बीपी झोक्किँदा... - धर्म गौतम (२०७० श्रावण ७, कान्तिपुर)
Print Friendly and PDF

वीपी कोइराला कांग्रेसका मात्रै होइन, राजनेता हुनुहुन्थ्यो । पार्टीका लागि क्षणिक लाभ हुने तर मुलुकलाई नोक्सान हुने जस्ता कुनै पनि कुरा उहाँले स्वीकार गर्नुभएन । उहाँ राष्ट्रियता र प्रजातन्त्रका पक्षमा ढिट हुनुहुन्थ्यो तर सँगसँगै व्यवहारवादी पनि । उहाँले संविधानसभाको सट्टा संसदको निर्वाचन गराउने राजा महेन्द्रको प्रस्तावलाई स्वीकार्नु भयो । धेरैको दबाबको प्रतिकूल उहाँ जनमत संग्रहमा निःसर्त सहभागी हुन तयार हुनुभयो । तर त्यसैबेला कर्मचारीको तलब वृद्धिको मागलाई उहाँले समर्थन गर्नुभएन । भन्नुभयो, अहिले यत्रो व्ययभार मुलुकले व्यहोर्न सक्दैन । धेरै कर्मचारी कांग्रेस विरोधी भए । राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फिर्न लाग्दा उहाँका शुभेच्छुहरूले त्यत्रो जोखिम नलिन सल्लाह दिएका थिए, तर उहाँले तिनलाई सुन्नुभएन । राजाहरूले उहाँलाई निरन्तर दुःख र कष्ट दिइरहे, तर संवैधानिक राजतन्त्रको आफ्नो नीतिबाट उहाँ टसमस हुनुभएन ।

नेपालमा भारतको विरोधलाई राष्ट्रवाद मान्ने एउटा वर्ग छ, राजा महेन्द्रले सिर्जना गरेको । त्यो वर्गले बीपीलाई जहिले पनि भारतपरस्त भन्यो । तर भारत र नेपालबीच दुई सार्वभौम राष्ट्रबीच हुनुपर्ने जस्तो सम्बन्ध हुनुपर्छ भनेर उहाँले भन्नुमात्र भएन, तदनुरुप काम पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री भएका बेला नेपालका लागि भारतीय राजदूतसँग गरेको व्यवहार र इजरायललाई कूटनीतिक मान्यता दिँदाको सन्दर्भ तथा पछि निर्वासनमा रहेका बखत इन्दिरा गान्धीसँग रहेको उहाँको सम्बन्धले उहाँको राष्ट्रवादी अडानलाई प्रस्ट गर्छ ।

सबैले मानेका, सबैले मनपराएका, अग्लो व्यक्तित्व भएका बीपी कोइराला व्यावहारिक जीवनमा साधारण मानिससरह सामान्य हुनुहुन्थ्यो । असल मानिस बन्ने त उहाँको सर्वोपरी चाहना नै थियो र तदनुरुप व्यवहार पनि गर्नुहुन्थ्यो । त्यस्तै मानिसमा हुने केही नकारात्मक स्वभाव पनि उहाँमा थिए । उहाँ बेलाबखत झडङ्ग रिसाउनुहुन्थ्यो । यस सन्दर्भमा केही प्रसङ्गको स्मरण अझै हुन्छ ।

२०३१ सालतिरको कुरा हो । बीपी बनारसमा बस्दा एकपटक अलिक अस्वस्थ भएर म महिना दिनजति त्यहीं बसेँ । त्यसबेला बीपीले तुलसीजी (डा. तुलसी भट्टराई) र मलाई उहाँको पुस्तकालय व्यवस्थित गर्ने जिम्मा दिनुभएको थियो । हामीले तीन-चार दिन लगाएर त्यो काम सम्पन्न गर्यौं । एकदिन दिउसो चिया खान मनलाग्यो र हामी भान्सामा पस्यौं । त्यसपूर्व आफूले ग्यास चुलो चलाएको थिएन । त्यसलाई बाल्न ग्यास खोल्ने हतौडो (ग्यास कन्ट्रोल नब) चलाउँदा के मिलेन प्लास्टिकले बनेको त्यो फुट्यो । चिया न सिया त्यसलाई जस्ताको तस्तै टाँसिराखेर निस्कियौं । खाना बनाउने एक युवक थिए, उनी सौदा गर्न गएका थिए होलान् । उनले आएर चिया पकाउन चुलो छुनासाथ त्यो दुई टुक्रा भएको हतौडो खत्रक्क भुइँमा खसेपछि उनले दिउसो चुलो कसले चलायो भनेर हल्लाखल्ला गरे । त्यसदिन बीपीका अतिरिक्त म र तुलसीजी मात्रै त्यहाँ थियौं । बीपीले तिमीहरूले चुलो चलायौ ? भनेर सोध्दा चलाएनौ भनिदियौं ।

ती साथी पनि आफूले नगरेको कामको जिम्मा किन लिन्थे, गनगनाउन थाले । अब बीपी रिसाउनुभयो र तिनलाई गाली गर्न थाल्नुभयो । तुलसीजी त हिँड्नु भयो डेरातिर, मलाई भने बीपीको झोँक र ती साथीको पीरले पिरोल्नुसम्म पिरोल्यो । ती साथीले रुँदै खाना बनाएर खुवाए । मलाई रातभर निद्रा परेन । भोलि बिहान चिया खाँदा मैले बीपीलाई आफ्नो गल्ती बताएँ र ती साथीसँग माफी मागेँ । 'मैले त्यो निर्दोष मानिसलाई कराउँदैछु भन्ने बुझेपछि त तिमीले भन्नुपर्छ नि' झडङ्ग रिसाउँदै भन्नुभयो ।

अर्को एकपटक गणेशमानजी गोरखपुरबाट बनारस आउँदै हुनुहुँदो रहेछ । उहाँलाई लिन बीपीले शैलजा आचार्यलाई आपmनो गाडी दिएर पठाउनुभयो । एकाध घन्टापछि शैलजा आफैमात्रै फर्केपछि बीपी औधी रिसाउनुभयो । जुन रेलबाट गणेशमानजी आउनुपर्ने त्यो रेल आयो, बनारसमा केही बेर रोकियो र अगाडि बढ्यो, तर गणेशमानजी कतै देखिइनुभएन । शैलजा दिदीलाई लागेछ, बीपीलाई आउँदैछु भनेर खबर त गर्नुभयो, तर कुनै कारणले गणेशमानजी आउनुभएन होला । त्यसबेला अहिलेजस्तो फोनको सुविधा थिएन । उहाँ सोझै सारनाथ फर्किनुभयो । रिसाएका बीपीको आदेश आयो, रेलवे स्टेसनमा कतै पर्खिरहनुभएको छ, तुरन्त जा र लेर आइज । रुनु न हाँस्नु भएर शैलजा पुनः रेलवे स्टेसनतिर लाग्नुभयो । त्यहाँ पुगेर सबैतिर खोज्नुभयो, तर गणेशमानजी हुनुहुन्न । आधा घन्टाजसो पछि प्लेटर्फमबाट पुनः फिर्न लाग्दा विपरीत दिशाबाट आएको रेलबाट पो ओर्लनुभयो, गणेशमानजी ।

भएछ के भने गणेशमानजीका साथमा भारत सरकारले उपलब्ध गराएका उहाँका अंगरक्षकमात्रै रहेछन्, यात्रामा । गणेशमानजी तयार भएर निस्केपछि उनी पछिपछि आएका । गणेशमानजी कहाँ जाँदै हुनुहुन्छ, उनलाई थाहा भएन । बनारस आउने-आउने बेलामा गणेशमानजी शौचालयमा छिर्नुभयो । शौचालयमा उहाँलाई धेरै समय लाग्ने । रेल बनारस आइपुग्यो, केही बेर रोकिएर अघि बढ्यो । शौचालयबाट निस्केर अंगरक्षकलाई सोध्दामात्रै उहाँलाई बनारस कटिसकेको कुरा थाहा भयो । अनि त्यसपछि रोकिएको स्टेसनमा ओर्लिएर अर्को रेलबाट बनारस फर्किनुभएको रहेछ । गणेशमानजीलाई देखेपछि मात्रै शैलजा दिदीको होस ठाउँमा आएको थियो रे ।

तेस्रो, बीपीको झोँकमा परेका थिए, पश्चिमतिरका एक युवक, जसको नाम अहिले सम्झिँदा अर्जुन सिंह हो कि जस्तो लाग्छ । उनी बीपीसँगै बस्थे । उनको किनमेल आदि उनैले गर्थे । सुशीला भाउजू काठमाडौंबाट बनारस फिर्दै हुनुहुन्थ्यो । उहाँ नित्य पूजापाठ गर्ने तर बीपीलाई त्यससँग कुनै चासो थिएन । निकै दिनपछि भाउजू आउने भएकाले पूजा कोठा सफा गराउन मन लागेछ, बीपीलाई । त्यहाँ पस्दा समाउने भाग भाँचिएको माटाको धुपौरो देख्नुभएछ । सुशीला भाउजूलाई सरप्राइज दिने सोचले बजार जानलागेका अर्जुनलाई एउटा धुपौरो पनि ल्याउन भन्नुभएछ । उनले बेलुका अन्य सामग्रीका साथ ल्याएको धुपौरो बीपीलाई देखाए । सात रुपियाँ मोल परेको, कसकुटाको धुपौरो देखेपछि बीपी यस्तरी जंगिनुभयो कि ती दाइले त्यस साँझ भातै खान सकेनन् ।

भएछ के भने बीपीले त्यसरी सरप्राइज गिफ्टको रूपमा सुशीला भाउजूलाई दिने धुपौरो राम्रै लैजाउँ भनेर उनले कसकुटाको किनेछन् । माटाकोलाई यस्तै आठ-दस आना पर्दो हो । त्यस्तो नलिएर सात-सात रुपियाँ पर्ने महङ्गो धुपौरो ल्याए भनेर बीपीको पारो चढेको रहेछ । उहाँको तर्क थियो, हामी निर्वासनमा छौं । हामीले खर्च गरेको पैसा पार्टीको पैसा हो । त्यस्तो पैसा फजुल खर्च गर्ने ?

माथिका विवरण खोतलेर बीपीमा खराब बानी थिए भन्न खोजेको होइन । उहाँ एक सामान्य मानिस नै हुनुहुन्थ्यो र त्यस्ता मानिसमा हुने केही स्वभाव उहाँमा पनि थिए । तर अध्ययन, अनुशिलन, मुलुक र जनताप्रतिको समर्पणका कारण उहाँ आम मानिसभन्दा, आम नेताभन्दा धेरै माथि हुनुहुन्थ्यो । राजा महेन्द्रसमेत भन्ने गर्थे रे, जहाँसुकै पनि बीपी मेरा प्रधानमन्त्री हुन् भन्दा मलाई गर्व लाग्छ ।

प्रकाशित मिति: २०७० श्रावण ७, कान्तिपुर

Back