"राष्ट्रियताको आधार", वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)
Print Friendly and PDF

२०१७ साल पुष १ गतेका दिन केवल प्रजातन्त्र मात्र निमोठिएन कि विदेशी हस्तक्षेपलाई पनि निम्त्याइयो मेरो त्यो भनाइ छ। हाम्रा साथीहरुले त्यही कुरालाई बुझेका छैनन्। त्यसदिनदेखि जनताको पक्षको राजनीति सिद्धियो। जनता पक्षको राजनीति बाहिर गएर गर्नुपर्ने भयो, तर विदेशीबाट सञ्चालित राजनीतिको निम्ति यो ठाउँ खुला भयो र त्यसको परिणम अहिले आएर राजासम्मले भोग्नु परेको छ। अस्ति राजाको सामुन्नेमा बोल्ने मान्छे राजाको मान्छे होइन। जो राजालाई मन्चमा राखेर बढी बढीकन बोलिरहेको थियो, त्यो राजाको मान्छे होइन। र अस्तिका दिन, त्यसको भोलिपल्टका दिन जो पुष १ गतेको कार्यक्रमको लागि मान्छेहरु खटिएका छन्, त्यसमा एकजना पनि राजाको होइन। त्यो परिस्थिति पौष १ गते २०१७ सालले ल्याएको छ।

मैले के भन्न खोजेको भने यसलाई बुझ्नु पर्यो। यो बुझिदिएको खण्डमा हामीहरु ४।५ वर्ष पहिले आएको कारण बुझिन्छ र, अर्को कुरो बुझिन्छ–जो तपाईंहरुले भित्ताहरुमा देखिरहनु भएको छ, 'काँग्रेस–पञ्च गठबन्धन मुर्दावाद' भनेर। त्यो तत्व, जसको रजाइ चलिरहेको छ अहिले सम्म, त्यसले तर्सिएर म आएदेखि उत्पात गरिरहेको छ। उत्पाद भनेको मतलब, अहिले बिराटनगरमा काण्ड भयो। हामीहरुलाई थाहा छ कसले गोली चलाएको भनेर। सरकारलाई थाहा छ र हामीहरुलाई थाहा छ कसको संरक्षणमा त्यो भएको छ। अनि दोष लागिरहेको छ विजय गच्छेदारलाई। यहाँका अखबारहरुले त्यसलाई प्रचार गरिरहेका छन्। सबैलाई थाहा छ कसले हानेको हो त्यो गोली भनेर। कसको पिस्तोल हो त्यो पनि सबैलाई थाहा छ। पुलिसको निम्मामा र अञ्चलाधीशको जिम्मामा त्यो पिस्तोल छ र हान्ने मान्छे उनीहरुलाई थाहा छ। यस किसिमको उत्पात यहाँ भईरहेको छ र त्यो उत्पात अझ बढ्छ।

अर्को एउटा कुरा सुन्नुस्। एउटा रुस समर्थक कम्युनिष्टलाई सोधेछ एकजनाले–तपाईं पहिले कम्युनिष्ट कि पहिले नेपाली? उहाँले त्यसको क्यै जवाब दिन सक्नुभएन। भन्न सक्नु भएन म–'नेपाली हुँ' भनेर। उहाँले म मानव भन्नुभयो। मानव त कस्तो शब्द हो भने अनेपाली भएर पनि उहाँ बाँच्न सक्नुहुन्छ मानव भएर। नेपालको अहित गरेर पनि उहाँ मानव भएर बाँच्न सक्नुहुन्छ र, उहाँलाई कसैले सोधेन, त्यो मान्छेले फेरि सोधेन, कि मानव भन्ने बित्तिकै त्यो अनेपाली हुन सक्दैन र? त्यसो हुनाले मानव त सबै मानव हुन्। रुस पनि मानव हो, अफगानिस्तानमा रुसको पल्टन पनि मानव हो, पल्टनको गोली खाएर मर्ने मानिस पनि मानव हो।

४ वर्ष अघि, हामी आएदेखि हमेशा मैले यै भनेको छु कि यो १ गतेका दिन जुन काण्ड महाराजाधिराजले गरे त्यो केवल मलाई थुने भन्ने मेरो गुनासो होइन, प्रजातन्त्रलाई समाप्त गरे भन्ने मात्र गुनासो होइन। त्यसदिन उनले विदेशी हस्तक्षेपलाई निम्त्याएर अहिले उनी पंगु भएर बसेका छन् र, मैले यहाँ सबैको अगाडि भनेको छु। दरबार भनिन्छ, र दरबार भन्ने बित्तिकै राजा भनिन्छ। अबूझ हाम्रा वकिलहरु, अबूझ प्राध्यापकहरुले दरबार भन्ने बित्तिकै राजा भनिदिएका छन्। त्यो दरबारमा, के भनेको छ भने विदेशीहरुको घुसपैठ अरु ठाउँमा हुनसक्छ रे, सरकारका अरु यन्त्रहरुमा हुनसक्छ रे, तर दरबारमा राजा आफू मात्र छन् रे। यस्तो मूर्खतापूर्ण तर्कहरु मेरा मित्र वकिलहरु दिन्छन्। त्यसो हुनाले के भइरहेकोछ भने, नजानिदो किसिमबाट यो विदेशीहरुद्धारा एउटा जुन सञ्चालित थियो, छ, त्यसमा मद्दत हामीहरुले पुर्याइरहेका छौं।

आजकाल मलाई अलिकति विश्वास किन बढिरहेको छ भने मान्छेहरुले धेरै बुझिसकेका छन्। पहिले बुझेका थिएनन्। जब मसंग बहस गर्न भनेर आउँथे, कि विदेशीहरुको हस्तक्षेप भयानक ठूलो परिमानमा छ भनेर भन्ने कुरो अब बुझेका छन्। त्यसो हुनाले, मेरो काम सजिलो भएको छ। यद्यपि मलाई अब रोष पनि लाग्यो, म काम पनि उति गर्न सक्दिन र म उति सक्रिय पनि हुन सक्दिन। मेरो तपाईहरुलाई यति नै भन्नु छ कि नेपाल बाँच्ने हो भने बाँच्छ। त्यो पनि बाँच्ने हो भन्ने पनि छैन। यो विदेशीहरुले जस्तोसुकै टाउको फोरेता पनि। जस्तोसुकै हत्याकाण्डको एउटा लहर जो यहाँ ल्याउँछन्, ल्याउँछन्, ल्याउछन्, तर हाम्रो देश रहन्छ, रहन्छ, रहन्छ र त्यसका दुइवटा आधार छन्। एउटा आधार हामीहरुको भित्र तराईवासी हुन्, नेवार हुन् वा पर्वते हुन्, एउटा कता–कता लुकेको राष्ट्रिय भावना छ। त्यसो हुनाले त्यसले गर्दाखेरि हामीहरु बाँचेका छौं। अर्को त्यसको साथ–साथ, हामीहरुमा प्रजातन्त्रको पनि एउटा बडो ठूलो विश्वास छ। यी दुइवटाको सम्बन्ध प्रत्येक नागरिकलाई छ।

म एजेन्टको कुरा गर्दिन। एजेन्ट त अमेरिकामा पनि छन् रुसमा पनि छन् र रुसको विरुद्ध काम गर्ने रुसी एजेण्ट नै छन्। अमेरिकाको विरुद्धमा काम गर्ने अमेरिकन नै एजेण्ट छन्। तिनीहरुको मैले कुरा गरेको होइन। मैले के भनेको भने नेपाली अधिकांश, बडो राष्ट्रिय भावना भएका छन्, राष्ट्रिय भावनाको एउटा बडो बलियो चुरो छ। त्यसले गर्दा हामीलाई कसैले समाप्त गर्न सक्दैन। अब यो कुरो बुझेको खण्डमा राजाका सम्बन्धमा राजा त एउटा तत्व हो, हाम्रो राष्ट्रिय जीवनको एउटा तत्व हो। यो कुरो हामीहरुले बुझ्यौं कि विदेशीहरुको यहाँ ठूलो चाल भइरहेको छ हामीलाई समाप्त पार्ने त्यसो भयो भने राजाको के स्थान हुन सक्दछ, हामी बुझ्न सक्दछौं राजा भनेको अलग्ग हो भनेर हामीले सोच्नु पर्दैन। त्यसो हुनाले, जब म भन्दछु, राजाको एउटा आवश्यकता छ, म त्यस कारणले भन्दछु कि यहाँ विदेशी हस्तक्षेपको खिलाफ एउटा केन्द्रविन्दु त्यो हुनसक्छ।

मलाई आएर एकदिन भन्नुभयो हृषिकेश शाहजीले–"होइन तपाईं विदेशी हस्तक्षेप देख्नुहुन्छ, म त देख्दिन।" मैले भनें,"त्यसो भए यत्रो ठूलो संख्यामा विदेशीहरु चुप लागेर दर्शक भएर बसेका छन् त? यहाँ के उनीहरु कतैपट्टि नलागेर केवल एउटा दर्शक भएर हेरिरहेका छन्–के गर्दछ त नेपालीले भनेर?"

उहाँ एकदिन यहीं आउनुभएको थियो, चारघण्टा बसेर जानुभयो। मैले उहाँसंग भने,"शाहजी, तपाईं ऐल्हे के राजनीति गर्नुहुन्छ?"

उहाँले भन्नुभयो,"म राजालाई कमजोर पार्ने काम गर्छु र, म जातीय समूहलाई बढाउँछु। यहाँका साम्प्रदायिक समूहरुलाई प्रोत्साहित गर्छु।"

उहाँले मलाई स्पष्ट भन्नुभयो,"अनि मैले भनें उहाँलाई,"अहिले हिन्दुस्तानले वा कुनै शक्तिले नेपाललाई कमजोर गर्नुपर्यो भने यै दुईवटा कुरो गर्छ कि गर्दैन?"

"गर्छ" उहाँले भन्नुभयो। मैले भनें,"तपाईं राष्ट्रिय दृष्टिबाट त्यै काम गर्नु भइरहेको छ जो कि विदेशीहरुलाई अनुकूल परिरहेको छ।"

"अनुकूल परे म के गरुँ?" उहाँको त्यो भनाइ थियो। अनि अर्को कुरो गर्नुभयो,"तराईवासी बडो उपेक्षित भए।" मैले भनें "के कुराबाट उपेक्षित भए, म पनि त तराईवासी।" उहाँले भन्नुभयो,"तपाईं त पर्वते। मैले मदिशेको कुरा गरेको।"

मैले भने् "तराईमा ट्याक्टर, जीप र कहीं–कहीं त हात्ति नभएको कुनै गाउँ छैन, तर पहाडमा त्यस क्षमताको, लखपति भन्ने मानिस शायद बिरलै होलान्। पढाइ लेखाइको दृष्टिबाट हेर्नुहुन्छ भने आजकाल तराईमा कुनै गाउँ होवैन होला, जसमा ग्रेजुएट वा एम.ए. नहुन्। पहाडमा त सैकडौं गाउँ देखाइ दिनसक्छु जहाँ काही म्याट्रिक पनि छैन। तराईमा भोकभोकै कुनै मानिसले बस्नुपरेको छैन, पहाडमा मान्छेले लाहुरे हुन गएनन् वा भारतमा भर्ति हुन गएनन् भने उहाँ भोकभोकै बस्नुपर्छ। त्यो म देखाउन सक्छु भने ती के कुरामा उपेक्षित छन्?"

मैले त्यो भन्दा उहाँले के भन्नुभयो भने,"सरकारी कर्मचारी नोकरीमा।" मैले भने,"सरकारी कर्मचारीमा तपाई यो मापदण्डबाट हेर्नुहुन्छ भने नेवारहरुको अत्यधिक बहुमत छ। शायद ६० प्रतिशत। र, जनसंख्याको हिसाबबाट नेवारहरुको छ प्रतिशत छ। जसलाई तपाईं मदिसे भन्नुहुन्छ, तराईवासी जसमा म पनि सामेल छु, ४५ प्रतिशत छन् होला।" सयजना भर्ति गर्नुपर्यो भने नेवारहरु ६ जना आउँछन्। तराईका ४५ जना हुन्छन् अनि अर्को ४९ पर्वते हुन्छन्। यता नोकरीमा ६० प्रतिशत नेवार छन्। तराईलाई ४५ प्रतिशत दिनुपर्यो भने नेवारहरुको भागबाट काटेर दिनुपर्छ, पर्वतेहरुबाट त काटिने रहेनछ। यहाँ तपाई जसलाई उचाल्न खोज्नुहुन्छ, त्यसबाट नै अर्को जातीय समूहको भाग काटींदो रहेछ। पर्वतेको भाग काटिने रहेनछ। बरु, पर्वतेले त्यो नेवारको भाग पाउन सक्छ। तपाईंले त्यै खोजेको होइन?"

त्यस कुराको जवाब छैन। मैले कुरा गर्दा तीन चारजना अरु पनि थिए, तर उहाँ "तराईलाई उपेक्षा छ, जातीय समूहहरुलाई म बढाउँछु।"–भन्दै हुनुहुन्थ्यो।

म फेरि पनि भन्छु, यहाँ एउटा उचाल्ने कोशिश के हुन्छ भने मदेशमा पहाडी र मदिसेका झगडा गराइदिने। म पहाडिया रे। मेरो परिवार ७२ वर्ष भयो विराटनगरमा बसेको। विराटनगरको स्थापना मेरो पिताजीले गरेको हो। त्याहाँको मन्दिर मेरो पिताजीले बनाउनु भएको हो। म त्यहाँको, विराटनगरको प्रवक्ता हुन सक्दिन रे। दशबर्ष अघि पूर्णियाबाट आएको एउटा हिन्दुस्तानीले नागरिकता लियो, त्यो त्यहाँको प्रवक्ता हुन पाउँछ रे। म हुन पाउँदिन। त्यस्तो यहाँ प्रचार चलिरहेको छ 'पर्वते र मदिसे' भनेर।

अहिले तराईको उपेक्षा भयो भन्नेहरु यता दश बीस वर्षमा नागरिक भएर आएका छन्, तिनीहरुले उठाएको प्रश्न हो तर, तराईभित्र, मैले एउटा अर्को कुरा देखें। त्यो म पर्वतेहरुलाई भन्न खोजिरहेको छु। त्यहाँ यत्रो ठूलो राष्ट्रियताको भावना छ मलाई व्यक्तिगत अनुभव पनि छ, र मैले आफ्नो पनि गरेको छु। तपाईं कुनै मदिसेलाई बाहिर गएर जागिर खाएर उतै घरजम गरेर बसेको देख्नुभएको छ? म हजारवटा पर्वतेलाई देखाइदिन सक्दछु। त्यस्तो कोशिश गरिरहेको छ कि म ग्रीनकार्ड पाऊँ र अमेरिकामा गएर बसौं भनेर। अनि अर्को कुरा। एउटा तराईवासीको मसंग भेट पर्यो न्यूयोर्क हस्पिटलमा। मेरो गम्भीर अपरेशन भएर म लठ्ठ थिएँ, त्यस अवस्थामा ऊ आएको थियो। म राम्ररी बोल्न सक्दिनथें। मैले चिनेको छैन त्यो मान्छे। आयो र बस्यो। मेरो गोडा छोयो र कुरा गर्यो। मैले "तपाईं को हो?" भन्दा "म वल्र्ड बैंकमा काम गर्छु"–भन्यो। आफ्नो नाम बतायो।

"म केवल एउटा चेक तपाईंलाई दिउँ भनेर आएको" भन्यो। चेक दश हजार डलरको छ। त्यहाँ धेरै छन् नेपालका ऊ भन्दा धेरै कमाउने। डाक्टरहरु छन्। उनीहरुले मलाई मद्दत गरेका छन्, मानेका पनि छन् तर एकमुष्ट उसले दशहजारको चेक दियो, त्यति त के, हजारको चेक पनि कसैले दिएको छैन। अनि मैले उसलाई भनें,"यो दशहजार डलरको चेक? तिमीसंग कति रुपैयाँ छ?"

उसले भन्यो,"दशहजार तीनसय डलर म संग छ।" उसले सातवर्षमा कमाएर बचाएको सबै रकम मलाई दियो। मैले "एल्हे यति चाहिंदैन, पछि लिउँला" भनेर मैले भन्दा उसले के भन्यो भने,"तपाईंको काममा मेरो रुपैयाँ काम लागेन भने मेरो रुपैयाको के मूल्य?"

त्यो मान्छे वर्खामा यहाँ आएको थियो। आएर मलाई के भन्यो भने,"मलाई जहिले पनि २४ घण्टा आफ्नो गाउँको सम्झना आउँछ। मलाई भैंसीको सम्झना आउँछ, भैंसीमा चढेको सम्झना आउँछ, मैले गुल्ली डण्डा खेलेको सम्झना आउँछ। मैले पोखरीमा नुहाएको सम्झना आउँछ। म त राति सुत्दा सपना देख्दछु। दिउँसोमा पनि त्यै सम्झन्छु। त्यसो हुनाले मैले गाउँ नगई भएन भनेर म ऐल्हे गाउँ आएँ।" भुटानमा शायद सरुवा गरेको छ।

उसले भन्यो,"म गाउँमा आएँ। वर्खा थियो। वर्खामा जान बाटो थिएन। म यै सूट लगाएर हेखेर पुगें तीन माइल। मैले त्यहाँ क्यै गर्न सकेको छैन।"

मैले मनमा भने, त्यो कति राष्ट्रिय भावनाको छ। तपाईंहरु मध्ये कतिले भन्न सक्नुहुन्छ त्यसले भनेको जति। भन्छ,"मलाई दिनरात आफ्नो गाउँको सम्झना आउँछ।"

मेरै डाक्टर छन् यहाँ। आफ्नो हजारौं रुपैयाँको प्रयाक्टिस छोडेर मसंग यहाँ दिनरात लागेका छन्। यहाँ तपाईंहरुलाई थाहा छ? मलाई चौबीसै घण्टाको लागि एउटा डाक्टर चाहिन्छ भन्दा सुन्दरमणिले भने,"त्यसरी कसरी पाइएला र?"

तर ऊ त आए बाट चौबीसै घण्टा बस्यो। म एउटा पर्वतेलाई सेवा गर्नलाई एउटा तराईवासी डाक्टर आएको छ। आफ्नो हजारौं रुपैयाँको आम्दानीलाई त्यागेर।

अब नेवारहरुको कुरा गरौं। तपाईंले नेवार देखाउनुस्, जो दौडादौड गरेर बाहिर बस्न खोज्छ, काठमाण्डौ छोडेर। छन् कोई? विदेशमा पैसा कमाए पनि यही बिहा गर्न आउँछन्, त्यै गलि कुचो फोहोर मैला भएको ठाउँमा नै घर किन्छन्, यहीं बस्छन्। एउटा यत्रो ठूलो ममता छ आफ्नो देशका प्रति उनीहरुमा। फेरि नेवारहरुको कुरा गरेर त मलाई साध्य नै छैन किनभने नेपाललाई चिनाउने कुरा भने उनीहरुको कला र इतिहासले नै बाहिरियालाई नेपाल चिनाउँदछ।

मैले अस्ति एउटा किताब पढिरहेको थिएँ। त्यसमा के लेखिएको छ भने दुनियाँमा यो ६ लाखको जनसंख्या भएको उपत्यकाले जति कलालाई योगदान दुनियामा अरु कुनै शहरले गरेको छैन। उसले शहरहरुको नाम गनाएको छ। यसको तुलना हुन सक्दछ फ्लोरेन्ससंग। इटलीमा फ्लोरेन्स भन्ने छ, तर त्यो फ्लोरेन्स भन्दा पनि यहाँ जति कलाका कृतिहरु, मन्दिरहरु, दरबारहरु, साना–साना मूर्तिहरु, कला, यी जो छन् यहाँ, जो यीनीहरुको छ यहाँ देन त्यो आजसम्म इतिहासमा कहीं कुनै भएको छैन र लाग्दछ, हरेक घरले योगदान गरेको छ। उनले यहाँ प्रमुख कलाका करिब पच्चीस हजार कृतिहरु वर्णन गरेको छ। यहाँ ६ लाखको जनसंख्याको अनुपातमा त्यो उत्कृष्ट २५ हजार कलालाई हेर्दा त्यसमा कति मनिसको योगदान छ र कति परिवारको योगदान छ। लाग्दछ प्रत्येक परिवारले एउटा न एउटा कलाकृतिमा योगदान गरेको छ। त्यसो हुनाले तराईको भनौं वा पर्वतको भनौं, यस देशमा राष्ट्रियताको एउटा बडो बलियो आधार छ।

मलाई आलोचना गर्दछन्–भन्दछन् मेरो जीवन बडो विवादको भएको छ। पटकै भएको छैन मेरो विवादको जीवन। नेवारहरुको बिहा समारोहहरुमा जति मलाई आत्मियता देखाउँछन् तिनीहरुले, दुलहा पक्षकोले होस् वा दुलही पक्षकोले होस्, जो एउटा कृत्रिम किसिमको विदेशबाट सञ्चालित र जुन तत्वलाई राजा र प्रजामा मेल हुदाँ खतरा हुन्छ, त्यो मात्रै एउटा कृत्रिम परिस्थितिको, झगडा र बेमेलका कुराहरु झिक्ने गर्दछ। बास्तविकता के छ भने राष्ट्रियतको एउटा व्यापक आधार यस देशमा कायम छ। हामीहरुको कोशिश के हुनुपर्दछ भने यत्रो ठूलो राष्ट्रियताको संचिति छ, त्यो संचितिलाई हामी समातौं, त्यहाँसम्म हामी पुगौं। बाहिरबाट हामीहरुलाई धमिल्याउने जुन कोशिश भइरहेको छ, विदेशी प्रभावबाट, त्यसबाट हामी बच्ने कोशिश गरौं। अखबारहरु कुनै पनि अखबार यस पक्षमा, मैले बोलेको यस पक्षमा लेख्दैन। राष्ट्रियताको यत्रो धरातल छ, यत्रो ठूलो आधार छ राष्ट्रियताको त्यसबारे कसैले बोल्दैन। यहाँ केवलं झुठा कुराहरु मात्रै फैलाइन्छन्। त्यसो हुनाले, मैलें भनें नि, तपाईं एउटा राष्ट्रवादी अखबार देखाउनुस्, मच्यालेञ्ज गर्दछु तपाईंलाई र तपाईं मलाई च्यालेञ्ज गर्नुहुन्छ भने म प्रत्येक अखबारको पृष्ठभूमि बताउँछु र कुन विदेशीबाट सञ्चालित कुन अखबार म भनिदिन्छु। यहाँ ३०–४० वटा अखबार निस्कन्छन्।

यो कुरा बुझिदिएको खण्डमा, हरेकको मुखको मुकुण्डो झिकिदिएको खण्डमा यो धेरै गाह्रो हुँदैन, तर अस्ति, महाराजाधिराजको अगाडि एउटा मान्छेले मञ्चमा उभिएर बोलेको थियो हामीलाई चुनौति दिंदै।

महाराजाधिराजको अदूरदर्शिताले, राष्ट्रिघाती काम जो पुष १ गतेका दिन महाराजाधिराजबाट भयो, जसले गर्दाखेरि अहिले यो परिस्थिति आएको छ, तर त्यो परिस्थिति यस्तो छैन जसमाथि हामीले विजय प्राप्त गर्न सक्दैनौं।

त्यो गर्नको निम्ति सचेत वर्गहरु अलि सचेत हुनुपर्यो त्यो पहिलेको जस्तो हुनु भएन र यो कुरो देख्न थाल्नुपर्यो।

त्यो मान्छेलाई राजाले त्यसो भन्न लगाएको हो भन्ने भ्रममा हामी बस्न भएन। त्यो मान्छेले राजालाई औंलो ठड्याएको थियो जबकि राजा कता–कता प्रजातन्त्रतर्फ परिवर्तन खोजिरहेका थिए, कता–कता यो व्यवस्थालाई सिध्याउन खोजेका थिए। यस बखतमा उसले राजालाई औंल्याएर भनेको थियो बलियो बकरा? त्यै मान्छे पुष २ गतेका दिन भन्छ–कसरी मेलमिलाप हुनसक्छ, राजा र प्रजाको। त्यसो भन्ने त्यो राजाको मान्छे होइन। यो तपाईंहरुले बुझ्नुपर्छ। राजा अलिकति प्रजातन्त्रतर्फ झुक्न थाल्दा त्यो कसको आड पाएर भन्छ–हामी बलिको बकरा हुँदैनौं र तिनी गएका छन् पुष १ गतेको कार्यक्रम मनाउन। हामीहरुको पृष्ठभूमि हेर्नुस्, तिनीहरुले बोलेको हेर्नुस्, अनि तपाईंहरुलाई थाहा हुन्छ ती राजावादी हुन् कि होइनन्?

(४ पुष २०३८)

Back