बीपीका कालजयी विचार - रामचन्द्र पोखरेल (२०७० श्रावण ६, नागरिक)
Print Friendly and PDF

नेपालको राजनीतिमा बीपी कोइरालाको युग लोकतान्त्रिक अधिकार एवं मूल्य मान्यता र आदर्शका लागि सम्भि्कने गरिन्छ। एसिया महादेशकै इतिहासमा नेपालको प्रजातान्त्रिक आन्दोलन एव संघर्षको विशिष्ट पहिचान छ। लोकतान्त्रिक मूल्य मान्यतामा आधारित आदर्शबाट अनुप्राणित ती कठोर दिनहरू आजको नेपाली राजनीतिक चेतनाको विकासमा ठोस आधारशिला भएका छन्। तिनैका जगमा टेकेरमात्र नेपालले आज 'संघीय लोकतान्त्रिक गणतन्त्र'को युगमा प्रवेश गर्न सकेको हो।

तानाशाही एवं सर्वसत्तावादविरुद्ध ६० वर्ष लामो यस संघर्षलाई जीवन्त र गतिशील बनाइराख्ने प्रेरक तत्व बीपी कोइरालाको 'प्रजातान्त्रिक समाजवाद' नै हो। त्यही समाजवादी विचारधाराले नै सम्पूर्ण प्रगतिशील एवं परिवर्तनकारी शक्ति र लोकतान्त्रिक विचारलाई नैतिक बल प्रदान गरिरहेको थियो। चप्पल, छाता र काँधे झोलामा राखेको कलम र कापीका भरमा निरन्तर पैदल हिँडेर तानाशाही व्यवस्थाको नजरबाट बच्दै मेची—महाकाली बिउँझाउने अदम्य साहस त्यतिखेरका कार्यकर्तामा थियो। लोकतान्त्रिक मूल्यमान्यता औ आदर्शप्रति समर्पित सैकडौँ कार्यकर्ता एवं तरुणलाई परिचालित गराउने शक्ति बीपीका विचारमा आधारित त्यो 'समाजवाद' थियो।

सन् १९६० मा 'नवोदित राष्ट्रहरूको प्रगतिमा विज्ञान' शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर बीपी इजरायल जानुभएको थियो। त्यस अवसरमा सम्मेलनलाई सम्बोधन गर्दै बीपीले भन्नुभएको थियो — 'पश्चिमी (राष्ट्रहरूमा) सामाजिक आन्दोलन अन्तिम चरणमा पुगिसकेको छ। जुन आदर्शले त्यसलाई सजगता प्रदान गरेको थियो, ती सबै हासिल भइसकेका छन्। त्यसले गर्दा त्यहाँ त्यो उच्च आदर्शवादिता अब छैन। त्यो तपाईँहरूले पुनः कब्जा गर्नुपर्यो तृतीय विश्वका समस्यालाई आफ्नो ठान्ने आदर्शवादिताद्वारा।

उहाँले भन्नुभएको थियो : ' ... तपाईँहरूको त प्रेरक तत्व नै छैन। तपार्इँहरूसँग आदर्शवाद नै छैन। समाजवादको जुन सुखद आकृति थियो त्यो तपाईँहरूले चाहेमा पाउन सक्नुहुन्छ, तृतीय विश्वका समस्यामा आफूलाई संलग्न बनाएर ... यसरी त्यो फिर्ता हुन्छ।' बीपीले यी कथन आफ्ना नितान्त निजी विचार भएको पनि स्मरण गराउनुभएको थियो।

तर, सत्र सालको देशघाती काण्डपछि त नेपालको राजनीतिक परिदृश्य नै बदलियो। मुलुक फेरि सातअधिकै जस्तो अन्धकार युगमा प्रवेश गर्यो। सैनिक बलका भरमा राजा महेन्द्रले दुई तिहाइ बहुमत प्राप्त समाजवादी पार्टी नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकप्रिय सरकार खारेज गरे। साथै, उनले प्रधानमन्त्री बीपी कोइरालासहित मन्त्रिपरिषद्का सदस्यहरूको गिरफ्तारी, लोकतन्त्रका पक्षधर सबैको धरपकड र दमन,जनताका मौलिक हकको अपहरण गरी जनद्रोहको वास्तविक अनुहार देखाएका थिए। त्यस्तो भयानक दुश्चक्रबाट मुक्तिको मार्ग भने चारैतिर थुनिएको थियो। कालो शासनको त्रू्करताबाट बाँच्न धेरैले या त भारत निर्वासनमा जानुपरेको थियो नभए भूमिगत हुनुपरेको थियो। राजनीतिमा सक्रिय नभएर शान्तिपूर्ण सामान्य जीवन बिताउन चाहने स्वाभिमानी व्यक्तिले पनि राजाको कालो कदमको समर्थन नगरे अपमानित हुनुपर्थ्यो।

एसियाली राजनीतिमा पनि तत्कालीन परिस्थितिमा लोकतन्त्रवादीहरूमाथि नै प्रहार भइरहेको थियो। चारैतिर सैनिक विद्रोह र तानाशाही शासन स्थापना हुँदै गएका थिए। नेपाली कांग्रेसलाई २००७ सालको जनक्रान्तिमा खुलेर सहयोग गर्ने बर्मा (म्यान्मार) जनरल ने विनको सैनिक शासनको चपेटामा परिसकेको थियो। इन्डोनेसियाका राष्ट्रपति सुकार्नो पनि लोकतान्त्रिक मार्ग छाडेर अधिनायकवादी बाटामा लागिसकेका थिए। पाकिस्तानमा जनरल अयुब खाँले सैनिक शासन सुरु गरेर आफैँ सर्वेसर्वा भइसकेका थिए। एसियामा लोकतन्त्रको दियो बचाइराख्ने भारत पनि चीनसँगको शीतयुद्ध चरम विन्दुमा पुग्न लागेकाले मुकदर्शकजस्तै हुनपुगेको थियो। लोकतन्त्र, मानव अधिकार एवं व्यक्तिगत स्वतन्त्रताका पक्षधर बेलायत, अमेरिका तथा अन्य युरोपेली मुलुक पनि कम्युनिस्टहरूको लगातार विस्तारलाई मात्र समस्या ठानेर अरूतिर जोखिम उठाउन चाहँदैन थिए। आणविक हतियार उत्पादन गरेर ठक्कर लिनसक्ने कम्युनिस्ट मुलुकहरू नै तिनका लागि समस्या बनेका थिए। यसरी विश्व दुई ध्रुवीय राजनीतिक विभाजनको चरम अवस्थामा पुगेको थियो। त्यस परिस्थितिमा पश्चिमा राष्ट्रहरू नेपालजस्ता साना भूपरिवेष्ठित राष्ट्रहरूको अस्तित्व र त्यहाँका नागरिकको स्वतन्त्रतामा आँच पुग्दा पनि टुलुटुलु हेरिहरने स्थितिमा थिए। विश्वमा दूरदूर क्षितिजसम्म पनि स्वतन्त्रताको उज्यालो भविष्य दृष्टिगोचर भइरहेको थिएन।

संघर्षका ती गौरवमय घडीहरूमा अजश्र ऊर्जाशील शक्तिको केन्द्रीयतामा लोकतान्त्रिक आदर्शयुक्त समाजवाद थियो। बीपीकै शब्दमा भन्दा 'प्रजातान्त्रिक समाजवाद' नै त्यस्तो पद्धति हो जहाँ जनताका मौलिक हक पहिलो प्राथमिकताका पर्छ। उहाँले बराबर सजग गराउनु भएको थियो — प्रजातान्त्रिक समाजवादको अभावमा या त मुलुक तानाशाहीको चंगुलमा फस्ने खतरा रहन्छ या त धार्मिक कट्टरवादको फन्दामा पर्ने डर हुन्छ। बीपीले सन् १९८१ को फरबरीमा अस्टे्रलियाको सिडनीमा भएको 'एसिया—प्रशान्त समाजवादी संगठन'को सम्मेलनमा सम्बोधन गर्दा यसमा सचेत गराउँदै दिएको भाषणमा भन्नुभएको थियो — ' समाजवाद नै भविष्यमा लहर हो।

यो वर्ष नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष एवं प्रेरक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको शतवार्षिकी मनाइँदैछ। नेपाली कांग्रेसले त उहाँको निधनको पुण्यतिथि साउन ६ लाई बीपी स्मृति दिवसका रूपमा मनाउँदै आएकै हो। पञ्चायत कालमा बीपी स्मृति दिवसलाई निरंकुश व्यवस्थाको विरोधको अवसर बनाउने गरिएको थियो। बीपी स्मृति दिवसमा वृक्षारोपण गर्दा बर्बर दमन, आक्रमण एवं जेलनेल सहनुपर्थ्यो। तर, त्यसको कुनै पर्बाह नगरी कांग्रेसजनले बर्सेनि स्मृति दिवस मनाइरहे। बीपी स्मृति दिवसमा वृक्षारोपण गर्ने परम्परा अझै पनि निरन्तर छ।

त्यस घोर निराशाको कालो घेराभित्र पनि लोकतन्त्रको उज्यालो भविष्यको परिकल्पना गर्दै असंख्य युवाले प्राणाहूति दिए, कतिले सम्पूर्ण जीवन अर्पण गरे र आफूलाई आन्दोलनहरूमा उत्सर्ग गरे। त्यो वीरगाथा र तिनका हजारौं परिवारजनको करुण जीवनसहितको लोकतान्त्रिक संघर्षको लुकेको तर लामो इतिहास अझै अज्ञात छ। ती राष्ट्रिय गौरवका रूपमा रहेका प्रेरणादायी घटनाको खोजी, अनुसन्धान गर्ने कार्य पनि ओझेलमा परेको छ। आजको दिनले नयाँ पुस्ताको काँधमा एउटा चुनौतीपूर्ण जिम्मेवारी थपेको छ। बीपी शतवार्षिकीको यस विशिष्ट अवसरले यस्ता अनन्त सम्भावनाका ढोका उघार्ने दिशामा अवश्य चेतना उत्पन्न गर्नेछ।

प्रकाशित मिति: २०७० श्रावण ६, नागरिक

Back