हार्दिक श्रद्धाञ्जली सुशीला - सुशीलामा श्रद्धाञ्जली व्यक्त गर्दै बीपी कोइरालाको आत्मवृत्तान्तबाट समर्पित केही अंशहरू
Print Friendly and PDF

म छुट्टीमा विराटनगर आएको थिएँ। मेरो ससुरा झापामा बडाहाकिम हुनुहुन्थ्यो। उहाँ हात्ती चढेर आउनु भयो मलाई सुशिलासँगको बिहाको प्रस्ताव लिएर। पिताजीसँग के के खास-खुस कुरा गर्नु भयो। शंकर घिमिरेका पिता पनि उहाँसँगै आउनु भएको थियो, शायद उहाँ असिस्टेन्ट हुनुहुन्थ्यो। पिताजीले भन्‍नुभयो- उसैसँग कुरा गर्नुहोस्, मैले के भन्‍ने? मलाई उहाँहरूले भन्‍न आउनु भयो।

मैले भने- पिताजीले जे भन्नुहुन्छ मलाई ठीक छ। एकपटक तपाईँ सुशिलालाई हेर्नुस् र भन्‍नुस्- भनेर उहाँहरूले धेरै जिद्दी गर्नुभयो। म कलकत्तामै हेर्ने बन्दोबस्त गर्छु- भन्‍नुभएको थियो। त्यसपछि म कलकत्ता गएँ र सुशिलालाई हेरेङ। सुशिला कम उमेरकी, दुब्ली, एकपटक कालाजार भएको रहेछ उसलाई। पढ्न पनि धेर नपढेकी गोरी। हेरेपछि मलाई बडो पछितो भएर आयो। हेरिसकेको थिएँ, हुन्न भन्‍न पनि सक्तिनथें। अनि मैले जे भयो-भयो, विवाह चाँडै हुनुपर्छ भनें। पन्ध्र दिनभित्रै विवाह हुनुपर्छ भनेर मैले भने, विवाहको समय अलि पर सार्ने कुरा हुनलाग्दा मैले टेलिग्राम पठाएँ- On the fourth or never. ४ तारिख मेरो प्रस्ताव थियो। विवाहको तथि निश्चित भयो। तर मसँग विवाहको लागि पैसा थिएन। देवेन्द्र भन्यो- मसँग ४-५सय रूपैयाँ छ, काम चलाऊ।

विवाह भइसकेपछि मैले करिब ३० जनालाई पार्टी दिएँ, चौकको चित्रा सिनेमाको तलको एउटा रेष्टराँमा, जो त्यसताका त्यहाँ राम्रो मानिन्थ्यो। बडो सस्तो तर राम्रो पार्टी थियो। मेरा साथीहरू सबै आश्चर्य मानिरहेका थिए। उनीहरू भन्दथे किन यसरी विवाह गरेको? गुर्देले भन्‍यो- 'क्या बात है, क्यों यह शादी की? पढी-लिखी भी नही है। पैसा मिले, वह भी नही है, इतनी छोटी है, सुन्दर भी नही है। क्यों शादी की?

आमाले त हेरेर भन्नुभयो- 'कस्तो उर्वशी जस्तीसँग विवाह गराउँला भन्‍ने सोचेको त यस्तो भयो।'

विवाह गरेर हामी घर आउँदा पिताजीलाई त विरक्त लागेर मुख छोपेर सुत्नु भएको थियो।

बनारसबाट विवाह गरेपछि हामी पहिले पटना पुगेका थियौं। त्यहाँका मेरा साथीहरू, जीतेन्द्र, जगतनन्दन सहाय र अरू मेरा राजनैतिक साथीहरूलाई निम्ता दिएँ, पार्टी आयोजना गरें।

तर पछि त कस्तो परिवर्तन आयो सुशिलामा भने सबभन्दा मनपरेकी हाम्रो घरमा त्यहँ भएर आई। सुन्दराताको दृष्टिमा त, एकताका, त्योभन्दा सुन्दर कोही छैन भन्ने मेरा साथीहरू भन्दथे। एकपटक म हजारीबाग जेलमा छँदा मेरा साथीहरूसँग बहस हुँदा संसारमा सबभन्दा सुन्दर मानिस तिमीलाईको लाग्दछ भनेर मेरा एउटा साथीले सोध्दा मैले सुशिलाको नाम लिएँ। त्यहाँ एकजना कुन्दनप्रसाद थिए, बडो योग्य र बडो असल, त्यस्ता मानिस बडो कम्ती हुन्छन्। उनले भने, ‍- "कोइरालाजी, वह तो सुन्दर है, लेकिन दुनिया में उनको सबसे सुन्दर कहना अतिशयोक्ति होगी।" को छ त त्योभन्दा सुन्दर मान्छे? हामीले चिनेका मानिसहरूमा, को छ त्यो भन्दा सुन्दर? भनेर मैले च्यालेन्ज दिएँ, अनि घोप्टिएर सबै मसँग सहमत भए। सुशिलामा पछि त्यस्तो परिवर्तन आयो। मैले उसलाई पढाउन थालें। उसलाई योगपट्टि लगाएँ, व्यायाम गराएँ। तेलको मालिसबाट शरीरको रोगन बढ्यो। मैले बनाएँ, उसलाई यस प्रकारले। मलाई मन परेका कविताहरू, साहित्यहरू उसलाई सुनाउँथे, बुझाउँथे, र पढाउँथे। अनि यसै प्रकारले मैले कानूनको अध्ययन पूरा गरें।

(Source: http://palpatansen.wordpress.com/category/bp-koirala/

Back