"प्रजातन्त्र दिवसको सन्देश", विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)
Print Friendly and PDF

दाजुभाइ, दिदीबहिनी,

प्रजातन्त्र दिवसको उपलक्ष्यमा मनाइने आजको राष्ट्रिय पर्वमा म तपाईहरु सबैमा आफ्नो अभिनन्दन पु¥याउन चाहन्छु ।

आज त्यो हर्ष र उल्लासको दिन हो, ९ वर्षअघि यही दिन नेपालले पुरानो तानाशाही व्यवस्थालाई फ्याँकेर आधुनिक र युगसुहाउँदो व्यवस्था ल्याउने प्रयत्नमा पहिलो कदम चालेको थियो । हामी सबै नेपालीलाई यो दिन वर्षेनी सम्झना आउँछ । यही दिन १०४ वर्षको तानाशाहीमा घोर अवनतिमा परेका, निसास्सिएका जनताले त्राण पाउन नेपाली कांग्रेसको नेतृत्व सशस्त्र क्रान्ति गर्नुपरेको थियो । राजा र राजपरिवारका अरु सदस्यहरुले प्रजातान्त्रिक व्यवस्था ल्याउने महान् सङ्कल्पका साथ गद्दीको मोह छाडेर परिवर्तनप्रति उत्सुक प्रजालाई अगाडि बढ्ने प्रेरणा दिनुपरेको थियो । कति योद्धाले सहिदसमेत हुनुपरेको थियो । अरु असंख्यले अनेक प्रकारको दुःख र यातना सहनुपरेको थियो । आजको महान पर्वको अवसरमा आजको दिवसले तानाशाहीलाई अन्त गर्ने प्रयत्नका यी दारुण सत्यलाई नविर्सौँ भन्ने सन्देश हामीलाई सुनाउँछ । आजको दिन प्रजातान्त्रिक व्यवस्था ल्याउने उद्देश्यले पहिलो कदम चालिएको दिन हो । अहिले महाराजाधिराजबाट जनताको सरकार गठन गरिबक्स्यो । चुनावबाट प्रजातन्त्रको स्थापना भएको छ । तर अहिले पनि अप्रजातान्त्रिक तत्वहरु निर्बल छैनन् र आफ्नो स्वार्थसिद्धिको ताकमा बसेका छन् ।

यद्यपि, नौ वर्षको इतिहास निरासाको इतिहास रह्यो । यद्यपि, यस अवधिका राजनीतिक प्रयोगलाई प्रजातान्त्रिक प्रयोग पनि भन्न सकिँदैन । यद्यपि, यस अवधिमा देशमा प्रजातन्त्रका विरुद्ध विषाक्त वातावरण सृजना गर्नका लागि प्रतिगामी तत्वहरुले भरपूर मौका पाएँ । तथापि, त्यस व्यवस्थाको समयमा पनि देशले तानाशाहीको १०४ वर्षका अवधिमा गरेका कामभन्दा कैयौँ गुणा बढी निर्माण, विकास तथा लोकहितकारी कार्यहरु गर्न सकेको छ ।

राजनीतिक अधिकारको क्षेत्रमा व्यक्तिगत स्वतन्त्रताअन्तर्गत प्राप्त हुने सुविधा तथा आत्मसम्मानको चर्चा म यहाँ गर्न चाहन्नँ । विकास कार्यमा मुलुकमा कति खर्च भयो त्यो सजिलैसँग अनुमान गर्न सकिन्छ । त्यस्तै यातायातका सम्बन्धमा काम भएका छन् १०० वर्षको अवधिमा देशमा जम्मा ७१ हुलाक अड्डा थिए, अहिले १२६ वटा छन् । १०० वर्षको अवधिमा ९ वटा आकाशवाणी सेवा थिए, यता ९ वर्षमा २६ वटा पुगेका छन् । तानाशाहीको शताब्दीमा मोटर हिँड्ने बाटोको लम्बाइ २३१ माइल थियो, यताका ९ वर्र्षको अव्यवस्थित प्रजातन्त्रमा पनि ३५६ माइल सडक थप भएको छ ।

हवाई यातायातको सुविधा २००७ सालपछि मात्र प्राप्त भएको हुँदा त्यसको चर्चा म गर्दिनँ । काठमाडौंमा २००७ सालसम्म विजुलीको उत्पादन १३०० किलोवाट थियो, अहिले २९०० किलोवाट छ ।

सरकारी, निजामती र जङ्गी कर्मचारीहरुको तलबको उदाहरण पनि उल्लेखनीय छ । राणा शासनमा पियनको तलब महिनाको ५ रुपियाँ र सैनिक जवानको ९ रुपियाँ थियो । यिनीहरुको बस्ने प्रबन्ध र लुगा–कपडा कस्तो थियो तपाईहरुलाई थाहै छ । प्रजातान्त्रिक सरकार स्थापना भएपछि पियनको तलब महिनाको ३० रुपियाँ भयो, सिपाहीहरुलाई व्यारेकमा राख्ने व्यवस्था मिलाइयो र उनीहरुको तलब पनि ५ गुणा बृद्धि गरियो ।

चुनाव गराएर महाराजधिराजले मन्त्रिमण्डल गठन गरिबक्सेको छ । हाम्रो काम त्यतिले मात्र पूरा भयो तपाईहरुले ठान्नु हुँदैन । अब तपाई–हामी मिलेर युग सुहाउँदो तरिकाबाट देशलाई अगाडि लैजानुपरेको छ । तपाईहरुले छानेर पठाएका प्रतिनिधिहरुद्धारा संसद् गठन भएको छ । एक ठाउँमा जम्मा भएर आफूलाई परेका समस्याहरुबारे छलफल गरेर समस्याको राम्रो हल खोज्ने, देशको आर्थिक विकास कसरी चाँडो र कम खर्चबाट हुनसक्दछ, त्यसको विचार–विमर्श संसद्को बैठकमा हुन्छ । त्यस्तो छलफलमा विभिन्न मत आउँछन् । उपयुक्त मतलाई सबैले मान्यता दिन्छन् र त्यसैको आधारमा सरकारले काम गर्दछ । यो प्रजातान्त्रिक परिपाटि हो । योभन्दा राम्रो व्यवस्था अर्को छैन भन्ने तपाईहरुले बुझ्नु भएकै कुरा हो । तसर्थ, आजको दिन हामी सबैले प्रजातन्त्र दिगो बनाउन, आर्थिक विकास गरेर देश र देशबासीका अवस्था चाँडै सुधार्न र केही समयमै हाम्रो देशलाई संसारका अरु प्रगतिशील, विकसित देशको दाँजोमा पु¥याउन कम्मर कसेर सपथ लिनुपर्दछ । यसको निमित्त तपाई, हामी, जनता, सरकार सबैले मिलेर कडा परिश्रम गर्नुपर्दछ ।

नेपाली जातिले अविकसित अवस्थामा रहेर अन्तर्राष्ट्रिय क्षेत्रबाट देशको प्रतिष्ठाको कदर पाइरहन सक्दैन । हाम्रो राष्ट्रिय नीति, हाम्रो राष्ट्रिय लक्ष्य केवल एउटै छ । त्यो नीति र लक्ष्य जनताको जीवनस्तर उठाउनु हो । यो महान् कार्य जति कठिन छ, उति नै आवश्यक र प्रेरणादायी पनि छ । उन्नाईसौँ शताब्दीको आर्थिक अवस्थामा रहेको कुनै पनि जाति बीसौँ शताब्दीमा जीवित रहन सक्दैन । भन्ने कुरा इतिहासको शक्ति बुझ्ने व्यक्तिले बुझेको हुन्छ । सानो मुलुक भएका कारण हाम्रा धेरै कठिनाइ छन् । अविकसित आर्थिक व्यवस्था नै हाम्रो कठिनाइ हो । देशको आर्थिक उन्नति राष्ट्रियता, सार्वभौमिकता तथा राष्ट्रिय इज्जत निर्भर गर्दछ । तसर्थ हामी नेपालीले एक मत भएर निर्माणको कार्यमा दत्तचित्त हुनुपर्दछ । प्रजातन्त्रमा देश निर्माणका लागि जनताको सम्पूर्ण हृदयदेखि सहयोग प्राप्त हुनसक्ने भएकाले पनि म प्रजातन्त्रप्रति आस्था राख्दछु ।

हामीहरुबीच कुनै–कुनै कुरामा आपसी मतभेद हुनसक्छ । तर म तपाईहरु सबैलाई देशको विकास गर्ने कुरा र देशमा प्रजातान्त्रिक व्यवस्था स्थिर राखेर त्यसलाई बलियो पार्दै लैजाने महान् कार्यमा हामीहरुबीच एक मत कायम रहोस् भन्ने अनुरोध गर्दछु ।

(स्रोतः गोरखापत्र, १९ फेब्रअरी १९६०, प्रजातन्त्र दिवस)

Back