणा सरकारको मूर्खता भनौँ या अकर्मण्यता, यसको रसि निर्दोष र शंका लागेका व्यक्तिमा पोख्न थालियो। सोही समितिले सयौँ मानिसलाई गिरफ्तार गर्‍यो भने १ सय ५० जनालाई त मुद्दा नै चलायो। रामराजाप्रसाद सिंहका बुबा जयमंगलप्रसाद सिंह, यमुनानन्द मिश्र, चतुरानन्द सिंह, रामेश्वरप्रसाद सिंहलगायत धेरै व्यक्तिलाई यसै अभियोगमा गिरफ्तार गरी काठमाडौँ चलान गरिएको थियो। त्यस बेला पद्मोदय विद्यालयमा अध्ययनरत म गोस्वारा हुँदै स्कुल गइरहँदा देख्थेँ, क्रूर यातनाका दृश्यहरू। खुट्टाका छाला यसरी काडिएको हुन्थ्यो, सेता हड्डी टाढैबाट छर्लंगै देखिन्थे। त्यस्तो देख्दा आङ त्यसै सिरिंग हुन्थ्यो। यातना दिइरहँदा गाउँलेहरू ऐया ऐया भनेर कराइरहेका आवाजहरू सुनिन्थे। यी सबै व्यक्तिलाई झन्डै दुई वर्ष तीन महिना जेल राखेर महाराज जुद्धशमशेर रिँडीको अर्घेलीमा तपस्या गर्न जाँदा तीन जनाबाहेक सबैलाई एकमुष्ट रिहा गरिएको थियो। यस घटनामा पक्राउ परेका कृष्णवीर कामी र अब्दुल मियाको जेलमै मृत्यु भएको थियो।

जयप्रकाशलाई सप्तरीको गोश्वाराबाट छुटाएर जनताले जयजयकार गरी भारतीय सिमानासम्म पुर्‍याएको दृश्य मेरा लागि ज्यादै मार्मिक र प्रेरणास्पद थियो। राणा सरकारविरुद्ध जनता जागरुक हुने एउटा घटना यो पनि थियो सायद। मेरा लागि राजनीतिक गोरेटो कोर्ने काम यही घटनाले गरेको हो।

(नेपाली कम्युनिस्ट आन्दोलनका अगुवामध्येका एक बर्मा पछिल्लो समय नेकपा बर्माका महासचिव थिए ।)

प्रकाशित मिति: २०७१ जेठ, १७ शनिबार, अन्नपूर्ण पोस्ट्

Back