"गान्धी त मानिस नै भिन्दै थिए", विश्वेश्वरप्रसाद कोइराला (अन्तरवार्ता), विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)
Print Friendly and PDF

जीवनमा कहिले तपाईले निश्चिय गर्नु भयो, तपाई एउटा डाक्टर वा यस्तै केही हुनुहुने छैन; बरुआफूलाई राजनीतिमा समर्पित गर्छु ।

हेर्नोस्, त्यो कुनै सचेत निर्णय थिएन । राजनीति हाम्रो रगतमा थियो । म तीन वर्षको हुँदा पिताजीले नेपाल छोड्नुपरेको थियो । उहाँको परिवारका प्रत्येक सदस्यलाई पक्रिने वारेन्ट (पुर्जी) थियो, हाम्रो सर्वस्वहरण भएको थियो । हामी देश निकाला भएर भारतमा १२ वर्ष बस्यौँ । त्यसरी मेरो स्कुले शिक्षा भारतमै भयो र म कलेजमा पनि त्यहीँ नै भर्ना भएँ । स्कुलमा छदाँ म आतङककारी आन्दोलनमा संलग्न भएँ । त्यसबेला आतङ्ककारी आन्दोलन केन्द्रिय रुपमा संङ्गठित थिएन ।

कलकत्तामा दुई–तीन समूह थिए, बिहारमा एउटा हाजीपुर समूह थियो, पंजाबमा दुई–तीन समूह थिए । म बिहार समूहसित संलग्न थिएँ । र, बनारसमा स्कुलमै हुँदा म सर्वप्रथम पक्राउ परेँ । म ज्यादै सानो उमेरको थिएँ र यति सानो केटाले यत्रो ठूलो लूट र डकैती गरेको होला भन्ने कुरा मजिस्ट्रेटले विश्वासै गरेनन् र म छुटेँ । त्यसपछि म कम्युनिस्ट आन्दोलनमा लागेँ बनारसमा त्यस आन्दोलनको विद्यार्थी सङ्गठनको सानो केन्द्र खोलेँ । त्यसमा देवान्त बरुआ र राजेश्वर राव पनि थिए । म त्यस सङ्गठनको सचिव थिएँ । हामीहरु कम्युनिस्ट पार्टी सदस्य बन्ने परिक्षणकालमा जस्तै थियौँ । जब ट्राटस्की र स्टालिनबीच द्वन्द्व देखिन थाल्यो म ट्रोटस्कीका पक्षमा थिएँ । मलाई विरक्त लाग्न थाल्यो र स्वराज आन्दोलनताका म गान्धीजीतर्फ बिस्तारै खिचिँदै गएँ ।

तपाईका त्यतिखेरमा भावनाहरु सम्झदा तँपाई भारतलाई आफ्नो घरजस्तै ठान्नुहुन्थ्यो ?

हामी घरमा नेपाली राजनीतिका कुरा नै गथ्यौँ । किनभने देश निकाला भएका मानिसहरु भएकाले अन्त्यमा हामीले नेपाल फर्कनु पर्नेछ भन्ने थाहा थियो । त्यो त सधै पृष्ठभूमिमा विद्यमान हुन्थ्यो । तर हामीले भारतीय स्वराज आन्दोलनमा पनि भाग लियौँ । मेरा पिताजी जिल्ला कांग्रेस कमिटीका सदस्य हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो 'भारत स्वतन्त्र नभइन्जेल नेपालमा कुनै प्रजातान्त्रिक आन्दोलन सफल हुन सक्तैन ।' उहाँ भन्नुहुन्थ्यो, ती त एक सिक्काका दुई पाटाजस्ता थिए । त्यसकारण भारतको स्वतन्त्रताका लागि लड्नु नेपालका प्रजातन्त्रवादीहरुको पनि काम थियो । त्यसरी म राजनीतिमा चाख राख्दै गएँ । अनि म सन् १९३५ मा समाजवादीहरुको सम्पर्कमा आएँ र कांग्रेस सोसलिस्ट पार्टीको अत्यन्त सक्रिय सदस्य भएँ ।

त्यो त १९३५ को कुरा हो । राजनीतिमा लागेका ४६ वर्षपछि आएर तपाई आज कुनै पश्चाताप गर्नुहुन्छ कि ? अब राजनीतिक आन्दोलनले जनतालाई केही दिन सक्छन् भन्ने तपाई ठान्नुहुन्छ ?

सन्तोष !

हैन मेरो आशय, यी सारा प्रक्रियाबाट केही गर्न सकिन्छ के भन्ने हो ?

हेर्नुहोस्, मैले त्यो समस्यालाई अझसम्म समाधान गरेका छैन । किनभने राजनीतिमा सक्रिय हुँदा नहुँदै मैले अलिकति साहित्यमा पनि हात चलाउन थालेको थिएँ । म हिन्दीमा लेख्थेँ, र म स्कुलको विद्यार्थी छँदा नै धेरै महत्वपूर्ण हिन्दी पत्रिकाहरुमा मेरा कथाहरु छापिन्थे । त्यसकारण म राजनीतिमा नलागेको भए मैले केही सृजनात्मक साहित्यिक कृतिहरु लेख्न सक्थेँ होला । तर राजनीतिबाट उम्किन खोजे पनि त्यसले हामीलाई टयाक्स तिरेजसरी पक्रिन्छ, । आज हामी जुन किसिमको समाजमा बस्छौँ, त्यसमा राज्यले व्यक्तिगत जीवनका क्षेत्रलाई पनि आक्रान्त पारेको छ ।

कुरो ठीक हो, राज्यले आक्रान्त पारेको छ । त्यसकारण तपाईले जुन प्रजातान्त्रिक प्रक्रियाका लागि जीवनमा सघंर्ष गर्नुभयो त्यसको कस्तो फल हुन्छ ? विकसित मुलुकहरुमा होइन, हाम्रा मुलुकहरुमा जुन किसिमले प्रजातन्त्र सञ्चालित छ, त्यसले देशमा प्रजातन्त्र चल्न सक्दैन भन्ने मात्र देखाउँछ होइन र ?

भारतमा भएका गत दुईवटा संसदीय चुनावहरुको उदाहरण लिनुहोस् । चुनावलाई जोसुकै एउटा स्वांङ्, धोका मात्र भन्थे, मतदान केन्द्रहरु लुटिएका हुन्थे, तैपनि करोडौँ रुपियाँ खर्च हुन्थ्यो । हामीले सामना गरिरहेको एउटा समस्या त्यही हो । र, हाम्रो एउटा काम आफ्नो देशमा वास्तविक प्रजातन्त्र सफल रुपमा सञ्चालित गर्नु नै हो । हाम्रा कार्यकर्ता जुन किसिमका छन्, र यहाँ जुन किसिमको शुद्ध माटो छ, यहाँ भारतमा जस्तो गहिरो जरा गाडेको परम्परागत कट्टरता छैन र मलाई त्यो काम सम्भव छजस्तो लाग्छ । हामी भारतीयहरुजस्ता कट्टरपन्थी छैनौँ ।

भारतमा पनि जनता असफल भएका छैनन्, नेताहरु असफल भएका छन् । पाकिस्तान, वंगलादेश र दक्षिणपूर्वी एसियाका अधिनायकवादी देशहरुले जस्तै समान पूर्वाधार खडा गरेर पनि तिनीहरुले भारतमा केही पनि गर्न सकेका छैनन् भनेको होइन । अरुले भन्दा भारतले निकै राम्रो गरेको छ । तैपनि मलाई के लागेको छ भने नेताहरुले विकासका लागि जुन प्राथमिकता निर्धारण गरेका छन् । त्यो गलत छ । तिनीहरुले विकासका लागि अमेरिकी वा युरोपेली नमुना अपनाएका छन् । तिनीहरुले जाने–बुझेको नमुना पनि त्यही हो । मैले यहाँका मानिसहरुलाई भनिरहेको छु, भारतले अपनाएको नमुनाअन्तर्गत भारतले ठूलो विकास गर्न सक्छ, तर त्यसको परिणाम ४०–४५ प्रतिशत जनतालाई सदा–सर्वदा गरिबीको रेखामुनि नै राख्नु हुनेछ ।

यहाँ मसँग तपाईले भनेको एक वाक्य छ 'समाजवादी कार्यक्रमका लागि हामीकहाँ आर्थिक आधार भएन' तपाई अझै यस्तै सोच्नुहुन्छ ?

हो ! म यस्तै सोच्छु ।

उसो भए तपाई प्रधानमन्त्री नै भएर प्रजातान्त्रिक एवं स्वतन्त्र हातले काम गर्न पाए पनि नेपाललाई अर्को हङकङ वा सिंगापुर बनाउने लोभ नहोला ?

अहँ, छैन । म त त्यस्ता उदाहरणका बृहत् परिमाणका सबै नमुनाको विरुद्ध छु ।

त्यसो भए यी कुरामा के महात्म गान्धीले नै अझै पनि तपाईका आदर्श हुन् ?

तपाईले गान्धीको कुन पक्ष भन्नुभएको मलाई थाहा भएन ।

उनको धारणा थियो, विदेशी सहायताद्धारा कसैले पनि आफ्नो देशलाई समृद्ध बनाउन सक्दैन । तपाईको पनि त्यही हो ?

हो, त्यसमा म सहमत छु ।

साम्राज्यवाद वा उपनिवेशवादले मानिसका मनमा पार्ने प्रभावबारे तपाईको के विचार छ ? तपाईले भारतीय युवा वर्गको परिवर्तनलाई नियालेर हेर्नुभएको होला नि ?

भारतले विकासका लागि अमेरिका वा युरोपेली नमुना ग्रहण गरेको छ । फलस्वरुप यसमा एउटा सम्पन्न वर्गको जन्म हुन्छ, त्यसले यस्तै भोगवादी प्रवृत्ति बढाउँछ । बाँकी जनताका लागि पनि त्यही नै अनुकरणको वस्तु बन्न जान्छ ।

तर नेपालीहरुलाई यस्तो नमुना अघि सारेर विकास गर्नबाट तपाई कसरी रोक्नुहुन्छ त ?

म त्यस प्रकारको सम्पन्नता प्रवेश हुन दिन्नँ । म ठूला–ठूला होटलहरु बनाउँदिन, म तिनका विरुद्ध छु । किनभने तिनले युवकहरुको मनलाई भ्रष्ट पार्दछन् । त्यसबाट हुन जाने राष्ट्रिय चरित्रको क्षतिको जुन मूल्य छ त्यसको विचार गर्नुपरेको छ ।

गान्धीजीले भारतीय नेतृत्व वर्गमा कुनै त्यस्तो प्रभाव छोडेर गएनन् । तपाई यहाँ नेपालमा त्यस्तो प्रभाव पार्न सकौँला भने कसरी ठान्नु हुँदैछ ?

भारतीय नेतृत्व वर्गले गान्धीजीलाई उपयोग मात्र ग¥यो । जब भारत स्वतन्त्र भयो, नेताहरुले गान्धीजीको साथ छोडीदिए । तैपनि गान्धीजीमाथि कामको ठूलो भार थियो । उनको यति धेरै काम थियो तपाई विश्वासै गर्न सक्नु हुन्नथ्यो । तर त्यो सब काम उनी एउटा सानो व्यवस्थाद्धारा गर्दथे । उनलाई दरबारको आवश्यकता परेन । तर हामीले दरबार बनाउन थाल्ने हो र हाम्रा कर्मचारीहरुलाई ती दरबारमा बसेर काम गर्न लगाउने हो भने त्यसले एउटा नमुना प्रस्तुत गर्दछ । र, भोली गएर कुनै विद्यार्थी पहिला भयो वा जाँचमा राम्रो ग¥यो भने मैले त्यही दरबारमा काम पाउन पर्ने हो भन्न थाल्छ । जब नेतृत्व नै त्यस्तै छ भने त्यसले अरुलाई कसरी अर्को चरित्र प्रदान गर्न सक्छ ? जवाहरलाल नेहरुले समेत कमाण्डर इन चिफका घरमा बस्न चाहनुभयो । तर मलाई नेपाली मानिसमाथि विश्वास छ, नभए म राजनीतिमा लाग्ने थिइनँ । यो देशको नियतिमाथि विश्वास नभएको भए म दश वर्ष जेलमा बस्ता र फाँसीको फन्दाको नजिक पुग्दासम्म बाँचिरहने थिइनँ । निश्चय पनि कहिलेकाही निराशाका क्षणहरु आउँछन् । तैपनि म के भनेर आफुलाई सान्त्वना दिन्छु भने मैले मेरी माता मातृभूमिलाई क्यान्सर रोगबाट मुक्त पार्न सकिनँ भने पनि हरेस खाएर छोडिदिने छैन, बरु आफूले सक्दो भरमग्दुर गर्नेछु ।

तपाईको जीवन भन्नु निराशाको चक्र होइन र ? भनौँ न, समाजवादी आन्दोलनको असफलता, वा तपाई नै यहाँको सत्ताबाट यति लामो अवधिसम्म बाहिर रहिराख्नु इत्यादि ... ?

जब लेनिनले ठूलो परिणाममा माक्र्सवादको कार्यान्वयन गर्ने मौका पाए उनको अगाडि विकासको नमुना थियो । अमेरिका । मलाई यो अमेरिकाप्रतिको मोह देख्दा अचम्म लाग्छ । लेनिन सधै भन्थे हामी पच्चीस वर्षमा अमेरिकालाई भेट्टाउँछौ । त्यो अमेरिकी नमुना थियो । अमेरीकाको नमुना कस्तो थियो । हेनरि फोर्ड (प्रथम) ले अमेरिकामा एउटा बृहत् उत्पादन प्रणालीद्धारा उत्पादन गर्ने कारखाना चलाए । रुसले पनि त्यही अनुकरण ग¥यो र माक्र्सवादको असफलताको जरो पनि त्यही हो । तपाई कुनै रुसी कारखानाको राम्रो प्रबन्धक हुनुहुन्छ भने अमेरीकी कारखानाको पनि राम्रो प्रबन्धक हुन सक्नुहुन्छ । शोषणको माध्यम फरक हुनसक्छ, तर उत्पादनको प्रणाली उही नै हो । तपाईको राजनीतिक व्यवस्था वा सिद्धान्त जेसुकै होस्, जनताका आधारभूत भौतिक आवश्यकता पूर्ति गर्नका लागि तपाई कुनै नमुना ग्रहण गर्नुहुन्छ भने त्यसले उनै दोषहरुलाई जन्म दिन्छ ।

तर माओले चीनमा आफ्नो तीस वर्षको शासन कालमा अमेरिकी नमुनाको कहिल्यै अनुकरण गरेनन् ।

माओले पनि फेरि त्यही नमुना ग्रहण गरे । तर उनीसँग त्यो प्रविधि नभएको हुनाले त्यसको अभावमा नै उनले विकल्प खोजे तर नमुनाको मोह छोडेनन् । रित्ता हातले पहाड हल्लाउन खोजे । तर त्यो सम्भव थिएन । माओको त्रृटि त्यहीनेर थियो । चिनले पनि उत्पादित भौतिक लाभको परिणामका आधारमा नै विकासको हिसाब–किताब ग¥यो । अमेरिकी नमुना नै स्वीकार गर्ने हो भने त त्यही प्रविधि पनि स्वीकार गर्नैपर्छ । वृहत उत्पादन गर्ने हो भने वा त्यस्तै लक्ष्य हासिल गर्ने हो भने, त्यही बमोजिमको उचित प्रविधि पनि ग्रहण गर्नैपर्छ । जब म चीन गएको थिएँ, म देश दर्शनका लागि घुम्न गएँ र विजुली उत्पादन गर्न भनेर लाखौँ श्रमिकहरु ठूलो बाँध निर्माण गर्ने काममा लागेको देखेँ । यी सब ठूला–ठूला कुरा किन ? किनभने उनीहरुले अमेरिकासित प्रतिस्पर्धा गर्न चाहे; यद्यपी उनीहरुसित सामान्य बुल्डोजरजस्ता आधारभूत यन्त्र पनि थिएनन् ।

चीनजस्तो ठूलो मुलुकले त्यस्तो बृहत् औद्योगिकीकरण नगरीकन पनि काम चलाउन सक्छ भन्ने तपाई ठान्नुहुन्छ कि कसो ?

मैले आफ्नो दिमाग चीनका समस्यामा लगाएको छैन, तर नेपालमा हामीलाई त्यति ठूला कुरा चाहिँदा पनि चाहिँदैनन् र हाम्रो औकातले पनि भ्याउँदैन ।

तर त्यसको लागि फेरि नयाँ मानिस चाहिन्छन् । यस्तो प्रलोभनमा फस्नबाट तिनीहरुलाई जोगाएर राख्न सक्नुहुन्छ ?

हो, यो एउटा गाह्रो काम हो र मेरो विचारमा एकदम महत्वपूर्ण काम पनि हो । म त ठूला–ठूला सडकहरुको निर्माणको समेत विरुद्ध छु । त्यसले गर्दा मेरो निकै आलोचना भएको छ । किनभने म जहाँसुकै पनि भनिदिन्छु हामीहरुलाई ठूला सडक चाहिँदैनन् । सडक भनेको के हो ? सञ्चारको माध्यम हेर्नोस् अमेरिका एउटा ठूलो देश छ र त्यहाँ परिमाणमा प्राकृतिक स्रोतहरु मानिसलाई पर्खेर लडिरहेका छन् । त्यहाँको जनसङ्ख्या भने थोरै छ, त्यसकारण अनिवार्य श्रमदान गर्न पर्ने नै भयो । फलतः तिनीहरुले श्रमबचाउ प्रविधिको विकास गर्नै प¥यो । हाम्रो त्यो अवस्था छैन । अमेरिकामा विभिन्न उपनिवेशहरु थिए, ती विभिन्न उत्पादन केन्द्रका रुपमा थिए । र, सामानहरुको ओसार–पसारका लागि सडकहरु बनाउनुप¥यो । त्यो अवस्था यहाँ छैन । करौडौँ रुपियाँ खर्च गरेर सडक निर्माण गरेर सहरहरुलाई जोडिएको छ, तर ओसारपसार गर्ने कुरा केही छैन । एक–दुई बस चल्छन् । र, हामीसँग सडकको सम्भार गर्ने पैसा पनि छैन । त्यसकारण हाम्रो काम गाउँको निर्माण गर्नु हो । गाउँको गरिबी उन्मूलन गर्नु, अशिक्षा उन्मूलन गर्नु र त्यहाँ ओखतीमूलो र शिक्षाको व्यवस्था गर्नु हो ।

तपाईले भेटेको विभिन्न विचार प्रवृत्तिका मानिसहरुमध्ये सबैभन्दा सहृदयी र इमान्दार व्यक्ति को लाग्यो ?

महात्मा गान्धी ।

उनको त कुरै छोडिदिनुहोस्, सत्तामा बसेकाको बारेमा मैले सोधेको ।

सत्तामा ? मलाई लाग्छ जवाहरलाल नेहरु बडो संवेदनशील मानिस थिए । मैले सुभाष बाबुलाई पनिएकैपल्ट भेटेको थिएँ र उनले मलाई निकै प्रभावित पारेका थिए । तर उनलाई मैले उति राम्रोसँग चिनिनँ ।

यो उपमहाद्वीपभन्दा बाहिरका मानिसहरुमध्ये कसबाट बढी प्रभावित हुनुभयो ?

चाउ एनलाई ! म उनलाई ठूलो आदरका दृष्टिले हेर्छु । माओसित मेरो एकपटक मात्र आधा रातमा करिब दुई घण्टाजति भेट भएको थियो । उनी बूढा भइसकेका थिए र एक किसिमले पिताजस्तो व्यक्ति बडो नरम र सुसंस्कृत व्यक्ति लाग्थे । मलाई लाग्छ, नेहरुजीले आफूले धेरै मेहनत नगरी नै सफलता हासिल गरेका थिए र उनीसँग कुराकानी गर्दा एक प्रकारले पुलपुलिएर हुर्किएका मानिसजस्ता लाग्थे । गान्धीजीले उनलाई कसरी भारतको उत्तराधिकारी छाने म बुझ्न सक्दिनँ । उनी त गान्धीवादका विपरीतवादी थिए । चाउ एनलाई अन्तराष्ट्रिय मामिलाको ज्ञान बढी थियो । उनी बडो सुसंस्कृत र परिस्कृत व्यक्ति थिए । आफ्नो व्यवहारबाट उनले म र मेरी श्रमती दुवैलाई अत्यन्त प्रभावित पारेका थिए ।

दशकौँसम्म कुन आधारभूत कुराहरुका लागि तपाई लडिरहनुभएको छ, सबलाई संसदीय व्यवस्था, आधारभूत मानवाधिकार वा नागरिक स्वतन्त्रता...

र, जनसाधारणको आर्थिक सुधार ! एउटा चाखलाग्दो कथा छ । म प्रधानमन्त्री भएपछि मोहनशमशेर राणासित कहिलेकाही बातचित हुन्थ्यो । एकपटक उनले मलाई सोधे, अब त तपाई प्रधानमन्त्री पनि हुनुभयो; यसपछि तपाईको आकाङ्क्षा के छ ? तपाई के गर्न चाहनुहुन्छ ? मैले भनेँ, मेरो एउटै आकाङ्क्षा छ, म एउटा निम्नमध्यम परिवारको मानिस हुँ । मेरो सानो खेतीपाती छ, जसबाट मेरा आधारभूत आवश्यकता पूरा हुन्छन् । मेरा दुइवटा गाई छन् र मेरा केटाकेटी यहाँ स्कुलमा पढ्छन् । त्यसकारण मैले भनेँ, म नेपालको सबैभन्दा गरिब परिवारलाई मेरो परिवारको बराबरीमा ल्याउन चाहन्छु, ठूला–ठूला सडक र भव्य भवनहरु होइन, नेपालको सबैभन्दा गरीब परिवारले मेरो परिवारले जत्तिकै आर्थिक अवस्था प्राप्त गर्नुपर्छ ।

यस्तो केही पनि हासिल नभएको देख्दा तपाईलाई निराशा हुँदैन ?

होइन, हामीले प्रयास गरिरहनुपर्छ । स्वभावतः कहिलेकाही निराशाका क्षणहरु पनि आउँछन् र मलाई लाग्छ म एउटा ढुङ्गाको पर्खालमा टाउको ठोक्काइरहेछु । तर त्यो निराशा धेरैबेर रहँदैन । हामीले प्रयास जारी राख्नुपर्छ ।

नेपालमा प्रजातन्त्र आउन कति वर्ष लाग्ला; दुई वर्ष, तीन वर्ष ... ?

होइन, प्रजातन्त्र त एउटा प्रक्रिया हो, क्रमशः विकसित हुन्छ । त्यो प्रक्रिया सुरु भैदिए, आर्थिक विकासका नीतिहरु उचित किसिमले बनाइदिए र ती नीतिको कार्यान्वयन सुरु भैदिए म खुसी हुने थिएँ । अब मेरो धेरै बाँच्नु छैन, र यो सुरुवात देख्न पाए म खुसी हुने थिएँ । प्रजातन्त्रको स्थापना हुनासाथ इतिहासको अन्त्य हुने होइन । मानवजातिले समस्यालाई निरन्तर लखेटिरहनेछ । मैले देख्न खोजेको कुरा के हो भने हामीहरु ती समस्याहरुलाई स्वतन्त्रताका साथ समाधान गर्ने प्रयास गर्न थालौँ, जसमा हाम्रो भावना वा निर्णयको छनोट मा कुनै बन्देज नहोस् । सायद म अलि दार्शनिक कुरा गर्न थाले हुँला । हेर्नुहोस्, मानिसको दुर्भाग्य के छ भने उ कहिल्लै पूर्ण हुन सक्तैन । एउटा किसानको उदाहरण लिनुहोस् । उ विचरा हरसम्भव प्रयास गर्छ । जमिन जोत्छ, मल हाल्छ, सिँचाइ गर्छ । तर अकस्मात उनको नियन्त्रण बाहिरको कुनै घटना भइदिन्छ र उसको सारा प्रयास खेर जान्छ । मानिसको नियति त्यही हो । भविष्यमा के हुन्छ, कसैले जान्न सक्दैन । र, मानिस सर्वज्ञ हुन पनि सक्दैन । काम गर्न थाल्नुअघि त्यससम्बन्धी पूर्ण विवरण (तथ्याङ्क) कसैसित हुन सक्तैन । तैपनि हामीले आफ्नो देश र समाजका सम्बन्धमा निर्णय लिनुपर्छ । यो निर्णय लिने अधिकार हामीले कुनै पनि व्यक्तिलाई दिने वा सबै जनता सामूहिक रुपमा यो निर्णय लिने ?

तपाई प्रायः जेलमै हुनुहुन्छ, वा निर्वासनमा हुनुहुन्छ । त्यसकारण दोस्रो तहका नेताहरुको पनि विकास गरेको छ । त्यो दोस्रो तह कतिको राम्रो छ ? राजनीतिबाट तपाई लोप हुनुभयो भने तिनले आन्दोलन चलाउन र अझ महत्वपूर्ण कुरो त, देशको प्रशासन चलाउन सक्छन् ? दोस्रो तहको नेतृत्ववर्गलाई तपाईको सन्तुष्टिबमोजिम विकास गर्न सक्नुभएको छ ?

मैले तपाईलाई देश सञ्चालन गर्नसक्ने दोस्रो तहको नेतृत्व छन् भनेँ भने त्यो तपाईप्रति न्याय र स्वयंप्रति इमानदार नभएको ठहरिन्छ । हाम्रा मानिसहरु एकदमै इमानदार छन् र तिनीहरुले बडो दुःख पाएका छन् । तर उनीहरुले सबै कुरा आफै सञ्चालन गर्न सक्छन् भनेर म भन्दिनँ । अन्तराष्ट्रिय मामिलामा, वित्तीय मामिलामा, योजनामा हाम्रा कार्यकर्ताहरुमध्येमा हामीसँग अत्यन्त सक्षम मानिस छैनन् । त्यसका लागि हामीले बाहिरबाट मानिस झिकाउनु पर्ला, तर हामी त्यसो गर्न पनि चाहँदैनौँ... ।

भारत स्वतन्त्र हुँदा भारतको यस्तो अवस्था थिएन । तपाईहरु कहाँ प्रसस्त सक्षम मानिसहरु थिए । र, आज देशले दुःख पाएको छ भने उनीहरुको अक्ष्मताले गर्दा होइन, बरु साम्राज्यवादी प्रयोजनका लागि व्रिटिशहरुले स्थापना गरेका एउटै संस्था पनि खारेज नगर्नाले हो । पुलीसको नियमावली, सेनामा भर्ना र प्रमोशनको नियम आजसम्म उही नै छन् ।

तपाई यो व्यवस्था परिवर्तन गर्न सक्नुहोला ? घुसखोरी, भ्रष्टाचार ... ?

यसलाई परिवर्तन गर्न सकिन्छ । हाम्रा मानिसले भारतीयहरुले भन्दा गुणात्मक रुपमा बढी दुःख सहेका छन् र तुलनात्मक आधारमा हेर्दा सङ्ख्यात्मक रुपमा पनि तिनको सङ्ख्या बढी नै छ । उनीहरु देशभक्त र अनुशासित छन् । तिनीहरु त्यस्तो सामन्ती व्यवस्थाको पासोबाट मुक्त हुनसक्छन् भन्ने आशा गर्न सकिन्छ । तर जब तिनीहरुले नयाँ समाजको निर्माण गर्ने कोशिस गर्नेछन् । तिनीहरुमा त्यो क्षमताको अभाव हुनसक्छ । हेर्नुहोस् जब लेनिनले शक्ति हत्याएका थिए, केही महिनासम्म त जे काम पनि छुनासाथ भइहाल्थ्यो । तर, प्रश्न थियो, सेनाको पुनर्गठन कसरी गर्ने ? लालसेना जिम्मा लिएका व्यक्ति ट्राटस्कीका अगाडि समस्या थियो, जंगी अड्डाहरु सञ्चालन गर्नसक्ने अफिसरहरु जति सारा सामन्ती वर्गबाट आएका व्यक्तिहरु थिए । उनी बडो अप्ठेरो दुविधामा परे । त्यसपछि उनले को–को बोल्सेविक पक्षका समर्थक थिए र को–को थिएनन् भन्ने छुट्याउन थाले ।

तीस वर्षसम्म एक असाधारण आकर्षण भएका व्यक्तिका रुपमा चिनिँदा तपाईलाई कस्तो लाग्छ ?

मलाई लाग्छ, मैले एउटा नेताले पाउने आदरभन्दा बढी प्रेम र स्नेह प्राप्त गरेको छु । तपाईलाई थाहा छ, मानिसहरु मलाई 'सान्दाजु' वा दाजुहरुमध्येमा सानोचाहिँ भन्छन् । दाजु भन्नाले आफूभन्दा ठूलो र आदरणीय, सानो भन्नाले आफ्नो नजिकैको उमेरको अलिकति मात्र जेठो बुझिन्छ । त्यसकारण मैले एउटा ठूलो परिवारको नेतृत्व गरेको छु, निःसन्देह मेरो यो परिवार एकदम ठूलो छ । पार्टीमा मेरो स्थानको कारणले गर्दा मैले इँट्टाको प्रहार पनि खाएको छु । म पुल्पुल्याएको भए मैले आफ्नो विवेक गुमाउँथे होला, मलाई थाहा छैन ...जब मेरा साथीहरु के गर्ने भन्ने निर्णय लिने सङ्कटमा पर्छन् म एउटा समाधान भेट्छु । सायद उति उज्वल समाधान नहोला, तर त्यो काम चलाउ समाधान अवश्य हुनसक्छ ।

तपाईको निर्णय गर्ने प्रक्रियाको मूल स्रोत केहो ? बौद्धिकता...सहजज्ञान... ?

मलाई थाहा छैन, म आफूलाई विश्लेषण गर्न सक्दिनँ ।

तपाई आफूलाई कस्तो किसिमको मानिस भन्नुहुन्छ । यथार्थताको मैदानमा दह्रो गरी खुट्टा टेकेको मानिस, अलि रोमान्टिक वा सम्भवतः अलि ज्यादा आदर्शवादी... के ?

मैले आफ्नो जीवनमा पहिलो प्रेस सम्मेलनमा कलकत्ता ग्रयाण्ड होटलमा सन् १९४७ मा गरेको हो । म त्यतिखेर खुब डराएको थिएँ । र कलकत्ताका पत्रकारहरु त्यति दयालु पो कहाँ हुन्छन् र ? तैपनि तिनका प्रश्नहरुको मैले सकेसम्म राम्रो जवाफ दिएँ । जब सम्मेलन सिद्धियो, एउटा पत्रकार मसँग आयो र मलाई भन्यो 'कोइरालाजी, तपाई एउटा यथार्थवादी र राजनीतिज्ञ हुनुभन्दा एक रोमान्टिक व्यक्तिजस्तो देखिनुहुन्छ ।' मलाई पनि त्यस्तै होजस्तो लाग्छ । अलिकति रोमान्टिक भावनाको मात्रा नभई जीवनको यति ठूलो पीडा सहन सकिँदैन । यो मेरो सोचाई हो । म अलि स्वप्नदर्शी पनि छुजस्तो लाग्छ । एकपल्ट मलाई जेलमा ६ महिनासम्म पूर्ण एकान्तमा राखिएको थियो । मेरो हात गोडामा हथकडी र नेल थिए र कुनै मानिसलाई देख्न पाउँदैनथेँ । म खाली टाढा कतैबाट आएको आवाज मात्र सुन्थेँ । म त्यहाँबाट कसरी भाग्ने भन्ने वा त्यस्तै विषयमा सपना देखिरहन्थे । केही घण्टापछि म झल्यास् हुन्थेँ । मैले केवल सपना देखिरहेको थिएँ । आफ्नो व्यक्तिगत दुःख सहनका लागि मात्र होइन, आफ्नावरिपरी अरुहरुले पाएको दुःख सहनका लागि पनि हामीलाई केही रोमान्टिक भावनाको आवश्यकता पर्छजस्तो लाग्छ । दुःख पाएका आइमाईहरु, दुब्लाएका केटाकेटीहरु ...

राष्ट्रहरुको नियतिलाई केले नियन्त्रण गर्छ माक्र्सवादी द्वन्द्व वा ईश्वर ?

म एक अर्थमा माक्र्सवादी हुँ । किनभने समाजको कसरी विकास हुन्छ भन्ने व्याख्यामा मैले माक्र्सवादी पद्धति स्वीकार गरेको छु । तर त्यो मात्र सम्पूर्ण होइन । मेरो विचारमा मानवका अनन्त पक्ष छन् । आर्थिक पक्षले मात्र उसको व्याख्या गर्न सक्दैन । वास्तवमा, इतिहासका क्रान्तिहरु मानिसको पेटको समस्याले भएका होइनन् भन्ने मेरो धारणा छ । पेटको समस्याभन्दा उच्चतर कुनै उद्देश्यले प्रेरित नभईकन मानिस बलिदान हुन्छन् भन्ने म ठान्दिनँ । द्वितीय विश्वयुद्धताकाको वंगालको महाअनिकाल बारे सोच्नुहोस् ।

कलकत्ताका सडकमा लाखौँ मानिस मरे, तर त्यहाँ कुनै क्रान्ति भएन किनभने तिनको समस्या भोकभन्दा उच्चतर कुनै वस्तुसित गाँसिएको थिएन । मलाई लाग्छ, उसमा निहित अराजकतावादी तत्व र सामाजिक तत्वका बीचमा मानिसमा दुईवटा आधारभूत विरोधावासमा बाँच्छन् । नेतृत्व सदैव अराजकतावादी हुन्छ र त्यसले आफ्ना स्वतन्त्रतामा कहिल्यै कुनै बन्देज स्वीकार गर्दैन, यो समस्या हो । यो नबुझ्ने हो भने सबैभन्दा राम्रो साम्यवादी वा समाजवादी समाज मौरी वा कमिलाहरुको हुनसक्छ । तर तिनीहरु विकासवादी सिद्धान्तबमोजिम विकसित हुँदैनन् । किनभने तिनीहरुमा कुनै विद्रोह जन्मिदैन । मानव समाजमा जोशले नयाँ जरा हाल्ने प्रयास गर्छ, त्यसको भयङ्कर विरोध हुन्छ ।

क्राइस्ट, सोक्रेटिस, गान्धी सबै विद्रोही हुन्, त्यस्तै अर्का मान्छे जो चैनसाथ मर्न पाए ती बुद्ध थिए । तर उनले कसरी चैनसाथ मर्न पाए म व्याख्या गर्न सक्तिनँ । तर आज जुन कुरा अस्वीकृत हुन्छ त्यही नै भोलि गएर संविधान बन्छ । म आफ्ना अराजकतावादी वा विद्रही भावनाहरुलाई उपन्यास आदि लेखेर तृप्ति लिन्छु र मेरा समाजवादी भावनालाई राजनीतिमा काम गरेर आफ्नो समाजका मानिसहरुको भाग्यमा सुधार ल्याउने कोशिस गरेर तृप्ति दिन्छु । एक समाजवादीका हैसियतले म मानिसलाई नियमित गर्ने असलभन्दा असल कानुनहरुको खोजीमा हुन्छु । यी दुई भावनाका बीचमा सन्धि गराउन मानिसहरुलाई गाह्रो लाग्छ र कति त मसँग भन्छन् । मेरा साहित्यिक कृतिहरुले मेरा राजनीतिक संघर्षलाई प्रतिविम्बित गर्दैनन् । त्यो किन भने जब म लेख्छु त्यतिखेर राजनीतिज्ञ हुँदिन ।

तपाईको समग्र प्रणालीमा कहीँनिर ईश्वरको पनि स्थान छ ?

अँ । ईश्वर छ; तर प्रचलित अर्थमा होइन । हाम्रो नियतिको निर्माताका रुपमा होइन । म एकपटक जयप्रकाश नारायणजीसित गफ गर्दै थिएँ । उहाँ पनि कहिलेकाही यस्तै कुरा उठाउनुहुन्थ्यो । मैले भनेँ मानिसले एक स्वप्नदर्शी पनि हुनुपर्छ, तपाई एउटी केटीलाई प्रेम गर्नुहुन्छ र त्यसको अनुहार चन्द्रमा नै हो भन्न सक्नु हुन्न भने, तपाईले उसलाई पर्याप्त प्रेम गर्नु भएन । प्रेमको अवस्था एउटा भ्रम हो, तर साथसाथै एउटा वास्तविकता पनि हो । कविता पनि वास्तविकता हो । बिहान बाघ–भन्ज्याङ दार्जिलिङ माथिबाट सूर्योदय भएको दृश्य देखेर तपाई उद्वेजित हुनु भएन वा त्यसबाट उद्वेलित भएर दिनभरका लागि आनन्दित भइरहनु सक्नु भएन, बम्बइको समुद्र किनारस्थित मैदान चौपाटीबाट सूर्यास्त भएको हेरेर पनि रातभर आनन्दित निदाउनु भएन भने तपाईले कुनै आधारभूत कुरा गुमाउनुभयो ।

जगन्नाथ पुरीबाट देखिने समुद्रको शान्त छटालाई देखेर पनि तपाई आनन्दित हुनु भएन भने तपाईले जीवनको केही कुरा गुमाउनुभएको छ । यस्तै अनुभूतिमा ईश्वर विराजमान छन् । ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन् । ईश्वरलाई विज्ञानको माध्यमले तपाई व्याख्या गर्न सक्नु हुन्न । ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो ।

बितेका तीस वर्ष तपाईले अर्को कुनै किसिमले बिताउन पाएको भए कसरी बिताउनुहुन्थ्यो होला ? तपाईको कुनै सोच छ कि ?

अर्को कुनै किसिमले होइन । मैले आफ्नो जीवन पुनः सुरु गरेर बाँच्न थाल्ने हो भने, सायद एक दुई साधारण कुरामा म परिवर्तन रोज्थे हुँला । तर मूलतः म उनै कुरा गर्दथेँ । कुनै पनि हालतमा म कटुअनुभवग्रस्त व्यक्ति होइन, निराशाले ग्रस्त व्यक्ति होइन । म आनन्दले परिपूर्ण व्यक्ति पनि होइन । म अझ बढी बोध, बढी बुद्धिमत्ताको चाहना गर्दथे हुँला, तर आधारभूत परिवर्तन होइन । अहँ ! सन्तोष व्यक्ति होइन, तर मेरा कुनै गुनासा पनि छैनन् । मैले एउटा यस्तो परिवार पाएको छु, जसलाई पाउन म योग्य छैन । मैले यस्ता साथी पाएको छु जो मलाई प्रेम गर्छन् । मेरा शत्रुले पनि मलाइ ठूलो आदर गर्छन् ।

तपाईको जीवनको सबैभन्दा आनन्ददायी अनुभव वा स्मृति कुन हो ?

मेरो जीवनको सबैभन्दा आनन्दायी अनुभव म प्रधानमन्त्री हुँदाको अनुभव होइन । मेरी दुलहीले म प्रधानमन्त्री बन्ने कुराको घोर विरोध गरेकी थिइन् । उनले यति विरोध गरिन्, त्यसपछिका केही कार्यक्रम समारोहहरुमा उनी मसँग सामेल नहुने भइन् । साँच्चै भन्दा मेरो जीवनको सबैभन्दा आनन्ददायी अनुभव वा स्मृति हालसालैको एउटा घटना भएको छ । त्यसबारे म तपाईलाई भन्छु । म एउटा गाउँको भ्रमणमा थिएँ । एउटी १९/२० वर्षकी एकदम राम्री र स्वस्थ केटी मकहाँ आइन् । तिनी शिवजीको मन्दिरमा पुजा गरेर आएकी रहिछन् र निधारमा पूजाको टीकासमेत लगाएकी थिइन् । म अति नै व्यस्त थिएँ । तैपनि तिनले एकपटक भेट गर्ने आग्रह गरिछन् । मेरा साथीहरुले तिनलाई म भएका ठाउँमा ल्याएपछि उनले म एक्लै भेटेर कुरा गर्न चाहन्छु भनिन् । अनि हामी एक्लै कुरा गर्न थाल्यौँ । उनले मलाई भनिन्, उनी आफ्नो जीवन मलाई अर्पण गर्न भनेर मन्दिर गएकी थिइन् । म बिरामी छु र चाँडै नै शल्यक्रियाका लागि दिल्ली जाँदै छु भन्ने उनलाई थाहा रहेछ । ती अविवाहित षोडशीले खाउँ–खाउँ र लाउँ–लाउँ वयमा उभिएर आफ्नो जीवन देवमन्दिरमा गएर मलाई अर्पर्ण गरिछन् । मैले भने 'यो त ज्यादै ठूलो उपहार भयो, त्यसको बदलामा म तिमीलाई के दिन सक्छु ? 'उनले भनिन् 'तर म तपाईले दिनुभएको उपहार लिन बाँचिरहने छैन, म त मरिहाल्छु नि ।' म त्यो दिन प्रसन्नतावश रोएँ । त्यो मेरो जीवनको सबैभन्दा आनन्दको स्मृति हो ।

केही दिनअघि केही बूढाबूढीहरुको हूल मेरो घरतिर आइरहेको मैले देखेँ । अनि ती मान्छे को हुन् भनेर मैले सोधेँ । उनीहरु मलाई भेट्न आएका भनेर मलाई भने । उनीहरु शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न भनेर तराईको कुनै गाउँबाट यहाँ आएका थिए र दर्शन गरेर घर फर्किदै थिए । मैले उनीहरुलाई भनेँ 'पूरा तीन दिन हिड्न बाँकी नै छ र मलाई भेट्न आएर आफ्नो समय मात्र किन खेर फाल्नुभो ?' तिनीहरुको अगुवाले भन्यो 'हैन नभेटीकन जाने हो भने त गाउँका मानिसहरुले उनीहरुलाई गाली गर्छन् । काठमाडौँ त गयौ, तर बीपी कोइरालालाई नभेटीकनै आयौ ?' अनि तिनीहरुले आफ्नो घर लान भनेर मेरो तस्बिर मागे । मानिसहरुले आफूलाई त्यस्तो स्नेह गरेको देख्ता प्रसन्न नभईकन को रहन सक्ला ?

तपाई आफू कुन रुपमा सम्झिइन चाहनुहुन्छ ?

मलाई थाहा छैन...कुन रुपमा ... । मलाई थाहा छैन ।

विशेषगरी तरुणहरुले कुन रुपमा सम्झिउन् ...

हेर्नोस्, मेरो अब धेरै बाँच्नु छैन । धेरै बाँचे, तीन–चार वर्ष । यदि प्रजातन्त्रको पुनःस्थापना गर्न केही गर्न सकेँ भने, त्यही कामद्धारा मेरो सम्झना गर्नु हुन्थ्योहोला । त्यसकारण, म जब जान्छु, हिन्दू चलनअनुसार शव दहनको खरानी नदीमा फालिन्छ, कुनै स्मारक वा चिहान बनाइँदैन । मलाई त्यो विचार बडो राम्रो लाग्छ । सारा हिन्दू जातिको कला हेर्नोस् ती विशाल मन्दिरहरु हेर्नोस् ! तिनको नक्शा कसले बनायो, कसले निर्माण ग¥यो ? अजन्ताका भित्ते चित्रहरु कसले लेख्यो ? यो अज्ञात रहने परम्पराले मलाई अत्यन्त मुग्ध पार्छ । यतिका वर्ष राजनीतिमा रहेर पनि मलाई ठूलाठूला स्वागत समारोहहरुले अप्ठेरोमा पार्छन् । जब म भन्छु, मलाई ठूलाठूला समारोहहरु मन पर्दैनन् मैले खालि बहाना गरेको मात्र होइन भन्ने कुरा सबैलाई थाहा छ । म कुन उडान नम्बरबाट आउँदै छु भनेर कहिल्यै बताउँदिनँ किनभने मलाई स्वाग गर्न एयरपोर्टमा मानिसहरु आए भने मलाई बडो अप्ठेरो लाग्छ । सार्वजनिक जीवनमा अज्ञात रहने अवस्था नै मलाई ठीक लाग्छ । भीड देखेर म लाज मान्छु । हेर्नुहोस्, कुनै मानिस पनि वास्तवमा त्यति ठूलो हुँदैन जति ठूलो ठानिएको हुन्छ, न त त्यति सानो नै हुन्छ जति उसलाई सानो बनाउन खोजिन्छ ।

गान्धीजी नि ?

उनी त मानिस नै भिन्दै भए । आजसम्मका महानतम् मानिसहरुमध्ये एक । यसको मतलब गान्धीजीले भनेका सबै कुराको म समर्थन गर्छु भनेको होइन । तर उनी मेरो जीवनकालमा सर्वोत्तम व्यक्ति थिए । गान्धी त्यसपछि म जयप्रकाश नारायणलाई अर्को आदरणीय व्यक्ति मान्छु । निश्चय नै गान्धी जति ठूला त होइनन्, गान्धीको जस्तो तीक्ष्ण बुद्धि उनमा थिएन, तर उनी साँच्चै नै एक असल व्यक्ति थिए । अरु सबै साधारण मानिस थिए, कुनै कुनै अरुभन्दा अलि ज्यादा वेस । म तिनीहरुमध्ये एउटा हुन सकौँला, तर म गान्धी हुन सक्दिनँ ।

तपाई आफू कुन किसिमले सम्झिइन चाहनुहुन्छ भनेर मैले सोध्दा मेरो के तात्पर्य थियो भने तपाई एक असल नेता, एक दयालु व्यक्ति वा यस्तै सम्झिइन चाहनुहुन्छ ?

एउटा असल मानिस ! म एउटा असल मानिस भनेर परिचित हुन चाहन्छु । मैले एउटा उपन्यास लेखेको छु । 'मोदिआइन' अर्थात् मोदीकी स्वास्नी । यो कथा महाभारतबाट प्रेरित हो । अझ गीताबाट भनौँ । आठ वर्ष जेलमा रहँदा मैले गीता पढेको थिएँ । मैले धेरै टीकाहरु पनि हेरेँ, तर मलाई गीताले सन्तुष्टि दिन सकेन । त्यसपछि मैले त्यो उपन्यास लेखेँ । त्यो उपन्यासको नायक ९–१० वर्षको केटो छ । त्यो केटाले आफूले गरेका सबै कुरा र आफूले भविष्यमा गर्न चाहेको सबै कुरा मोदीकी स्वास्नीलाई बताउँछ । मोदीकी स्वास्नीले त्यो केटालाई भन्छे उसको अन्तिम वाक्य पनि यही हो; 'नानी, महाभारतका वीरहरुजस्तै ठूलो नहुनू, वीर रहनू । तिनीहरुको वीरताले विध्वंस निम्त्यायो । खालि असल हुनु, असल मानिस हुनु । प्रधानमन्त्री हुनुभन्दा अघि नै मैले अर्को एउटा उपन्यास पनि लेखेको थिएँ । हिटलर र यहुदी । तर अझसम्म त्यो प्रकाशित भएको छैन । यसमा पनि मैले उही सिद्धान्त प्रतिपादन गरेँ । मानिसले ठूलो हुने महत्वाकाङ्क्षा राख्यो, ईश्वर बन्ने महत्वाकाङ्क्षा राख्यो भने, उसले केवल विध्वंस ल्याउने छ ।

(स्रोतः अमृतबजार पत्रिका, कलकत्ताका निमित्त तीर्थकर मुखर्जीले लिएको अन्तरवार्ता । जयराज आचार्यद्धारा अनुदित एवं 'संवत्सर' वर्ष १, अङ्क ३, २०४० मा प्रकाशित)

Back