"अन्तिम सन्देश", वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)
Print Friendly and PDF

म अब आज जाँदैछु दिल्ली–इलाजको निम्ति। हुनसक्छ मलाई बाहिर पनि जानु परोस्। चाँडै फर्किन्छु कि कुन अवस्थामा फर्किन्छु त्यो मलाई थाहा छैन। म तपाईंहरु सबैसँग अहिलेका लागि विदा लिएर जाँदैछु। मैले भन्ने कुराहरु पाँच वर्ष र त्यो भन्दा पहिलेको अवधिमा पनि धेरै भनिसकेको छु। विशेष गरेर जब हिन्दुस्तानबाट हामीहरु फर्कियौं त्यसपछि पनि मैले पाँच वर्षदेखि भन्दै आएको छु। त्यही हो मेरो गाइड लाइन, म मोटामोटी २।३ कुरा भन्न चाहन्छु। यौटा के भनेदेखि हामीहरु बडो अप्ठ्यारो परिस्थितिमा छौं। हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र, बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनु परेको छ। त्यसको निम्ति मेरो एउटा प्रयत्न रहेको छ। त्यस्ता संस्थाहरु, त्यस्ता शक्तिहरु जसले जोगाउन सक्छन्, तीसँग हामीहरुले वैमनस्यको सम्बन्ध राख्नु हुँदैन जस्तो राजतन्त्रको बारेमा।

मलाई लाग्दछ त्यो त्यस्तो संस्था छ हाम्रो नेपालको लागि, नेपालको राष्ट्रियताका लागि, अहिले जो विपत्ति परेको छ बाहिरियाबाट त्यसलाई बचाउनको लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ। त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजग भएर मात्र कारवाही गर्नुपर्छ। नत्र भनेदेखि जुन तत्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ। त्यसो हुनाले तपाईहरु सबैले भन्ठान्नुस् पानीमा शिशु वा भनिठान्नुस् एउटा आँधिमा दियो बलिरहेछ त्यसलाई बचाउनु पर्ने कर्तव्य परिरहेछ राष्ट्रको दियोलाई बचाउनको लागि। त्यसमा जति तत्वहरु छन्, बचाउने, बचाउन लाग्ने र बचाउन चाहने ती सबैसँग हाम्रो राम्रो सम्बन्ध हुनुपर्छ। मैले राजाका सम्बन्धमा भन्दा त्यही दृष्टिबाट भनेको हुँ।

राजतन्त्रका सम्बन्धमा अहिले हामीहरुको राजतन्त्रसंग अरु मुलुकमा जस्तो फ्रान्समा, इङ्गल्याण्डमा, राजतन्त्रसंग लडाईंहरु भए। हाम्रो ठाउँमा, नेपालमा पनि त्यस्ता लडाईंहरु हुन्छन् अधिकारको निम्ति। जब मनिसहरु एउटा परम्परागत समाजबाट नयाँ नयाँ समाजमा जानुपर्दछ तब त्यो बेला निश्चय नै जनता चाहन्छ 'अधिकार आफ्ना हातमा लिऊँ' भनेर। हामीहरुको त्यो अवस्था चाहिं कायमै रहन्छ तर त्यसको साथसाथै हामीले पनि विचार गर्नुपरेको छ। मैले भन्दथें कि गन्दा पानी छ भनेर टबको पानी फ्याक्दा त्यहाँ नुहाउन थालेको बालकलाई त फ्याँकिदैन? त्यसो हुनाले राजतन्त्रसँग हाम्रो झगडा छ भनेर त्यो राजतन्त्रलाई नै फ्याँक्ने उद्यम हामीले गर्नु हुँदैन। त्यो गन्दा कुरो छ भनेदेखि फ्याँकिदिनुपर्छ र अर्को पानी राख्नुपर्छ तर त्यो शिशु जो नुहाई राखेको छ त्यसलाई हामीले बचाउनुपर्छ। त्यसो हुनाले एउटा कुरा त राजातन्त्रका सम्बन्धमा हामीहरु बडो सतर्क हुनुपर्छ कि कहाँ राजतन्त्रसँग हाम्रो झगडा? कहाँ राजतन्त्रलाई जोगाउनुपर्ने हाम्रो कर्तव्य छ? त्यो बुझ्नुपर्यो। दोस्रो कुरो के छ भने पञ्चायती व्यवस्थाको खिलाफमा हामी छौं।

अचेलको युगमा यो जनताको आकांक्षा र खासगरी जसले राजनीति गर्न भनी तयार छ तिनको आकांक्षालाई मिचेर यो देशलाई कसैले जोगाउन खोज्छ भने त्यो मूर्खता हुनेछ। त्यही कुरो २००७ सालमा भयो। त्यो पनि मैले भन्दै आएको छु। त्यो कुरोमा चाहीं हामीले सम्झौता गर्नुहुँदैन। पञ्चायतवादीहरु भन्छन् कि राजतन्त्रलाई बलियो पारे सब ठीक हुन्छ, तर हामीहरु भन्छौं राजतन्त्रलाई बलियो पार्ने पनि तरिका छ। राजा ठूलो हो भनेर मात्र राजतन्त्र बलियो हुँदैन। त्यसलाई, राजतन्त्रलाई बलियो पार्नलाई पनि प्रजातन्त्रको संस्थागत विकास हुनुपरेको छ। संस्थागत प्रजातन्त्रको एउटा ठूलो भूमिका पूरा गर्ने तत्व राजतन्त्र पनि हुन सक्छ। त्यस परिप्रेक्ष्यमा हामीले राजतन्त्रलाई सोच्नुपर्छ। दोस्रो कुरो प्रजातन्त्रमा त्यसो हुनाले नै हाम्रो जोड छ। पञ्चायतवादीसंग हाम्रो विरोध राजतन्त्रका निम्ति होइन कि त्यो राजतन्त्रलाई कसरी जोगाउने भन्ने तरिकामा पनि मतभेद भएको हो। तेस्रो कुरो चाहीं अहिलेको परिप्रेक्ष्यमा प्रजातन्त्र केवल प्रजातन्त्र, प्रजातन्त्र भनेर मात्र हुँदैन। त्यसो हुनाले हामीहरुले आर्थिक विकासको पनि कुरा गर्या छौं।

अब आर्थिक विकासका बारेमा पनि मैले स्पष्ट भनेको छु। आर्थिक विकास भनेको नै हामी नेपालको विकास भन्दछौं भने त्यो गाउँको विकास हो। शहर, काठमाडौं र विराटनगरको मात्र विकास नेपालको विकास होइन। गाउँको विकास गर्ने भनेको मतलव के हो भनेदेखि ठूल–ठूला उद्योगधन्धाको विकास मात्र गर्ने होइन। गाउँलाई चाहिने आवश्यकताको कुरो गाउँमा नै उपलब्ध हुन सकोस्। त्यसो हुनाले यहाँको नेपालको विकासको अर्थ हुन्छ गाउँको विकास, गाउँको विकास भनेको मतलब गाउँले जनतालाई चाहिने उपभोगका कुरा गाउँमै या गाउँको समूहबाटै उपलब्ध होस्। त्यसैलाई म 'समाजवाद' भन्ने गर्दछु। अहिले आर्थिक समानताको धेरै महत्व छैन। विकासको प्राथमिकता र विकासको मोडेलको उचित छनौट पनि समाजवादको ठूलो लक्षण हो। त्यो चाहीं गलत छनौट भइदियो भने जस्तोसुकै समाजवादको कुरा गरे पनि त्यसको कुनै अर्थ हुँदैन। जस्तो म भारतलाई देख्छु अरु पनि विकासोन्मुख मुलुकहरुलाई देख्दछु। गरिब–गरिब नै भए, झन गरिब भएर गए।

हिन्दुस्तानमा जस्तोसुकै विकास भएतापनि ५० प्रतिशत मानिस चाहीं हमेशा–हमेशा निरपेक्ष गरिबीको रेखा भन्दा तलै बस्दछन्। यद्यपि ५० प्रतिशत भन्दा माथिकाहरु बढ्लान् झन् धेरै धनी होलान् तर त्यो चाहीं विकास मानिदैन। समाजवादको अर्थमा पनि विकासको मोडेलको छनौट धेरै महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ। यी तीन कुरा हामीले मान्नुपर्या छ। मैले आफ्ना साथीहरुलाई के भन्न थालेको छु भने यो हतार गरेर हामीलाई छिटो पुग्नु छ भनेर यात्रालाई छोट्याउन प्रयत्न गर्न थाल्यौं भने हामी झन् खाडलमा गाडिन्छौं। त्यसो हुनाले यो संस्थागत प्रजातन्त्रको विकास गर्नुपर्ने, त्यो सब गर्नलाई त्यति सजिलो र चाँडो हुन्छ भन्ने लाग्दैन मलाई। तर त्यसो चाँडै भएन, हामीले खान पाएनौ, अब हामीले सहन सक्दैनौं भनेर हामीले त्यो छोट्याउने कोशिश गर्यौं भने विदेशीहरुले, जो मैले यहाँ देशलाई बचाउनु पर्छ भन्ने छ उनीहरु आई ठूल–ठूलो सद्भाव देखाउलान् केही गर्लान् त्यसमा हामी अल्मलिन थाल्छौं, त्यसो गर्नु हुँदैन। त्यसो हुनाले मैले साथीहरुलाई भनें कि कुनै पनि हालतमा हामीहरुले असंयम गर्नु हुँदैन र कुनै पनि हालतमा 'तातै खाऊँ जलेर मरौं' जस्तो गर्नु हुँदैन। अबेरै हुनसक्यो विकासको कुरो, प्रजातन्त्रको संस्थागत विकासको कुरो या राजासँगको मेलको कुरो पनि छ।

हुन त राजाले मानेनन् भन्ने हामीलाई लाग्दो हो, राजालाई लाग्दो हो हामीहरुले मानेनौं, त्यो सम्बन्ध पनि यत्रो २००९ देखिको झगडाको सम्बन्धलाई तत्कालै समाधान होला र राजा र हामी मिल्नासाथै परिस्थिति ठीक होला पनि ठान्नुहुँदैन। राजाले पनि हामीहरुको इमान्दारीमा शंका गर्नु हुँदैन। हामीले पनि राजाको इमान्दारीमा शंका गर्नु हुँदैन। त्यसो हुनाले साथीहरुलाई मेरो यही आग्रह छ कि कुनै उग्र किसिमबाट पनि काम गर्नु हुँदैन, तर आफ्नो आदर्शलाई पनि छोड्नु हुँदैन। मलाई यसै सन्दर्भमा एउटा अर्को कुरा पनि भन्नुपर्या छ। मेरो दृष्टिमा राजनीतिक लचकता, त्यो चाहिं के छ भने आफ्नो उदेश्यलाई छोडेर व्यवहारको नाममा जो गर्न खोज्छन् त्यो चाहिं हामीले गर्नु हुँदैन।

हामीले दुईवटा कुरा ध्यानमा दिनुपर्छ। एक, हामीहरुको समग्रमा उद्देश्य के हो? प्रजातन्त्र ल्याउने भन्या छौं भन्देखि त्यसमा चाहिं, कार्य प्रणालीमा उपायमा हामीहरु समावेश गर्न सक्छौं। त्यसमा हाम्रो सम्झौता हुन सक्दैन। बाटोको कुरामा चाहिं हामी सम्झौता गर्न सक्छौं। त्यसैले मलाई लाग्छ–व्यावहारिक राजनीति भनेको मतलब आफ्नो आदर्शलाई छोडेर आफ्नो दुनो सोझ्याउने काम गर्नेलाई म व्यवहारिक भन्दिन। व्यवहारिक म के लाई भन्दछु भने आफ्नो आदर्शलाई कायम राखेर तत्कालमा समस्यालाई के गर्दा ठीक हुन्छ त्यसलाई समावेश गर्न सक्नुपर्छ जस्तो मलाई लाग्छ। अहिलेसम्म नेपाली काँग्रेसमा यत्रो मान्छेको, आजसम्म पनि विश्वास छ, त्यही कारणले छ कि यसले आदर्शलाई छोड्दैन र व्यवहारको राजनीति पनि गर्छ भन्ने कुराले छ। त्यसलाई हामीले राम्ररी बुझ्नुपर्छ। We do not compromise on ideology, but we compromise on the means to achieve the idea.

अर्को, तेस्रो कुरो मलाई के भन्नु छ भने जब म भन्छु बाहिरियाबाट हाम्रो देशमा यो खतरा छ तब ती मेरा वाक्यहरुमा कहिले हिन्दुस्तानको कुरा आउँछ, कहिले रुसको आउँछ। कसैले यो अनभिज्ञ भएर भनोस् यी शक्तिहरु बडो इमान्दार भएर हाम्रो निम्ति गर्छन् त्यो चाहिं हाम्रो निम्ति पत्याउने कुरा छैन। हिन्दुस्तानको बारेमा मैले भन्दाखेरि मान्छेहरु के भन्छन् भनेदेखिन यो हिन्दुस्तान विरोधी छ। मेरो के भनाइ छ भने हिन्दस्तानसँग हाम्रो सबभन्दा नजिकको सम्बन्ध रहनु पर्छ।

हिन्दुस्तानसँग हाम्रो धेरै कुरामा मतभेद छ, तर मतभेदले चाहिं मनोवैज्ञानिक आधार लियो भने जुनसुकै कुरामा पनि मतभेद देखिन्छ। त्यसो हुनाले, त्यसलाई मनोवैज्ञानिक आधारबाट राजनीतिक बुँदाबाट हेर्यौं भने त्यो कुरो मिल्छ भन्ने लाग्छ। त्यसो हुँदा मैले यो बुँदामा चाहिं भारतसँग संघर्षको बुदाँ अलग पारेर राजनीतिक रुपमा राख्न खोजेको हुँ। म चाहिं भारत विरोधी भएको होइन। मलाई लाग्छ, हामीहरु हाम्रो भूगोलले गर्दा या अरु कारणले गर्दा, हिन्दुस्तानसँग धेरै कुरामा निर्भर हुनुपर्या छ र हिन्दुस्तानले पनि हामीमाथि निर्भर हुनुपर्या छ। त्यसो हुनाले अरु मुलुकको तुलनामा हिन्दुीस्तानसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ। त्यस्तै चीनसंग हाम्रो नजिकको सम्बन्ध रहन्छ। अमेरिका र रुससंग पनि हाम्रो सम्बन्ध रहन्छ तर तिनीहरु टाढाका हुन्। यी दुईवटा राष्ट्रसँग हाम्रो नजिकको सम्बन्ध हुन्छ।

त्यसो हुनाले एउटा कुरो के भने यहाँ एउटा कस्तो धारणा बन्न गएको छ भने यहाँको राष्ट्रियता भनेको हिन्दुस्तानको विरुद्ध बोल्ने बित्तिकै हुन्छ भनिन्छ। यसरी एउटा मनोवैज्ञानिक वैमनस्यको वातावरण बनेको छ। हिन्दुस्तानसंग मिल्दैमा चीन विरोधी हुनैपर्छ भन्ने जरुरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने हामीले भारत विरोधी हुनुपर्ने हुँदैन। यो सब कुरो हाम्रो नेतृत्व वर्गले विचार गर्नु परेको छ जस्तो लाग्छ।

म आज धेरै बोल्न पनि सक्दिन, म निको भएर आएँ भने फेरि भेटौंला। मैले नयाँ कुरो केही भन्न खोजेको होइन, ५० वर्षदेखि भन्दै आएको हुँ। राजतन्त्रको बारेमा, प्रजातन्त्रको बारेमा, यहाँको विकासको नमूनाको बारेमा, यी तीनवटा मौलिक कुराहरु छन्–मैले भन्न खोजेका र त्यसमा यो सब गर्नलाई।

हामीहरु विरोधी छौं, तर मलाई के लाग्छ भने यस परिप्रेक्ष्यमा विरोधीहरुको ठूलो भूमिका छ। विरोधीहरु गैरजिम्मेदार भए भने त सरकारमा बसेका मानिसहरु झन् सजिलैसंग गैर जिम्मेदार हुन्छन् किनभने उनीहरुको हातमा हतियार छ, पल्टन छ, बन्दुक छ पुलिस छ, सबै कुरा छन्। त्यसो हुनाले उनीहरु त छाडा पनि हुन सक्छन्। तसर्थ हाम्रोतर्फबाट संयम मात्र होइन इमान्दारीवाला राजनीति हामीले गर्नुपर्छ। त्यो केवल मान्छेहरु उचाल्ने र भड्काउने सस्तो लोकप्रियताको राजनीतिले धेरै काम गर्दैन। मैले धेरै ठाउँमा रोकेको पनि छु। त्यसलाई हाम्रा साथीहरुले बुझ्नुपर्छ, किनभने विरोधी राजनीति नेपालमा, नेपालको जस्तो परिस्थितिमा, सरकारमा बसेका मान्छेहरुले भन्दा वेशी जवाफदेहीको भूमिका विरोधी पक्षले गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यसकारण मैले नचाहींदो किसिमबाट सरकारको कहीं विरोध गर्दिन, गरेको छैन या सरकारको खिलाफमा आन्दोलन भयो भन्दैमा नचाहिंदो किसिमबाट समर्थन पनि गरेको छैन।

म आफ्ना साथीहरुलाई र विरोधीहरुलाई बताउन चाहन्छु कि हामीहरुलाई ज्यादा जवाफदेही छ सरकारमा बसेका मान्छेहरुभन्दा आफ्नो राजनीति गर्नलाई। त्यो जवाफ्देहीपनले नै हामीहरुमा तागत आउँछ, जवाफदेहीले नै हामीहरुमाथि मान्छेको विश्वास हुन्छ। किनभने, हामीहरुले त पल्टनलाई परिचालन गर्न सक्दैनौं या सरकारी साधनलाई हामी प्रयोग गर्न सक्दैनौं। तसर्थ मलाई के लाग्छ भने विरोधीको जिम्मेदार राजनीति र हाम्रो जस्तो परिस्थिति भएका जुनसुकै विरोधीहरुले पनि खेल्नुपर्छ। सरकारको त हुन्छ हुन्छ विरोधीहरुको पनि एउटा जिम्मेदारी हुन्छ भन्ने मलाई लाग्छ। नेपालमा त मलाई यो झन् लाग्छ।

अर्को कुरो, पार्टीका सम्बन्धमा केवल यही कुरो, मैले भनेको कुरोलाई पार्टीले मान्यो भने हाम्रो पार्टीको पनि भविष्य छ र नेपालको पनि भविष्य छ। यसलाई मानेनन्, मैले जुन मेलमिलापको कुरा बताएँ, त्यसलाई मानेनन् भने र अर्को बाटो लिए भने या कुनै विदेशीको मद्दत नभैकन हुँदैन भन्ने बाटो लिए, या राजासंग झगडा गर्ने बाटो लिए, राजासंग झगडा छ, मैले भन्या'छु छैन भन्या छैन, तर मेलमिलापको जुन सैद्धान्तिक व्याख्या मैले गर्या'छु त्यसलाई छाड्यो भने हाम्रो पार्टीको भविष्य छैन र देशको पनि कुनै भविष्य छैन। अहिले मलाई त्यस्तो विश्वास छ, सरकारले भन्दा बेसी विरोधी पक्ष हामीहरुले राष्ट्रलाई बचाएको छौं जस्तो लाग्छ।

पञ्चायतमा बसेकाहरु त बडो गैरजिम्मेदारीका कुरा गरिरहेछन्। पञ्चभेला गर्छन् के–के कुरा गर्छन् के–के। देशलाई बचाउने केही कुरा गरेका छौं भने हामीले गरेका छौं भन्ने मलाई लाग्छ। त्यो लाइनलाई हामीले छाड्यौं भने जुन जवाफदेही हामीमाथि छ त्यो पनि हट्दछ। त्यसो हुनाले पार्टीका साथीहरुलाइ मेरो यही भन्नु छ–मेलमिलापको नीति, विकासको अवधारणा र प्रजातन्त्रको संस्थागत विकास, यी तत्कालै फल्ने फुल्ने कुरा होइनन्। हामीहरुलाई हतार पार्ने पनि कोशिश गर्नेछन्– यो त भएन, चाँडै भएन, भनेर। त्यसमा चाहिं हामीहरुले विचलित हुनुहुँदैन। मलाई साथीहरुलाई त्यही कुरो भन्नु पर्या'छ। जुन एउटा बाटो मैले बताएको छु, त्यो बाटोमा हिंड्यौं भने हामीहरुलाई लामो होला तर यसमा केही आपत्ति छैन तर आफ्नो जवाफदेही हामीले पूरा गर्नु परेको छ। मैले यो भन्न खोजेको छु। आजको परिस्थितिमा हामीले जुन जवाफदेहीको राजनीति गरेका छौं त्यो सरकारमा बसेका पक्षहरुले पनि गरेका छैनन्। त्यो त सबैले देख्ने कुरा छ। त्यति जवाफदेही हामीहरुले बेहोरेका छौं। त्यो बाटो हामीले छोड्नु हुँदैन भन्ने मलाई लाग्छ।

मैले अहिले खालि मेरो पार्टीको मात्र चाख राखेको छैन। अहिलेको समस्या केवल पार्टीका मानिसले मात्र बुझ्ने भन्ने छैन। यो जुन समस्या देशको अगाडि छ त्यो केवल पार्टीलाई मात्र नभएर पूरै देशवासीलाई सम्बोधन गरिराखेको छु। यद्यपि मेरो प्राथमिक जिम्मेवारी त पार्टीको प्रतिष्ठा नै हो र, जुन प्रजातन्त्रमा हामीले पार्टी चाहिन्छ भनेका छौं भने मैले पार्टीलाई छोड्ने भन्ने कुरै आउँदैन। किनभने मेरो विचारको औजार चाहिं पार्टी नै हुन्छ, तर अहिले मैले के सोंचेको छु–भने पार्टीभन्दा पनि बाहिर गएर सम्पर्क राखौं भनेर। मैले पूर्णरुपमा पार्टीगत राजनीति गर्या'छैन। मेरो पार्टी चलाउने मानिस गणेशमानजी हुनु भो, किशुनजी हुनुभयो गिरिजा भए, यिनीहरुको जिम्मा लगाएर मचाहिं अलि छुट्टै भएर गरौं जस्तो लाग्यो। त्यसबाट फाइदै भएजस्तो लागेको छ। पार्टीको दृष्टिले मात्र हेरेको छैन।

अर्को कुरो मलाई के लाग्दछ भने मेरो विचारहरु मौलिक हुन्। म जब ५ वर्ष पहिले आएँ त्यसबखत जुन एउटा वातावरण थियो त्यसमा वैचारिक परिवर्तन ल्याउन बडो गाह्रो थियो। हामीले १७ वर्षदेखि एउटै कुरो हेरिरहेका थियौं–राजा र हाम्रो संघर्ष थियो। अब चाहिं त्यो आक्रमणको लक्ष्यलाई अलिकति विचलित गरिदिएँ। त्यो हाम्रो पार्टीभित्र नै गराउन गाह्रो छ। वैमनस्य कम गराएँ, त्यो गराउन नै पार्टीभित्र हामीलाई गाह्रो थियो। पार्टीभन्दा बाहिर पनि त गाह्रो थियो, थियो। अब यहाँ बिस्तार बिस्तार मान्छेले बुझ्न लागेका छन् जस्तो मलाई लागेको छ। पार्टीलाई पनि मलाई लाग्यो–मैले मात्रै भन्दा वा मैले लादिलिनुको सट्टा उनीहरु स्वयंले पनि स्वीकार गर्न लागेका छन्। स्वयं देखून् न परिस्थिति के छ भनेर मैले धेरै दबाव नदिएको। मलाई लाग्छ, समग्ररुपमा मेरो रणनीति थिएन।

म जनतालाई व्यापक तवरले सम्बोधन गर्न चाहन्थें, आफ्नो पार्टी र समर्थकहरुलाई मात्र होइन। त्यसैले पार्टीका मानिसहरुले पनि मेरो विचार मात्र भनेर स्वीकार नगरुन्। तिनीहरु आफैले विचार गरुन् कि परिस्थिति कस्तो छ भनेर। त्यो पनि अब उनिहरुले बुझिसकेका छन् जस्तो लाग्छ। अब आज, मेरै पार्टीका लिडरसिपले मलाई जति समर्थन दिएका छन्, बुझेर दिएका छन्। त्योचाहिं मलाई ठीकै लागेको छ।

त्यसो हुनाले अहिले त जरुरी के परेको छ भने नेपालमा नागरिक एकता चाहियो। यो पार्टीभन्दा पनि महत्वपूर्ण के रहेछ भने वैचारिक एकता। जस्तो भनौं, अब यदि वैचारिक एकता भएन भने कसैले के भन्ने कसैले के भन्ने हुन्छ। तसर्थ विचारको समानता हुनुपर्छ। त्यो ल्याउन जसरी पनि पर्यो। त्यो एउटा आधारभूत एकता हुनुपर्छ। पार्टीको त कार्यक्रम फरक हुन्छ हुन्छ। राजतन्त्रको आवश्यकता छ कि छैन? विदेशीहरुको प्रभाव बढेको छ कि छैन? तिनीहरुसंग सामना गर्ने के उपाय छ? यी सब मुख्य कुरा हुन, पार्टीको कुरै होइन। यदि यो गलत छ भने मानिसले भनून्, गलत भनेर। यदी ठीक छ भने ठीक भनून्। यदी अहिलेको परिप्रेक्ष्यमा राजाको आवश्यकता छ भने त्यो नेपाली काँग्रेसका लागि मात्रै होइन यो नेपाली काँग्रेसले रणनीति बनाएको मात्रै होइन। यदि बाहिरका शक्तिहरुको धेरै बोलवाला यहाँ भएको छ भने त्यसले नेपाली काँग्रेसलाई मात्र असर गरेको होइन, यो त अरुलाई पनि असर गर्ने कुरो हो। तसर्थ म अहिले बढी इच्छुक छु पार्टीको दृष्टिकोण भन्दा पनि वेशी बास्तविकता जो मैले बुझेको छु, त्यो सबैलाई बुझाऊँ। त्यसो हुनाले मैले आफूले त्यही जवाफदेही लिएको छु नत्र भने त म पार्टीको सभापति भएर बस्ने थिएँ।

विचारका वारेमा विभिन्न तत्वहरुमा एकता हुनुपर्ने हो। अहिले नेपालमा राजतन्त्रको आवश्यकता छ भनेको राजासंग पल्टन छ, त्यसकारणले राजाको तारिफ गर भन्ने हिसाबमा होइन। किन आवश्यकता छ? त्योचाहिं मलाई मात्रै आवश्यकता छैन, हाम्रो पार्टिलाई मात्रै आवश्यकता छैन, देश राख्न खोज्ने सबैलाई आवश्यकता छ। त्यसैले जुनसुकै पार्टी भएता पनि त्यसले एकत्रित हुनुपर्छ भनेको हो। विकासका कुरा होस्, संस्थागत राजनीतिका कुरा होस् सबैका लागि चासो पर्ने कुरा हो। यी कुराहरु पार्टीका लागि मात्र आवश्यक होइनन्, पार्टीको लागि भोलि चुनाव होला। त्यसको लागि के कार्यक्रम राख्नुपर्ने हो त्यो राख्ने, तर त्यो राजा रहन्छ कि रहँदैन भन्ने कार्यक्रम त रहँदैन। त्यसमा त आर्थिक कार्यक्रम र अरु कुराहरु रहन्छन्। त्यसो हुनाले एक त पार्टीका मान्छेले आफै बुझून्। अर्को, मैले दोहोर्याई तेहेर्याई पार्टी दृष्टिबाट मात्रै होइन व्यापक राष्ट्रिय दृष्टिकोणबाट भनेको हुँ।

म पटक्कै निराश छैन। मैले के देख्दछु भने समग्र ऐतिहासिक परिप्रेक्ष्यमा हेरेको छु नेपाललाई। ३०।३५ वर्षदेखि त म नै एउटा प्रत्यक्ष संलग्नताकासाथ नेपालको लागि लागेको छु। म भन्दा पहिले टंकप्रसादहरु लागे अरु पनि धेरै मान्छे लागे कति मान्छे मरे। मेरै नेतृत्वमा कति मानिस मरे। धेरै यताको ओखलढुंगाकाण्डमा कति मरे। त्यसपछि पनि कति मान्छे मरे। मलाई के लाग्दछ भने यत्रो ठूलो प्रेरणा दिने तत्व जसमा हज्जारौं मान्छे जेल जान तयार भए, हाम्रा कैयौं साथीहरु होलान् जो १०।१० बर्षभन्दा कम जेल गएनन् होलान्। तिनले हर तरहबाट दुःख मात्र गरेनन्, आफ्नो प्राण समेत दिए। यत्रो प्रेरणा दिने जुन देश छ, त्यो हत्पति खत्तम होला जस्तो मलाई लाग्दैन र, कथंकदाचित् खत्तम भयो भने यो तमाम त्याग, बलिदान, त्यो पनि त व्यर्थ भएर जाने छ। कति प्रतिभाशाली युवाहरु मारिए। म त्यो कल्पना पनि गर्न सक्दिन यति मान्छेहरु निरर्थक मरेर गए, एउटा इतिहासले नमानेको बाटोमा हिंडेर यिनिहरुले आफूलाई आहूति दिए भनेर। त्यसो हुनाले, मलाई यसले कहिल्यै पनि निराश हुन दिएन। जब मैले भन्दा त्यति मान्छे जेलमा गए, एउटा आदर्शको कुराको लागि त्यतिका मान्छेले प्राण त्यागे भन्दाखेरि ठूलो शक्ति रहेछ यस देशमा त्यसलाई जीवित राख्ने। त्यसो हुनाले देर होस्, अबेर होस् जबसम्म हाम्रो देश रहन्छ, रहने सामथ्र्य छ भनेदेखि यो त्याग सबै सार्थक हुने भयो नत्र भने यो सबै निरर्थक हुनेछ। यो मेरो आत्मगत धारणा हुनसक्छ।

अर्को कुरा म नरहेका खण्डमा कसले यी कुरा सम्झाउँछ पनि भन्छन्। त्यो पनि मलाई गलत कुरो हो जस्तो लाग्छ। के कारणले गलत भने यदि एउटै व्यक्तिको आधारमा, जतिसुकै ठूलो व्यक्तिको आधारमा नै देश जीवित रहने हुन्छ भने त्यो देश रहँदैन। यदि भित्र कुनै अर्को तत्व छ देशलाई बचाउने, सामथ्र्य छ देशभित्र भने र त्यो अर्कै कुरा हो। तर होइन एउटा मान्छेले सामथ्र्यै नभएको कुरालाई बोलेर भ्रमात्मक पारिदिएको छ भने त्यो व्यक्ति रहेन भने देशको भविष्य छैन भने जस्तो हुन्छ।

मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्छ भने यसकारण नदेओस् कि मैले आफ्नो बुताबाट एउटा मिथ्या धारणा सिर्जना गरें भनेर। मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस् कि मैले देशभित्र देशको सामथ्र्यलाई बुझेको रहेछु र देशको सामथ्र्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु। त्यो श्रेय चाहिं मलाई देओस्, न कि मैले मेरो आफ्नो बुताबाट गरें भनेर। कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संथाहरु विकसित हुने, देश बिकास हुने त्यो हुनै सक्दैन। हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि। जस्तोसुकै बुद्धिमान्ले पनि त्यो गर्न सक्दैन। उसले केवल ऐतिहासिक, सामाजिक, राजनीतिक वा अरु आधारहरुलाई बुझेर त्यो विश्लेषण गर्न सक्छ। मैले त्यति मात्रै गरेको छु। यहाँको, नेपालभित्रको सामथ्र्यलाई मैले बुझें। त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरो मेरो लागि ठूलो सौभाग्यको हुनेछ। यो झुठो कुरा मलाई दिएर केही अर्थ हुँदैन। मेरो अगर देन केही छ भने यो देशको सामथ्र्यलाई बुझेर मैले आफ्नो कुरो भनेको छु।

(८ जेष्ठ २०३९)

Back