बीपीसँगका कुरा - ईश्वरी ज्ञवाली (२०७० श्रावण ६, नेपाल राष्ट्रिय साप्ताहिक)
Print Friendly and PDF

बीपी कोइरालाको व्यक्तित्व, प्रभाव पार्न सक्ने अभिव्यक्ति क्षमता, कार्यकौशल, व्यावहारकि सम्बन्ध कायम गर्ने शैली र चातुर्यबाट म निकै प्रभावित छु। केही यस्ता प्रसंग छन्, जुन म कहिल्यै बिर्सन सक्दिनँ।

राणाकालमा भन्सार आदिको जिम्मा ठेक्कामा दिइन्थ्यो। त्यो क्रम २००७ सालमा प्रजातन्त्र आएपछि पनि चालू राख्न खोजियो। त्यस बेला नेपालको मुख्य आयस्रोत नै त्यही ठेक्का प्रथामा आधारति राजस्व थियो। मलाई लाग्यो, यस विषयमा प्रजातन्त्रवादी नेता बीपी कोइरालाको धारणा सार्वजनिक गर्नु श्रेयस्कर होला।

बीपी जर्नेल वसन्तशमशेरको बंगलामा बस्नुहुन्थ्यो। मसँग त्यतिविधि चिनापर्ची थिएन। एक जना सहयोगीको साथ लागेर भेट्न पुगेँ। त्यतिखेर म सही रास्ता भन्ने हिन्दी पत्रिका प्रकाशित गर्थें। अनौपचारकि रूपमा राजनीतिक, आर्थिक, सामाजिकलगायत विविध पक्षमा उहाँसँग लामो कुराकानी भयो। त्यसपछि मैले अन्तर्वार्ताका लागि आग्रह गरेँ। उहाँ राजी हुनुभयो।

त्यस बेला नेपाल राज्यको आम्दानी त्यस्तै तीन करोड रुपियाँ रहेछ। प्रजातन्त्रमा पनि सरकारले यसरी ठेक्का दिएर आयस्रोत जुटाउने हो भने नेपाल नै आफूलाई ठेक्का दिन उहाँले चुनौती दिनुभयो। बीपीले भन्नुभयो, "तीन करोड रुपियाँ म सरकारलाई बुझाउँछु। मलाई ठेक्का दिइयोस्।" बीपीको यो अन्तर्वार्ता प्रकाशित भएपछि काठमाडौँमा सनसनी नै मच्चियो। र, भन्सार आदि ठेक्कामा दिएर आयस्रोत जुटाउने प्रथा पनि बीपीको त्यही अन्तर्वार्तासँगसँगै अन्त्य भयो।

०१५ मा बीपी प्रधानमन्त्री हुनुभयो। नेपालमा अमेरकिी दूतावास खुलिसकेको थिएन। दूतावासको काम अमेरकिी लाइब्रेरीले गथ्र्यो। अमेरकिी राष्ट्रपतिसहितको एउटा प्रतिनिधि मण्डल भारत भ्रमणमा आउँदै रहेछ र त्यसका लागि नेपालबाट पनि पत्रकारको एउटा टोली पठाउन भनिएको रहेछ। तारणीप्रसाद कोइरालाको सम्पादकत्वमा प्रकाशित हुने कल्पना पत्रिकाका तर्फबाट एक जना, रेडियो नेपालबाट एक जना र मलाई भारत पठाउने पत्रकारको तीन सदस्यीय टोलीमा राखिएको रहेछ। बीपीले नै भनेर त्यस टोलीमा मलाई समावेश गरिएको कुरा त्यही लाइब्रेरीमा कार्यरत नन्दराम माथेमाले खबर गर्नुभयो।

म त कांग्रेसको विरोधीजस्तै थिएँ। कसरी मेरो नाम पार्नुभएछ, बीपीले? म आश्चर्यमा परेँ र तारणीप्रसाद कोइरालालाई फोन गरेर 'एकपटक प्रधानमन्त्रीज्यूसँग भेट्न चाहन्छु, समय मिलाइदिनूस्' भनेँ। उहाँले 'तपाईं जतिबेला आए पनि प्रधानमन्त्रीले भेट दिनुहुन्छ, समय लिनैपर्दैन' भन्ने आशयको कुरा गर्नुभयो।

बीपी त्रिपुरेश्वरस्थित एक नम्बर गेस्ट हाउसमा बस्नुहुन्थ्यो। त्यहीँ गएर बीपीलाई भेटेँ। मलाई पठाउनुको कारण सोधेँ। बीपीले भन्नुभयो, "मलाई के कुरामा विश्वास छ भने तपाईं त्यहाँ गएर नेपालको इन्ट्रेस्टका विरोधमा बोल्नुहुन्न र नेपालविरोधी कुरा आयो भने तपाईं त्यसको प्रतिकार गर्नुहुन्छ। त्यही भएर मैले तपाईंलाई त्यस प्रतिनिधि मण्डलमा पठाउन खोजेको हुँ।" कुरा ठीकै लाग्यो। त्यसपछि बीपीसँग भारत गएर उठाउने सन्दर्भबारे पनि कुरा गरेँ। अमेरिकी राष्ट्रपति आइजनआवरको साथमा अमेरिकी पत्रकारहरूको ठूलै टोली भारत आउँदै छ भन्ने पनि थाहा थियो। चीनसँग सगरमाथाको स्वामित्वलाई लिएर विवाद भइरहेको थियो। संसारभरी नै यही विवाद चर्किरहेको थियो। त्यसैले पनि भारत भ्रमणमा सामेल हुन पाउने कुराले मलाई थप कौतूहल बनायो।

त्यस बेलाका अमेरिकी राष्ट्रपति आइजनआवर स्वाभाविक रूपमा शक्तिशाली थिए। उनीसँग भेट्न पाउँदा खुसी नहुने कुरै भएन। हात मिलाइयो। अलिकति कुराकानी पनि भए। नेपालविरोधी कुनै कुरा निस्किएन। भ्रमण सुखद नै रह्यो। अनि, स्वदेश फर्कियौँ।

ह्वाइटहाउसको प्रेस टोली भारतबाट नेपाल आयो। बीपीसँगको कुराकानी उनीहरूले बडो प्राथमिकतासाथ प्रकाशित गरे। बीपीले बोलेका कतिपय कुराले त सनसनी नै मच्चाए।

अर्को एउटा पञ्चायतकालको कुरा सम्झिन्छु। तीर्थयात्राका क्रममा भारत पुगेको थिएँ। विन्ध्यवासिनीको दर्शन गरेर फर्किंदै गर्दा गणेशमान सिंहसँग भेट भयो। उहाँले नै बीपी पनि सारनाथमा बस्नुभएको जानकारी दिनुभयो र एकपटक भेट्न सल्लाह दिनुभयो। एक्लै जाँदा शंका हुने डरले परिवारका सबै सदस्यलाई लिएर म सारनाथ पुगेँ। एउटा वाटिकामा परिवारलाई छाडेर म बीपीलाई भेट्न गएँ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो, त्यस घरमा। बीपीले माथिबाटै मलाई देख्नासाथ बोलाउनुभयो, "सरासर माथि आउनू।"

मसँगै दुई जना सुरक्षाकर्मी पनि माथि उक्लिए। बीपीले पूर्व ३ नम्बरको ठेगाना दिएर काल्पनिक नाम लेखाइदिनुभयो। जब मेरो नाम लेखेर सुरक्षाकर्मी तल ओर्लिए, बीपीले भन्नुभयो यदि तपाईंको नाम यहाँ उल्लेख गरेको भए त्यो सोझै राजा महेन्द्रकहाँ पुग्थ्यो। त्यसैले मैले काल्पनिक नाम लेखाएको। त्यस बेला बीपीले भनेको कुरा मलाई ज्यादै घतलाग्दो लागेको छ। उहाँले भन्नुभएको थियो, "इन्दिरा गान्धीले भनेको कुरा मान्ने हो भने भोलि नै म मुलुकको प्रधानमन्त्री बन्न सक्छु। तर, प्रधानमन्त्री भइसकेपछि मैले कसको कुरा मान्ने? नेपाली जनताको कि इन्दिरा गान्धीको?"

यस्तो अवस्थामा बीपी सारनाथमा बस्नुभएको थियो। त्यस बेला बीपीले बोलेको कुराले मलाई अहिले पनि झक्झकाइरहन्छ। मैले त्यसै बेला भनेको थिएँ, "तपाईं र टंकप्रसाद आचार्य मिल्नूस् ।" मिल्ने वातावरण पनि बनिरहेको थियो । तर, राजनीतिक शक्तिबीच मेल हुन नदिने एउटा शक्ति नेपालमा हिजो ज्यादै शक्तिशाली थियो। बीपी र राजा महेन्द्रबीच होस् वा अन्य शक्तिबीच अथवा कांग्रेसभित्रकै नेताहरूबीच, फाटो ल्याउने र आफ्नो स्वार्थ सिद्धि गर्नु त्यस शक्तिको रणनीति हुन्थ्यो, जसका कारण पञ्चायती व्यवस्थाले लामो समयसम्म निरन्तरता पायो।

प्रकाशित मिति: २०७० श्रावण ६, नेपाल राष्ट्रिय साप्ताहिक

Back