"सहकार्य र सहमतिको संस्कृति" - अमिन पाण्डेय (२०७० चैत्र ९, कान्तिपुर)
Print Friendly and PDF

नेपाली राजनीतिका शिखर पुरुष वी.पी. कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट स्वदेश र्फकनुभएको थियो । त्यतिबेला उहाँले राष्ट्र र राष्ट्रियता संकटमा परेकाले आफ्नो ज्यान हत्केलामा राखेर राष्ट्रियताका लागि स्वदेश र्फकने जोखिम मोल्नुभएको थियो ।

मैले यहाँ उठान गर्न खोजेको विषयवस्तु यो हो कि आज केही राजनीतिक दल राष्ट्रियताको सवालमा भाषण र प्रचारबाजी गर्नमात्र सिपालु छन् । के हो हाम्रो राष्ट्रियता र देशलाई कसरी पराधीन हुनबाट जोगाउन सकिन्छ भन्ने सवालमा यथार्थ रूपले लाग्नसकेका छैनन् । प्रत्येक पुस १६ गते हामी वी.पी.लाई सम्झन्छौं, अनि उहाँको तस्वीरमा माल्यार्पण गर्छौ । र वी.पी.ले यसो भन्नुभएको थियो, उसो भन्नुभएको थियो भनी ठूलठूला सभा, गोष्ठी गरेर समय खेर फाल्छौं । वी.पी. त्यस्ता राजनेता हुनुहुन्थ्यो, जसले अहोरात्र प्रजातन्त्रका लागि आफ्नो ज्यान नै जोखिममा पारेर देश र जनताका लागि संघर्ष गरिरहनुभयो । नेपाली कांग्रेसका कैयौं होनाहार सपुत जस्तै- गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला आदि नेताहरूको अमूल्य योगदानले यो पार्टीले जीवन्तता पाएको हो । वी.पी.लाई तत्कालीन पञ्चायती सरकारले कैयन मुद्दा लगाएको थियो । त्यसको कुनै परवाह नगरी त्यसबेलाको देश-काल-परिस्थितिलाई उहाँले राम्ररी अध्ययन गरेर राष्ट्रिय मेलमिलापको नीति अंगीकार गर्नुभयो ।

मुलुकमा बढिरहेको अस्थिरताका कारण दुई पटकसम्म संविधानसभाको निर्वाचन गर्नुपर्ने बाध्यता, शान्ति सुरक्षाको मजबुत स्थिति नहुनु, भ्रष्टाचार मौलाउँदै जानु, सुशासन कायम हुन नसक्नु यी यावत् गतिविधिले गर्दा मुलुक आक्रान्त छ । आज फेरि मुलुकमा राष्ट्रिय मेलमिलापको आवश्यकता अपरिहार्य सावित भइसेकेको छ । दलीय स्वार्थमा मात्र आज दलहरू लागिपर्ने हो भने मुलुकमा एक वर्षमा त के १० वर्षमा पनि संविधान बन्न सक्तैन । कतिन्जेल यो अस्थिरताको भार मुलुकले थेगेर बस्ने ? अबको समयमा पनि हामीले केही गर्न सकेनौं भने हाम्रो मातृभूमि एक असफल मुलुकको कोटीमा पर्न सक्छ । मुलुक हाँक्ने जिम्मेवारी पाएका दलहरूले अब आपसी खिचातानी र स्वार्थमा रुमल्लिरहने हो र मिलेर संक्रमण नटुंग्याउने हो भने वी.पी.लाई सम्झनुको अर्थ पनि रहँदैन ।

विशेषगरी दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसलाई जुन खालको जनमत प्राप्त भएको छ, यसको उचित कदर गरी ६०/४० को आन्तरिक भागबन्डामा नरुमल्लिई राष्ट्रहितको मार्गमा आफूलाइ डोर्‍याउनु जरुरी छ । नत्रभने भविष्यमा फेरि जनतामाझ जाँदा त्यो जनमत गुम्न सक्छ । आजको आवश्यकता भनेको कांग्रेसको अगुवाइमा किटान गरेर १ वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु हो । यही नै कांग्रेसको दायित्व र जनमतको सम्मान हो । आपसी किचलो र खिचातानी गरेर राष्ट्रिय स्वार्थलाई भुल्ने हो भने कांग्रेसले आफ्ना संस्थापक नेता वी.पी. कोइराला र उनको मेलमिलाप नीति भुलेको मान्नुपर्ने हुन्छ ।

त्यसैले अब कांग्रेसले विलम्ब नगरी सकभर सबै-सबै दललाई समेटेर राष्ट्रिय सरकारको गठन गरी एक वर्षभित्रै संविधान लेख्ने अभिभारा पूरा गर्नुपर्छ । दलहरू बीचको सहमति र सहकार्यलाइ प्रधानता दिई सबल राष्ट्रनिर्माणमा एकजुट हुनुपर्ने आवश्यकता छ । लोकतन्त्रमा विश्वास गर्ने दलले जनताको अभिमतलाई भुल्ने र आफ्ना नेताको मेलमिलापको मार्गदर्शनलाई बेवास्ता गर्ने काम नगरोस् ।

प्रकाशित मिति: २०७० चैत्र ९, कान्तिपुर

Back